ब्लग

रिपोटर्स डायरी

९ वर्षीया बालिकालाई शिक्षकले माटोको सिन्दुर हाल्दै भने- हिँड् कान्छी

सरिता दाहाल |
चैत २७, २०७८ १४:९ बजे

चैत २२ गते साँझपख एकजना परिचित दाइको फोन आयो । उहाँ अलि हतासमा भएजस्तो गरी  बोल्नु भयो ‘.........स्कुलमा शिक्षकहरूबाटै नानीहरूलाई यौन दुव्र्यवहार भएको खबर छ, बाँकी कुरा खोज्नुस् ।’ त्यहीँ दाइबाट पाएको सम्पर्क नम्बर र आफ्नो स्रोत समेत प्रयोग गर्दै घटनाबारे सतही जानकारी लिएँ । घटना दर्दनाक रहेको जानकारी पाइयो । केही बेरमै स्कुलमा तोडफोड गरिएको, चौरमा धुवाको मुस्लोसहित विद्यार्थीको भिड उर्लिएको भिडियो नै हात लाग्यो । तोडफोडको बारेमा त यो भन्दा ठूलो प्रमाण के चाहियो ? तर घटनाको कारण र सत्यतथ्य खोज्न फिल्डमै जान आतुर भएँ । तर यतिञ्जेल रात परिसकेको थियो । भोलि बिहानै जसरी पनि स्कुलमा पुग्छु भन्ने विचार कसेँ । स्कुल थियो हेटौंडाबाट ६५ किमी पूर्व । श्री जनता मावि, फापरबारी श्रीपुर ।

मकवानपुरको बागमती गाउँपालिका–८ स्थित स्कुलको घटना बारे फेसबुकमा साथीहरूसँग च्याट गरेँ । घटना बाहिर ल्याएको आरोपमा बालिकाहरू र बालिकालाई न्याय चाहिन्छ भन्ने महिला तथा पुरुष शिक्षकहरूमा पनि सुरक्षा चुनौती रहेको बुझियो । जिल्लाका अधिकारकर्मीसँग पनि नियमित सम्पर्कमा थिएँ । उहाँहरू जानुहुने भए सँगै जाने जानकारी गराएँ । बिहान सबेरै बागमती गाउँपालिका जाने निधो भयो । नानीहरूको बारेमा फेसबुक च्याटमा भएको कुराकानीले मन होडलिरह्यो । त्यस्तो पनि होला र ? त्यस्तो पनि गर्लान् र शिक्षकहरूले ? भन्ने प्रश्न मनले सोधिरह्यो आफैंसँग ।


स्कुलमा प्रहरीले सुरक्षा दिइरहेको भन्ने खबर थियो । पीडित बालिकाहरू, अभिभावक, बाल क्लबका बालबालिकाहरू, अभियन्ता बालबालिकाहरू सबैलाई सुरक्षा थ्रेट छ भन्ने जानकारी आएको थियो । केही दिनअघि आक्रोशित भिडमा मारिएकी सुरक्षाकर्मीको झलझल याद आइरहेको थियो मलाई। केही परीहालेमा ज्यान बचाउन भाग्न सहज हुने गरी स्पोट सुज लगाएँ, साइड ब्याग छाडेर पछाडि भिर्ने ब्याग बोकेँ । बिहान सबेरै बागमती गाउँपालिका तिरको बाटो लागियो । अरुलाई बचाउन, आफू बाँच्नु पर्छ भन्ने सीप १९ वर्षअघि रेड्क्रसमा काम गर्दा सिकेको थिएँ । द्वन्द्वकालमा प्रयोग गरियो । अनि आजै हो कि भन्ने मनमा नलागेको कहाँ हो र ?

एकैपटक सबै कुरा खर्लप्प खन्याऊँ झै भएको छ । जब ती नानीहरूको कुरा सुनेर फर्किएँ । मन भतभत पोलेझै भएको छ । मनभरि छटपटी चलेको छ । रिस र आवेगलाई साम्य पार्दै पलपल काटिरहेको छु ।

