अमृत र ओखतीय मूल्यका छन् परम्परागत नेपाली रैथाने खाना
५२ वर्षअघि नेपालको तनहुँमा जन्मिएर नेपालमै औपचारिक शिक्षा हासिल गर्ने क्रममा सन् १९९४ मा त्रिभुवन विश्वविद्यालयबाट खाद्य प्रविधिमा स्नातक गरेका नारायण घिमिरेले क्यानडाको टोरन्टोबाट औषधि विज्ञानमा उच्च शिक्षा हासिल गरेका छन्। अमेरिकाको प्रतिष्ठित भिल्लानोभा विश्वविद्यालयबाट लिन सिक्स(सिग्मामा मास्टर ब्ल्याक(बेल्टको औपचारिक उपाधि प्राप्त गरेका घिमिरे विगत दुई दशक क्यानडामा रहेर खाद्य तथा औषधि विज्ञानमा आधारित व्यवहारिक अनुसन्धानहरू वैज्ञानिकको रूपमा कार्यरत छन्। नेपाली रैथाने खाना, नेपालमा गाँजा र नेपाली रैथाने जडीबुटी जस्ता तीन वटा नेपाल केन्द्रित कृति लेखेका नेपाली मूलका क्यानेडियन खाद्य तथा औषधि विज्ञ घिमिरेसँग हामीले परम्परागत रैथाने नेपाली खान बारे गहन जिज्ञासाहरू राखेका थियौँ। उक्त कुराकानीको क्रममा घिमिरेले हामीलाई बताएका केही विषयहरू हामीले यहाँ प्रस्तुत गरेका छौँ।
नेपाली परम्परागत र रैथाने नेपाली खानपान के हो ?
परम्परागत, आध्यात्मिक, सांस्कृतिक र व्यवहारिक चुरो मूल्य, मान्यताको विपरीत नहुने गरी नेपाली भूमिमा उम्रने परम्परागत खाद्य बस्तु, जडीबुटी आदिको परम्परागत ज्ञान, सीप र प्रविधिमा आधुनिक वैज्ञानिक ज्ञान र प्रविधिले थप्ने सहजता समेतको उपयोग मार्फत निर्माण हुने परम्परागत नेपाली खानपानलाई रैथाने नेपाली खाना भन्ने गरिएको छ। व्यक्तिको लागि जरुरिहुने पौष्टिकताको अलावा रैथाने नेपाली खानाको औषधीय र प्रस्तुतिगत पक्षहरूले कुनै पनि खाना रैथाने नेपाली हुने वा नहुने कुराको निर्धारण गर्दछ।
नेपाली खानपानले संसारमा आफ्नो पहिचान नपाउनुको मुख्य समस्या के हो ?
अथेन्टिक भारतीय, थाई, चिनियाँ आदि खाना भने जस्तै नेपाल सरकारले आफ्नो अन्तराष्ट्रिय पहिचानको लागि अथेन्टिक नेपाली खाना केलाई भन्ने भन्ने मापदण्ड विकास गर्न सकेको छैन। अथेन्टिक नेपाली खाना, ट्रेडिसनल अथेन्टिक नेपाली खानपान आदिको प्रामाणीकरणको व्यवस्था समेत नहुँदा, अथेन्टिक नेपाली खानाको प्रामाणिकरणको मापदण्ड, प्रक्रिया आदि समेत हामी सँग छैन। परम्परागत रैथाने नेपाली खाना, रैथाने नेपाली खाना, नेपाली खाना आदि भन्ने कुरा तपाईँ हाम्रो मुख मुखमा छ। तर रैथाने नेपाली खानाको कुनै स्थापित कानुनी मापदण्ड, राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान आदि भने केही भेटिँदैन।
