सहिदको सम्मान

बा ! मेरो माया मारिदिनोस्, म देशलाई छातीको ढाल थापेर बचाउँछु

गंगालाल श्रेष्ठ | माघ १४, २०७८

जहानियाँ राणाशासनको अत्याचार सहँदै चुप लाग्नेहरू, चाकरी गर्नेहरू, चुक्ली लाउनेहरू, ‘च्योच्यो’ भनेर बोलाउँदा जानेहरू, राणाहरूका दरबारमा स्वस्ति गर्न हर दिन ढुक्नेहरू–लाइन लाग्नेहरू त्यतिबेला पनि थिए । केही सचेत युवाले त्यतिबेला म बोल्दिनँ, बोलेर पैसा आउँदैन भनेको भए ? जनमतसंग्रह मागेको भए ? निजी लाभ लिएर प्रतिबद्धता बुझाएको भए ? तर, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर, गंगालाल श्रेष्ठहरूले हाँसीहाँसी मृत्यु स्वीकारे, दासत्व स्वीकारेनन् । माफी मागेको भए उनीहरू बाँच्थे अनि राणाशाहीहरूको अत्याचार पनि लामो समय बाँच्थ्यो । आजभन्दा १९ वर्ष पहिले जसरी युवाहरूले प्राणको आहुति दिए, उसरी नै आज पनि ज्यान अर्पिनुपर्छ भन्ने होइन । तर, खराबीको विरुद्ध बोल्नुपर्छ, लेख्नुपर्छ ।  आज हामी बोल्ने स्वतन्त्रताको अनुभूत गर्न पाइरहेका छौँ, तर यो दिन आउनमा थुप्रैले प्राणको आहुति दिनुपरेको छ । उनीहरूप्रतिको सच्चा सम्मान भनेको खराबीमा निरन्तर खबरदारी नै हो ।

चार वीर सहिदसध्येका सबैभन्दा कान्छा गंगालाल श्रेष्ठ प्रखर राजनीतिक सुझबुझयुक्त २१ वर्षीय जोसिला बाैद्धिक युवा दिए । गंगालालले आफ्नाे शहादतीकाे एक दिन अघि पुत्र लाभ गरेका थिए । छोराको अनुहार हेर्ने ‘लोभ’मा माफी माग्छ कि भन्ने प्रलाेभन देखाएर यो खबर उनीसम्‍म पुर्‍याइयाे । तर, उनले छोरोको नाम शशि राख्नू भने तर क्रान्तिप्रतिको प्रतिबद्धता फिटिक्क डगमगाएनन् । दशचन्द ठाकुरले गोली हान्नेहरूलाई भनेका थिए— गंगालाल मभन्दा युवा छन्, म ढलेपछि उनलाई पीडा होला । पहिला उनलाई त्यसपछि मलाई हान्नू । यसरी शोभाभगवतीमा दशरथ र गंगालाल स्वतन्त्र शासन व्यवस्थाका खातिर सहिद भए । उनै गंगालालले आफ्ना बालाई लेखेको चिठी यहाँ साभार गरिएको छ । यो चिठी सिद्धिचरण श्रेष्ठको पुस्तक ‘कारागारका सम्झना’बाट लिइएको हो : 

“बा !
तपाईंको आज्ञापालन गरेर शान्तिसित बसुँला भन्ने लागेको थियो, सक्तै सकिनँ, म सक्तिनँ । आज रातभर निद्रा परेन । बिर्स पनि हुने पाठ म घोकि–रहेछु, सम्झनुपर्ने पाठचाहिँ मैले बिर्सन आँटेछु ! आफ्नो पेटको अग्निलाई आफ्नै रगतले निभाइरहेका भोका अगणित भाइहरूका पहेला मुखसित डराएर आँखा चिम्लन आँटेछु ! तिनका पेटको गहिरो स्वरले मागेको सुन्न नसकी कान थुनेर भाग्न पो आँटेछु । अन्तस्करणबाट आगो रूमल्लिएर पायो ! के के असह्य भयो अब म सहन असमर्थ छु ! जताततै कोलाहलको ज्वाला देख्छु– आफै सल्कन लागेको छु ! मलाई त्यो निभाएर मर्न दिनोस् !

तपाई मेरा पिता हुनुहुन्छ, तर हामी सबै जनाको जन्मभूमि माताप्रतिको हाम्रो कर्तव्यमा तपाईको आज्ञाले म पछि हट्न सक्तिनँ– म तपाईंको आज्ञाले चुपचाप राष्ट्रको पाप बोक्न सक्तिनँ । अब मेरो माया मारिदिनोस् । मेरा अरू भाइहरू छंदैछन्, एउटा छोरालाई नेपाल आमाको निम्ति बलिदान दिनुहोला भन्न देशभक्त पुत्र गंगालालको निवेदन छ । अत्याचार र अन्यायको विरुद्ध लड्दै म देशलाई छातीको ढाल थापेर बचाउँछु ।

बालक पुत्र गंगालालको
दण्डवत् सेवा ।

कांग्रेसलाई गुटगत सरदारहरूका पोल्टामा सुम्पिने कि वैचारिक मन्थन गर्ने ?

विनोद सिजापती | माघ १३, २०७८

मुलुककै पुरानो पार्टी नेपाली कांग्रेसमा वैचारिक छलफल विरलै मात्र हुने गर्छ । राजनीतिक इतिहास केलाउँदै ल्…

तल्लोवाला ‘साँढे’ को सहमति लिनुपर्ने शर्तले रोकेको विद्युत् विकास

विकास थापा | माघ १२, २०७८

काठमाडौं : नदी प्रवाही (रन अफ रिभर) जलविद्युत् आयोजनाको कोटा सकिएकाले केही वर्षयता नेपाल विद्युत् प्र…

वनस्पति विभागका अनुसन्धानका काम जति कन्सल्टेन्सी फर्मलाई ?

बौद्धिक बेइमानी र बायोडाटा दुरुपयोगका सम्बन्धमा यसअघि इकागजमा प्रकाशित विशेष रिपोर्ट र त्यसको ‘फलोअ…

अन्तिम सास फेर्नुभन्दा नौ घण्टाअघि एलबीजीले लेखमार्फत छोडेर गएका प्रश्न

प्रदेश २ लाई मधेस प्रदेश बनाएसँगै राजनीतिको रंगमञ्चमा उल्लास र विरोध गुञ्जिरहेका बेला अछामबाट राजधानी आए…

सत्ता गठबन्धन भत्कियोस् कि रहोस्, स्थानीय चुनाव समयमै हुनुपर्छ

हरि शर्मा | माघ ८, २०७८

स्थानीय सरकार नागरिकको सेवा प्रवाहसँग प्रत्यक्ष जोडिएको छ, त्यो ठाउँ जनप्रतिनिधिविहीन राख्‍नुहुन्‍न …