प्रमुख समाचार

नारी सुन्दरताको फेरिनुपर्ने परिभाषा

नारी-सुन्दरताको-फेरिनुपर

इकागज |
फागुन २४, २०७८ १८:० बजे

जसरी चन्द्र र सूर्य सबैको लागि एउटै छ, त्यसैगरी सौन्दर्य पनि सबैको लागि एकैनाशको हुँदो हो त संसारमा सुन्दरताको परिभाषा पनि एउटै हुने थियो होला अनि सबैजना उत्तिकै सुन्दर देखिने थिए होलान्। तर त्यस्तो एउटै नियम र विशेषता सौन्दर्यतामा लागू हुँदैन। नत्र किन कसैलाई बिछट्टै सुन्दर लागेको व्यक्ति कसैलाई पटक्कै मन नपरेको ?

अनि अरूलाई मन परेको मान्छे किन आफूलाई सुन्दर नलागेको होला ? सुन्दरता व्यक्तिको दृष्टिकोणमा, कसैप्रति उसको झुकाव वा लगावमा, प्रेममा अनि तिरस्कारमा, फरक–फरक व्यक्तिको फरक–फरक परिस्थिति, धारण र भावनामा भर पर्ने रहेछ, होइन त?

सुन्दरता भन्ने शब्द आउने बित्तिकै जोकोहीको मनभित्र पनि सबैभन्दा पहिले एउटा नारीको पूर्ण चित्र बन्न पुग्दछ। परापूर्व कालदेखि सौन्दर्य र नारी एक–अर्काका परिपूरकका रूपमा परिभाषित हुँदै आएका छन्।

“सुन्दरता नारीको हतियार हो”, “सुन्दरता नारीको गहना हो”, “नारीको मोहनी रूपमा हुन्छ” आदि सुन्दरता र नारीलाई जोडेर भनिएका भनाईहरू आम जनजीवनमा प्रचलित छन्। अझ नारीको सुन्दरतामाथि लेखिएका कथा, कविता, गीत, गजल, उपन्यास, काव्य र किम्बदन्तीहरू त कति छन्, छन्, त्यसको वर्णन गरिसाध्य छैन।

नारीलाई सुन्दरताको प्रतिमूर्ति मानेर हाम्रो सामाजिक संरचनाले यस्ता धेरै उदाहरणहरू प्रस्तुत गरेको छ, नारीलाई यसरी मख्ख परिदिएको छ कि कसैले “तिमी कति राम्री”, भनिदियो भने हामी महिलाहरूको खुसीको सीमा नै रहँदैन। यस्तै–यस्तै कुराहरूले आज समाजमा एउटा नारीका लागि सुन्दरता भन्ने गुण अनिवार्य हुनुपर्छ भन्ने धारणा बनेको छ।

नारी र सौन्दर्यको बारेमा मेरो एकजना मेकअप आर्टिस्टका रूपमा काम गर्ने साथीको धारणा यस्तो थियो– “एउटा छोरीमान्छेलाई सामान्य मेकअपको क्लास लिनै पर्दैन, नर्मल मेकअप गर्न त उनीहरूले जन्मजात सिकेर आएका हुन्छन् !” उनको यो भनाईले के दर्शाउँछ भने नारीका लागि सुन्दरता भन्ने कुरा एउटा अनिवार्यता नै हो, सुन्दर हुन उनीहरूलाई प्रकृतिले नै सिकाएको हुन्छ, अनि धेरै कुराहरू उनीहरू घरबाटै सिक्छन। मेरा कति साथीहरू आफ्नो रूपमा अनि सौन्दर्यमा विशेष ध्यान दिनुहुन्छ र त्यसकुरा प्रति धेरै गर्व पनि गर्नुहुन्छ।

