गण्डकी

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

इकागज |
बैशाख ७, २०८१ शुक्रबार ११:१५ बजे

फाइल तस्बिर

गण्डकी - गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा वैशाख ७ गते शुक्रबार दिनको ३ बजेदेखि आरम्भ हुने गरी बैठक आह्वान गरेका छन् ।

नियुक्तिदेखि नै विवादस्पद रहेको मुख्यमन्त्री खगराज अधिकारीको सरकारले प्रदेश सभाको बैठक बोलाएको विषय पनि विवादित बनेको छ ।


गत चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका अधिकारीको नियुक्ति विवादमा रहेको छ । बहुमतसहित मुख्यमन्त्रीमा दाबि गर्ने क्रममा सभामुखलाई समेत समावेश गरेको भन्दै उनको नियुक्ति अहिले विवादमा रहेको छ । उनको नियुक्तिको विषयमा सर्वोच्च अदालतले वैशाख १० गते पूर्ण सुनुवाइ गर्ने भन्दै दीर्घकालमा असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।​

सर्वोच्चको अन्तिम फैसलापछि मात्र उनको सरकारको भविष्य तय हुने भएको छ । तर मुख्यमन्त्री अधिकारीले भने सर्वोच्चको सुनुवाइ अघि नै विश्वासको मत लिने तयारीमा लागेपछि यसको विरोध समेत शुरु भएको छ । 

विश्वासको मत लिने गरि बैठक बोलाइएको भएपनि अहिलेसम्म मुख्यमन्त्री अधिकारीले आजको बैठकमा विश्वासको मत लिनेबारे प्रदेश सभालाई जानकारी दिएका छैनन् । 

अर्को तर्फ नेपाली कांग्रेसले भने प्रदेश सभाको बैठक बोलाइएकोप्रति आपत्ति जनाउँदै गैरसंवैधानिक भनेको छ । कांग्रेस र राप्रपाले आजको बैठक बहिष्कार गर्ने तयारी गरेको बताइएको छ ।


Author

थप समाचार
x