सिनेमा

अक्षयकुमारपछि आयुष्मानको स्टारडम संकटमा

इकागज |
मंसिर १९, २०७९ सोमबार १२:३६ बजे

मुम्बई - एक समय थियो अक्षयकुमारका एकै साल ४ फिल्म रिलिज हुन्थे र चारै फिल्म सुपरहिट हुन्थे । यो सन् २००८ को कुरा हो । यो साल उनले ‘भुलभुलैया’, ‘वेलकम’ र ‘सिंग इज किङ’ जस्ता फिल्म दिएर बक्स अफिसमा सफलताको नयाँ मानक बनाएका थिए । यसपछि अक्षयकुमारले खेलेजति सबै फिल्म हिट भएनन् तर एकाध फिल्मले फ्लप भएको महसुस नै गराउन पाएनन् । तर यो साल अक्षयकुमारका जति फिल्म रिलिज भए, सबै फ्लप । अहिले अक्षयकुमार एउटा हिटका लागि तड्पिन लागेका छन् । 

सन् २०१२ मा रिलिज भएको ‘विक्की डोनर’बाट आयुष्मान खुरानाले डेब्यु गरे । यो फिल्म हिट भए पनि धेरैले भाउ नदिएका आयुष्मान खुरानाले ‘लार्जर देन लाइफ’ र यथार्थपरक सिनेमाको बीचमा रहेको ग्यापलाई पूर्ति गर्ने गरी यस्ता फिल्म खेले जस्ले बक्स अफिसमा पैसा पनि छापे र समीक्षकको प्रशंसा पनि ।


‘दम लगाकै हैसा’, ‘बरेली कि बर्फी’, ‘अन्धाधुन’, ‘बधाई हो’, ‘बाला’, ड्रिमगर्ल’ , ‘आर्टिकल १५’ आयुष्मान अभिनित यस्ता केही फिल्म थिए जसले भारतमा नयाँ धारको सुरुवात गरेका थिए, आयुष्मान खुरानाको धार । तर लकडाउन पछि आयुष्मानले हुर्काएको यो धार संकटापन्न देखिएको छ । महामारीपछि रिलिज आयुष्मानका कुनै पनि फिल्मले पैसा कमाएका छैनन् । 

यो साल उनका चार फिल्म रिलिज भए,  ‘चण्डीगढ करे आशिकी’, ‘अनेक’, ‘डाक्टर जी’ र ‘एन एक्सन हिरो’ । दुःखद कुरा के भने उनका यी चारै फिल्मले विषयवस्तुका हिसाबले तारिफ त पाए तर दर्शक उनका फिल्म हेर्न आएनन् । अघिल्लो शुक्रबार मात्र रिलिज भएको ‘एन एक्सन हिरो’ले समेत गतिलो व्यापार नगरेपछि दर्शकले उनलाई अक्षयकुमारसँग तुलना गर्न थालेका छन् । यसले आयुष्मानको धार नै संकटमा परेको समेत चर्चा हुन थालेको छ । 


Author

थप समाचार
x