मेरा ती मित्रहरू मलाई बारम्बार भनिरहनु हुन्छ, “तँ पनि आफ्नो स्किनको अलि केयर गर् न”, “कस्तो बनेर हिँडेकी छोरीमान्छे भएर, त्यहीमाथि बिहे पनि भाको छैन, अलि राम्रो मेकअप गरेर हिँड्ने गर् न”। मेरा साथीहरूको मप्रतिको मायाले गर्दा उनीहरूले त्यसो भनेका होलान्, तर यस्ता कुराहरूले मलाई भने खासै असर पार्दैन किनकि म यस्ता कुराहरूको पारखी पनि हैन र त्यति सारो रुचि पनि राख्दिन।

हो, सफा र सहज भएर, कम्फर्टेबल र कन्फिडेन्ट भएर हिँड्नु पर्छ, तर राम्री नै देखिनु पर्छ, त्यसै अनुसार तयार भएर हिँड्नु पर्छ भन्ने कुराचाहिँ म मान्दिनँ। वहाँहरूले मलाई त्यसो भनिरहँदा मेरो मनले चाहिँ “जसरी राम्री बनेर हिड्नु वहाँहरूले रोजाइ हो, वहाँहरूको इच्छा हो, त्यसैगरी आफ्नो हिसाबमा हिँड्नु मेरो इच्छा हो भनेर बुझे त हुने नि !” भनेर भनिरहन्छ।

तर मेरो विचारमा सुन्दरता भनेको एउटा अस्थायी कुरा मात्र हो जो परिवर्तनशील हुन्छ। सुन्दरतामाथि कहिल्यै पनि पूर्णरूपमा भर पर्न सकिँदैन। “सुन्दरता यस्तो चीज हो जुन तपाईंको बलियो समयमा मात्र तपाईंको साथी हुन्छ, जति–जति तपाईँको उमेर बढ्दै जान्छ, तपाइँको सुन्दरता पनि त्यति–त्यति नै कम हुन थाल्दछ। तपाईँको उमेरहरू ढल्दै गएर जब शरीर एकदिन कमजोर हुनेछ, त्यो दिन तपाईँलाई तपाइँको सौन्दर्यले कहाँ साथ दिन्छ र?”, मेरो मनले यो कुरा मलाई बारम्बार भनिरहन्छ।

“आजको यो पुँजीवादी र आधुनिक युगमा समाजमा महिलाको स्थान केवल एउटा वस्तुको रूपमै रहेको त होईन? हामीलाई सामान्य कुराहरूमा मात्र अल्झाउन÷भुलाउन खोजिएको त होईन? शोषणका विभिन्न आयाम हुन्छन नि हजुर, कहाँ देखिनेगरी हप्काएर, कुटेर मात्र परिबन्धमा पारिन्छ होला त? यी कुराहरूप्रति पनि विचार पु¥याउने पो हो कि ? नारीको सुन्दरताको ब्याख्या गरेर नथाकेको यो समाज वास्तवमा नारीको लागि त्यति उदार पनि कहाँ छ र? अनि हामीले हाम्रो सबै समय यहिी सौन्दर्यमै खर्च गरिसकेपछि हामी घरको चार दिवारभित्र सीमित हुँदैनौं होला त?”, यी र यस्ता यावत् प्रश्नहरूले मलाई झक्झक्याई रहन्छन्।

मैले अघि नै भनिसकेकी छु– सौन्दर्यताको एउटा मात्र परिभाषा हुँदैन, यो सबैका लागि एउटै हुँदा पनि हुँदैन। तर आश्चर्यको कुरा के छ भने यो समाजले सुन्दरताको आफ्नै परिभाषा बनाएको छ र सुन्दरताको मापदण्ड पनि तोकिदिएको छ। यदि तपाइँले त्यो मापदण्ड पूरा गर्नुभएको छ भने मात्र यो समाजले तपाईंलाई सुन्दर मान्छ।

उदाहरणका लागि, ‘राम्री हुन गोह्री हुनुपर्छ’, ‘सुन्दरतामा कालो रङ्ग मज्जाले बदनाम छ’, ‘काली तर दिलवाली’, ‘मान्छे काली भए पनि मन चाहिँ सफा भएकी’, ‘ब्ल्याक ब्युटी’ आदि–आदि। हाम्रो समाजमा चलेका यस्ता प्रचलित भनाइले काली वा कालो हुनु नराम्रो नै हो वा कालो मान्छे सुन्दर हुँदैनन् भन्ने धारणालाई पुष्टि गर्छ।