चैत २३ गते बिहान ९ बजेर ५८ मिनेट गएको थियो । स्कुल पुगियो । सुरक्षा घेरामै थियो स्कुल । अभियन्ताहरूसँगै थिए, उहाँहरू पनि ‘हामी संयमित हुनुपर्छ है, जे पनि हुनसक्ने अवस्था हो यो’ भन्दै हुनुहुन्थ्यो । कतै कतै डर, कतै कतै आक्रोश, कतै कतै ती नानीहरूलाई भेटेर अँगालो हालुँ जस्तो हुटहुट थियो मनमा । मलाई यो हुटहुटी नानीहरूले रुदै दिएको अन्तरवार्ताको भिडियोले उत्पन्न गरेको थियो । केही गोप्य भिडियोहरू पाएका थियौं हामीले । जुन आज पनि गोप्य नै छन् ।

विद्यालय गेटभित्र छिरियो । सबैले शंकास्पद रूपमा हेर्नुभयो, जुन स्वभाविक नै थियो । विद्यालय प्रशासन कक्षमा पस्यौँ । प्रध्यानाध्यापक वसन्त राई बिहानैदेखि स्कुलमा नै हुनुहुँदो रहेछ । कसैलाई फोनमा भन्दै हुनुहुन्थ्यो ‘मेरो स्कुल ड्रेस ल्याइदेउ, म बिहानैदेखि स्कुलमै छु ।’ जिल्लाबाट अधिकारकर्मीहरू स्कुलमा आउँदै छन् भन्ने खबर हामीभन्दा धेरै अघि पुगेछ । बिहान विद्यालय व्यवस्थापन समितिको बैठक बसेर विव्यासको महिला सदस्य भानुमाया सेराली मगरको संयोजकत्वमा छानबिन समिति बनाइएको रहेछ । विना कार्यविधि, विना ऐन नियमको आधार बनेको यो समिति आफैंमा अवैधानिक थियो । हामीसँग जानु भएको अधिवक्ता तथा अधिकारकर्मीले कानुनी प्रक्रिया बताएपछि प्रअ राइले आफूहरूलाई कानूनी जानकारी नभएको स्वीकार गरे । 

कानुनी अज्ञानता क्षम्य हुँदैन भन्ने सायद उहाँले पनि भुल्नु भएछ । अधिकारकर्मीको टोलीसँग विव्यासका पदाधिकारीहरू, शिक्षकहरू, झण्डै २ घण्टा छलफल भयो । म लगायत महिला अधिकारकर्मीहरूले पीडित बालिकाहरूलाई भेट्ने प्रस्ताव राख्यौँ । सुरुमा अनुमति मिलेन । ‘जो जो आएनि उनीहरू(पीडित छात्राहरू)लाई हामी झोस्न दिंदैनौँ’ भन्ने जवाफ आयो । केही बेरको सामान्य भनाभनपछि विद्यालय प्रशासन र विव्यसले विद्यालयको नर्स अनिता भुलुन, विव्यस सदस्य भानुमाया र एक जना महिला शिक्षकको साथमा हामीमध्ये हिमराइट्को जिल्ला प्रमुख कुमारी वाइबा, माइती नेपाल जिल्ला प्रमुख माया लामा, राडो नेपालको प्रतिनिधि सिमा शाहालगायतलाई केही नानीहरूसँग भेट्न अनुमति प्राप्त भयो । 

हाम्रो टोली र कक्षा ४,५,६ र ७ मा अध्ययनरत ३९ जना नानीहरू एउटा कक्षामा बस्यौँ । हामीले आफ्नो पुरै परिचय र नानीहरूको उमेर र कक्षा बताएर परिचय आदनप्रदान गर्‍यौँ । अनि प्रवेश गर्‍यौँ मुख्य एजेण्डमा । 

हामीले स्कुलमा के भएको होला, सुन्न मन लागेर आएको मात्रै भन्न भ्याएका थियौ, नानीहरूले तँछाड मछाड गर्दै आफ्नो पीडा सुनाउन थाले । 
‘.......... सरले मलाई पाठ बुझाउन जाँदा ढाड मुसार्नु हुन्थो, विस्तारै हात छातितिर ल्याउनु हुन्थ्यो, नगर्नु न सर भन्दा टाउकोमा बेस्सरी पिट्नु हुन्थ्यो ।’

‘म अन्तिम बेञ्चमा बस्थे, सरले के–के बाहाना पार्दै मेरो समिजको तुना खेल्दिनु हुन्थ्यो, नगर्नु भन्दा पिट्नु हुन्थो, अनि पछिल्लो बेञ्चमा कसैले नदेखेर यस्तो गर्नु भको होला भनेर म अगाडि बेन्चमा बस्न थालेँ । तर, सरले उस्तै गर्नुहुथ्यो सधैँ । जाडो महिनामा साथीहरूले जाडो भो भन्दा यसरी टाँस्सिएर बस्न पर्छ भन्दै टासिन आउनु हुन्थ्यो हामी बेञ्चको परपर सथ्यौ ।’

