फेसन डिजाइनरका लागि राष्ट्रिय प्रतियोगिता

काठमाडौँ - मोडल सङ्स नेपालको आयोजनामो फेसन डिजाइनर लक्षित ‘द नेसनल डिजाइनर रनवे’ हुने भएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै आयोजक मोडल सङ्स नेपालले ‘द नेसनल डिजाइनर रनवे’ को आवेदन फारम खुल्ला भएको जानकारी दिएको हो ।
आयोजक संस्थाका सिइओ डेबिल सिंह राजपुतले फेसन डिजाइन क्षेत्रको प्रवद्र्धन तथा पेशाकर्मीको व्यावसायिकता विकास गर्न रनवे आयोजना गर्न लागेको बताए । ‘आफूले सिकेको सीपलाई कलाको माध्यमबाट प्रस्तुत गर्दै फेसन डिजाइनिङ क्षेत्रमा आफूलाई अब्बल साबित गर्न फेसन डिजाइनिङ सम्बन्धी प्रशिक्षण लिएका, लिँदै गरेका विद्यार्थीहरू तथा फेसन डिजाइनिङ तथा बुटिक सम्बद्ध इच्छुक प्रतिस्पर्धीले आवेदन दिन सक्नेछन्’, उनले भने ।
राजपुतले प्रतियोगिताका उत्कृष्ट विजेताले शीर्ष उपाधिसहित नगद ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजारसँगै अन्य विभिन्न आकर्षक उपहार प्राप्त गर्ने जानकारी दिए । उनका अनुसार ‘द नेसनल डिजाइनर रनवे’ को उत्कृष्ट १० भित्र रहन सफल हुने प्रतिस्पर्धीहरुले आफूले तयार गरेका फेसन डिजाइन थाइल्यान्डमा हुने ’ग्लोबल फेसन रनवे’ को स्टेजमा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् ।