ब्लग

एसएलसी गर्ने पहिलो हुम्ली दलित रणसिंह

जितेन्द्र थापा |
चैत ८, २०७८ १७:१४ बजे

सुर्खेत । क.. ख.. पढ्ने इच्छा पलाएर पहिलोपटक विद्यालय जाँदा उनलाई गाउँलेले भने–‘दमाईँ–कामीको छोराले पढेर के हुन्छ ?’

२०३५ सालमा गाउँमा विद्यालय खुल्यो– जनकल्याण प्राथमिक विद्यालय । उनी त्यहाँ पढ्न जाँदा हालः अदानचुली गाउँपालिका–१ कल्लेका रणसिंह परियारले निक्कै खिसिट्युरी सहे । हुन पनि यो समय हुम्लाको विकट गाउँमा दलित समदायका बालबालिका विद्यालय जाँदैनथे । रणसिंह नै पहिलो व्यक्ति हुन्, कल्लेका विद्यालयमा गएर किताब समाउने।


सुनिएअनुसार दलित बालक विद्यालय पठाउन परिवारले पनि मानेका थिएनन् । विद्यालय जाँदा दमाईँको छोरोले पढ्नुहुन्न भन्ने गाउँमा मान्यता रहेकै कारण परिवारले उनलाई विद्यालय जानबाट बन्देज लगाएका  थिए । तर, घरपरिवारको बोलीलाई लत्याउँदै उनी निरन्तर विद्यालय गएर अध्ययन गर्न थाले । 
आफ्नै बलबुतोमा परियार विद्यालय त गए, तर उनले कापी किताबको अभाव झेल्नुप¥यो । विद्यालय जाँदा फलाट ताछेर तेल लगाउँदै क... ख... ग पढ्न सुरु गरेको उनी अहिले सम्झिन्छन् । ‘विद्यालयमा अहिलेजस्तो भवन थिएन, न त बस्ने ठाउँ नै ।’ उनले इकागजसँग कुरा गर्दै विगत सम्झिए, ‘धेरैपछि भवन बनेको थियो, अनि मात्रै कक्षाकोठामा बस्न पाइयो ।’

दलित भएकै कारण अलग्गै बसेर पढ्थे 

तल्लो जातले पढेर के गर्छ भनेर भनेर जातीय छुवाछुत हुने गरेको उनको मानसपटलमा अहिले पनि ताजै छ । माथिल्लो जातकाले मात्र विद्यालय जाने तल्लो जातकाले विद्यालय नगए पनि हुन्छ भन्ने कुराबाट उनी कति पनि विचलित भएनन् । मात्र विद्यालय भर्ना भएका थिए । 

विद्यालय भर्ना भइसकेपश्चात् पढाइमा तेज हुँदै गए । गुरुहरूको माया पाए । उनी विद्यालय जाँदा उनको परिवार मात्र होइन समुदाय नै अशिक्षित थियो । उनी विद्यालयमा मेहनतका साथ पढ्दा गाउँसमाजले उनलाई यो दलित दमाईँको छोराले पढेर के गर्छ ? भन्न भने अझै छाडेका थिएनन् । यस्ता अभिव्यक्तिलाई बेवास्ता गर्दै पढाइमा ध्यान दिँदा उनी कहिल्यै असफल भएनन् । 

विद्यालयमा पढ्दैगर्दा पनि दलित भएकै कारण एक्लै बस्नुपर्‍यो । एक्लै दुःख कष्ट भोग्दै मनका पीडाहरुलाई मनको एक भागमा थन्क्याउँदै उनी चार कक्षासम्म निरन्तर सफल हुँदै गए । उनले जनकल्याण प्राविमा चार कक्षा पास गरेपछि माध्यामिक विद्यालयमा आधा घण्टा हिँडेर सूर्योदय माध्यामिक विद्यालय श्रीनगरमा पाँच कक्षामा भर्ना हुन पुगे । त्यहाँ भर्ना भएपश्चात् उनका संघर्षका दिनहरूको सुरुवात भयो । विद्यालयमा भर्ना भइसक्दा पनि किताबसम्म पाएनन् । सात दिनको पैदल यात्रा गरेर किताब किन्न बाजुराको मार्तडी पुगेको उनलाई सम्झना छ । 