‘मलाई सधैं सरले बम्बइवाली भन्नुहुन्छ, तँ कत्ति राम्री, तेरो गाला कत्ति राम्रो, बम्बइ लैजानु पर्छ भन्नुहुन्छ, गाला खाउँखाउँ लाग्ने भन्नुहुन्छ, कति पटक त गालामा टोक्नु भको छ, त्यै बेला मुख भित्र जिब्रो हाल्दिनु भको छ ।’

‘मैले सर्ट र पाइन्ट लागउथे, जैले सरले तेरो चा....... कस्तो राम्रो भनेको भनेइ गरेपछि मैले फ्रक किन्न लगाए आमालाई । अहिले फ्रक लगाएर आउँछु, फेरि पनि तेरो फ्रकको गोजीमा के छ भन्दै हात हाल्नुहुन्छ, गोजीमा हालेको हात मेरो गुप्ताङगमा लैजानु हुन्छ ।’

‘कक्षमा पढाउँदा सधैँ सबै झ्याल ढोका बन्द गर्न लगाउनु हुन्छ, केटा साथीहरूलाई चुक्क बोल्न दिनुहुन्न, हामीलाई मनलाग्दी ठाउँमा छुनुहुन्छ, नगर्नु न सर भन्दा केटासाथीहरू हाँस्छन्, अनि हाम्रो रिस केटाहरूलाई पिटेर पोख्नुहुन्छ ।’
 
‘४० पूर्णङ्कको जाँच थियो, सबै मिलेको थियो मेरो, दाइदिदीहरूलाई पनि मैले आफ्नो प्रश्नपत्र देखाउँदै आफूले लेखेको उत्तर सुनाएँ । उहाँहरूले तिम्रो त ४० मा ३९ आउला, सबै मिलेको छ भन्नु भको थियो, मेरो १८ नम्बर मात्रै आयो । मैले मलाई तपाईले छोएको मन पर्दैन भनिराखेको नतिजा हो त्यो १८ नम्बर ।

‘धेरै बोल्छेस् तँलाइ फेल गराइदिन्छु पो भन्नुहुन्थ्यो, पाठ (गृहकार्य) मा सही उत्तर लेखेको पनि काटकुट गर्नुहुन्थ्यो, धेरै जसो त पाठ चेक नै गर्नुहुदैन थ्यो ।’

‘मलाई कहिले चक्लेट दिनुहुन्छ, कहिले, काँटा र मालाहरू दिनुहुन्छ, नलिए गाली गर्ने र टाउकोमा पिट्ने गर्नुहुन्छ । कहिले १० रुपियाँ दिन्छु धन्साइ बगरमा आइजो भन्नुहुन्छ ।’

‘मलाई जैले काखमा राखेर पढाउँछु याँ बस् भन्दै काख देखाउनु हुन्थ्यो म मान्दैनथे, एक दिन कक्षमै माटोको सिन्दुर हालेर हिड कान्छी भन्नुभयो ।’

‘मेरो साथी जो म भन्दा उमेरले कान्छी छ, उसको छातीमा समाएर बेस्सरी तान्नु भएछ, उ चिच्याइ, सरले चुप लाग भनेर झन् किताबले टाउकोमा पिट्नु भयो, पछिपछि तेरो त छाती नै छैन भनेर जिस्क्याउनुहुन्थ्यो उसलाई ।’

‘म अन्तिम बेञ्चमा बस्थेँ, सरले बाहाना पार्दै मेरो समिजको तुना खेल्दिनु हुन्थ्यो,' भक्कानिदैँ ती नानीले सुनाइन्, '४ कक्षा पढ्दादेखि नै नराम्रोगरी हेर्ने/छुने गर्नुहुन्थ्यो । अहिले ७ कक्षमा पढ्छु, ढाड मुसार्दै ‘ब्रा’ को तुना खोल्दिनु हुन्छ । एक दिन कक्षामै माटोको सिन्दुर हालेर हिड् कान्छी भन्नुभयो ।'