सांसारिक यथार्थताको कसीमा नेपाली खानाको अन्तर्राष्ट्रिय पहिचानलाई तौलेर हेर्ने हो भने “परम्परागत रैथाने नेपाली खाना, रैथाने नेपाली खाना, नेपाली खाना आदि भन्ने कुरा पनि हुन्छ र रु” भन्ने भ्रम नेपाल सम्बन्धि चासो रहेकाहरूमा व्यप्त भेटिन्छ। सबै क्षेत्रमा विकृति र भद्रगोल छिरेको हालको अवस्थामा परम्परागत रैथाने नेपाली खानाको मर्म र मुटु कै हत्या हुने गरी नेपाली खाना भन्दै चाइनिज, भारतीय र अन्य मुलुकको स्टायलमा बनेको दाल, भात, तरकारी, मस्म चाउमिन आदि लाई नेपाली पाराको भाँडामा पस्कने र नेपाली संस्कृतिको झलक दिने केही चिज देखाएर बेच्ने गरेको उदाहरण प्रशस्त भेटिन्छ। उल्लेखित पारामा नेपाल भित्र र बाहिर नेपाली खाना भन्दै चिनिया र भारतीय पाक शास्त्रको रेसिपी अनुरूपको खाना बिक्री गर्नेको सक्रियता अत्यधिक रहेकोले संसार भर मस्म चाउमिन जस्ता चिनिया कुजीन र भारतीय थाली आदि मिसाएर बनेको खानालाई नेपाली खाना भनी बेचिन्छ भन्ने गलत अवधारणा विकास भएको छ।
हुन पनि अथेन्टिक नेपाली खाना दाबी गरी बेच्ने अत्यधिक भोजनालयहरूमा नेपाली मूलको कुकले चिनिया पाराको मस्म, चाउमिन आदि मध्ये एक हुने गर्दछ। त्यस्तै भारतीय थाली अन्तर्गत जाने चावल, रोटी, दाल, करी, सिकर्नि, चटनी, अचार, सलाद, मुरब्बा, टोमेटो केचअप, चिल्ली सस आदि नेपाली पाराको थाल, कचौरा आदिमा हाली दिने गरेको समेत देखिन्छ।
नेपाली संस्कृतिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विश्वमा चिनाउने अभियानको नारामा विगतमा नेपाल राज्यको समेत औपचारिक सहभागितामा भएका कार्यक्रमहरूमा नेपाली मूलको कुकले बनाएको चिनिया र भारतीय खानालाई नेपाली भनी पटक पटक प्रदर्शन भएको भेटिन्छ। यस्तै कमजोरीका कारण नेपाली खानाले अन्तर्राष्ट्रिय पहिचान नै गुमाउँदै गएको छ।
आज नेपाल बाहिर मात्र होइन स्वयम नेपाल भित्र नेपाली खाना भनेर बेचिने उनान्सय प्रतिशत खानाले आफूलाई कुनै पनि अर्थमा परम्परागत रैथाने नेपाली खाना वा रैथाने नेपाली खाना वा अथेन्टिक नेपाली खाना दावा गरेर बेच्ने नैतिक आधार नरहेको प्रस्ट छ। जसरी फ्रेन्च, स्पेनिस र इटालियन खानाका परिकारहरू मिसाएर कन्टिनेन्टल श्रेणीका फुड बन्छ त्यसरी नै हाम्रोमा नेपाली, भारतीय, चिनिया र अन्त कतैका छिटपुट खानाका परिकारहरू मिसाउने अनि अलिकति नेपाली पाराको देखाएर नेपाली खाना दाबी गरिरहेका छौँ।
सीमित व्यावसायिक स्वार्थको लागि आफ्नो विशाल इतिहास, चुरो क्षमता र परम्परागत रैथाने ज्ञानको हत्या गरिरहेका छौ। सीमित व्यक्तिको सनक र व्यवसायको स्वार्थमा गैर नेपाली खाना अथेन्टिक नेपाली खानाको रूपमा स्थापित गर्ने कार्य भइरहेको छ। त्यसमा तुरुन्त सुधारात्मक उपचारको खाँचो छ।
नेपालभर मात्र नभएर संसार भरि नेपाली रेस्टुरेन्ट खुलेको देखिन्छ। त्यसले नेपाली खानाको ग्लोबल पहिचान स्थापित गर्न पर्ने होइन र ?
