ब्लग

पहिरो डायरी

पहिरो झरिरह्यो, खुट्टा हिलोमा भास्सिरहे

किशोर बुढाथोकी |
साउन १७, २०७९ मंगलबार १९:४५ बजे

माथिबाट ढुंगा खसिरहेको छ । तल दबदबे हिलो ।

सिन्धुपाल्चोकको साविक मांखा र राम्चेको सीमा विशाल इट्नी भीर खसेर सुनकोशी थुनिएको करिब १० घण्टा बितिसक्यो । कतिबेला खोला फुटेर विशाल बाढीको रुप लिन्छ कुनै टुंगो छैन ।


हातमा भिडियो खिच्ने क्यामेरा बोकेर म भने तीन गाउँ सिनित्तै पारेको जुरे पहिरोको बीचमा उभिएको छु ।

‘भाइ उता नजाऊ त, माथिबाट पहिरो खसिरहेको छ, जोखिम छ ।’ जुरेको विशाल पहाड खसेर थुनिएको सुनकोसी नदीबाट बनेको तालमै पुगेर रिपोर्टिङ गर्ने इच्छा भएपछि घटनास्थलमा उद्धारका लागि तैनाथ प्रहरी इन्सपेक्टरले रोके । पहिरो खसेर बनेको बाँधभन्दा झण्डै साढे दुई किलोमिटर वरदेखि नै प्रहरीले सर्वसाधारणलाई जान दिएका थिएनन् । जुनसुकै बेला बाँध फुटेर हुन सक्ने सम्भावित मानवीय क्षति रोक्न प्रहरी सक्रिय नै थियो । जुरेको माथिबाट पहिरो क्रमशः खसिरहेकै थियो । पहिरो छिचोल्दै बाँधको टुप्पोमा पुग्नका लागि ‘सानो’ मुटु काफी थिएन । पहिरोले बगाएको माटोमाथि टेक्दै हिँडेर बाँधको टुप्पोसम्म पुग्नु चुनौती, भय र मृत्युको अर्काे बाटो थियो । माथिबाट पहिरो खसिरहेको घटनास्थलमा सबैले देखिरहेका थिए । बाँध फुट्ने हल्लामात्र नभई वास्तविकताजस्तै भएकाले सबै भयभित देखिन्थे । बाँध फुटिहाल्यो भने सुरक्षित स्थानमा कसरी जाने भनेर त्यहाँ रहेका सबैले आफ्नै मानसिक बाटो तय गरिसकेको अवस्था थियो । त्यो बेला पहिरोमा आफैँले पाइलाको डोब बनाउँदै जोखिमयुक्त यात्रा गर्नु ‘चानचुने’ पक्कै थिएन । बाँधको टुप्पोमा पुगेर जमेर बनेको तालको पानी स्पर्श गर्न भने बाँकी भएको मेरो एउटा मन साह्रै हतारिएको थियो ।

माथि बाँधतिर २/३ जना जाँदै गरेको देखेकाले सुरक्षाकर्मीलाई म पनि जान्छु भन्ने आँट भने ममा थियो । मैले मनमनै जाने निधो गरें र भने, ‘सर, म मिडियाको मान्छे, एकचोटि जसरी पनि पुग्छु, ।’ उनले ‘पहिरोले मिडियाको मान्छे नभन्ने’ भन्दै चेतावनी त दिए तर रोकेनन् । धेरै मान्छेहरु वनदेउबाट उता जान नसकेको अवस्थामा म बाँधमा जान्छु भन्नु आफैँलाई मृत्युको मुखमा धकेल्नु मुर्खता सरह थियो । बाँधको टुप्पोमा जाने इच्छा चौताराका मोतिलाल दाइलाई पनि रहेछ । मैले जाऊँ भनेपछि उनी पनि तयार भए । प्रहरीले पनि रोकेन ।

