ब्लग

विप्लव नै क्रान्ति र क्रान्ति नै विप्लव

सुमन सिंह |
साउन १, २०७९ आइतबार १०:१३ बजे

आज हामीले भूमण्डलीकृत साम्राज्यवादसँग लड्नु परेको छ । अर्थात नेपालको सत्ता पल्टाउनु भनेको सारमा भूमण्डलीकृत साम्राज्यवादविरुद्ध धावा बोल्नु हो ।  नेपालमार्फत् विश्वव्यापी रूपमा धावा बोल्नु हो । नेपालमा क्रान्ति हुनु आफैँमा विश्वलाई साम्यवादतर्फ प्रविष्ट गर्न अपिल गर्नु हो । यसै कारण नेकपा महासचिव विप्लवले पार्टीको ११औं केन्द्रीय समितिको बैठकमा पेश गर्नुभएको प्रस्तावमा हाम्रो जिम्मेवारी युग प्रवर्द्धक बन्ने स्तरमा छ भनेर संश्लेषण गर्नुभएको छ । हामीले उक्त मर्मलाई गहिरोगरी बोध गर्नैपर्छ । 

पार्टीले बहुध्रुव वा दुई ध्रुवीय विश्वबारे गरेको संश्लेषण युक्रेन युद्धसम्म पुग्दा व्यवहारिकरूपमा पुष्टि भएको छ । अमेरिकनहरूले नेपालको संसद्‍बाट एमसीसी पास गराएपछि नेपालमा पनि कित्ताबन्दीको आरम्भ भएको छ । संसद्‍बाटै एमसीसी पास भएपछि सतहमा देखिएको तीब्र असन्तुलन र संसद्‍वादी दल र नेताहरूको आत्मसमर्पणकारी व्यवहारले क्रान्तिकारी शक्ति, देशभक्त र न्यायप्रेमी जनताको आवाज एकै प्रकारले गुन्जिन थालेको छ । र, पुँजीवादी साम्राज्यवादीहरूका हस्तक्षपविरुद्ध एउटा विशाल ध्रुवीकरणको सम्भावना देखा परेको छ । 


तिब्बतलाई गिजोल्ने र नेपाली भूमिको प्रयोग गरेर चीनविरुद्ध लड्न एउटा दर्बिलो 'फोर्टीफिकेसन' नेपाललाई बनाउने अमेरिकाको योजना र यसलाई विफल पार्ने नेपाली जनताको योजना सतहमा पर्दापण भैसकेको छ । त्यसैले लडाईँ आमने-सामने बन्दै गएको र एउटा भयानक लडाईँ नेपाली जनताले लड्नु पर्ने सुनिश्चित जस्तै देखिन्छ । 

राष्ट्रघाती तथा जनघाती दलाल पुँजीवादी संसदीय सत्ता अमेरिकन कठपुतली सत्ता हो । यो सत्ताविरुद्ध जनताको आक्रोश तीब्र छ । चौतर्फी बदनाम बन्दै आएको यो सत्ता कुनै पनि मूल्यमा ध्वस्त हुनैपर्छ । अन्यथा यो देशले भंयकर संकटको सामना गर्नुपर्ने देखिन्छ । आईपिएसको योजना बोकेर आएको एमसीसी परियोजना खारेज गर्न अनिवार्य छ । र, यो नेपाली जनताको निम्ती मात्र होइन चीनको निम्ती पनि उत्तिकै अनिवार्य छ ।  यसलाई खारेज गर्न देशभक्त नेपाली जनताले यथास्थितिलाई भत्काएर आफ्नो सत्ता जन्माउन अनिवार्य छ, अन्यथा यो असम्भव छ । 

आफ्नो संकट समाधान गर्न विप्लव व्यक्तित्वलाई सिद्ध्याउनु अमेरिकी स्वार्थको प्रमुख काम बन्न पुगेको छ । यसलाई परास्त गर्न आवश्यक छ ।

चौतर्फी नेपाली जनतामा मडारिएको विद्रोही मनोविज्ञान र आगामी दिनमा अमेरिकन ध्रुवले नेपालमा सामना गर्नुपर्ने आँधीवेहरीपूर्ण प्रतिरोधबाट उक्त ध्रुव त्रसित छ । त्यसैले उक्त ध्रुव जनताको आक्रोसलाई मोड्न रवि लामिछाने र यस्तै छद्‍म प्रकारको फ्याक्टरलाई अगाडि सार्दै नयाँ योजनासहित मैदानमा आएको छ । निरन्तर संसदीय पुँजीवादी सत्ताविरुद्ध संघर्ष गर्दै आएको क्रान्तिकारी पार्टी, विचार र नेतृत्व वरिपरि देशभक्त, परिवर्तनकामी र क्रान्तिकारी जनताको ध्रुवीकरण हुनसक्ने र त्यसले नै नयाँ सत्ता जन्माउने र देशको नेतृत्व रक्षा गर्ने तागत राख्ने देखेपछि उनीहरू नेपाल कम्युनिस्ट पार्टी र यस पार्टीको नेतृत्व महासचिव विप्लवका अभिव्यक्तिविरुद्ध चौतर्फी हमला र आक्रमणमा उत्रिएका छन् । यो हमला किन भैरहेको छ ? यसलाई आम नेपाली जनताले परास्त गर्न किन आवश्यक छ र हामीले आगामी सम्भावनाको परिचालनमा कस्तो पहलकदमी लिनुपर्ला थोरै चर्चा गर्न आवश्यक ठानेको छु । 

