चाइना जर्नल

एम्बुलेन्समा ल्हासाको यात्रा

अजय अलौकिक | असार १७, २०७८

विश्वको छानो तथा तेस्रो ध्रुवसमेत मानिने चीनको तिब्बतसँग नेपालको झण्डै चौध सय किलोमिटर लामो सीमा जोडिएको छ । सीमा वारपारको नेपालको उत्तरी हिम क्षेत्र र तिब्बतको भूबनौट तथा संस्कृति उस्तै पनि देखिन्छ । यद्यपि तिब्बती उच्च भूभागमा मोटरगाडी चल्नेदेखि जनताको घरघरमा सहरीय सुविधा पुगिसकेको छ भने नेपालतिर अझै प्राचीनतम् अवस्था देखिन्छ । जीविकोपार्जन कठिन छ । 

तिब्बतसँग सीमा जोडिएका धेरै नेपाली भूभागको भ्रमण र तिब्बतकै कतिपय क्षेत्रको दश वर्ष अगाडिको भ्रमणबाटै यस्तो फरक अनुभव गरिएको हो। हालै मात्र फेरि पनि तिब्बतको भ्रमण गर्ने अवसर मिलेको थियो । यस वर्ष तिब्बत शान्तिपूर्ण रूपमा मुक्त भएको सत्तरी वर्ष पुगेको छ । सामन्तीवर्गबाट भूदास तथा सर्वसाधारण तिब्बतीले मुक्ति पाएको ७०औँ वार्षिकोत्सवमा विगतमा भन्दा अझ धेरै के कस्ता विकास र प्रगति हासिल गरे भन्ने अनुभव गर्नु नै यस पटकको ल्हासा यात्राको कार्यक्रम थियो । 

हुन त, तिब्बतले ७० वर्षको छोटो समयमा विकासको क्षेत्रमा लामो फड्को मारिसकेको छ । शान्तिपूर्ण मुक्तिदेखि प्रजातान्त्रिक सुधारसम्म, जातीय क्षेत्रको स्वशासन परिपाटीको व्यवहारदेखि सुधार तथा खुलापनसम्म र अहिले चिनियाँ विशेषतायुक्त समाजवादको नयाँ युगमा प्रवेश गरी चौतर्फी रूपमा गरिबी निवारणसमेत गरिसकेको छ ।

सन् २०२० अक्टुबर १५ तारिख चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत शाखाका महासचिव यीङचेले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार, सन् २०१९ को अन्तसम्ममा तिब्बतका ७४ वटा अति गरिब जिल्लाका ६ लाख २८ हजार जनता सबै गरिबीबाट मुक्त भएका छन् । यी गरिबीमुक्त तिब्बतीहरूको आम्दानी सन् २०१५ को १,४९९ चिनियाँ यूआनबाट सन् २०१९ मा ९,३२८ यूआन पुगेको छ ।

यो सत्तरी वर्षमा तिब्बतको चौतर्फि विकास अर्को चिनियाँ चमत्कार मान्न सकिन्छ । सन् १९५९ मा तिब्बतको कूल क्षेत्रीय उत्पादन मात्रा १७ करोड ४० लाख यूआन रहेकोमा सन् २०२० सम्म आइपुग्दा यो रकम १ खर्ब ९० अर्ब २७ करोड यूआन पुगेको छ । सन् १९५४ अघि कुनै औपचारिक राजमार्ग नभएको तिब्बत अहिले राजमार्ग, रेलमार्ग तथा हवाईमार्गलगायत हिमाल वारपार यातायात सञ्जालको स्थापना भएको छ । 

यस पटकको भ्रमणमा ल्हासा सहर पनि बेइजिङ, साङहाई या अरू चिनियाँ सहरभन्दा कम देखिएन । दुवैतिरको पैदलमार्ग हरिया रूख, अपाङ्गमैत्री बाटो अनि चौडा सडक र गाडीको लश्कर देखिन्थ्यो । यसैबीच इन्टरकन्टिनेन्टल होटलबाट तिब्बती जन अस्पतालका लागि एउटा एम्बुलेन्स आफ्नो साइरन बजाउँदै हुइँकिएको थियो । र त्यो एम्बुलेन्समा नाकमा पाइप छिराइ शरीरको तापमान र ब्लडप्रेसर नाप्दै मलाई लगिएको थियो । यो मेरो एम्बुलेन्स यात्राको दोस्रो अनुभव हो । 

