हलिउड/बलिउड

इरानियन निर्देशक जफर पनाही पक्राउ

इकागज | असार २८, २०७९

इरानका चर्चित फिल्म निर्देशक जफर पनाहीलाई इरान सरकारले पक्राउ गरेको छ । दुई जना छायांकारको पक्राउको विरोधमा हस्ताक्षर गरेका पनाहीलाई सरकारले नियन्त्रणमा लिएको छ । 

सरकारले गरेको भ्रष्टाचार तथा बेथितिको विरुद्धमा आवाज उठाउने अनेक नागरिकमध्ये दुई छायांकार पनि थिए । सरकारले उनीहरूलाई पक्राउ गरेपछि पनाहीसँगै ३ सय फिल्मकर्मीले उनीहरूको रिहाइको माग गर्दै हस्ताक्षर अभियान चलाएका थिए । यही कसुरमा सरकारले पनाहीलाई पक्राउ गरेको हो । 

गोल्डेन बियर विजेता फिल्म ‘ट्याक्सी’ तथा ‘दिस इज नट अ फिल्म’ जस्ता फिल्मका निर्देशक पनाही महान्यायाधीवक्ताको कार्यालय अगाडि भएको प्रदर्शनमा सहभागी भएको भन्दै सरकारले उनलाई पक्राउ गरेको एएफपीलेलाई उद्धृत गर्दै लेखिएको समाचारमा भनिएको छ । 

पनाहीलाई इरान सरकारले यसअघि पनि धेरै चोटि नियन्त्रणमा लिएको छ । सरकारको सदा विरोधी रही आएका पनाहीलाई इरान सरकारले पहिले नै देशबाहिर जान पनि निषेध गरेको छ । उनले बाहिर गएर फिल्म पनि बनाउन सक्दैनन् । यसैगरी पक्राउ परेका महम्मद रसउल्फलाई पनि देश छाड्न वर्जित छ । अनुमतिविना सुटिङ गरेको भन्दै सन् २०११ मा सरकारले पनाही र रसउल्फलाईसँगै नियन्त्रणमा लिइएको थियो । त्यसबेला सरकारले उनीहरूलाई ६ वर्षको जेल सजाय सुनाएको थियो ।