पर्यटन

पर्यटक सवारी साधन पहिचान हुने नमुना चिह्न व्यवस्था गरिदिन यातायात व्यवसायी संघको माग

इकागज |
बैशाख १५, २०८१ शनिबार १४:४९ बजे

काठमाडौँ- नेपाल पर्यटक यातायात व्यवसायी संघले सरकारसँग पर्यटक सवारी साधनहरू पहिचान हुने नमुना चिह्नको व्यवस्था गर्न माग गरेको छ ।

संघले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलाई ज्ञापन पत्र बुझाउँदै पर्यटक सवारी साधनलाई पर्यटक सवारीहरूको गुणस्तर र सुरक्षित गुडविल पनि लोप हुन सक्ने भएकाले पहिचान गर्न सम्भव भएसम्म पर्यटक इम्बोस्ड नम्बर प्लेट व्यवस्था गरिदिन माग गरेको हो ।


संघका अध्यक्ष बेदराज बास्तोलले पर्यटक सवारी साधन सञ्चालन गर्ने कम्पनीको नाममा दर्ता रही सञ्चालनमा रहेका रातो प्लेटका सवारी साधनहरूलाई ट्राफिक प्रहरीले कारबाहीको दायरामा ल्याएकाले व्यवसायीहरू मारमा परेको बताएका छन् ।

'यातायात ऐनमा रहेको व्यवस्थालाई संशोधन गरी रातो प्लेट कायम रहेका सवारी साधनलाई वर्गीकरण गरी कम्पनीको नाममा रहने सवारी साधन व्यावसायिक प्रयोजनमा प्रयोग गर्न पाउने व्यवस्था मिलाउनुपर्छ,' उनले भने ।

ट्राभल तथा ट्रेकिङ कम्पनीले सवारी साधनहरू समेत भाडामा दिने कार्य गरेकाले त्यस्ता कार्यलाई नियन्त्रण गरिदिन बास्तोलाले आग्रह गरेका छन् । 'सवारी साधनहरू भाडामा लिने दिने कार्य गर्न हो भने पर्यटन यातायात व्यवसाय संचालन गर्न तोकिएको क्राइरेटिया पूरा गरी पर्यटन कार्यालयबाट इजाजत पत्र लिएर मात्र व्यवसाय गर्न दिनुपर्छ,' उनले अगाडि थपे ।

नेपाल पर्यटक यातायात व्यवसायी संघ नेपालभित्र छरिएर रहेका पर्यटक यातायात सवारी साधन सञ्चालनको इजाजत लिई सञ्चालित व्यवसायी कम्पनीको छाता संस्था हो । यस संस्था अन्तर्गत करिब २५० वटा व्यवसायीक कम्पनीहरू छन् । हाल सानो, मझौला र ठूलो गरी करिब चार हजार जति संख्या पर्यटक सवारी साधनहरू सञ्चालनमा छन् । करिब ४५०० जनाले रोजगारी पाएका छन् ।


Author

थप समाचार
x