हलिउड/बलिउड

‘दृश्यम् २’ बन्यो २ सय करोड कमाउने तेस्रो फिल्म

इकागज | मंसिर २५, २०७९

मुम्बई - अजय देवगन र तब्बु अभीनित ‘‘दृश्यम् २’ घरेलु बक्स अफिसमा २ सय करोड कमाउने तेस्रो फिल्म बनेको छ । यो साल रिलिज भएका ‘ब्रम्हास्त्र’ र ‘काश्मिर फाइल्स’ले यसअघि यो आँकडा छोएका थिए । 

नोभेम्बर १८ मा रिलिज भएको फिल्मले पहिलो दिन देखिनै बक्सअफिसमा अभूतपूर्व कमाइ गरेको थियो । बीचमा रिलिज भएका ‘भेडिया’ र ‘एक्सन हिरो’लाई प्रतिस्पर्धामा आउनै नदिई फिल्मले दोस्रो–तेस्रो हप्ता पनि दोहोरो अंकमा कमाइ गरेका थियो । 

‘दृश्यम् २’ले गत शुक्रबारसम्ममा १ सय ९८ करोड कमाइ गरेको थियो । शनिबार फिल्मले ४ करोड हाराहारी नेट कमाइ गरेको बलिउड हंगामाको रिपोर्ट छ । योसँगै फिल्मले २ सय करोडको कीर्तिमान बनाएको हो ।आउँदो हप्ता बलिउडमा ‘अवतार’ को दोस्रो भाग रिलिज हुँदैछ भने त्यसपछिको हप्ता ‘सर्कस’ । यतिन्जेलसम्ममा फिल्मले थप १५ करोड कमाउने व्यापार पण्डितको विश्लेषण छ । 

यो साल अजय देवगनका ‘रनवे ३४’, ‘थ्यांकगड’ जस्ता फिल्म असफल भएका थिए । तर ‘दृश्यम् २’को सफलताले अजयलाई राहत भएको छ । 
अजय र तब्बुबाहेक श्रेया शरण, इशिता दत्त, म्रुनाल यादव, रजत कपुर आदि कलाकारको अभिनय रहेको फिल्ममा अक्षय खन्नाले प्रहरी अधिकारीको भूमिका निर्वाह गरेका थिए ।