ब्लग

समय क्रमलाई वस्तुवादी ढंगले बोध गरिएन भने कयौँ विभाजन हुनेछन्

झलक विक |
बैशाख २५, २०७९ आइतबार १३:३६ बजे

नेपाली कम्युनिस्ट आन्दोलन विशिष्ट र पेचिलो परिवेशबाट गुज्रिरहेको सन्दर्भ नकार्न सकिदैन । यसका कयौँ कारणहरू छन् । ती मध्ये मुख्य कारण यिनलाई मान्न सकिन्छ ।  

विचारको कोणबाट हेर्दा मालेमावादको आधारभूत मुल्य-मान्यता पनि अवलम्बन गरेको देखिँदैन । यसको पछाडि निम्न पुँजीवादी सोच, अहंकारवादी, सुधारवादी, जुझारु संशोधनवादी, आत्म सुरक्षावादी र सारसग्रहवादी आदि चिन्तनबाट ग्रसित हुनु नै हो । यसर्थ कम्युनिस्ट आन्दोलन केवल जोड/घटाउको कुरा मात्र होइन । यो त विचार, लक्ष्य, इतिहास, त्याग, बलिदान र समर्पणको विषय हो । यसले हरेक श्रमजीवी वर्ग मुक्तिको वकालत मात्रै गर्नु हुँदैन । निरन्तर क्रान्ति, परिवर्तन र राज्यसत्ता प्राप्तिको लागि अनवरत संघर्ष गर्नुपर्दछ  । 


तब मात्र जनताले चाहेको वास्तविक व्यवस्था प्राप्त गर्न सकिन्छ  । यसर्थ हरेक नागरिकहरूले सोच्नुपर्ने बेला आएको छ  । आज हल्लाको बजारमा परिणत हुँदैछ हाम्रो देश नेपाल  । छ्द्म अवसरवाद, आत्म समर्पणवाद, जुझारु संशोधनवादी आजको समस्या हो  । त्यसैले वैचारिक हिसाबले नेपाली कम्युनिस्ट आन्दोलनमा खडेरी देखा पर्दैछ । यसलाई अहिलेको बदलिँदो विश्व, भू-राजनीति धरातललाई मापन गर्दा र अन्तर्राष्ट्रिय कुटनैतिक सम्बन्धलाई विस्तार गर्न नसक्नु , वर्ग विश्लेषणमा देखा परेको समस्या हो  । यसको विकल्प  अनिवार्य बनेको छ  ।

राजनीति
राजनीति हिसाबले परिवेश उर्वर हुँदाहुँदै परिवेशलाई ठीक ढङ्गले नेतृत्व गर्न नसक्नु मूल समस्या हो । अहिले दलाल पुँजीवादी सत्ता अनि संशोदवादी शक्तिभित्र देखा परेको ठूलो अन्तरविरोधको पहिचान गर्न नसक्नु अनि अन्तर्राष्ट्रिय परिस्थितिलाई मुल्यांकन गर्न र समाजवादी मुलकसँगको अन्तर सम्बन्धलाई विस्तार गर्न नसक्नु आदि हुन्  । यसर्थ अहिलेको राजनीति मुठ्ठीभर माफिया र दलाल अनि तिनका मतियारको पन्जामा रहेको छ । जसको कारण समग्र क्षेत्र प्रताडित बनेको छ । यसबाट नेपाली राजनीति मुक्त गर्न जरुरी छ  ।      

कार्यदिशा
कार्यदिशा नेपाली मौलिकता झल्किने हुनुपर्छ । यो सही हो । तर मौलिकताको नाममा अक्रमण्यता हुनु हुँदैन  । यो त प्रष्ट अनि दुरदर्शितामा आधारित हुनुपर्दछ। तसर्थ एकीकृत जनक्रान्तिको कार्यदिशा वस्तुवादी रहेन यसर्थ वैकल्पिक कार्यदिशा निर्माण अनिवार्य बनेकोले वैज्ञानिक समाजवादको रणनीति, समाजवादी क्रान्तिको कार्यदिशा र एकीकृत जनयुद्धको दिशामा अघि बढ्नु आजको अपरिहार्य सन्दर्भ हो  ।                                