घरको आर्थिक अवस्था नाजुक थियो । छुवाछुत उत्तिकै । बुबाले गाउँभरीका कपडा सिलाएर परिवार पाल्दै आएका थिए । कापी कलम किन्नसमेत मुस्किल थियो ।
एकदेखि चार कक्षासम्म अध्ययन गर्दा परिवारबाट नै साथ सहयोग नपाएको उनको भनाइ छ । 

आफ्नै संघर्षले निरन्तर अध्ययन गर्दै आएका परियार ६ कक्षा पुगेपछि भने उनले विद्यालयबाट छात्रवृत्ति पाए । ६ कक्षामा पुग्दा जिल्ला शिक्षा कार्यालय हुम्लाबाट मासिक पचास रुपैँया छात्रवृत्तिले दश कक्षासम्म अध्ययन गरे । त्यो बेला विद्यालयको प्रधानाध्यापक झविन्द्रराज आचार्य थिए । आचार्य रणसिंहको निकै तारिफ गर्ने गर्थे । त्यतिबेलाको स्मरण गर्दै परियार भन्छन्, ‘उसको पढाइ राम्रो छ  जेहेन्दार छात्रवृत्ति मलाईृ दिनुपर्छ भनेर मलाई त्यो पचास रुपैँया दिइयो । वर्षमा ६ सय हुन्थ्यो ।’ १० सम्म पढ्न त्यो छात्रवृत्तिले सहज बनाएको उनको अनुभव छ । 
 

विभिन्न अवरोधकाबीच अध्ययन जारी रहँदै गर्दा जुम्लाबाट दलित समुदायमा पहिलो एसएलसी उत्तीर्ण गर्ने उनै रणसिंह बने ।

१८ वर्षको उमेरमा पहिलो दलित शिक्षक 

२०५२ साल वैशाख २८ गते १८ वर्षको उमेरमा शिक्षण पेसामा जागिरे भए । दलित परिवारबाट उनीबाहेक अरु थिएनन् । एसएलसी उत्तीर्ण भएकै कारण उनले जागिर पाए पनि नियुक्ति पाएका थिएनन् । स्थानीय छत्रपाल प्राविमा अध्यापन सुरु गरेका उनमा छुवाछुत भोग्ने क्रम रोकिएको थिएन ।  साँझबिहान उनीहरूका बालबालिका पढाउथे । तर, साँझबिहान खाना दिदा अलग्गै बाहिर दिन्थे । 

‘आफूले खाएका भाँडाकुँडा पनि अलग्गै बाहिरै राख्नुपथ्र्यो ।’ उनले तितो यथार्थ सुनाए ।
 

पिक्निक जाँदा छुट्टै थालीे 

विद्यालयमा अध्ययन गर्दा होस् वा विद्यालयमा अध्यापन गराउँदा होस् रणसिंहले थुप्रै छुवाछुतका समस्या भोगे । दलितकै छोरा भएर विद्यार्थीहरु देखि धेरै कुटाइ पनि खाए । ‘तर पनि आफूले त्यसलाई अपमान मानि,’उनले भने, ‘विभिन्न अपहेलना तिरस्कार हुँदा पनि मैले सम्मान ठानें । कत्ति पनि हार मानिन । सधै आफ्नै जित ठानें ।’

विद्यालयबाट जिल्लास्तरीय कार्यक्रममा भाग लिदा भान्सामा नपुगेर अलग्गै बसेर खाने बस्ने गर्नुपथ्र्यो । पिक्निक जाँदा घरबाटै छुट्टै थाली लिएर जानुपर्ने बाध्यत हुन्थ्यो। 

विद्रोह गर्ने 

विद्यालयमा पढ्दै गर्दा होस वा बाटोघाटोमा यात्रा गर्दा होस् जातीयताका नारा चर्को रुपमा घन्किन्थे । माथिल्लो जातिले तल्लो जाति भनेर गर्नसम्म दुव्र्यवहार गरेको पाइन्थ्यो । त्यसरी दुव्र्यवहार गरेको देख्दा रणसिंहको मन चस्स दुख्थ्यो । उनको मनभित्र हामी मानिस एउटै भएर पनि किन अविजातलगायतका थुप्रै प्रश्नहरूसँगै मन खेल्थ्यो । तल्लो जाति भनेर गरेको छुवाछुत देख्दा र भोग्दा रणसिंहलाई विद्रोह गर्ने सोच आउँथ्यो । तर, उनी मौन नै रहन्थे ।

त्यसपछि माओवादी .....