गत वर्ष बेइजिङमा एक विदेशीलाई रगत आवश्यकता भएपछि रक्तदान गर्न उनी राखेको अस्पताल जाँदा एम्बुलेन्समा राखी रक्त केन्द्र लगिएको थियो । त्यो नै पहिलो एम्बुलेन्स बसाइको अनुभव थियो । तर अहिलेको अनुभवमा आकाश पातालको फरक थियो । साँचो अर्थमा यो मेरो पहिलो एम्बुलेन्स अनुभव थियो । त्यो पनि छङक्वान जिल्लादेखि ल्हासासम्मको एम्बुलेन्स यात्रा । एम्बुलेन्सको अनुभव कसैले गर्न नपरोस् । कोही कसैको अकालमा मृत्यु नहोस् । कुनै दुर्घटना नहोस् । 

साइरन बजाउँदै हुइँकिएको एम्बुलेन्सभित्र मलाई ताजुब पनि लागिरहेको थियो । खासमा, ल्हासा पुगेको पहिलो रात नुहाउन हुँदैन भन्ने गरिन्छ । यस्तै भनिए तापनि अघिल्लो भ्रमणमा नपछ्याएको कुरालाई यस पटक मान्ने सवालै उठेन । 

बिस्तरामा सुस्ताउनअघि लिएको हल्का सावरबाथले रातको प्रहरमा अलि जाडो महसुस गराएको थियो र बिहानीपख शरीर केही तातो बनाएको थियो । प्यारासिटामोललगायतका आवश्यक औषधिसँगै रहे तापनि त्यसै नखाने बानीका कारण शरीरको तापक्रम नाप्न होटल रिसेप्सनतिर लागियो । यहाँ ३७।७ सेल्सियस देखाएको थियो अर्थात् हनहन ज्वरो आएको थियो । त्यसपछि रेस्ट इज हिस्टरी भनेझैँ हुनपुग्यो ।

हाल विश्व नै कोरोनाभाइरस ९कोभिड(१९० को मारमा परेको विषम अवस्था छ, त्यो पनि आज अन्त्य होला भन्दाभन्दै विभिन्न भेरियन्टसँग जुध्न परेको अकल्पनीय अवस्था हामीमाझ छ । यो रोगको पहिलो लक्षण ज्वर आउनु नै हो । मलाई ज्वरो आएको थियो र होटेलले आफ्नो ग्राहकहरूको स्वास्थ्य सुरक्षाको ख्याल गर्दै कोरोना परीक्षणका लागि एम्बुलेन्स झिकाएको रहेछ । 

एम्बुलेन्सबाट ल्हासाको सडक छिचोल्दै गर्दा कुनै डर भने थिएन । किनकी बेइजिङमा स्थानीय रूपमा सङ्क्रमण नदेखिएको ५ महिना बढी भइसकेको थियो । तापनि शंकाले स्थान पाएको थियो । यदि ल्हासामा म सङ्क्रमित देखिएको खण्डमा यति लामो कोरोना कहरको अवधिमा तिब्बतमा लामो समयपश्चात दोस्रो नम्बरमा गनिने थिएँ ।

तिब्बतमा ल्हासामा मात्र सन् २०२० जनवरी २९ मा एक जना कोरोना सङ्क्रमित भेटाइएको थियो जसको सफल उपचार पनि भइसकेको छ । त्यसपछि आजको दिनसम्म नयाँ सङ्क्रमित थपिएको छैन । यस्तै सतर्कता अपनाएर त आजसम्म तिब्बतमा सङ्क्रमण नफैलिएको हुनुपर्छ । यसका साथै तिब्बत प्रवेशमा पनि कडा नियम लागू गर्दैआएको छ । यसै वर्षको मार्चबाट तिब्बत भ्रमणका लागि केही खुकुलो गरिएको छ ।

