पोखराका मेयरको एक वर्ष, गर्छु भनेका काम भएनन् पूरा

पोखरा । गठबन्धनको बलमा पोखरा महानगरका मेयरमा निर्वाचित भएका धनराज आचार्यले आफ्नो कार्यकालको पहिलो ववर्ष बिताएका छन् । २०७९ जेठ १२ गते पदभार सम्हाल्दै गर्दा मेयर आचार्यले निकै उत्साहका साथ सबैले वाह् ! भन्ने खालको पोखरा बनाउँछु भनेर उद्घोष गरेका थिए । तर, मेयर भएको वर्ष दिन पूरा भईसक्दा पनि गर्छु भनेका कामको लामो सूची पूरा हुनै सकेनन् ।
निर्वाचनमा होमिँदै गर्दा गठबन्धनबाट मेयरका उम्मेदवार धनराज आचार्य र उपमेयर उम्मेदवार कोपिला रानाभाटले संयुक्त घोषणा पत्र जारी गर्दै एक वर्षमा पूरा गर्ने केही बुँदा सार्वजनिक गरेका थिए । नतिजामा उनीसँगै निर्वाचनमा उठेकी उपमेयर उम्मेदवार रानाभाट पराजित भईन् । उनीहरु दुवैले संयुक्त सार्वजनिक गरेको घोषणा पत्रको बुँदा कार्यान्वयन गर्ने जिम्मा मेयर आचार्यको दायित्व बन्यो । तर, प्रतिबद्धता पत्रमा पदबहालीको दिन, एक महिना, ३ महिना, ६ महिना र एक वर्षभित्र पूरा गर्ने भनि तोकिएका बुँदा केही पूरा भए भने धेरै अधुरा रहे ।
मेयर आचार्यले चुनावी प्रतिवद्धता पत्रमा समेटिएका ३ महिनाभित्र पूरा गर्ने केही बुँदा समेटेका थिए । जसमा महानगरको केन्द्रदेखि गाउँ गाउँमा जान साँझ (रात्रि) बस सेवा सञ्चालन, ज्येष्ठ नागरिकलाई घरदैलोमै भत्ता, घुम्ती अस्पताल, अनुसन्धानमा आधारित आवश्यकता अनुसारका विकास परियोजनाका प्राथमिकता निर्धारण गर्ने जस्ता काम घोषणापत्रमै सीमित छन् । एक वर्ष बित्दासमेत सुरु नै हुन सकेका छैनन् । केही काम सुरु गरेपनि परिणाम के आयो भनेर भन्न सक्ने अवस्था छैन ।
यस्तै सोही प्रतिवद्धता पत्रमा मेयर आचार्यले ६ महिनाभित्र पूरा गर्ने भन्दै आमा समूह लक्षित ‘एक समूह, एक उत्पादन’ सञ्चालन गर्ने, ‘स्कुल टु वर्क’ कार्यक्रम सञ्चालन, अति विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा, महानगरमा कार्यरत विदेशी नागरिकलाई अनिवार्य वर्क परमिट, वेस्ट बैंकलगायतको योजना थिए । यसमा मेयर आचार्यकै भनाइ अनुसार पोखरा–१४ बाट पोखरा–३२ लामेआहालमा अस्थायी र ३३ मा स्थायी ल्याण्डफिल साइट बनाउने निर्णय गरेर प्रक्रिया अगाडि बढ्नु नै महत्वपूर्ण उपलब्धी बन्यो । अरु केही काम सुरु भएपनि उपलब्धीमा समेटिने खालका छैनन् ।
उनले एक वर्षमा पूरा गर्छु भनेका निशुल्क विद्यालय शिक्षाको कार्यान्वयन, स्वंयसेवक शिक्षकको दरखास्त आह्वान, पोखराका प्रमुख तालहरुबाट रारालगायत अन्य तालहरुसँग इन्टरलेक एअर कनेक्सन, ज्येष्ठ नागरिक स्याहार केन्द्र स्थापनालगायत कामको प्रारम्भ भएपनि पूरा भएका छैनन् ।
एक वर्षे प्रतिबद्धता पूरा नभएपनि मेयर आचार्यको दौडधुप भने निकै हुने गरेको छ । यो एक वर्षमा केही काम भने सुरुवात गरेका छन् । मेयर आचार्यले गत असोजमा फेवातालको ६५ मिटर क्षेत्रभित्र कुनै संरचना नबनाउन आग्रह गरे । त्यसपछि भने फेवाताल क्षेत्र मेयर आचार्यको निगरानीमा परेन । दिनानुदिन फेवाताल मासिँदै जाँदा मेयर आचार्य यसबारे बोल्न चाहेका छैनन् । अन्डरग्राउन्ड खाली गर्नेदेखि पोखराका मुख्य सडक छेउमा पार्किङ निषेध गर्नेसम्मको काम सुरुवात गरेका थिए । तर, यी कामहरु अहिले अस्तव्यस्त छन् ।
उनले महानगरबाट दिने सेवामा एकद्वार प्रणाली लागू गरेका छन् । मेयर आचार्यले घोषणा पत्रमा समावेश गरेको हेलो मेयर कार्यक्रम सञ्चालन गरेका छन् । उज्यालो पोखरा अभियानअन्तर्गत पोखराकाचोक र मुख्य सडकमा हाइ मास्ट लाइट जडान भएका छन् । महानगरमा कामको अनुभव साटासाट र महानगरका लागि छुट्टै ऐन बनाउनका लागि सरकारलाई दबाब दिन मेयर सम्मेलनको पनि आयोजना गरे ।
केही काम सुरुवात गरेका मेयर आचार्यले पहिलो वर्ष आधार तथा सफल वर्षको रुपमा लिए । उनले घोषणापत्रमा उल्लेख गरेका बुँदाहरुको आधार तयार पारेको उनको दाबी छ । दीर्घकालीन योजनाका कामको डिपिआर बनाउने, टेन्डर बनाउने तहमा पुगेको मेयर आचार्यले बताए । ‘हामीले चाहिँ पोखरा महानगरपालिकाका सबै पक्षका काम अगाडि बढाएका छौं । दीर्घकालीन र अल्पकालीन योजना बनाएर अगाडि बढ्यौं । दीर्घकालीन योजनाका कामको डिपिआर बनाउने, टेन्डर बनाउने तहमा पुगेका छौं,’ उनले भने, ‘दातृ निकायका परियोजना अगाडि बढेका छन् । सुशासन र आन्तरिक काम व्यवस्थित ढंगले अगाडि बढेका छन् ।’
व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना गरेर रोजगारीका अवसर सिर्जना गरेको उनले बताए । ‘समग्रमा यो वर्ष आधार वर्ष हो । हामीले जे कुरा घोषणापत्रमा उल्लेख गरेर अगाडि सारेका छौं, ती सबै कुराको आधार तयार भएको छ । हामी अगाडि बढेका छौं,’ उनले भने, ‘विकास, निर्माणका नियमित कुरा धेरै अगाडि बढिसकेका छन् । १ फिट पनि बाटो पिच नभएको वडा नम्बर २३ मा धेरै बाटो पिच भएको छ ।’