अथेन्टिक नेपाली रिसिपी, अथेन्टिक नेपाली मसला, अथेन्टिक नेपाली स्वाद, अथेन्टिक नेपाली प्रस्तुति, नेपाली माटोको जडीबुटीको अथेन्टिक पहिचान आदि विनाको खानपान नेपाली खानपानको रूपमा नाममा आज हाम्रै नेपाली बजार भरिएको छ। नेपालमै आफ्नो स्थान नभेटेको अथेन्टिक नेपाली खानाले विदेशमा पुग्दा त्यहाँ एउटा नेपाली कुक रहेछ वा कतै बाट सानो लगानी नेपाली मूलको प्रवासी नेपालीले गर्न भ्याएको रहेछ भने कतिपय अवस्थामा त जे पायो त्यही लाई नेपाली खाना भनी मेनुमा राखिदिने गरेको समेत भेटिन्छ।
भावनात्मक रूपमा नेपालको नाम चिनाउने भनी गरिएका त्यस्ता सोझो प्रयासका कार्यले नेपाली खानाको कुनै पनि धुकधुकी बाँकी नरहेको खानालाई नेपाली रेस्टुरेन्टको नेपाली खाना भन्दै वेचिने गर्दा यसले नेपाली खानाको असली शक्तिको जगेर्ना गर्न चुकेको देखिन्छ। साथै नेपाली खानाको पहिचान माटोमा मिलाउन भूमिका समेत खेलिरहेको मैले देखिरहेको छु। आज नेपाल भित्र र बाहिर अथेन्टिक नेपाली खानपान भनी नेपाली पहिचान विनाको खानपान बेचिनु सामान्य कुरा बनेको छ। यो चिन्ताजनक अवस्था हो।
यसले विश्वमा गलत खानाले नेपाली खानाको पहिचान बनाउँदै गएको छ भने नेपालमै नेपाली खानाको पहिचान र विशेषता लोपहुने अवस्था जन्माएको छ। भारतीय र चिनिया पाक शास्त्र मिसाएर बनेको हाइब्रिड खाना नेपाली अथेन्टिक खानाको रूपमा स्थापित हुने जोखिम बढेको छ। नेपालमै अपवादको परम्परागत नेवारी बाहेक परम्परागत वैदिक, थारु, मैथिली लगायतका अन्य खानाको अस्तित्व लोपोन्मुख छ। अथेन्टिक खानपान, भाषा, संस्कृति, रहन(सहन वेशभूषा बिनाको समाजले हाम्रो परम्परागत पहिचान र अस्तित्व कायम गर्ने अवस्था पक्कै नहोला। यो रूपमा हेर्दा आज हाम्रो अथेन्टिक नेपाली खानपान आफ्नो अस्तित्व रक्षाको लडाइ हारिरहेको प्रस्ट देखिन्छ।
हाम्रा आफ्नै परम्परागत र रैथाने नेपाली खानपानको महत्त्व के छ ?
नेपाली परम्परागत रैथाने खानपानको समग्र पक्षहरूलाई केलाएर हेर्दा यो पूर्ण रूपमा वैज्ञानिक, प्राकृतिक नियमको सिद्धान्तमा आधारित खाना हो। एक व्यक्तिको सम्पूर्ण स्वस्थलाई उसको उमेर अनुसार उचित आहार मार्फत उसमा शारीरिक, यौनगत, मानसिक, मनोवैज्ञानिक र आध्यात्मिक सबलताको पूर्ति गर्ने पक्ष बाट नेपाली रैथाने आहारको मूल्याङ्कन गर्नुभयो भने यो खानपान संसारकै अब्बल वैज्ञानिक खानपानमा मद्येको एक रहेको पुष्टि हुन्छ।
नेपाली परम्परागत रैथाने खानपान तैयारी गर्ने प्रविधिमा आयुर्वेदको ठुलो प्रभाव भेटिन्छ। परम्परागत रैथाने खानपान व्यक्तिको जीवन पद्धतिलाई प्रकृति मैत्री जीवन शैलीमा पुर्याउने प्रभावकारी कडीको रुपमा रहेको हामीलाई अनुभूति त थियो नै, हालै प्राकृतिक नियमको सिद्धान्तहरू बुझ्न क्वान्टम वायोकेमेस्ट्रीले दिन सकेको ऐतिहासिक देनले आनन्द (इन्डोक्यानाबिनोईड), मानव यौन सुख, मनोवैज्ञानिक स्वस्थ, शारीरिक स्वस्थ तथा आध्यात्मिक सबलताको प्रवर्धनमा नेपाली परम्परागत रैथाने खानपानको अब्बल रहेको पुष्टि गर्न समेत हामीलाई सहज पारिदियो।
प्रकृतिको संरक्षण र प्रवर्द्धनलाई केन्द्र बिन्दुमा राखेर लाखौँ लाख वर्षदेखि अभ्यास गरिएको प्राकृतिकमैत्री उपाय अपनाएर प्राकृतिक रूपमा उब्जनी गरी तैयार गरिने मानव स्वास्थ्यको हिसाबमा ठिक्क मात्रामा प्रशोधित गरी तैयार गरिने अत्यन्त दुर्लभ रूपमा भेटिने औषधीय खानपान मध्येको एक खानपान हो परम्परागत रैथाने नेपाली खानपान।
हाम्रा परम्परागत खाना प्रशोधन प्रक्रियामा परम्परागत नेपाली रैथाने खानपानमा पाइने शारीरिक, मानसिक, मनोवैज्ञानिक र आध्यात्मिक स्वस्थको प्रवर्धनमा हितकर हुने पोषण तत्त्वहरू जुन जे रूपमा शरीरको लागि जरुरत हुन्छ त्यही रूपमा परिवर्तन गर्ने तागत रहेको पुष्टि भएको छ। आधुनिक जमानाको भनिने हालको मानव दैनिकी मैत्री खानपानको उच्च प्रशोधन गर्ने मेसिन र प्रविधिको पोषण तत्त्व लाई नष्ट गर्ने, पोषण तत्त्व अपच तत्त्वमा परिवर्तन गर्ने, उच्च प्रशोधित तत्त्वको स्वास्थ्यमा थप्ने विकृतिको जोखिम आदिमा समेत हाम्रा रैथाने परम्परागत नेपाली खानाले सुधारात्मक भूमिका खेल्ने कुरा समेत वैज्ञानिक रूपमै पुष्टि भएको छ।
नेपाली रैथाने खानपानको संवर्द्धन र उपयोग हुन नसक्नुमा हाम्रो कहाँ कस्तो कमजोरी रहन गयो ?