दोस्रो चरणको खोप कार्यक्रम चलिरहेको तिब्बती जन अस्पतालमा दोस्रो खोप लगाइसके तापनि मेरो कोरोना परीक्षण गरियो । नाँक र घाँटी दुवैबाट स्वाब सङ्कलन गरियो साथै रगत पनि जाँच गरियो । एउटा सुखद कुरा के हो भने नि गत नोभेम्बरमा साङहाईको भ्रमणपछि बेइजिङमा २४ घण्टापछि प्राप्त नतिजा यहाँ एक घण्टामा पाइयो । प्रविधिको विकास मानिसको सुविधाका लागि नै त हो । नतिजा अनुमानित नेगेटिभ थियो । आत्तिनु परेन न त मात्तिनु नै छ । 

यो परीक्षणका लागि हिँड्दा पोताला दरबार र जोखाङ मन्दिरको अवलोकन नै छुटाउनुपर्यो । ल्हासा भन्नेबित्तिकै पहिलो पोताला र दोस्रो जोखाङ अनि भाकोर सडकको नाम आउँछ । तर मेरो भागमा यी विश्व सम्पदामा सूचिकृत पोताला तथा ल्हासाको सानदार क्षेत्रको भ्रमण थिएन । पहिले घुमिसके तापनि यी ठाउँको भ्रमण गर्न नपाउनु खेद नै लागेको छ । यद्यपि यस पटकको भ्रमणमा एउटा नयाँ प्रियकर वस्तुसँग साक्षात्कार हुने अवसर भने पाएँ ।

नोर्बुलिङ्का, हबालिन मस्जिदसँगै मन्दिर घुमाउने कार्यक्रम अनुसार घुम्दै रामोच मन्दिर पुगेको थिएँ । मन्दिर प्रवेशसम्म पनि उक्त मन्दिरको बारेमा कसैले केही बताएका थिएनन् । तिब्बत तथा ल्हासाका मठमन्दिरमा नेपाली ललितकला तथा वास्तुकला भेटाइन्छ नै साथै नेपाली कालिगडहरूको सीप र परिश्रम पनि जताततै देख्नपाइन्छ । 

त्यो रामोच मन्दिरमा पनि नेपाली तत्व अवश्य नै छ भन्नेमा कुनै शंका थिएन । तर, त्यो मन्दिरमा नेपाली राजकुमारी भृकुटीद्वारा दाइजोस्वरूप ल्याइएको बुद्ध मूर्ति राखिएको छ भनेर त्यहाँका मुख्य भिक्षुको मुखारबिन्दुबाट सुन्दा उत्कण्ठित भएँ । ढुङ्गा खोज्दा देउता मिल्नु जतिकै भयो । अविस्मरणीय क्षण १ यो यस पटकको यात्राको एम्बुलेन्सपछि नबिर्सने अर्को क्षण बनेर आएको थियो । 

राजकुमारी भृकुटीको तिब्बती राजा स्रङचन गम्पोसँग विवाह भएको इतिहासमा उल्लेख छ । राष्ट्रिय विभूति भृकुटीले दाइजो स्वरूप शाक्यमुनि बुद्धको आठ वर्ष उमेरको मूर्ति पनि तिब्बतमा ल्याएकी थिइन् । तर, त्यो मूर्ति नेपालतिर फर्काइ राजकुमारी भृकुटीका लागि बनाइएको जोखाङ मन्दिरमा राखिएको भन्ने सुनेको मैले अघिल्लो पटकको भ्रमणमा जिज्ञासा राख्दा राजकुमारी वनछङको मन्दिरमा छ भन्ने उत्तर पाएको थिएँ । यस पटक सोही मन्दिरमा जाने अवसर जुरेको थियो । मन्दिरभित्र रहेको बुद्ध मूर्तिको दर्शनसमेत गर्ने सौभाग्य मिल्यो । 

