सञ्‍चो/विसञ्‍चो सोध्नुभन्दा पहिला— कति पैसा कमाइस् ?

विनोद ढुंगाना | माघ ११, २०७८

चिया पसलमा सहकर्मी अशोक विश्वकर्मा र चिनजानका एक जनासँग गफ चल्दै थियो । गफिँदै जाँदा उनले सोधे, ‘विनोद वाबु घर त यतै बनाइयो होला नि ? कि डेरामै बस्नुहुन्छ ? घडेरी त पक्कै किन्नु भो होला ?’ उनले सोचेका होलान् पत्रकारिता प्रतिष्ठितसँगै बडो राम्रो कमाइ हुने पेसा हो !

मैले खिस्स हाँस्दै उत्तर दिए, ‘डेरामै बस्छु । बजारमै घर बनाएर बस्ने त्यस्तो रहर नै छैन । अलि वर्ष काम गरुन्जेल डेरामै बसौँ । त्यसपछि गाउँमै केही गर्ने सोच छ ।’
त्यो त केवल सुनाउने जवाफ मात्र थियो मेरो । सुनाउनुपर्ने मनको जवाफ भने अर्कै नै थियो, जुन मुखरित हुन सकेन । मलाई मनमा लागेको तर मुखरित नभएको उत्तर यस्तो थियो, ‘पत्रकारिताको कमाइले घरघडेरी किन्न कहाँ सक्नु ? दैनिकी चलाउन पनि धौ–धौ हुन्छ ।’ 

तर मैले यो जवाफलाई मनको मझेरीबाट मुखको दैलोसम्म आउन दिइनँ । रोकें, आफैंलाई सकस हुने गरि । मैले यसलाई दुइटा कारणले रोकेको थिएँ । एक त मैले गरिरहेको पेसामा उनले हाँस्ने, उडाउने मौका पाउने थिए, अर्को म चाहन्नथें उनले मेरो वास्तविकता थाहा पाऊन् । लुकाएको वास्तविकता पूर्ण भने होइन, आंशिक मात्र थियो । आर्थिक अवस्थाले एउटा मानिसको पूर्ण बखान गर्न सक्दैन । खैर, मैले उनीसामु यी कुरा खुलाउन चाहिनँ । 

अफिस पुगेर अशोकसँग केहीबेर घर–घडेरीको विषयमा गन्थनमन्थन पनि भयो । अन्तिममा निष्कर्ष निकाल्यौँ, ‘पैसा नकमाएर के भो त ? पैसाले किन्न नसक्ने साथ कमाएका छौँ । विश्वास जितेका छौं । आखिर एउटा पत्रकारले पैसाभन्दा विश्वास कमाउनु नै ठूलो कुरा हो ।’ 

घरघडेरी, जायजेथाबारे सोध्ने उनीमात्र एक्ला भने होइनन् । धेरैलाई लाग्छ, पत्रकारले भयंकर पैसा कमाउँछन् । आजकाल त आफन्तहरूसँगको भेटघाटमा सञ्चो/विसञ्चो भन्दा पहिले कति पैसा कमाइस् ? अहिलेसम्म कमाएको पैसा के गरेको छस् ? आदि प्रश्नहरू धेरै तेर्सिन्छन् । अब घडेरी किन्नुपर्छ है भनेर पनि सुझाउँछन् धेरैले त ।  र म, मन नलागेर पनि उनीहरूलाई स्पष्टीकरण दिने कोसिस गर्दछु । ‘आफ्नो पहिचान बनाउन खोज्दै छु । आफ्नो रहर पूरा गरिरहेको छु । पैसा मात्र खुसी होइन नि हजुर ।’

कहिलेकाहीँ साथीभाइ र आफन्तकै फोन पनि आउँछ, पैसा सापटी माग्न । दिइहाल्न आफ्नो अवस्थाले दिँदैन, नदिन सम्बन्धका त्याङ्ग्रा र नैतिकताले दिँदैन । ‘अहिलेसम्म कमाएको पैसा के गरेको छस् र ? कहिल्यै छ भन्दैनस् त । कहाँ राखेको छस् र कमाएको पैसा जति ?’ उल्टै यस्ता प्रश्नका झटारा फालिन्छन् । 
‘कमाएको जति निकाल्नै नमिल्ने बैंकमा राखेको छु । पैसा धेरै राखेपछि बैंकले पनि निकाल्न नदिने रैछ के भनेको बेलामा !’ उनीहरूलाई म सटिक उत्तर दिन्छु, केही व्यंग्यात्मक उत्तर ।