‘हामीमध्ये कसैलाई पनि बेञ्चको छेउमा बस्न मन लाग्दैन, तै पनि कोही न कोही त बस्नै पर्छ, छेउपट्टि ब्याग राखेर बिचतिर सरेर बस्छौँ, यसो गर्दा कहिले काँही त ब्याग नै तल झार्दिनुहुन्छ सरले ।’

‘मेरो ड्रेसमा केही लागेकै हुन्न, तेरो लुगामा के लागेछ हेर त भन्दै छातितिर इशारा गर्नुहुन्छ, कहिले त सिधैँ हात ल्याउनुहुन्छ छातीमा नगर्नु न सर भन्दा फोहर रहेछ, झर्देको के भन्नुहुन्छ ।’

‘म कक्षा ४ मा पढ्दादेखि सरले नराम्रो गरी हेर्ने, छुने गर्नुहुन्थ्यो, अहिले पनि त्यस्तै गर्नुहुन्छ, अहिले म ७ कक्षमा पढ्छु, ढाड मुसार्दै ‘ब्रा’ को तुना खोल्दिनु हुन्छ ।’

‘म ५ कक्षमा पढ्छु, सरले दिक्क पार्नुहुन्छ । मेरो बहिनी अहिले ३ मा पढ्छिन, अब ऊ पनि ४ मा आउछे, फेरि सरले मलाई जस्तै गर्नुहुन्छ भनेर डर लाग्छ ।’

‘घर जाँदै गर्दा चौरमा भेट्दा नि अंगालो मार्नुहुन्छ, के छ कान्छी भन्नुहुन्छ, अंगालो हालेको हात कति छिट्टै सिधै छातितिर घुसार्न थाल्नुहुन्छ, हामी दौडिन्छौ भाग्छौ ।’

‘पैसा दिंदै धन्साइ बगरमा आउ ल मेरो ज्ञानी भन्नुहुन्छ, लब गर्ने डेटिङ बस्ने भन्नुहुन्छ ।’

‘अरु सरहरूले पनि कहिले काँही ज्यानमा छुनुहुन्छ तर उहाँहरूले जस्तो मुसार्ने, भित्री लुगा नै खुस्काउने गर्नुहुदैन, प्याट्ट पिट्नुहुन्छ, हात झिक्नु हुन्छ, मलाई सिरी पनि हुदैन ।’

‘म ७ कक्षमा पढ्छु, कक्षा ४ देखि नै सरहरूबाट यस्तो व्यवहार भोग्दै आएको छु, स्कुल फेरौं भने नजिकै अरु स्कुल छैन, कि त पढाइ नै छाड्नु परो, सहेरै पढीरहेको छु ।’

ती नानीहरूको प्रतिनिधि आवाज हुन् यी । कुराकानीको क्रममा नानीहरूले शिक्षकहरूको नामै किटेर भन्नुभएको थियो । उहाँहरू आफ्नो कुरा राख्न यति हतारिनु भएको थियो कि हामीले नै पालै पालो गरेर भनौ है भनेर रोक्नु परेको थियो पटक पटक । बोल्दै गर्दा उनीहरू भक्कनिथ्ये, नजिकैको साथीले अँगाल्लो हाल्नुहुन्थ्यो, हत्त न पत्त पानी दिनुहुन्थ्यो, त्यो दृश्य आँखामै घुमिरेको छ अझैपनि ।

घरमा भन्नुभएन ? हामीले सोध्यौँ ।
‘आमालाई भने आमाले मायाले त्यस्तो गर्नुभको होला भन्नुभयो,’ अनि मैले मेरो आन्टीलाई भने ‘आन्टीले सहेर बस्नुहुन्न, विरोध गर्नुपर्छ यस्तो कुरा भन्नुभयो ।’

‘बाबा घरमा हुनुहुन्न, आमालाई भन्दा आमाले यस्तो कुरा गर्नुहुदैन भन्नुभयो, हिजो पनि आमाले सरले माया गर्नुभको हो, जे पायो त्यै नबोल भन्नुभको थ्यो, तीनै जना सरहरू हाम्रो छिमेकी जस्तै हुनुहुन्छ, आमाले भन्नुभको छिमेकमा मिलेर बस्नुपर्छ रे ।’

‘हामीले अहिले सिओसि क्लास लिएपछि यस्तो कुरा सहेर बस्दा बढ्दै जान्छ भनेर बुझ्यौँ, अनि निवेदन लेखेर अफिसमा दिएका हौँ, तर हामीले भनेजस्तो भएन, माफी मगाएर छोड्ने भन्नुभयो अनि हामीले मानेनौ ।’

