रङ्गमन्च

पुरुषको छाती कस्तो हुन्छ ?

अनिष भट्टराई | माघ ३, २०७८

काठमाडाैँ- नोरा गहिरो दुःखमा छिन् । पति हेमन्तको उपचारका लागि नोराले पाँच लाख ऋण लिएकी थिइन् । केदार, जोसँग हेमन्तको राम्रो सम्बन्ध थिएन, उनैसँग नोराको आर्थिक लेनदेन भएको थाहा पाएपछि हेमन्त आक्रोशित छन् । 

नोराले ऋण लिँदा आफ्नो बुवाको हस्ताक्षर किर्ते गरेकी थिइन् । उनलाई कानुनको प्रवाह भएन किनकी नोरालाई आफ्नो पति बचाउनु थियो । कुनै पनि मान्छेको ज्यान अगाडि कानुनको अर्थ रहँदैन भन्ने नोरालाई लाग्थ्यो । जसरी भए पनि आफ्नो पति बचाउनु उनले धर्म ठानेकी थिइन् । 

तर नोरामाथि हेमन्तले धर्मकै प्रश्न उठाइरहे । हेमन्तले रिसको झोकमा धार्मिक प्रश्नसँगै नोरामाथि तुच्छ लाञ्छना लगाउँदा नोरा शान्त रहन्छिन् । मुखले प्रतिवाद नगर्नु र मनले प्रतिवाद नगर्नुमा फरक छ । जसो–जसो लाञ्छनाका वचन खस्थे, उसैउसै नोराका आँखाबाट आँसु बग्थे । उनीसँग भएका उत्तर मुखरित भएनन्, जवाफहरू आँसु बनेर खसिरहे, आँखाको डिलबाट । समाजले जेलाई श्रीमतीको धर्म ठान्छ, त्यसैलाई नोराले मानिरहेकी थिइन् । 

नोराको मौनतामा हेमन्तको मनोबल बढिरहेको थियो । हेमन्त रोकिन चाहेनन् । थप प्रश्न गरे, ‘थाहा छ, पुरुषको छाती कस्तो हुन्छ ?’ सायद उनलाई उत्तर थाहा पनि हुँदो हो तर उनले कुनै जवाफ फर्काउँदिनन् ।  

हेमन्त आफैंले उत्तर दिन्छन्, ‘पुरुषको छाती कस्तो हुन्छ भने कुनै पुरुषले आफ्नो इज्जतको बलिदानी दिँदैन । आफैंले माया गरेको मान्छे अगाडि पनि (बलिदानी दिँदैन) ।’ हेमन्तले आफ्नो इज्जत अगाडि नोराको ज्यानको प्रवाह गरेनन् । ‘जहाँ जान्छेस् जा, तँ मरेर अब मलाई केही हुँदैन, छोराछोरीको नजिक नजा, उनीहरूलाई कुसंस्कार दिने तँ जस्ती आमा राख्नु छैन,’ हेमन्त लगातार कड्किरहेका थिए । 

तर हेमन्त पूर्ण अनभिज्ञ थिए, कसरी नोराले उनका लागि आफूलाई नै समर्पित गरेकी थिइन् । आफ्ना इच्छाको बलिदानी दिएर घर खर्च कटाउँदै किस्ताकिस्तामा ऋण चुकाइरहेको पनि हेमन्तलाई थाहा थिएन । 

बुवाको हातबाट हेमन्तको हातमा थमाइएकी ‘मैना चरी’ नोराले उडान भर्न चाहे पनि हेमन्तकै लागि आफ्नो पँखेटा काट्न बाध्य थिइन् । नोराको यो बलिदानी हेमन्तका लागि सामाजिक संरचनाको केवल एक हिस्सा थियो, श्रीमतीले निर्वाह गर्नुपर्ने केवल एक धर्म मात्र थियो ।  

आक्रोशकै मुद्रामा रहेका हेमन्तलाई एक चिठी प्राप्त हुन्छ । चिठीमा केदारले पाँच लाख रुपैयाँ ऋण दिँदा बनाएको तमसुक पठाइदिएका थिए । तमसुकसँगै केदारले नोराको किर्ते कामलाई बाहिर नल्याउने पत्र पठाएपछि हेमन्त एकाएक शान्त बन्छन् । रमाउँछन्, गीत गाउँछन् । तमसुकलाई धुजा–धुजा पारेर च्यात्छन् । र, सम्झाउन थाल्छन् नोरालाई । 

‘नोरा अब हामी बाँच्यौं, अब हामीलाई केही डर छैन । नोरा तिमीले केवल मेरो लागि त्यो काम गर्यौ, मेरो माया झनै बढ्यो तिमीप्रति,’ यतिभन्दा हेमन्तले आफ्ना अघिका शब्दहरू सबै फिर्ता लिइसकेका थिए । तर नोराको मनमा ‘गहिरो खाल्डो’ परिसकेको थियो । 