विप्लव व्यक्तित्वविरुद्ध हमला
अहिले विश्व पुँजीवादको गुदी कर्पोरेट हाउस र केही व्यक्तिहरूमा व्यक्त हुन्छ । केही खर्बपतिको पञ्जामा विश्व राजनीति पुगेको छ । विचार, सिद्धान्तको मामलालाई साधारण विषय बनाएर पुँजीवादले व्यक्ति र व्यक्तित्वलाई विभिन्नरूपमा अगाडि सारेको छ । यसको असर र प्रभाव विश्वभरिका जनतामा छ । 

संसारका उद्योगपति भनौ वा राजनीतिज्ञ पुँजीवादले सबैलाई देवत्वकरण गर्दै सिंगो राजनीति नै व्यक्ति केन्द्रित छ । व्यक्ति नै दर्शन, सिद्धान्त सबैथोक हो जसरी प्रस्तुत गर्दै आएको छ । नेपालका संसद्‍वादीकै कुरा गर्ने हो भने- केपी ओली नै एमाले वा एमाले नै केपी, प्रचण्ड नै माके वा माके नै प्रचण्ड, शेरबहादुर नै कांग्रेस वा कांग्रेस नै शेरबहादुर जस्तो ठान्ने अवस्थामा आम जनतालाई पुर्‍याइँदै छ । 

यो पुँजीवादीहरूको सुविचारित कदम हो । समाजमा विचार, सिद्धान्त, खोज, अनुसन्धानको क्षेत्रलाई कमजोर पार्न उद्धत दलाल पुँजीवाद नेपाल कम्युनिस्ट पार्टीको आन्दोलन र खोज अनुसन्धानसहित तयार हुँदै गएको क्रान्तिकारी र देशभक्त शक्तिबीच पैदा भएको बहसबाट अत्तालिन पुगेको छ ।

दलाल पुँजीवाद आफूले खडा गरेका पात्रहरूलाई सबैथोक हो भन्ने भ्रम जालमा जनतालाई पार्न कोसिस त गर्छ । तर दलाल पुँजीवादविरुद्ध खडा भएको क्रान्तिकारी धार र त्यसको नेतृत्वलाई पनि जनताले ठीक त्यसरी नै बुझ्ने भए । सोही कारण यो देशमा विप्लव नै एक क्रान्तिकारी र देशभक्त नेता हो भन्ने छवि जनताको नजरमा बन्यो । अर्थात विप्लव नै क्रान्ति वा क्रान्ति नै विप्लव जस्तो बन्न पुग्यो । विप्लव क्रान्तिको पर्यायको रूपमा जनताको नजरमा बन्नुभयो । र , यो निगम पुँजीवादी अर्थ सम्बन्ध र त्यसले नेता नामक पात्रहरूलाई बुझ्न जनतामा बन्न  पुगेको मनोविज्ञानको उपज थियो । अर्थ सम्बन्ध र यसले जनतामा पैदा गर्ने चेतना उस्तै गरी सार्वभौम बन्नु स्वाभाविक थियो । नेपालमा संसद्‍वादी नेता र केही पात्रहरूलाई जसरी जसरी उचालियो दलाल पुँजीवादविरुद्ध संघर्षको मैदानमा भएको नेतालाई पनि जनताले आफ्नो मसिहा, हिरो, दु:ख मोचकको मानक बनाए । 

नेपाल कम्युनिस्ट पार्टी खोज, अनुसन्धान र बृहत् बहस र संघर्षमा रहेको पार्टी भएकोले यसले जनतालाई जागरुक गराउन, प्रतिरोधको निम्ती तयार गर्न र जनताको विश्वासको नेतृत्व गर्दै अमेरिकन स्वार्थलाई धुलो चटाउने निश्चित छ । अमेरिकन स्वार्थको सबैभन्दा ठूलो तगारो नै नेपाल कम्युनिस्ट पार्टी र विप्लव व्यक्तित्व बन्न पुगेको छ । जनताको नजरमा बनेको विप्लव व्यक्तित्वलाई ध्वस्त नपारी आफ्नो संकट समाधान नहुने ठानी अमेरिका र विश्व पुँजीवादविरुद्ध नेपालमा संगठित बनेको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र विप्लव व्यक्तित्वलाई चौतर्फी आक्रमण गर्न अगाडि आएको छ । आफ्नो संकट समाधान गर्न विप्लव व्यक्तित्वलाई सिद्धयाउनु अमेरिकन स्वार्थको प्रमुख काम बन्न पुगेको छ । 