यस बाहेक, यस पटकको भ्रमणमा हरियाली ल्हासा मात्रै नभइ हरिया सागसब्जी पनि पर्याप्त देखियो । उहिले, सिगाचे नपुग्दै बाटोमा ग्रीनहाउसमा सागसब्जी उब्जाएको देखेको मैले यस पटक रेल तथा यातायातको विकासमार्फत् चीनका अरू सहरबाट दैनिक रूपमा तरकारी स्थानीय बजारसम्म पुगेको पाएँ । 

चीनको केन्द्रीय सरकारले समेत तिब्बतको पर्यावरणीय तथा वातावरण संरक्षणमा लगानी गर्दैआएको छ नै त्यसमाथि उच्च पठारभूमिमा रेलमार्गको विकास, सिगाचेबाट रेल आइरहेको दृश्य यताबाट साङहाईका लागि छुटेको रेल देखेर बेइजिङबाट यो आकाशेमार्ग हुँदै काठमाण्डु र काठमाण्डुबाट मनोरम प्राकृतिक दृश्य हेर्दै चिनियाँ सहर पुग्ने उत्कट इच्छा पलाएर आएको छ ।

नेपालमा निरंकुश राणा शासनलाई परास्त गरी प्रजातन्त्र स्थापना भएको त्यही सेरोफेरोमा, सन् १९५१ मे २३ मा चीनको केन्द्रीय सरकारले तिब्बती जनताको चाहना अनुसार तिब्बतमा प्रजातान्त्रिक सुधार गरी सामन्तवादी भूदास व्यवस्थाको अन्त्य गरेको थियो । गत मे २१ तारिख चीनको राज्य परिषदको प्रेस कार्यालयले तिब्बत शान्तिपूर्ण मुक्ति तथा समृद्ध विकास शीर्षकमा श्वेतपत्र प्रकाशित गरेको थियो । 

उक्त श्वेतपत्रमा सन् १९५१ मे २३ तारिख केन्द्रीय जनसरकार र तिब्बती स्थानीय सरकारबीच तिब्बतलाई शान्तिपूर्ण मुक्त गर्ने सम्झौता भएको हस्ताक्षरबाट तिब्बतको शान्तिपूर्ण मुक्ति अभिव्यक्त भएको उल्लेख छ । जसबाट तिब्बती जनताले साम्राज्यवादी प्रहारबाट मुक्त भएर पूर्ण राष्ट्रका विभिन्न जातीयहरूसँग एकताबद्ध, प्रगति र विकासको उज्यालो पथमा लम्केको छ । 

नयाँ युगमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेतृत्वमा एक नयाँ समाजवादी तिब्बत देखिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको शतवार्षिकीको यो सुअवसरमा समृद्ध अर्थतन्त्र, स्थिर समाज, संस्कृति तथा पर्यावरणको संरक्षणले नयाँ तिब्बतले अझै उचाइ छुने छ ।

हामी चुप लागेपछि समाजमा शान्ति र सद्भाव छाउँदो रहेछ

म थाहा पाउने भएदेखि भारतको हिमाचल प्रदेशको किनौर जिल्लामा थिएँ । म जन्मेको चाहिँ रुकुम जिल्लामा हो । ...

पालिकाको बजेटबाट डाक्टरी पढ्न छात्रवृृत्ति दिऔँ, डोजर होइन, एम्बुलेन्स किनौँ

मिलन मनुवा दाहाल | जेठ १८, २०७८

सन् २०१५ मा एक कार्यक्रममा बोल्दै बिल गेट्सले भयंकर महामारी आउन सक्ने चेतावनी दिएका रहेछन् । युट्युबमा उप...

'हामीलाई आक्रमण गर्ने योजना पहिल्यै बने जस्तो लाग्यो'

आश्विनी गुरुङ | जेठ १५, २०७८

भेरी अञ्चल अस्पतालमा बिहीबार त्यहाँ उपचाररत बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले ड्युटीमा रहेका नर्स त...