पत्रकारितामा हाम फाल्दा मलाई अरू केहीको लोभ थिएन । मैले यो पेसा एउटा कारणले मात्रै रोजेको थिएँ– पत्रकारिता प्रतिष्ठित पेसा हो । साथीभाइले पत्रकारितामा लागेर के गर्छस् पनि भनेका थिए । तर उनीहरूलाई भने सुनिनँ । किनकि मलाई मनको सुन्नु थियो । असफल भएपनि आफ्नै मनको सुनेर असफल भएँ भनेर चित्त बुझाउने बाटो त रहन्थ्यो नै । 

सफल हुदिनँ भन्ने पनि थिएन । सामाजिक संरचनाले मानेको ‘सफलता’ मलाई पाउनु थिएन । मलाई पैसा, शक्ति चाहिएको थिएन, जुन अहिलेको समाजले मानेको सफलताको व्याख्या हो । मलाई चाहिएको थियो त केवल विश्वास । केवल सद्भावना र केही असल मानिसको साथ । 

समाजले मानेजस्तै सफल हुने बाटोमा जान पनि सक्थें । सायद हरियो पासपोर्ट लिएर अरबतिर हानिएको भए यत्तिका वर्षसम्म त बजारमा एउटा घडेरी जोडिसक्थें । एउटा पक्की घर बनाइपनि सक्थें । आफन्त, साथीभाइको दुखमा दुई/चार लाख रुपैयाँ सहयोग गर्ने हैसियत पनि बनाइसक्थें होला । 

तर मलाई यसबारे सोच्दा पत्रकारिता किन रोजें भन्ने अफसोच भने छैन । मलाई अझै पूर्ण गौरव छ नै । समाजको प्रश्नमा अल्झिएको भए मैले केही पैसा त कमाउँथे नै, तर आफ्नो रहर, इच्छाको भने तिलाञ्जलि दिइसकेको हुन्थें । पहिचानसँगै केही मान्छेहरू कमाएको छु भन्दै सात वर्षदेखि अनवरत पत्रकारितामै लागेको छु । पत्रकारितामा कति दिन सकें, कति सकिनँ त्यसको मूल्यांकन मेरा पाठकले पक्कै गर्नु भएको छ ।  

‘यसले टन्नै पैसा कमाएको छ’ भनेर आफन्तले सोच्नु स्वाभाविक पनि हो । किनकि म हरहमेसा व्यस्त । फुर्सदमा भएको सुन्नै पाउँदैनन् । भेट्न खोज्दा भेट्न मुस्किल । कहिले कहाँ हुन्छु ठेगान हुँदैन । त्यसैले त उनीहरूलाई लाग्दो हो, ‘पैसा नकमाइकन त यति साह्रो दौडधुप किन गर्‍यो होला र ?’

मैले कति कमाइरहेको छु, मैले कसैलाई भन्नु पर्दैन । टिभी टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको मृत्युबारेको खबर पढे मात्रै थाहा हुन्छ मेरो कमाइ र हैसियत । माघ ६ गते मात्र एक हजार रुपैयाँ गोजीमा नहुँदा जस्ले उपचार नपाएर विश्वकर्माले अकालमै मृत्युवरण गरे । मृत्युवरण त के भन्नु ? सिभिल अस्पतालले एक हजार रुपैयाँको नाममा गरेको हत्या हो । 

स्वास्थ्यलाई सेवा हैन, व्यापार हो भन्ने त सिभिल जस्ता थुप्रै अस्पतालले पुष्टि गरेका छन् नै । यो त लोकले नै जानेको, बुझेको, देखेको, सुनेको, भोगेको कुरा हो । 
विश्वकर्माको मृत्युले मजस्ता अरु पत्रकारहरूलाई झस्काएको हुनुपर्छ । र दाम नकमाए पनि नाम त कमाइएको छ भनेर खुसी भएको नाटक गर्ने धेरै पत्रकारहरूको भ्रम पनि तोडिएको हुनुपर्छ । पहिचानले त एक हजार रुपैयाँको उपचार पाउन पनि सम्भव रहेनछ । 