नेतृत्व
नेतृत्व वैचारिक हिसाबले प्रष्ट हुनुपर्छ । ज्ञान/विज्ञानमा अब्बल हुनुपर्छ । दार्शनिक हिसाबले दखल राख्ने हुनुपर्छ । दर्शन र बिचारलाई संयोजन गर्न सक्ने हुनुपर्दछ  । चुनौतीका पहाडहरू पन्छ्याउन तल्लीन हुनुपर्छ । अनि मात्र नेतृत्व दुरदर्शी भएको मानिन्छ । आजको मूल समस्याको कडी यहीँ हो  ।                  

संगठन
संगठनमा कयौं समस्या देखा परे जसको फलस्वरूप आज पार्टी विभाजनको मूल समस्या यहीँ हो । ठोस परिस्थितिको ठोस मुल्यांकन गर्न नसक्नु , मालेमावादको मार्गनिर्देशनविरुद्ध लेनिनको साङ्गठनिक नियमविपरित जानू जसले निरन्तर पार्टी आन्दोलनको जीवनको कडी भंग गरेको छ  । साङ्गठनिक अराजकतावाद, एकाधिकारवाद, नातावाद, अहंकारवाद आजको मुल समस्याको सार कुरा हो  ।                  

संघर्ष

संघर्षको नियम निर्मम हुन्छ  । अन्तरसंघर्ष रचनात्मक र आलोचनात्मक हुनुपर्छ । ध्वंसात्मक र निषेधात्मक होइन  । संघर्ष वर्ग दुश्मनसँग हुनुपर्छ, वर्गपक्षधरसँग होइन । यो कुरा पार्टी जीवनमा लागू हुन सकेन । जसको कारण विभाजन निम्त्याएको कुरा ऐना झैं छर्लङ्ग छ  । यसर्थ संघर्षको निसाना, संघर्षका  चरणहरू क्रमश वैज्ञानिक तबरले विकास हुर्नुपर्दछ ।

अन्तमा नेपालको क्रान्तिकारी/ कम्युनिस्ट आन्दोलन जसरी विभाजनको  श्रृंखलाहरू पार गर्दै छ । अघि बढ्दै छ । त्यसको मूल कारण माथि उल्लेख भएअनुसार नै भएको देखिन्छ  । तसर्थ निरन्तरतामा क्रमभंगता त्यस कारणले पैदा हुन्छ । त्यो जरुरी थियो  । समय क्रमलाई वस्तुवादी ढङ्गले बोध गरिएन भने कयौं विभाजन हुनेनै छ्न् । परन्तु यसको समाधान भनेको यी सबै विज्ञानले प्रतिपादन गरेको नियमलाई लागू गरेर अघि बढ्न जरुरी छ  ।

हावा फुस्केको भकुण्डो अनि त्यसैमा प्वाल परेको छ भने दम हुँदैन भन्ने भनाइलाई आत्मासात गर्दै क्रान्तिको स्वर्णिम भविष्य छलछामबाट, निषेधबाट, अक्रमण्यता र अहंकारबाट होइन विचारधारात्मक संघर्षबाट हुनुपर्छ । भावना र विचारको फ्युजनबाट हुनुपर्दछ  । यसर्थ यी सबैबाट मुक्त भइ वैज्ञानिक कार्यदिशा निर्माण भएको छ  । नयाँ नेतृत्वको विकास भएको छ । जसले  नेपाली/क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको जहाजलाई सामुन्द्रिक मध्य विन्दुबाट सही अवतरण गर्ने र किनार अवश्य लगाउने अभिलाषा बोकेको छ । तसर्थ कोही पनि सारसग्रहवादी बुझाइबाट मुक्त भइ एकीकृत जनयुद्धको महाअभियानमा जुट्न र महान सहिदहरूले देखाएको बाटोमा अविचलित र अनवरत यात्रामा गोलवन्द हुन् । आत्मासमर्पण र जुझारु संसोधनवादविरुद्ध जमेर संघर्ष गर्नुपर्छ । 
विक नेपाल कम्युनिस्ट पार्टी (कैलाली) जिल्ला सचिवालय सदस्य​ हुन् । 


Author

थप समाचार
x