मोतीलाल दाइसँग मर्नुपरे सँगै मरौँ भन्दै सल्लाह गरेरै अघि बढ्यौँ । पहिरोले थुनिएर पानी रोकिएको ठाउँमा पुग्न उकालो उकालो गर्दै दुई किमीजति माथि पुग्नुपथ्र्याे । दबदबे हिलोमा अरू मान्छे हिँडेको पाइला ठम्याएर मात्रै टेक्नुपर्ने थियो, नत्र भासिने र आफैँ पुरिने सम्भावना हुन्थ्यो । पाइला नदेखिएपछि एकदमै डर लागेर आउँथ्यो । माथि हेर्दा मान्छेको चालचोल थिएन । त्यहाँबाट पानी थुनिएको ठाउँमा हेर्दा तीनजना मान्छे देखिए, दुईजनासँग हातमा क्यामेरा थियो । पहिरोको बीचतिर देखिएका पनि खुबै भयभित देखिन्थे । प्रहरीले खतरा छ भनेर चेतावनी दिँदै सिटी बजाइरहेका थिए । प्रहरी हामीलाई एकोहोरो गाली गरिरहेका थिए । प्रहरी हामीलाई त्यता नजान अनुरोध गरिरहेका थिए । प्रहरीलाई म मरेँ भने पनि म आफैँ मेरो जिम्मा लिन्छु भनेर जिद्दी गरेँ । मान्छे नै नभएको ठाउँमा माथिबाट पहिरो र ढुंगा खसिरहेका थिए । झरिरहेको पहिरो मुनी हामी भएकाले माथितिर हेर्दै झरेका ढुंगा अनि माटाहरु छल्नुपर्थ्यो ।

हामी हिँडेको देखेपछि हिमालय टेलिभिजनका दाजु भूपेन्द्र भण्डारी, क्षेत्र नं. २ का माननीय अग्निप्रसाद सापकोटाका छोरा रुपक दाइ पनि पछि लाग ।  तर उनीहरु बाँधको आधारशिविरबाटै जानी-जानी मृत्युको मुखमा नजाने भन्दै फर्किए । उनीहरु फर्किएपछि मोतिलाल दाइ म डरायौँ । जाउँ कि नजाउँ दोमन भयो । दाइले  ‘जाउँ हो’  भने पछि म खुरु-खुरु हिँडें ।

पिठ्युँमा मेरो ब्याग थियो, ब्यागभित्र ल्यापटप । पाइन्ट माथि सारेँ, जुत्ता हातमा समातेँ । अर्काे हातमा क्यामेरा थियो । डर धेरै प्रतिशतले बढेको थियो । ठाउँ-ठाउँमा भास्सिँदै, लड्दै हिँडेका थियौँ । पहिरोको मध्य भागमा पुगेपछि पछाडि फर्के हेरें, मोतिलाल दाइ तलै रहेछन् । मभन्दा अगाडि दुई जना थिए धेरै माथि । पहिरोको बीचभागबाट नियाल्दा तलतिर धेरै लामोसम्म पहिरो थियो । पहिरोको सुरुआती छेऊका मान्छेहरु ‘मान्छे’जस्तै थिएनन्, ठम्याउन गाह्रो थियो । माथितिर आँखाले देखेजति बाँध (जुन हाम्रो गन्तब्य थियो) । माथिबाट ढुंगा खसिरहेकै थियो । एउटा ढुंगा मैंतिर हुर्रिएर आइरहेको थियो । सबैतिर हेर्दा मरुभूमिजस्तै देखिन्थ्यो । खुट्टा भासिएको थियो पहिरोको दबदबे हिलोमा । गह्रौ ब्याग बोकेकाले मलाई स्याँ-स्याँ भयो । हिलोमै थचक्क बसें, अनि सोचें ‘बेक्कार आइएछ । अब बाँचेर फर्कन्न होला ।’ उठेर लम्किएँ डाँडोतिर ।