तराईमा जन्मिएकी म, मधेसमा हुर्किएँ। मधेशी समाजको के कुरा गर्नु जहाँ छोरी जन्मिदा मन अमिलो बनाइन्छ, अझ् छोरी काली छिन् भने त ‘भोलिपर्सी बिकाउन गाह्रो हुन्छ, भएको सम्पत्ति सबै दाइजो दिँदै सकिन्छ’ भनेर घरमा रुवाबासी नै चल्छ। म जन्मिएको–हुर्किएको त्यस्तो समाज र त्यो समाजको कालो रङ्गप्रतिको धारणले मेरो बालमनोविज्ञानमा यति गहिरो असर पारेको थियो कि अलि काली भएकी कारण म आफूलाई पनि एकदमै नराम्री र कमजोर मान्न थालेकी थिएँ, सेतो छाला हुनेहरूसँग आफ्नो तुलना नै हुन सक्दैन भन्ने हीनतावोधको भावनाले मनमा डेरा जमाएको थियो।

एउटा घटना म अझै सम्झिरहन्छु– त्यतिबेला म सात कक्षामा पढ्दैथेँ र बिदा पारेर मामाघर, हेटौंडा गएकी थिएँ। मेरो दिदीको घर हाम्रो मामाघर नजिकै भएकाले म कहिले दिदीको घरमा त कहिले मामाकहाँ गएर बस्दथेँ। एकदिन दिदीको घर गएको बेला त्यहाँ काठमाडौंबाट पाहुना आउनुभएको रहेछ। काठमाडौंबाट आएका सबैजना मैदाको पिठोजस्तै सेता र सफा, त्यो बेला मलाई उनीहरूको अगाडि उभिन समेत अप्ठ्यारो लागिरहेको थियो। म त्यहाँबाट निस्किन, त्यहाँबाट भागेर जान खोजिरहेकी थिएँ, तर त्यहीबेला दिदीले चिया ल्याउनु भयो र बस्न कर लाग्यो। चियामा रङ्ग अलि कडा भएछ, मेरो दिदीकी सासूले ‘चियाको रङ्ग त सरस्वती जस्तै पो भएछ !’ भनेर सबैका अगाडि भन्नुभयो।

हुन त वहाँले जिस्किएरै भन्नुभएको थियो तर मलाई भने वहाँको त्यो वचनले बेस्मारी झटारो हाने जस्तै भयो, मुख लगाइसकेको चिया पनि निल्नु न ओकल्नु भयो। अर्को कोठामा आएर म धेरै रोएकी थिएँ त्यो दिन। जब बेलुकीको खाना खाने बेला भयो, सबै खाना खान भान्छामा गए। दिदीले मलाई पनि बोलाउँदौ हुनुहुन्थ्यो तर मेरो मन त्यसै आत्तियो। दिउँसोको जस्तै केही भनि पो हाल्ने हुन् कि भन्ने डरले ‘पेट दुखेको छ’ भनेर बहाना बनाएँ र त्यस रात म भोकै सुतेँ। भोलिपल्ट सबेरै उठेर म कसैलाई नभेटी मामाघरतिर लागेँ, अनि ती पाहुना नजाउञ्जेल म दिदीको घर जाँदै गइनँ।

हाम्रो समाजले सुन्दरताको लागि तोकेको अर्को महत्वपूर्ण मापदण्ड हो, एउटी महिलाको वजन। राम्री मानिनका लागि एउटा केटी मान्छे दुब्ली नै हुनुपर्छ भन्ने नियम समाजले बनाइदिएको छ। मोटोपनालाई सौन्दर्यसँग यसरी जोडिएको छ कि मानौँ सुन्दरताका लागि मोटोपना एउटा श्राप नै हो। यो समाजले नारी सुन्दरताका सवालमा अरू थुप्रै मापदण्ड तोकेको छ जुन आश्चर्यजनक छ। एउटी नारीको छातीको उचाई, उसको कम्मरको चौडाई र नितम्बको गोलाई यति भयो भने “एकदमै सुन्दर र पूर्ण” भनेर किटान नै गरिदिएको छ। ‘जिरो फिगर’ भन्ने शब्दलाई त्यसैको उपज मान्न सकिन्छ।

