सिनेमा

किन थोरै पर्दामा रिलिज हुँदैछ ‘उँचाइ’ ?

इकागज |
कात्तिक २४, २०७९ बिहीबार ११:४७ बजे

मुम्बई-  शुक्रबारदेखि बलिउड फिल्म ‘उँचाइ’ रिलिज हुँदैछ । बलिउडमा यो फिल्मलाई विशेष महत्वका साथ हेरिएको छ । किनकि यसलाई सुरज बड्जात्याले निर्देशन गरेका हुन् जो बलिउडमा पारिवारिक फिल्म बनाउनका लागि माहिर मानिन्छन् । योबाहेक यही साल यो फिल्मको प्रस्तुतकर्ता राजश्री फिल्मले स्थापनाको ७५ औँ वर्ष मनाइरहेको छ ।

सदा पारिवारिक प्रेमकथामा फिल्म बनाउँदै आएका सुरज बड्जात्याले पहिलोपल्ट बुढ्यौली उमेरका साथीको मित्रताको कथा पेश गरेका छन् । यो फिल्मको आधाभन्दा ज्यादा सुटिङ नेपालमा गरिएको थियो । नेपालमा पनि यही कारण यो फिल्मलाई उत्सुकताका साथ हेरिएको छ । तर रिलिजको संघारमा यो फिल्मको प्रदर्शन रणनीतिले धेरैलाई चकित पारेको छ । भारतीय मिडियामा आएका समाचारअनुसार यो फिल्म जम्मा ६–७ सय पर्दामा मात्र रिलिज हुँदैछ ।


आजका दिनमा निर्माताहरू ज्यादाभन्दा ज्यादा पर्दामा आफ्नो फिल्म रिलिज गर्न मरिहत्ते गर्छन् । तर राजश्रीले भने झन्डै ९० प्रतिशत पर्दा कटौती गरेर जम्मा ६–७ सय पर्दामा रिलिज गर्ने रणनीति बनाएको छ । सन् २०१९को तथ्यांकअनुसार भारतमा ६ हजार सिंगल स्क्रिन र ३ हजार मल्टिप्लेक्स छन् । यति मात्र होइन वितरक यशराज फिल्मले यो फिल्मको सो ११ बजेपछि मात्र राख्न पनि प्रदर्शकलाई आग्रह गरेको छ । यसैगरी ५ सोसम्म चलाउन सक्ने मल्टिप्लेक्सलाई पनि वितरकले ४ सो मात्र चलाउन पनि आग्रह गरेका छन् ।

राजश्रीले यसरी कम पर्दामा रिलिज गर्ने रणनीतिलाई धेरैले राजश्रीको पुरानो रणनीतिको रुपमा व्याख्या गरेका छन् । प्रदर्शन मोडल डिजिटल नहुँदासम्म भारतमा फिल्म एकसाथ नलागी क्षेत्रको हिसाबले लाग्थे । एउटा क्षेत्रमा एउटा समय रिलिज हुन्थ्यो भने अर्को समयमा अर्को । राजश्रीले आफ्नो सबैभन्दा सुपरहिट फिल्म ‘हम आपकै है कौन’ पहिलो हप्ता यसरी नै कम पर्दामा रिलिज भएको थियो । पछि दर्शकले रुचाउँदै गएपछि सो बढ्दै गएको थियो । बलिउडमा ‘कार्तिकेय २’ र ‘कान्तारा’ले पनि यसैगरी थोरै पर्दामा रिलिज भएका थिए । तर दर्शकले रुचाउँदै गएपछि यसको सो बढेको थियो ।

राजश्री निकट स्रोतका अनुसार सीमित पर्दामा रिलिज हुँदा सो रद्द हुने सम्भावना नरहने कारण पनि राजश्रीले यस्तो निर्णय लिएको अनुमान गरिएको छ ।शुक्रबारबाट रिलिज हुने फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी डेङ्जोपा, निना गुप्ता, सारिका हसन, परिनीति चोपडा आदि कलाकारको अभिनय रहेको छ । फिल्ममा केही नेपाली कलाकारले पनि अभिनय गरेका छन् ।


Author

थप समाचार
x