बाँधको टुप्पोमा पुग्दा ठूलो तलाउ देखियो । झन्डै तीन किमी क्षेत्रमा तलाउ फैलिएको थियो । त्यहाँ धेरैबेर बस्न सकिँदैन जस्तो लाग्यो । बाँध भरिन एकातिर दुई मिटर जति र अर्काेतिर १० मिटर जति थियो । बगेर आएको सुनकोसीले दुई मिटर भरिन धेरै समय लाग्दैनथ्यो । म अब तल पुग्छु भन्ने मनमै थिएन । २०/२० सेकेन्डको दुई फुटेज भिजुअल खिचेँ । सगरमाथा टेलिभिजनलाई समाचारमा टेलिफोनबाट त्यहाँको वस्तुस्थिति हतार हतार ‘लाइभ’ गरेँ फर्किन हतारिएँ । जतिसक्दो छिटो झर्नुपर्ने म हतारिएर ओरालो फर्कदा एक ठाउँमा तिघ्रासम्मै हिलोमा गाडिएँ । दबदबे हिलोमा म झन् झन् भाँस्सिएँ । नजिक कोही थिएनन् । किनकी त्यो तालसम्म पुग्ने जम्माजम्मी १० जना जति थिए होलान् ।

मोतिलाल दाइ धेरै माथि रहेछन् । पहिरोले बगाएर ल्याएको रुखको ठुटोको आडलाई समातेर उत्रिएँ । जेनतेन अरु मानिसहरु भएको ठाउँमा आइपुगियो जीवितै ।
लामोसाँघु ड्यामसाइडमा आइपुग्दा सातजनाको शव भेटिएको रहेछ । वरिपरि स्थानीय मानिसहरू रुवाबासी गरिरहेका थिए । म त्यहाँ बस्नै सकिनँ । केही मानिस कोको हराए भनेर खोजतलास गरिरहेका थिए । कोको हराए भन्ने पनि पत्तो थिएन । त्यहाँ मैले बिलौना सुनेर बस्नु उपयुक्त ठानिनँ । काठमाडौं फर्कंदै गरेका दुई साथीको मोटरसाइकलमा ’लिप्mट’ मागेर म बन्देउसम्म आइपुगेँ । चौतारा आइपुग्दा साँझको साढे आठ बजेको थियो । नयाँ पत्रिका दैनिकका लागि हतार हतार समाचार लेखें । सुत्नेबेला सम्झें अर्काे नयाँ जीवन पाइयो । आँखा रसाए तर, आँसु झरेनन् ।

यसरी पुगियो घटनास्थल

गोरखापत्रमा काम गर्ने साथी रुपक पुरीले बिहानै फोन गरेको रहेछ । मैले फोन रिसिभ नगरेपछि ऊ म सुतेको कोठामै बोलाउन आयो । त्यसबेला बिहानको साढे ६ बजेको थियो । ढोका ढक्ढकाएको आवाजसँगै उसले जुरेमा पहिरो गएको खबर सुनाएर भित्र पस्यो । म जुरुक्क उठेँ । मैले मुख पनि धोइनँ । जुरे पुग्ने योजना बुन्दै म चौतारा बजारमा निस्केँ ।

मसँग मोटरसाइकल थिएन । घटनास्थलमा जान त्यसको जोरजाम गर्नुपर्ने थियो । मैले घटनास्थल पुग्न भाइ सुरेशलाई लिएर आठ बजे चौताराबाट निस्केँ । भाइ पनि पत्रकारितामै रहेकाले दुई दाजुभाइ जाँदा सजिलो हुन्छ भनेर उसलाई पनि सँगै लगेँ । बाइकमा बन्देउ पुगियो । बन्देउमा दोलालघाटबाट बाह्रबिसे र चौतारा जाने बाटो छुट्टिन्छ । बन्देउबाट नै बाटो सुनकोसी किनारतिर अघि बढ्छ । बन्देउबाट उता जान प्रहरीले रोक लगाएको रहेछ । प्रहरीले जोखिम छ भनेर हामीलाई पनि रोक्यो । मैले प्रेस पास देखाएँ । प्रहरीले प्रेस पास भए पनि बाढीले बगाउन सक्छ भनेर जान दिएन । उसले जुनसुकै बेला बाँध फुट्न सक्ने देखाएर रोक्न खोजेको थियो । तर, त्यहाँबाट फुत्किएँ । सुकुटेसम्म पुग्दा बाटो सुनसानप्रायः थियो । बाटोमा बीचबीचमा पत्रकार र रेडक्रसका सवारीसाधन फाट्टफुट्ट भेटिन्थे भने बजार क्षेत्रमा पुगेपछि भाग्नका लागि मानिसहरू गाडीमा सामान लोड गरिरहेका देखिन्थे । चेहेरे, सुकेटे, कोठे र खाडीचौर बजारमा भाग्ने तयारीमा रहेका मानिसका समूह समूह देखिन्थ्यो । उनीहरूका अनुहारमा त्रास मात्रै थियो । बेलाबेला ‘आयो आयो’ भनी कराएको आवाज र भागिरहेका मान्छे भेटिन्थे ।