यसको निम्ती उसले हाम्रो पार्टीमा घुस्ने छिद्र खोजेर ढुकिरहेको थियो । एउटा चुनाव नामको अस्थायी कार्यनीतिलाई पार्टीले प्रयोग गर्दा त्यसैमा खेल्दै केही पात्रहरूलाई उक्साउँदै, चौतर्फी अनर्गल, झुट र कपोकल्पित प्रचार गराउँदै जनतालाई भ्रमित गर्ने कोसिस गर्‍यो । केही हदसम्म यो अमेरिकन मिसन सफल भए जस्तो कसैलाई भान भए पनि उसले आफ्नो खुट्टामा आफैँ बन्चरो चलाइरहेको स्पष्ट छ । पुँजीवाद आफ्नै कारण पैदा भएको संकट समाधान गर्न आफै सक्षम छैन ।

अबको दुनियाँ वैज्ञानिक समाजवाद- साम्यवादको दुनियाँ हो । यसलाई विश्वभरिका न्यायप्रेमी जनता र अमेरिकन ध्रुवविरुद्ध खडा हुँदै गएका उत्पीडित र शक्तिराष्ट्रहरूको समर्थन प्राप्त हुने सुनिश्चित र अनिवार्य छ । विप्लव व्यक्तित्व पुँजीवादी युग बदल्ने समयको नेता भएको हुनाले विश्व पुँजीवादले यो व्यक्तित्व रयसको वरिपरि ध्रुवीकृत हुने विशाल आन्दोलनको कडा प्रतिरोध सामना गर्न  र पराजित हुन तयार हुनैपर्छ । 

विप्लव व्यक्तित्व माथिको प्रहारविरुद्ध खेल्नु पर्ने भूमिका 

राष्ट्रियता र जनताको अधिकारको निम्ती निरन्तर संघर्ष गर्दै आएको विप्लव व्यक्तित्वविरुद्ध प्रहार हुनु सारत यो देश र जनताविरुद्धको प्रहार हो । दलाल पुँजीवादी संसदीय सत्ता खारेजी गरेर वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नु पर्ने अग्रगामी कदमविरुद्धको प्रहार हो । न्याय माथिको प्रहार हो । समग्रमा सिंगो देश र देशभक्ति माथिको प्रहार हो । यो प्रहारलाई परास्त गर्नु आम नेपाली परिवर्तनकामी जनताको दायित्व हो । हामीले यस्ता तुच्छ र कपोकल्पित प्रहारविरुद्ध डटेर प्रतिरोध गर्न आवश्यक छ । हाम्रो पार्टीलाई यो देशका देशभक्त, मध्यम वर्गीय तप्का, राष्ट्रिय पुँजीजीपति वर्ग, सच्चा लोकतन्त्रवादी शक्ति, किसान, मजदुर, युवा विद्यार्थी , उत्पीडित जाती समुदायबीच पुग्न र एकताबद्ध गर्नबाट रोक्ने हेतु हामीलाई युद्धतर्फ प्रेरित गर्ने, हिंसालाई अंगाल्न बाध्य पार्ने प्रपञ्च रचिएको छर्लङ्ग छ । 

हामीले तीन बुँदे सहमति हुँदै, सचेतता पूर्वक जनतामा जानको निम्ती विभिन्न कार्यनीतिहरू अख्तियार गर्दा हाम्रो पार्टीलाई जनताबाट अलग गर्ने कुख्यात षड्यन्त्रहरू अहिले पनि भैरहेका छन् । यो व्यवस्थाको विकल्प र देशको स्वाधिनता रक्षा खोजिरहेका नेपाली जनतालाई हामीले एकताबद्ध गर्न पहल गर्नु पर्छ र आम नेपाली जनताले अब एकताबद्ध हुन ढिला गर्नु हुँदैन । 

हामी एकताबद्ध भएर अमेरिकन स्वार्थविरुद्ध प्रतिरोध गर्दा नै उनीहरूले समाप्त पार्न खोजेको विप्लव व्यक्तित्वको रक्षा हुन्छ र यही व्यक्तित्वको वरिपरि नै हामीले आन्दोलनको आँधीलाई संगठित गर्न सक्छौँ । सचेतता पूर्वक भयानक षड्यन्त्रमा उत्रिएको अमेरिकन स्वार्थलाई ध्वस्त गर्न हामीले उक्त क्याम्पविरुद्ध भीषण हमला गर्न आवश्यक छ । यो भूमिका  सिंगो पार्टी पंक्ति र सम्पूर्ण क्रान्तिकारी, परिवर्तनकामी र देशभक्तहरूले खेल्नुपर्छ । 