‘हिजोको आन्दोलनमा हामी जस्तै पीडित दिदीहरू पनि हुनुहुन्थ्यो । आज उहाँहरूलाई ममीहरूले स्कुल नै पठाउनु भएन, घरैमा हुनुहुन्छ, एक जना दिदीको बाबा चुनावमा उठ्न लाग्नु भयो छ, उहाँलाई असर पर्छ भनेर घरैमा नबोली बस भन्नुभयो छ रे ।’

‘स्कुल आको साथीहरूलाई पनि उसको दिदीले पिट्दै घर लग्नुभयो आज पनि ।’

‘मैले आमालाई भनेको थिएँ, आमाले तँ जान्नी किन हुन्छेस्, जे भन्छन् साथीहरूले भन्छन्, तँ नबोल, सबैले थाहा पाउँछन् अनि बेज्जत हुन्छ भन्नु भएको थियो मलाई ।’

‘अब तीनै जना सरहरूलाई स्कुलमा आएको देख्न नपरोस् ।’

ती नानीहरूले आँसुको धारा बगाउँदै गला अबरुद्ध पार्दै बोलेका यी कुराहरू अहिले पनि कानमा गुञ्जिरहे झै लाग्छ । उनीहरूको पीडा सुन्दै गर्दा पटक पटक म आफैंले पनि लुकेर आँसु पुसेँ । हामी बिदा हुँदै गर्दा उनीहरूले भने, ‘तिनै सरहरू आउनु हुन्छ । हामीलाई पढाउन, अब त झन् पिट्नु हुन्छ होला, के के पो गर्नुहुन्छ होला, के गर्ने अब झन् ?’

वार्षिक परीक्षाको संघारमा रहेका ती नानीहरूलाई पढाइमा ध्यान केन्द्रित गर्न, आत्माबल उँचो राख्न, अधिकारकर्मीले सामान्य परामर्श गर्नुभयो । एकातिर कोर्ष सकिएको छैन, अर्कोतिर स्कुलमा पढाइ छैन, फरि आफूहरूमाथि नै भएको अन्यायले यस्तो रूप लिँदा ती नानीहरूको मानसपटलमा के बितिरहेको होला ? त्यसमाथि घरका अभिभावकहरूले पनि उनीहरूको कुरा नसुन्ने, आरोपित शिक्षकहरूको बारेमा बोल्नै नदिने गर्नु न्याय मर्न दिनु हैन र ? ती आमाहरू जो समाजमा मिलेर बस्नु पर्छ भनेर छोरीहरूको आवाज दबाइरहनु भएको छ, उहाँहरूको सचेतनाको स्तर कहिले, कसरी वृद्धि होला ।
 
हामी घर आँगनमा सरकार छ भन्छौ । स्कुलको आडैमा इलाका प्रहरी कार्यालय छ, १० मिनेटको दुरीमा गाउँपालिकाको कार्यालय छ । 

हामी स्कुलबाट गाउँपालिका कार्यालय गयौँ । गाउँपालिकाले स्कुलमा यत्रो हंगामा हुँदा आफूले मिडियाबाट थाहा पाएको र स्कुलले सहयोग नमागेको कारण आफू आफ्नै काममा व्यस्त भएको प्रतिक्रिया दियो । 

यस्ता घटना/अभियोगमा स्थानीय सरकार अभिभावक बनेर उभिने कि पाहुना बनेर निम्तो कुर्दै बस्ने हो ? स्कुलको घटनाको बारेमा अधिकारकर्मीहरूले प्रमुख जिल्ला अधिकारीलाई खबर गरेपछि प्रजिअको फोन गएपछि पालिकामा स्थानीय सरकारको प्रतिनिधि देखा पर्ने हो ? यो घटनामा यस्तै भयो । हामीले बिहान स्कुल जाँदै गर्दा गाउँपालिका उपाध्यक्षलाई फोन सम्पर्क गरेर घटनाबारे बताउँदै, स्कुलमा आउनुस न हामी पनि आउँदै छौं भन्दा उहाँले आफूलाई स्कुलले नबोलाएको कारण आफू आफ्नो फिल्ड खटिएको बताइन् । न्यायिक समितिको संयोजकको जिम्मेवारी त्यही हो ?

