जीवन चक्र

राज्यले वर्षौदेखि झुलाइरहेको बाँदरझुलाका सूर्यको कथा

अतिन आचार्य | पुस ७, २०७८

काठमाडौँ- 'म जन्मदा बाँदरझुला अँध्यारै थियो, यसपालि कतार पुगेर आएँ,अहिलेसम्म उज्यालो छाएको छैन,' चितवनको बाँदरझुलाबाट माइतीघरमा लालपुर्जा माग गर्दै आएका सूर्य बिन्दासले भने ,'राज्यले सिमांकन गरी हामीलाई जनावर जस्तो व्यवहार गरेको छ ।'

बाँदरझुलाबासीका घरमा विद्युत बल्दैन । टुकी र सोलारले उज्यालो दिन्छ । गाउँमा बिन्दासको घरसहित सात सय घरधुरी छन् । माडी नगरपालिकाबाट लालपुर्जाको माग गर्दै आइतबार उनीहरू काठमाडौँ आएका थिए ।

आफ्नो नामको जमिनमा श्वास फेर्न नपाउँदाका पीडाका आवाजहरू मंगलबारसम्म माईतीघरमा गुञ्जिएको थियो । केही दिनका लागि उनीहरूलाई र उनीहरूको आवाज सुन्‍न पाइने छैन । सरकारले फागुन मसान्तसम्म उनीहरूको माग पुरा गर्ने तीन बुँदे माग सहमति गरी आश्‍वासन दिएको छ । अहिल गरिएको सम्झौता अनुसार माग पूरा नभएमा आगामी आन्दोलनले लालपुर्जा लाने गरी आउने उनी बताउँछन् ।

'सरकार बद्लियो व्यवस्था बदलियो तर, बाँदरझुलाबासीको अवस्था बद्लिएन ।' महिला, पुरुष, बालबालिका तथा ज्येष्‍ठ नागरिकहरूको तिखा आवाजले छेउमा रहेको प्रहरीहरूका कान ठाँडा-ठाँडा भइरहेका थिए ।

राज्यले बास दिए पनि बसेको बासस्थानमा आफ्नो पहिचान खोज्‍न उनीहरू आएका थिए । मंगलबार भूमि आयोगसँग बाँदरझुलाबासीबीच तीन बुँदे सम्झौता भएको छ । बाँदरझुला र त्यहाँका नागरिकलाई यो चिसोमा काठमाडौँसम्म के ले डोर्‍यायो ?

यो सँगै काठमाडौँको चिसोमा बस्‍ने दिनलाई बिट मार्दै उनीसँगै आएका साथीहरू चितवन फर्केका छन् । तर, सूर्य आफ्नो व्यक्तिगत कामले केही दिन काठमाडौँमा रहने छन् ।

आफ्‍नै माटोमा हराए

तपाईंहरू कसरी काठमाडौँ आउनुभयो ? इकागजको पहिलो प्रश्‍नमा उनको जवाफ थियो,' हामीलाई लालपुर्जाले काठमाडौँसम्म ल्यायो । आफैँ बसेको माटोमा हामी हराएका छौँ । राज्य भित्र हामी हराएका छौँ।'

उनी कोभिड-१९ को महामारीमा कतार पुगेका रहेछन् । महामारी अन्त्य नहुँदै सुन्दास स्वदेश फर्के । गत असोजमा उनले कतारको बसाईलाई सदाको लागि अन्त्य गरे । 'घर छ, बासस्थान छ र वर्षौदेखि बसि आएको जमिन आफ्‍नो हुन सकेको छैन,' भावुक हुँदै उनी भन्छन् ।

उमेरले तीन दशक टेक्न लागेका सूर्यका मन र आँखाले बाँदरझुलालाई बाल्यकालदेखि अहिलेसम्म खासै परिवर्तन भएको देख्‍न सकेको छैन। वर्षौदेखि गाउँमा उनी खेलेको/हिडेको बाटामा सार्वजनिक यातायात पुग्‍न सकेको थिएन । तर, कात्तिकदेखि नारायणघाटबाट ठोरीसम्म धुलो उडाउँदै गाउँबाट बस चल्‍न थालेको छ । बिहान ७ बजे हिडेको बस साँझ ६ बजे फर्कन्छ । बाँदरझुलाबासीलाई बसबाट चितवन पुग्‍न ६ घण्टा लाग्‍ने गरेको छ ।

यातायात नहुँदा आमा गुमाए

सवारीसाधनको अभाव हुँदा समयमा अस्पताल नपुर्‍याउँदा धेरैले अकालमा ज्यान गुमाउनु परेको उनीसँग तीतो अनुभव छ । वर्षाकै कारणमा खोलामा बढेको भेलले एम्बुलेन्स जस्ता अतिआवश्यक सवारीसाधन सहजै जान सक्दैनन् ।

खहरेमा जब भेल बढ्छ उनको ढुकढुकी बढ्न थाल्छ । 'खोलामा बाढी आएकाले आमालाई उपचार गर्न लैजाँदा बाटोमा मृत्यु भएको थियो,' आँसु पुछदै सूर्य विगत सम्झन्छन्, 'यातायातको अभावले चार जनाले अकालमै ज्यान गुमाएका छन् ।' नेताहरू पार्टीको आमसभामा हेलिकोप्टर चढेर जाने तर, बाँदरझुलामा अहिलेसम्म सार्वजनिक यातायात नपुगेकोमा उनी आक्रोश पोख्छन् ।