विद्यालयमा अध्ययन गराउदै गर्दा देशमा सशस्त्र युद्धको निकै रापताप थियो । त्यस्को प्रभाव विद्यालयमा पनि प्रत्यक्ष रुपमा परेको थियो । एकातिर राज्यपक्षबाट शिक्षकहरुलाई दोषी ठह¥याउँथ्यो भने अर्को राज्यबाट तलब खाएका भनेर द्वन्द्वमा रहेका माओवादीले तारोमा राख्दथे ।

जातीय छुवाछुत, थिचोमिचो अन्त्य गर्ने तत्कालीन विद्रोही पक्षको नाराले उनलाई पनि छोएको थियो । कम्युनिष्टले जातभात मान्दैन गरिबहरुको सेवा गर्छ भन्ने विचारबाट प्रभावित भएका थिए उनी । 

२०४६ सालको जनआन्दोलन पछाडि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु पाँचौको सूर्योदय माध्यामिक विद्यालयको प्ररम्भिक कमिटिको अध्यक्ष भएर काम गरेका उनी २०५२ देखि २०५७ सम्म नेपाल राष्टिय शिक्षक संगठनको इलाका नम्बर –८ को सचिवको जिम्ेवारी सम्हालेका थिए । कम्युनिष्ट विचारधाराबाटै प्रभावित भएका कारण पनि उनी माओवादीमा होमिन पुगे ।

२०५९ साल फागुन २ गते २४ वर्षको उमेरमा जनयुद्धमा होमिए उनी । जनयुद्धमा होमिँदाका पीडा पनि उनीसँग अथाह छन् । शिक्षक पेशामै रहेर माओवादीको विभिन्न पदमा रहेर काम गरिसकेका परियारका सम्पूर्ण गतिविधिहरु बाहिर छरपष्टिएका थिए । जसकारण उनलाई तलब खान अप्ठेरो भयो । 
शिक्षण पेशा त्यागरे उनी गाउँ पसे अनि भन्न थाले माओवादी जनताको पार्टी–जनता कै लागि । 

‘यसले अन्यायमा परेकालाई न्याय दिन्छ । सर्वहारा वर्गको अधिनायकत्व कायम गर्छ।’ यही नारा बोक्दै गाउँ पसेका सिंहले धेरै शिक्षकलाई संगठित बनाए । त्यस अभियानबाटै उनी  युद्धमा पुगे । घरको आर्थिक अवस्था दयनीय थियो । तलबकै भरमा परिवार पालिएको थियो । परियार जनयुद्धमा होमिसकेपछि पनि उनको परिवार पुनः आर्थिक संकटमा पर्यो‍ । 

जनयुद्धदेखि धनयुद्धसम्मको यात्रा 

सरल बोलीचाली, सरल लवाइखुवाइ । अहंकार र घमण्ड कम । आफ्नो गृह जिल्लावासीको तनमनमा छन् परियार । उमेरको गणितले ४५ छोएका उनको स्वभावकै कारण धन जीवनमा झेलेको अनेक कठिनाइपछि पनि धन कमाउन भने सकेनन् । संघर्षमय जीवन व्यतित गरिरहेका परियारको परिवार अझै आर्थिक संकटबाट माथि उठ्न सकेको छैन । तर, पनि उनी अझै आर्थिक हिसाबले जीवनको जितको खोजीमा छन् ।

सशस्त्र युद्धताका कैयौँ अप्ठेरा परिस्थितिको सामना गरे । विभिन्न समय र स्थानमा भएका लडाइँमा रातबिरात कहिले पहाडको टुप्पोमा पुगे, कहिले गाउँबस्तीका काप्चामा अनि कहिले हिमाल हुँदै तराईका फाँटहरुमा । 

उनी अझै थाकेका भने छैनन्, अझै समाजका लागि न्याय र स्वतन्त्रता अनि परिवर्तनका लागि उनको आवाज उस्तै गरी उठिरहेको छ जतिबेला गाउँमा पहिलोपटक आफ्नो समुदायबाट उनी विद्यालयमा पाइला टेक्ने पहिलो विद्यार्थी बनेका थिए ।
 



Author

थप समाचार
ad
x