सम्पादकीय

सम्पादकीय

संक्रमण र संक्रमित अवस्थामा पनि ओलीको उद्घाटनमोह

इकागज | माघ १४, २०७८

कुनै व्यक्तिले आफू कोभिड–१९ बाट संक्रमित भएको थाहा पाउँदा पाउँदै सजगता नअपनाई अरुलाई जे भए पनि होस् भन्ने मानसिकता राखेर सार्वजनिक यात्रा गर्छ भने त्यो अलिकति पनि इमान नभएको मानिसका रूपमा लिन सकिन्छ । कोभिड–१९ को महामारीमा संक्रमण नफैलियोस् नै भनेर ‘स्वास्थ्य मापदण्ड’ बनाइएको छ, त्यसको पालना गर्नु सबै व्यक्तिको धर्म हो । अझ महामारीको ‘चेन ब्रेक’ गर्न विगतमा दुई, दुईपटक लकडाउन गरिएको थियो । पछि निषेधाज्ञामा परिणत गरियो । 

त्यतिखेर संक्रमित व्यक्तिलाई खोजी खोजी आइसोलेसनमा राखिन्थ्यो । यो विधि अझै पनि विश्वभर पालना गरिएकै छ । तर पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफू संक्रमित हुँदाहुँदै सार्वजनिक कार्यक्रममा सरिक भएर एउटा सामान्य व्यक्तिले देखाउनुपर्ने इमानसमेत देखाएनन् । म पूर्वप्रधानमन्त्री हुँ, म एमालेको अध्यक्ष हुँ भन्ने दम्भशैलीमा उनी पूरै उत्रिए । नेताको देखाखिसी गर्ने हाम्रो समाजमा ओलीको सार्वजनिक प्रकटीकरण ठीटलाग्दो छ । फेरि ओली त्यस्तो जरुरी वा नगई नहुने, नगए बित्यासै पर्ने कार्यक्रममा गएका पनि होइनन् । उनी रक्तदान कार्यक्रमको उद्घाटन गर्न गएका थिए ।

ओली संक्रमित भएको तथ्य सार्वजनिक भएकै हो । नेकपा एमालेले नै माघ ११ गते विज्ञप्ति जारी गरेर आफ्ना अध्यक्ष संक्रमित भएकाे जानकारी दिएकाे थियाे । त्यो थाहा हुँदाहुँदै पनि प्रमुख अतिथिको रूपमा बोलाउनु आयोजकको चाकडीबाहेक अरु केही हुन सक्दैन । रक्तदान आफैँमा पुण्य कर्म हो । अरुको जीवन बचाउने उपक्रम हो । यस्तो कार्य गर्ने आयोजकले कोभिड–१९ जस्तो घातक भाइरस धारण गरेका ओलीलाई सार्वजनिक ठाउँमा घुलमिल गराएर स्वास्थ्य मापदण्डको उल्लंघन मात्र होइन, जनताको जीउ ज्यानप्रति बेपरवाह रहेको देखाए ।

भक्तपुरको युवासंघले गत बुधबार आयोजना गरेको रक्तदान कार्यक्रमबाट कति कोरोना फैलियो, त्यसको लेखाजोखा नहोला । समुदायस्तरमा फैलिसकेको यो भाइरस अझै शान्त हुने लक्षण छैन । बरु मृत्युदर बढिरहेको छ । ओमिक्रोन कमजोर छ भन्ने मानसिकता लिने हो भने पनि त्यो पनि गलत हो । ओमिक्रोनकै कारण मानिसको मृत्यु भइरहेको छ ।

सामान्यतया नेताहरूलाई उद्घाटन, शिलान्यास, पर्दाअनावरण लगायतका औपचारिक कार्य गर्न निकै लालायित हुन्छन् । अझ ओली प्रधानमन्त्री हुँदा बजेटको अत्तोपत्तो नभएका आयोजना पनि शिलान्यास गरेकै हुन् । पूर्ण रूपमा विद्युत् उत्पादन गर्न बाँकी रहेको माथिल्लो तामाकोसीको पनि उद्घाटन गरेकै हुन् । मुहान संरचना क्षेत्र (हेडवक्र्स) को कार्य पूरा नगरी मेलम्चीको उद्घाटन गरेकै हुन् । र, उनले राष्ट्रियस्तरका आयोजना मात्र होइन, रक्तदानको पनि उद्घाटन गर्न पुगे, त्यो पनि आफू संक्रमित हुँदाहुँदै । 

भारतमा पनि बीजेपीले गंगामहास्नान कार्यक्रम गराएर लाखौंलाई संक्रमित तुल्यायो । त्यही महास्नान गरी फर्केका पूर्वराजा ज्ञानेन्द्र पनि परिवारसहित संक्रमित भए । भारतमा पनि निजी कारभित्र एक्लै बस्दा मास्क लगाउनुपर्ने नियम लगाइयो, तर नेताहरूले लाखौं कार्यकर्ता उतारी राजनीतिक सभा आयोजना गरे । त्यसैको फलस्वरूप भारतमा डेल्टा भेरियन्टले लाखौं जनता मृत्युवरण गर्न बाध्य भए । यसले के देखाउँछ भने जनताको स्वास्थ्य जेसुकै होस्, आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न पाए पुग्छ, नेताहरूलाई ।

कुनै पनि कोभिड–१९ संक्रमित बिरामीले न्यूनतम सात दिन आइसोलेसनमा बस्नैपर्छ । चिकित्सकहरूले यही सिफारिस गर्दै आएका छन् । आफू संक्रमित भएको थाहा हुँदाहुँदै अरुलाई संक्रमित तुल्याउन सार्वजनिक घुलमेल हुनु अपराध मानिन्छ । कोभिड–१९ को कहर थामिएको छैन र जनतालाई कष्ट हुने गरी सरकारले जोर–बिजोर प्रणाली लागू गरेको छ । यता नेताहरूलाई भने जे गर्न पनि छूट छ । यस्ता दृश्यले यो देशमा ठूला–बडा र नेतालाई कानुन लाग्दैन भन्ने मान्यता स्थापित गराएको छ । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले संक्रमित ओली सार्वजनिक कार्यक्रममा सहभागी भएकाे आफूले थाहा नपाएकाे बताएर आफैले जारी गरेकाे आदेशकाे बर्खिलाप गरिन् । 

चाहे त्यो नेता भ्रष्टाचारमा संलग्न नै भएको किन नहोस् । नेपालका नेताहरूले जताततै छूट पाएको उदाहरण त सबैले देखेकै छन् । जहिलेसम्म नेताहरू संहिताभित्र बस्दैनन् देशले उन्नति गर्न सक्दैन । अहिले भइरहेको पनि त्यही छ । हेर्दा सामान्य कार्यक्रममा सरिक भएको देखिन्छ । तर यसभित्र दम्भ, कानुनको उल्लंघन, जे गरे पनि हुन्छ भन्ने घमण्ड उजागर भएको छ । तसर्थ, संक्रमित जुनसुकै दलका जुनसुकै नेता तथा कार्यकर्ताले स्वास्थ्य मापदण्ड पालना गर्नैपर्छ, जनताले मात्र गर्ने होइन ।
 

भारतले बुझ्नुपर्छ– छिमेकीसँग सीमामा किचलो गरेर विश्वको नेता बन्ने लक्ष्य भेदन हुँदैन

इकागज | माघ ३, २०७८

नेपाल र भारतबीचको सम्बन्ध जति घनिष्ठ र बहुआयमिक छ, मतभेद र विवाद पनि त्यत्तिकै फराकिला छन् । यतिबेला पुनः…