बाँदरझुलाका विद्यालयले शिक्षकको विज्ञापन गर्दा पनि कोही जादैनन् । दुर्गम र असुविधा भएकाले हत्तपत्त कोही पनि नयाँ शिक्षक जान नमान्‍ने गरेको उनले सुनाए । शिक्षक नपाएर तीन पटकसम्म विज्ञापन गर्दासम्म कोही पुग्‍दैनन् ।

गाउँमा चार जनाले स्नात्तोकतरसम्मको अध्ययन गरेका र स्नातक तह पास गरेका २० देखि २५ जना छन् । हिजोआज प्लस टु सम्मको अध्ययन गर्नेहरूको संख्या बढ्दै गएको छ । बाँदरझुलामा पुराना पिढीका मानिसहरू निरक्षर भए पनि नयाँ पुस्ताले गर्दा साक्षरताको संख्या बढ्दै गएको उनी मान्छन् ।

सूर्यले कक्षा १० सम्मको अध्ययन गरेका छन् । न्यून आय स्रोत भएको परिवारबाट हुर्केका थिए । आफ्नो पारिवारिक अवस्था सुनाउँदै भने,' दलित परिवारमा हुर्केको र गरिबीको कारण धेरै अवसर गुमाएका छौ ।'

आमाको सक्रियाताले फेरिएको जीवन

उनको क्याम्पस पढने रहर हुँदाहुँदै पनि प्राविधिक शिक्षा सिएम पढे । गाउँमा सामाजिक उत्थान भन्‍ने संस्था पुग्यो । भरतपुरमा संस्थाको सहयोग र पढाइ राम्रो भएकाले उनले मात्र नभई दिदीले प्राविधिक शिक्षा पढ्ने पाएकी थिइन् । बाबाले घरको काम गरे पनि सूर्यको आमा सामाजिक काममा सक्रिय काममा थिइन् ।

गाउँमा रहेको संस्थाको अध्यक्ष समेत थिइन् । 'आमाको संस्थाको भएकाले पनि हामीले दिदी र भाइले सिएम र अनमी पढने पाएका थियौ,' उनले अगाडि थपे,' संस्थाको मानिसले छोराछोरीको पढाइ कस्तो छ भनेर सोधेका थिए । राम्रो छ भनेकाले हामीलाई संस्थाले पढ्ने अवसर जुराएको थियो ।'

सूर्यको दिदी भने बाग्लुङको अस्पतालमा अनमीको रूपमा काम गर्छिन् । उनीहरूले पढाइ राम्रो भएकाले अवसर पाएका थिए । 'दिदीले कक्षा १० पास गरेको दुई वर्ष भइसकेको थियो, पाएको अवसर हामीले दुवैले गुमाएनौ,' विगत सम्झदै भन्छन् ।

उनले सिएम काम गरेको स्वास्थ्य संस्था र गाउँ नै हराएको छ । त्यहाँबाट बस्तीबाट मात्र उठेन धेरै मानिसको सपना, भविष्य र उपचार गराउने अधिकार पनि अँधुरो बनेको छ । माडीको ९ नम्बर वडामा रहेको उनले काम गरेको स्वास्थ्य संस्था थियो ।

तन्‍नेरीले गाउँ छोड्‍न थालेपछि कतार लागे

सिएमको कमाइले उनको जीवन र परिवारको गुजारा चलेन । आठ हजारबाट सुरु गरेका उनले जागिर छोड्दा आफ्‍नो तलब १२ हजार पुर्‍याएका थिए । गाउँका तन्‍नेरीले वैदेशिक रोजगारीका लागि बाटो तताउन थालिसकेका थिए ।

सूर्यले पनि विदेश जाने सपना सजाए । चीनमा कोभिड-१९ संक्रमण देखिँदै गर्दा कतारतर्फ उनको पाइला बढेको थियो । २ लाख रुपैयाँ तिरेर पहिलोपटक त्रिभुवन विमानस्थल हुँदै कतारको हमद अन्तर्राष्‍ट्रिय विमानस्थलमा उनको पाइला बिसाएको थियो ।

गाउँमा रहेको ६-७ कठ्ठा जग्गामा धान फल्छ । जसोतसो अहिलेसम्म चामल किनेर खान नपरेको सुन्दास बताउँछन् । १०-१२ मुरी धान उब्जन्छ । जनावरले नखाए पनि त्यति बाली बच्‍छ नत्र सबै जंगली जनावरले खाइदिने उनले बताए । बाँदरझुलाबासीलाई राज्यले मात्र दुःख दिएको छैन । समय-समयमा जंगली जनावरले पनि सताउने गरेको छ ।

महेश त्रिपाठी : ‘फुच्चे वैज्ञानिक’देखि ‘चपली ३’सम्म

आजभन्दा १७/१८ वर्षअघि कुरा हो, पोखराको कास्कीकोट डेटलाइनमा एउटा समाचार आयो । समाचार थियो, कक्षा ८ मा पढ्…

स्वास्थ्य मन्त्रालयमा लक्ष्मण अर्यालका १४ महिना, चुनौतीका बाबजूद अब्बल देखिए

पुष्पराज आचार्य | साउन २३, २०७८

काठमाडौँ– कोभिड–१९ को सम्भावित तेश्रो लहरको आकलन हुँदै गर्दा सरकारले पर्याप्त तयारी गर्न सकेक…

शान्तराजको कर्मचारीकाल ‘शान्तिपूर्ण’ रह्यो त ? सिंहदरबार चिनाउने संवार्ता

इकागज | साउन ११, २०७८

पूर्वप्रशासकहरू दातृ निकाय वा परियोजनामा संलग्‍न हुनै नहुने धारणा राख्छन्, पूर्व अर्थसचिव डा. शान्तराज …