बजारबाट नेपाली रैथाने खानपान विस्थापन हुन लगभग दुई सय वर्ष हाराहारीको समय देखि हामीले ध्यान पुर्याउन सकीनरहेको हाम्रो आफ्नै सांस्कृतिक र पहिचान सँग जोडिएको हाम्रो आफ्नै आर्थिक र मनोवैज्ञानिक सबलताको पक्षको भूमिका देखिन्छ। लगभग दुई सय वर्ष समग्र एसियामा सक्रिय देखिएको आधुनिक विज्ञानले परम्परागत नेपाली, भारतीय तथा चिनिया रैथाने खानपानको औषधीय तत्त्व र पोषण तत्त्वलाई छुट्टाएर बजारमा लैजाने र आधुनिक वैज्ञानिक तथा जीवन पद्धति सहजीकरण गर्ने प्रशोधित तत्त्व उपलब्ध खाना र चट्टै निको हुने प्रभावकारी ओखतीको नाममा बजारबाट अथाह कमाउने उद्योगका मालिकहरूको सपना सकार गर्न प्रभावकारी भूमिका खेली दियो। औद्योगिकीकरणको नाममा विज्ञानले प्राकृतिक रूपमा उपलब्ध खानामा पोषण तत्त्वको घनत्व वृद्धि हुने गरी निर्माण गरिदिने नीति लियो। पोषण तत्त्वको घनत्व बढी रहेको खानालाई अत्याधुनिक पौष्टिक आहारको रूपमा बजारमा लाने निश्चय गर्दै गर्दा परम्परागत रैथाने खानपानमा हुने औषधीय, मनोवैज्ञानिक सबलता र आध्यात्मिक गुण दिने तत्त्वहरू प्रशोधनको क्रममै नष्ट गरिदिन सम्भव बन्यो। त्यसमा रहेका सुगन्ध र औषधीय पक्ष समेत त्यसबाट हटाउन आधुनिक प्रविधि र पाक शास्त्र सफल बन्यो।
मनोरञ्जन, यौन शक्ति वर्धक टनिक, ओखती र नसादायक आदि क्षेत्रमा लगानी गरी नाफा लिन चाहने उद्योगका मालिकहरूको लागि यसले नयाँ कमाउने उपाय सुझाइदियो। मानवको लागि जरुरी हुने एन्टीक्यान्सर क्षमता, एन्टी अक्सिडेन्ट क्षमता, मनोवैज्ञानिक क्षमता, आध्यात्मिक क्षमता, मनोवैज्ञानिक तागत, यौन तागत, ज्वरो बिरामी र रोग आदि प्रतिरोधी शक्ति, भिटामिन, मिनिरल, आनन्दको लागि जरुरी हुने इन्डोक्यानाविनोईड, कलर, फ्लेबर, टेष्ट, नसा आदि, सेन्थेटिक ओखती, सप्लिमेन्ट, ड्रग, ओपोईड, पेन(किलर, भियेगरा, चिया, चुरोट, खैनी, रक्सी जस्ता चिजबाट आपूर्ति गर्ने उद्योग व्यवसायहरू स्थापना हुन थाले ।
परम्परागत खाना मार्फत पहिले आपूर्ति हुँदै गरेको चिजहरूलाई रैथाने खानपान बाट हटाउने र खानपान बाट हटेका तत्त्वहरू आधुनिक जीवन पद्धतिको कायदाको नारामा पहिले कहिल्यै नदेखिएका उत्पादनहरू व्यापारीकरण गरी बजारमा पुर्याएर नेपाल जस्ता मुलुक हरू लाई विदेशी उत्पादनको एकाधिकार बजार बनाउने इच्छा शक्ति लाई मूर्त दिने प्रयासले सफलता प्राप्त गर्‍यो । हामी समेत हाम्रा पढेलेखेका भनिएका तत्कालीन शासकहरूको आधुनिक खाना खान पाएर हामी जङ्गली युग बाट आधुनिक युगमा प्रवेश गर्दै मोडर्न मान्छे बनेको भ्रम पूर्ण भनाइहरू सुनेर दङ्ग बनी बस्यौँ।