एउटा सर्वसाधारणले आर्थिक अभावमा उपचारबाट वञ्चित हुँदा समाचार लेखेर उपचारको व्यवस्था मिलाइदिने पत्रकार एक हजार रुपैयाँ साथमा नहुँदा आफैँले अकालमा ज्यान गुमाउन बाध्य छन् । यो देशमा कर्मप्रति इमानदार पत्रकारहरूको हालत यस्तै छ । 

तर अर्को एकथरी पत्रकारको जमात छ, जसलाई यस्ता घटनाले छुँदैन, घोच्दैन । हामीलाई झैं चिमोट्दैन । जो नेताका पछि लागेर चाकडीमा व्यस्त छन् उनीहरूले लाखौँ कमाएका छन् । घर घडेरी जोडेका होलान् । तर अरुका लागि लेखेर, बोलेर बाँच्छु भन्नेहरूको उदाहरण एलबी विश्वकर्मा हुन् । 

एलबीको मृत्यपछि मैले एकछिन पत्रकार महासंघको गत चैतमा भएको अधिवेशन सम्झें । त्यसबेला भोट माग्नलाई दैनिक सयौँ पत्रकार नेताहरूको फोन आउँथ्यो । चुनाव सकियो । कोहीले जिते, कोही हारे । भोट माग्नलाई तारन्तार फोन गर्नेहरूले त बिर्सिइसके पनि होलान् । 

महासंघको अधिवेशनका बेला श्रमजीवीको हकहितका चर्काचर्का नारा लगाउने शरम हराएकाहरूलाई एलबीको मृत्युले पोल्दो हो कि के गर्दो हो ? हुन त श्रमजीवीको हकहितका ती नारा त केवल भोट तान्ने अस्त्र थिए । महासंघका नेता बनेकाहरूलाई त नेताको पछि लाग्दैमा ठीक्क होला ! एलबी विश्वकर्माहरू विलिन हुनुले खासै फरक नपर्ला उनीहरूलाई । 

श्रमजीवीको हकहितको नारा लगाउनेहरूले काम गरेको तलब ढुक्कले पाउने अवस्था बनाइदिऊन् । काम पाइने तर तलब पाउनलाई बडो संघर्ष गर्नुपर्ने परिपाटीको अन्त्य गर्न मात्र सफल भए भने पनि अरु एलबीहरूले एक हजार रुपैयाँ नहुँदैमा यो संसारबाट विलिन हुनुपर्ने थिएन । 

काम गरेको मिडिया हाउससँग तलब माग्दा पत्रकारिता नै सिध्याइदिनेसम्मको धम्की उपहारमा पाइन्छ । त्यसपछि अरुले तलब नपाएको हेडलाइन लेख्ने हामी आफैँ तलब नपाएको बारे लेख्ने हिम्मतसम्म जुटाउदैनौँ । र त एक हजार रुपैयाँको अभावमा प्राण जाने अवस्थामा पुग्छौं । 
(ढुंगाना तनहुँमा रहेर पत्रकारिता गर्छन् ।) 

चितवनमा दुर्गा सप्तशति : बाबुराम नातिप्रेमी, घनश्याम मार्क्सी, प्रचण्ड कांग्रेसी, गगन गनगने

विनोद देवकोटा | मंसिर १९, २०७८

काठमाडौँ – प्रचारखोरलाई लक्षित गरी बनेको हिन्दीको एउटा भनाइ नेपालमा पनि खुब चर्चित छ –नाम...

चितवनमा पाँच दिन : म १९ वर्षीय पत्रकारले ओलीलाई यसरी चिनेँ...

अनिष भट्टराई | मंसिर १७, २०७८

नेकपा एमालेको दशौँ महाधिवेशनको रिपोर्टिङको मौका पाएपछि चितवनतर्फ लागेँ, ९ मंसिरमा । १९ वर्षकै सानो उ...

मन्त्रीज्यूको ११ कपको ट्रे, साबेल अनि दाइ भन्‍नु ल !

चन्द्रशेखर अधिकारी | कात्तिक २६, २०७८

परराष्ट्र मन्‍त्री डा. नारायण खड्काको गल्फुटारस्थित निजी निवास (वेद व्यास) मा शुक्रबार बिहान यो पंक्तिक...

पाकिस्तानी पत्रकारले अनुभूत गरेको अफगानिस्तानको कहालिलाग्दो अवस्था

इकागज | कात्तिक २१, २०७८

म पाकिस्तानको पेसावार सहरमा बसेर एक दशकभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएको छु। छिमेकी मुलुक अफगान...