हामी बाइकमा अघि बढ्दा ड्याम क्षेत्रका प्रहरीलाई मोबाइलमा सम्पर्क गर्दै अघि बढिरहेका थियौँ । खाडीचौरमा पसल राखेका एउटा दाइ बाँध फुटेर सबै बगाउने सम्भावना भएकाले एउटा ट्रयाक्टरमा सामान लोड गर्दै थिए । मैले उनीतिर मोटरसाइकलमै बसेर क्यामेरा सोझ्याउँदै बाइट लिँदै थिएँ, त्यसैबेला ‘आयो आयो’ भन्ने ठूलो आवाज आयो । लामो साँघुतिरबाट अनि हामी पनि त्यहाँबाट फर्कन थाल्यौँ । करिब ६ किलोमिटरजति फर्केर बलेफी आइपुग्यौँ । बलेफीमा जलबिरेतिर लाग्ने अर्को सडक पनि छ, जुन सडकबाट माथि डाँडामा पुग्न सकिन्छ । त्यहाँबाट हामी जलिबिरेतिर लाग्यौँ । अलि माथि डाँडामा पुगेर रोकियौँ । तल सडकमा मान्छेहरू भागिरहेका थिए, कराइरहेका थिए । उनीहरू ‘आयो आयो’ मात्रै भनिरहेका थिए । त्यही क्रममा भागदौड गर्दा कतिपय मोटरसाइकल लडेका र मोटरसाइकलका ह्यान्डल भाँचिएको पनि देखियो ।

पछि थाहा भयो सबै हल्ला रहेछ । हल्ला भएपनि राजमार्गमा रहेका सबैलाई थप मृत्युको डर भएको मैले उनीहरूको अनुहारमा पढेँ । मलाइ झन् डर लाग्यो । रिपोर्टिङ ‘हापेर’ चौतारा फर्कने मनस्थिति बन्यो । दुई भाइ फर्कने क्रममा सुकुटेमा मोटरसाइकल पञ्चर भयो । मलाई झन् मृत्यु पीडाले पोल्न थाल्यो । किनकि बाँध फुट्ने हल्लाले राजमार्ग असुरक्षित भइसकेको थियो ।

बाटोमा कोही थिएनन् । अब कसै गरी बाँध फुटेर आइहाल्यो पनि भाग्न नसकिने अवस्था भएकाले मैले ज्यानको माया मारिसकेको थिएँ । धन्न पत्रकार जीवन श्रेष्ठ र चौताराकै रघु दाइ आइपुगे । म रघु दाइको मोटरसाइकलमा चढें । भाइ पञ्चरवाला मोटरसाइकलमा चडेर वनदेउ हिँड्यो । वनदेउ जाने क्रममा पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्वसभापति पवित्रकुमार खड्कासँग भेट भयो । उहाँ घटनास्थल जान हिँड्नुभएको रहेछ । उहाँले केही हुँदैन, घटनास्थल जाऊँ भन्नुभयो । म त्यसैमा चढेर घटनास्थल हुँइकिएँ । पहिरो गएको ठाउँभन्दा तल पुग्दा नदीमा पानी देखिएको थिएन । संसारको आठौं आश्चर्य लाग्यो । हुन पनि त्यत्रो सुनकोशी देखिएको थिएन । एक थोपो पानी थिएन खोलामा ।


Author

थप समाचार
x