काठमाडौँ पाटीपौवा, पोखरी, इनार, ढुंगेधारा र कुवाहरूको सहर हो

बालेन साह | जेठ २२, २०७९

काठमाडौँ जसरी मन्दिरहरूको सहरका रूपमा प्रचलित छ, त्यसरी नै काठमाडौँ पाटीपौवा अनि पोखरी, इनार, ढुंगेधारा र कुवाहरूको सहर पनि हो । यी सामाजिक सम्पदाहरूको सरसफाइ, मर्मत र जगेर्नाका लागि सिथि नखः पर्वको ठुलो महत्व छ ।

हरेक वर्षको ज्येष्ठ शुक्ल षष्ठीका दिन नेवा: सभ्यता र संस्कारअनुरूप सिथि नखः पर्व मनाइन्छ । सिथि नखः पर्वको दिन धार्मिकरुपमा भक्तपुरको चास खेलमा चण्डीदेवीको पूजा हुन्छ भने काठमाडौँको जैसी देवलमा कुमार कार्तिकेयको मूर्तिलाई स्नान गराएर विशेष पहिरन पहिराउँदै गहना र आभूषण लगाइदिएर खटमा राखी नगर परिक्रमा गराइन्छ । नेवा: समुदायले आफ्नो घरको प्रवेश द्वारमा राख्‍ने आठ वटा कमलको फूलको चित्र या धातुमा कुँदेको कलात्मक अभिव्यक्तिले यिनै कुमार कार्तिकेयलाई जनाउँछ ।

तर सिथि नखः को धार्मिक महत्वमात्रै छैन । सिथि नखः सँगै पानीको शुद्धता र मुहानको सरसफाइका कुरा पनि जोडिएर आउँछन् । पानीको श्रोतहरूको सरसफाइ र सुव्यवस्थालाई ध्यानमा राख्दै सामूहिकरुपमा सिथि नखः मनाइने संस्कृति छ । 

काठमाडौँमा जहाँ खुला र खाली जमिन कम हुँदै गएको छ । सहर घरै–घरले भरिँदै गएका छन् । खुला ठाउँमा पनि सडक र सिमेन्टेड हुँदै छन् । वर्षा याममा जतिसुकै धेरै पानी परेता पनि वरपर सिमेन्टका भुइँ भएका कारणले यसरी परेका पानी मुहानले सोस्न नपाउने हुन्छ । यसले गर्दा नै धेरै जसो पानीका मुहानहरू सुक्दै गएका अनि हामीहरू पाइप, ट्याङ्कर अनि जारका पानीमा धेरै निर्भर रहनु परेको छ । यस्तो अव्यवस्थाका कारणले काठमाडौँ अनि काठमाडौँबासीहरूलाई सिथि नखःको महत्त्व अझै बढेर गएको छ ।

सिथि नखः मा इनार, पोखरी अनि कुवामा पसेर नै सफा गरिन्छ । यसो गर्नाले पानीका तलका सतह जस्तै हिलो, लेदोलगायत जमेका फोहोर पदार्थहरू माथि आउने हुन्छ । ती कुराहरू तल्लो तहमा थिग्रिन पनि केही दिन पानीको मुहान प्रयोग नगरी शान्त राखिन्छ । यसरी मुहान सफा गरिसकेपछि त्यहाँ दूध, घ्यू, मह, दहीलगायतका कुराहरू हालिन्छ । सिथि नखःमा सरसफाइ गरिसकेपछि केही दिनका लागि पानीका मुहान प्रयोग गरिन्‍न । 

मुहान नचलाएपछि पानी स्थिर हुन्छ । यसरी पानीका मुहानको सामूहिक सरसफाइ गरिसकेपछि घरघरमा गएर परम्परागत नेवा: खानाहरू बारा, चटामरी, छोयला जस्ता परिकारहरू खाने चलन छ ।

वातावरण, पर्यावरण अनि जीवन–शैलीको अनुपम सम्मिश्रण यस चाडले सदियौँदेखि हामीलाई पानी अनि मुहानको सरसफाइको पाठ सिकाइरहेको छ । हाम्रा पुराना धेरै संस्कारहरू आफैँमा वैज्ञानिक र परिवर्तनकारी पनि छन् भन्‍ने सन्देश पनि दिन्छन् ।

हाम्रा सांस्कृतिक तथा सामाजिक व्यवहारहरू तथा आफ्ना रैथाने ज्ञानलाई (Indigenous knowledge) राज्यले नै अपनत्व लिनु पर्छ भन्ने हाम्रो मान्यता छ । यसैका लागि हामीले आगामी बजेटमा काठमाडौँमा रहेका सम्पुर्ण ढुंगेधारा जुन निष्क्रिय अवस्थामा छन्, पानीको मुहान सुकेको अवस्था छन्, तिनलाई ब्युताउनको लागि सम्बन्धित शीर्षकमा बजेट बिनियोजन गरेर उपयुक्त प्रयासहरू गर्नेछौँ । सिथी नख: पर्व तथा आज नै परेको विश्व वातावरण दिवसको शुभकामना ।

(नवनिर्वाचित काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाहको सामाजिक सञ्जालबाट)

समय क्रमलाई वस्तुवादी ढंगले बोध गरिएन भने कयौँ विभाजन हुनेछन्

झलक विक | बैशाख २५, २०७९

नेपाली कम्युनिस्ट आन्दोलन विशिष्ट र पेचिलो परिवेशबाट गुज्रिरहेको सन्दर्भ नकार्न सकिदैन । यसका कयौँ कारणहर...

चितवनमा दुर्गा सप्तशति : बाबुराम नातिप्रेमी, घनश्याम मार्क्सी, प्रचण्ड कांग्रेसी, गगन गनगने

विनोद देवकोटा | मंसिर १९, २०७८

काठमाडौँ – प्रचारखोरलाई लक्षित गरी बनेको हिन्दीको एउटा भनाइ नेपालमा पनि खुब चर्चित छ –नाम...

चितवनमा पाँच दिन : म १९ वर्षीय पत्रकारले ओलीलाई यसरी चिनेँ...

अनिष भट्टराई | मंसिर १७, २०७८

नेकपा एमालेको दशौँ महाधिवेशनको रिपोर्टिङको मौका पाएपछि चितवनतर्फ लागेँ, ९ मंसिरमा । १९ वर्षकै सानो उ...