स्थानीय स्तरमै घटना मिलाउने तिव्र दबाब र कसरतका बाबजुत केही पीडतहरूले जिल्ला प्रहरी कार्यालयमा आएमा मध्येरातमा जाहेरी दिएका छन् । यद्यपि प्रहरीले हालसम्म आरोपितलाई नियन्त्रण गर्न सकेको छैन । आरोपित हेम बिक, लोक बिक र रुद्र बिकलाई विद्यार्थीले नाम किटेर विद्यालय प्रशासनमा निवेदन दिएकै दिनदेखि सम्बन्धित कक्षमा जान नदिएको र पछि स्कुलमा केही दिनको लागि बिदा दिइएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालय जस्तो विद्या आर्जनको पवित्र संस्था/मन्दिरमा बालिकाहरू पलपल पीडित भएर बसेका छन् । त्यो पनि बर्षौदेखि । आरोपित ३ जना शिक्षकहरू सबै सामाजिक विषय शिक्षक हुन्, एक जनाले सामाजिकसँगै स्वास्थ्य विषय पनि पढाउने गरेको पाइयो । हाम्रो समाज कता जाँदै छ, हाम्रो समाजको शिक्षा दिने सामाजिक विषय शिक्षकहरूको मनोवृत्ति त यस्तो छ ? उनीहरूलाई ती नानीहरूलाई समाजबारे कस्तो शिक्षा दिइरहेका होलान् ? 

बालमनस्थितिमा असर पुग्ने गरी उनीहरूलाई विचलित बनाइएको छ, अब घटना बाहिरिएपछि समर्थन गर्ने अभिभावक, शिक्षक, बाल अभियन्ताहरूको सुरक्षाको ग्यारेण्टी कसले लिन्छ ? 

नेपालको संविधान २०७२ ले मौलिक हककै रूपमा धारा ३९ को बालबालिका सम्बन्धी हक अन्तर्गत बालबालिकालाई सम्बोधन गरी बालबालिकामाथि हुने कुनै पनि शोषणलाई निषेध गरेको छ ।

प्रचलित मुलुकी अपराध संहिता २०७४ दफा २२४ ले कसैले कसैलाई यौन दुव्र्यवहार गर्न वा गराउन हुँदैन भनेको र दफा २२५ ले कसैले बाल यौन दुरुपयोग गर्न वा गराउन हुँदैन भनेको छ । त्यसै गरी बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ मा बालबालिकाविरुद्धको कसूर अन्तर्गत बालयौन दुर्व्यवहारलाई अपराध मानी दण्ड सजायको समेत व्यवस्था गरिएको छ । उल्लेखित अपराध गर्नेलाई ३ वर्षसम्म कैद र ३० हजार देखि ७५ हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको अध्ययन सहभागी सेलर्डका अधिवक्ता जगन्नाथ सुवेदीले बताए ।

घटनाको आरोपित व्यक्तिहरूको बारेमा आधिकारिक निकायले बोल्नेछ, कानुनी प्रक्रियामा रहेको व्यक्ति दोषी होस् वा निर्दोष भन्नेबारे अन्तिम फैसला कानुनले नै गर्दछ । सामाजिक मर्यादा, सामाजिक इज्जतको भोकमा बालिकाहरू निमोष्ठ पाइँदैन । घटनाको सत्यतथ्य बाहिर आओस् । आरोपित शिक्षकहरू निर्दोश हुनुहुन्छ भने कानुनलाई सघाउँदैमा उहाँहरूको पनि मनमर्दन हुँदैन ।

घटनाबारे मिडिया कभर भएपछि मलाइ समेत बारम्बार फोन आइरहेको छ । आरोपित शिक्षकको नाम जोडेर उहाँ चै यस्तो हैन, विचार गरेर लेख्नुस् भन्ने आग्रह आएको छ । बालिकाहरूले जाहेरी दिए पनि अभिभावकहरूलाई गाउँमा बस्नै चुनौती छ । शिक्षकहरूलाई उस्तै चुनौती भएको खबर आइरहेको छ । बारम्बार सुरक्षा चुनौतीको कारण नानीहरूले आफ्नै अभिभावकको दबाबमा आएर भनाइ फेर्ने सम्भावना प्रवल छ भन्नुहुन्छ अधिकारकर्मीहरू ।
 



Author

थप समाचार
ad
x