सिनेमा

टम ह्याङ्क्सको नजरमा उनका हेर्नलायक ४ फिल्म

इकागज |
कात्तिक २३, २०७९ बुधबार १६:३८ बजे

लसएन्जल्स - विश्वकै दर्शकका लागि टम ह्याङक्स पर्दामा आउनु सानोतिनो उत्सव सरह हुन्छ । ४० वर्षे फिल्मी करिअरमा उनले सबै विधाका फिल्ममा काम गरेका छन् जसमा एकै साल प्रदर्शनमा आएका ‘यु ह्याभ गट मेल’ र ‘सेभिङ प्राइभेट रायन’ जस्ता फिल्म पर्छन् । 

तर अस्कर विजेता टमको नजरमा उनले जम्माजम्मी ४ वटा राम्रा फिल्म खेलेका छन् । टमले ४० वर्षअघि अभिनय यात्रा सुरु गरेका थिए । ‘फिल्म कसरी बनाउने भन्ने कसैलाई पनि थाहा छैन जबकि हरकोही यसको विज्ञ भएको दाबी गर्छन् । उनले मंगलबार पिपुल म्यागजिनसँगको कुराकानीमा भनेका छन्, ‘मैले चार दर्जन बढी फिल्म बनाएको छु । जसमध्ये ४ वटा ठीकै छन् । मलाई त फिल्म बनाउनु चमत्कार जस्तै लाग्छ । एउटा सानो विचार कसरी कसरी फिल्म बन्न पुग्छ ।’


टम ह्याङक्सले पिपुलसँगको कुराकानीमा यी चार वटा फिल्मको नाम खुलाएका छैनन् तर विभिन्न समयमा उनले आफूले खेलेका मध्ये राम्रा फिल्मको नाम लिने क्रममा यी फिल्मका नाम चुहाएका छन् । टमका अनुसार ‘लिग अफ दियर ओन’, ‘कास्ट अवे’, ‘फरेस्ट गम्प’, ‘क्लाउड एटलस’ उनले बनाएका र खेलेका उत्कृष्ट चार फिल्म हुन् । यसमा पनि उनले अभिनेतामा दोस्रो अस्कर दिलाउने ‘फरेस्ट गम्प’लाई सबैभन्दा मनपर्ने सिनेमाको श्रेणीमा राखेका छन् ।

न्युयोर्क टाइम म्यागजिनले सर्वकालीन महान फिल्मको सूचीमा यो फिल्मको नाम नराख्दा टमले असन्तुष्टि जनाएका थिए । उनले आफूले खेलेका मध्ये रद्दी फिल्मको नाम लिनुपर्दा भने ‘एन्जल एन्ड डेमन्स’ र ‘इनफेर्नो’को नाम लिने गरेका छन् । यी दुवै फिल्म ‘दाभिन्ची कोड’का सिक्वेल थिए । 
 


Author

थप समाचार
x