नोरा कोठाभित्र जान्छिन् । आफूले लगाएको रंगिन कपडा उतारेर सेतो पहिरनमा निस्किन्छिन् । सिउँदोको सिन्दुर पुस्छिन्, गलाको पोते उतार्छिन् । अब उनलाई समाजले तोकिदिएको श्रीमतीको कर्तव्य पालना गर्नु थिएन । श्रीमानको सम्मानार्थ आफ्नो फरक विचार दबाउनु थिएन । नोरा पूर्ण स्वतन्त्र बनेकी थिइन् । समाजले कोरेको अन्यायपूर्ण घेरालाई नाघेर आफूमाथि न्याय गर्दै थिइन् । ‘म माथि ठूलो अन्याय भएको छ । बिहे अघि बुवा र बिहे पछि तपाईंकै इच्छा अनुसार चलेँ, म रमाएकी मात्र थिएँ, खुसी थिइनँ,’ नोराले भनिन्, ‘अब म मैना चरी होइन, पुतली होइन । म अब स्वतन्त्र हुन चाहन्छु । धर्म होइन, आफ्नै खुट्टामा उभिएर आफ्नो विचार मान्छु ।’ नोरा ‘चरी’ जसको पँखेटा बाँधिएको थियो, उनी अन्ततः निस्किएकी थिइन्, पिँजडाबाट ।  

 ०००
नर्वेजियन लेखक हेनरिक जान इब्सनले लेखेको नाटक ‘द डल्स हाउस’ को नेपाली अनुवाद ‘पुतलीको घर’ को कथा–दृश्य हुन् यी । नाटकमा जस्तै नेपाली महिलाहरूलाई पनि दबाएर राखिएको छ । महिलाहरूको विषयमा मुखले बोलेपनि समाज र सत्ताले महिलालाई उचित सम्मान दिन नसकेको कटु यथार्थ छ । नाटकको महिला पात्र नोरा अन्त्यमा घर छाडेर निस्किन्छन् । यसले नेपाली समाजको पनि चित्रण गर्छ जहाँ, वर्षौंदेखि दबिएका महिलाहरू विस्तारै आफ्नो उडान भर्न थालेका छन् । 

नाटक प्रगतिशील छ । सहायक पात्र लिना जो विधवा हुन्छिन्, उनलाई केदारले अन्त्यमा बिहे गर्छन् । छुट्टाछुट्टै फ्ल्याक समाएर डुब्नुको साटो एउटै फ्ल्याक समाएर डुब्न राजी हुन्छन् । नोराले पनि लिनालाई प्रेम गर्छिन् । लिना विधवा भए पनि नोराले आफू समानकै हैसियतमा राख्छिन् । 

नाटकको नेपाली अनुवाद र निर्देशन सुनील पोखरेलले गरेका छन् । नाटकमा निशा शर्मा पोखरेल, शेखर चापागाईं, अञ्जु देउजा, सुनील पोखरेल र राजकुमार पुडासैनीको अभिनय छ । 

प्राध्यापक डाक्टर अभि सुवेदीले नाटकबारे भनेका छन्, ‘सायद यो विषय (नारीको अवस्था र पारपाचुके) नेपालमा एक नित्य विवादको विषय भएकाले होला निर्देशक पोखरेलले विशेष प्रयोग धेरै नगरेर सरल प्रस्तुति गरेका छन् ।’

साँच्चै नै निर्देशक पोखरेलले नाटकमा विशेष प्रयोग गरेका छैनन् । नाटकमा मौलिक नेपाली भाषाको प्रयोगको साटो सरसर्ती अनुवाद गरे जस्तो संवाद गरिएको छ । कुनै कुनै बेला अभिनय गर्दा कलाकारले पढेर सुनाएको जस्तो महसुुस हुन्छ । संवादमा नेपाली भाषा त छ तर सहजता छैन । 

०००
पुतलीको घरबाट गुरुकुल थिएटरले पुनरागमन गरेको छ । जग्गा अभावका कारण एक दशक अघि २०६८ मा बन्द भएको गुरुकुल फर्किएको हो । थापागाउँस्थित कुञ्ज थिएटरमा गुरुकुलका लागि काठमाडौं महानगरपालिकाले भाडा तिरिदिने भएपछि गुरुकुलले नाटक मञ्चन सुरु गर्न सकेको हो । 

‘अग्निको कथा’ बाट सुरु र अन्त्य भएको गुरुकुलको दोस्रो यात्रा ‘पुतलीको घर’ बाट सुरु भएको छ । अग्निको कथाबाटै दोस्रो यात्रा सुरु गर्ने योजना पनि सञ्चालक तथा निर्देशक पोखरेलको नभएको होइन । तर यसअघि नै पुतलीको घरलाई नाचघरमा मञ्चन गरेकाले  यसबाट गुरुकुलले यात्रा थालेको हो । ‘पुतलीको घर नेपालमा सामयिक लागेर पनि मञ्चनका निम्ति छान्यौं,’ पोखरेलले भने ।  
तस्बिरः तुफान थापा 
 

दयाहाङले निर्देशन गरेकाे नाटक 'मितज्यू' पहिलाेपटक डिजिटल माध्यमबाट सार्वजनिक हुँदै

इकागज | बैशाख ३०, २०७८

काठमाडाैँ : मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक गर्ने भएकाे …