हामीले स्वस्थ रहन र पÞmुर्तिलो हुन शरीरको सन्तुलन मिलाउनु पर्छ। तर राम्री हुन यी नियम पालना गरेर दुब्लो हुनै पर्छ भन्ने छ र? हामीले रोजेको पेशा र हाम्रो शारीरिक संरचनाको पनि मिठो सूत्र हुँदारहेछन्। जस्तो कि म मोटी छु र अभिनय मेरो पेशा हो भने मेरो शरीरको आकार अनुसार मलाई आमा वा कुनै बूढीमान्छेको चरित्र मात्रै फिट हुन्छ भनेर त्यही रोल मात्रै अफर आउँछ।

मलाई आश्चर्य लाग्ने कुरा यो छ कि भर्खरका केटीहरू प्रायः दुब्लै हुन्छन् सबै अलि उमेर पुगेका वा आमा बनेका महिलाहरू मोटै हुन्छन् भन्ने सामान्य कुरा पनि मान्छेहरूले किन नबुझेका होलान् ? मेरी ५७ वर्षकी ठुलीआमा जो दुईजना नाति–नीतिनीका हजुरआमा हुनुहुन्छ, वहाँ जम्माजम्मी ३९ किलोको हुनुहुन्छ। तर मेही दिदीकी छोरी १८ वर्षकी मात्र भई तर ७८ किलोकी भइसकी। यो सबै मेकरलाई थाहा नभएको होला कि, पुरानै धारण तोड्न नसकिएको होे?, प्रश्न गम्भीर छ।

“राम्री हुन ठिक्क हाइट भएकी हुनुपर्छ” भनेको पनि पाठकवर्गले सुनिरहेकै कुरा हुनुपर्छ। “ह्या…. त्यो धुरी जस्ती अग्ली के काम !”, “अपुई त्यो भुइँडल्ली !” आदि–इत्यादि। सुन्दर देखिनलाई अरू पनि यस्ता धेरै मापदण्ड र नियम पूरा गरिएको हुनुपर्छ। जस्तो कि कपाल लामो अनि सर्लक हुनुपर्ने, आँखा ठुला हुनुपर्ने, दाँत अनारका दानाजस्ता मिलेका हुनुपर्ने, नाक ठिक्क चुच्चो हुनुपर्ने आदि इत्यादि।

नारी सुन्दरताका यी सब परिभाषा बदल्नु पर्छ, मानकहरू फेरिनु पर्छ। यी कुराहरू सौन्दर्यका यस्ता मानकहरू हुन जसलाई समाज आफ्नो चश्माबाट मात्र हेर्न चाहन्छ र हामी पनि त्यसैको अनुसरण गरिरहेका हुन्छौँ।

मैले अघि पनि भनिसकेकी छु– ‘सौन्दर्यको परिभाषा र त्यसप्रतिको मान्छेहरूको दृष्टिकोण एउटै होइन भने त्यसैलाई एकरूपता दिन किन सिन्दर बन्नुपर्‍याे। कसैले राम्री छु भने घमण्ड पनि गर्नुहुँदैन र नराम्री छु भनेर आत्मग्लानी गर्नु झन् ठूलो भूल हुनेछ। हामी त प्रकृतिको सुन्दर सृजना हौं। प्रकृति जति सुन्दर अरू केही छैन, यस्तो सुन्दर प्रकृतिको सृष्टि हामी कसरी नराम्रो हुन सक्छौँ। ढुक्क हुनुहोस् ! यतिबेला यो लेखिरहेकी “म“ अनि पढिरहनु भएको “तपाईं“ हामी सबै सुन्दर छौँ। श्रोत: INS NEWS-स्वतन्त्र समाचार




Author

थप समाचार
ad
x