सिनेमा

‘नायकन’को ३५ वर्षपछि एकसाथ काम गर्दै मणिरत्नम् र कमल हासन

इकागज |
कात्तिक २१, २०७९ सोमबार ११:३१ बजे

मुम्बई - ‘विक्रम’ सुपरहिट भएपछि कमल हासन अभिनयमा थप सक्रिय भएका छन् । कमलले भर्खरै ‘इन्डियन २’को सुटिङ सकाएका छन् । क्रेन दुर्घटना परेर सेटमा काम गरिरहेका मजदुरको मृत्यु भएपछि यो फिल्मको सुटिङ रोकिएको थियो ।

तर हासनको ६८ औँ जन्मदिनमा उनले मणिरत्नमसँग काम गर्ने घोषणा गरेका छन् जुन सन् २०२४ मा रिलिज हुनेछ । मणिरत्नम् र कमल हासनले थप निर्मातासँग मिलेर बनाउन लागेको फिल्मको नाम ‘केएच २३४’ राखिएको छ । 


मणिरत्नम् र कमल हासनले जीवनकालमा एउटा मात्र फिल्ममा काम गरेका छन् । त्यो फिल्म हो ‘नायकन’ । सन् १९८७ मा रिलिज भएको यही फिल्मबाट कमल हासनले स्टारडम हासिल गरेका थिए । ‘नायकन’लाई तमिल सिनेमाको क्लासिक सिनेमा मानिन्छ । यही फिल्ममा काम गरेपछि मणिरत्नम् र कमल हासनले कहिले पनि दोहोर्याएर काम गरेका थिएनन् ।

यो फिल्म रिलिज भएको ३५ वर्षपछि भने आआफ्नो क्षेत्रका यी दुई दिग्गज फिल्म निर्माणमा जुटेका छन् ।  फिल्मको बाँकी जानकारी सार्वजनिक भइसकेको छैन । तर मणिरत्नम्ले ‘पीएस २’को सुटिङ र रिलिजपछि बल्ल यो फिल्मको काम गर्नेछन् । भर्खरै रिलिज भएको ‘पीएस १’ले विश्वभरबाट ५ करोड भन्दा ज्यादा कमाइ गर्दै सर्वाधिक कमाउने तमिल फिल्म बनेको छ । 


Author

थप समाचार
x