आगामी सम्भावना 
देशमा संसद्वा‍दीहरू बिच एकप्रकारको सत्ता संघर्ष छ र उनीहरूले विभिन्न आवरणमा जनतालाई भ्रमित गर्न खोजे पनि उनीहरू सबै राष्ट्रघाती र जनघातीको रूपमा पतन भएका छन् । चौतर्फी असफल सावित सत्ताको विकल्प वैज्ञानिक समाजवादी सत्ता स्थापना गरेर वर्ग संघर्षको कार्यभार पूरा गर्नु हाम्रो कार्यभार हो । यो सँगै राष्ट्रिय स्वाधिनताको रक्षा गर्नु पनि हाम्रो कार्यभार बन्न पुगेको छ । नेपालमा पैदा हुँदै गएको अन्तर्राष्ट्रिय शक्तिसंघर्सको तरङ्गलाई नापेर हामीले अन्तर्राष्ट्रिय सम्बन्धहरूको उचित परिचालन गर्नु पर्ने र  देशभक्त र क्रान्तिकारी कम्युनिस्ट शक्तिलाई एकै ठाउँ ध्रुवीकृत गर्नु पर्ने स्थिति छ । र यो निकट भविष्यमा सम्भव देखिन्छ । 

अमेरिकन स्वार्थलाई परास्त गर्नु पर्ने नेपाली जनताको कार्यभार र आफ्नो सुरक्षालाई सुनिश्चित गर्नु पर्ने आवश्यकता भएका राष्ट्रहरूबीच सहकार्यको प्रबल सम्भावना अगाडि देखिन्छ । संसद्वादी मोर्चामा रहेर राष्टंघात गर्दै आएका केही कठपुतली दलाल नेता र केही दलाल पुँजीपतिहरू बाहेक संसद्‍वादी कित्ताबाटै पनि विद्रोह हुने, नेपाली सेना भित्रको राष्ट्रवादी धार , नेपाल प्रहरी भित्रको राष्टवादी धार, कर्मचारी भित्रको राष्ट्रवादी धारले पनि विद्रोह गर्नै पर्ने स्थिति बन्ने सम्भावना देखिन्छ । 

राष्ट्रिय पुँजीपति, सच्चा लोकतन्त्रवादी र मध्यम वर्गीय तप्काको अधिकांश हिस्सा पनि आफ्नो कित्तालाई स्पष्ट गर्दै अमेरिकन र पश्चिमा शक्तिविरुद्धको मोर्चामा आउनै पर्ने वातावरण बन्दै गएको देखिन्छ । किनकि अन्तर्राष्ट्रिय शक्तिसंघर्सको नेपालमा विद्धमान स्थिति र यसको विकासले यो संभावनालाई नजिक बनाईरहेको तथ्यहरूले स्पष्ट गर्दै लगेका छन् ।  यो बेला नेपालमा क्रियाशील क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू र देशभक्त शक्तिहरूले एकताबद्ध भएर एउटा आम जनताको सहभागिता रहने विद्रोहको मोर्चा खोल्नु पर्ने र त्यसको तयारीमा सबै जिम्मेवार बनेर लाग्नु पर्ने आवश्यकता देखिन्छ । 

लुटेरा पुँजीवादको तख्ता पल्टाएर पुँजीवादको अन्तिम चिहान नेपाललाई बनाउँदै नेपालबाट वैज्ञानिक समाजवादको झण्डा फहराउँदै विश्वलाई नयाँ साम्यवादी युगमा जान अपिल गर्नुपर्ने युग प्रवर्तकको जिम्मा भएका हामीले समग्र सम्भावनाहरूलाई नजिकबाट नाप्दै नेतृत्वदायी भूमिका खेल्ने स्तरमा पहलकदमी लिन र त्यसको तयारी गर्न रौं जत्ति पनि चुक्न हुँदैन । 

तर, यो बेला विप्लव व्यक्तित्वमाथिको हमलाविरुद्ध आम पंक्ति र सिंगो देश एकढिक्का भएर लड्नु महत्वपूर्ण काम हो । हामी यो गर्न सक्षम छौँ । नयाँ सम्भावना आँधी लिएर आउँदैछ । आँधीलाई आफ्नो पक्षमा तान्न र विश्व पुँजीवादको चिहान खन्न मिहेनत गरेर फिल्डमा खटौं । हाम्रो पार्टीमाथि लागेका मिथ्या र कपोकल्पित आरोप पानीको फोका जस्तै फुटेर जानेछन् । 

सिंह नेकपा केन्द्रीय सदस्य हुन् ।
 


Author

थप समाचार
x