आज हाम्रो बजारमा हामीले किनेर खाने खाना औषधीय र जीवन्त सारतत्व हटेको, शरीर अमैत्री विषादी मार्फत सुरक्षा गरिएको, उच्च घनत्वको पोषण बोकेको अवस्थामा भेटिने गर्दछ। हाम्रा रैथाने खाना तथा जडीबुटीका औषधीय र जीवन्त गुणका सार तत्त्व शरीरले प्रभावकारी रूपमा ग्रहण गरेर लिन नसक्ने चक्की, क्याप्सुल जस्ता विभिन्न रूपमा बजार भर छ्याप छ्याप्ती छरिएर रहेको भेटिन्छन्। प्राकृतिक अमैत्री, जीवन पद्दति अमैत्री, आफ्नै स्वस्थ अमैत्री हाम्रो हालको बजार अर्थ अवस्थाले एकतर्फ हाम्रो आफ्नै उत्पादनको लागि हाम्रै बजार बिरानो बनाइ दिएको छ। अर्कोतर्फ बिदेसी समान उत्पादकहरूको एकाधिकार प्राप्त उपभोक्ताको रूपमा हामीले आफूलाई परिवर्तन गरेका छौँ। यसले हाम्रो स्वस्थ, संस्कृति, भाग्य र खुसी आदि लाई हामी सबैबाट निकै पर पुर्याई दिएको छ। हामीलाई यसमा कुनै आपत्ति वा गुनासो सम्म समेत छैन।
नेपाललाई बेदेशीको एकाधिकार बजार बनाएको, हाम्रो अर्थतन्त्र पर निर्भर बनेको बाहेक नेपाली परम्परागत रैथाने खाना नेपालबाट विस्थापित हुँदै गर्दा के हामीले अन्य समस्या पनि झेल्न परेको छ र ?
मानव शरीरको लागि जरुरत हुने पोषण र उर्जाको सन्दर्भमा मानव पाचन प्रणाली आफै मानिसको शरीरको लागि प्रकृति निर्मित खानपान र औषधि मुलो प्रसोधन यन्त्रको रुपमा रहेको छ। द्रुत गतिमा हुँदै गरेको विज्ञानको विकासले मानब ओखति र खानपानको प्रकृतिमा तिब्र परिवर्तन गर्न सकेता पनि मानबको परम्परागत पाचन प्रक्रियामा तीब्र परिवर्तन गर्न सम्भव बनेको छैन। विज्ञानको भूमिकाले परिवर्तित हुन सकेको आधुनिक खानपान, औषधि मुलो र जीवन पद्दति विज्ञानको प्रभावले खासै परिवर्तन गर्न नसकेको मानव पाचन प्रणाली, मानव शरीर, मनोविज्ञान र आध्यात्मिक जरुरत मैत्री बन्न नसकेको हो।
बिगतको दुई सय वर्षमा विज्ञानमा आधारित भएर विकास गरिएको खानपान तथा औषधिको विकास गर्दै गर्दा कस्तो प्रकृतिको कच्चा पदार्थ अर्थात खानपान एबम ओखतीय सारतत्व मानव पाचन प्रणाली तथा समग्र प्रतिरक्षा प्रणाली मैत्री हुन्छ भन्ने तर्फ वैज्ञानिकहरूको अत्यान सीमित ध्यान पुगेको देखियो। त्यसको परिणाम स्वरूप वैज्ञानिक खोज तथा अनुसन्धानमा आधारित भनिएका हाम्रा आधुनिक उत्पादनहरू परम्परागत खानपान र ओखतिमुलोको तुलनामा कमसल सावित बने। हाम्रा आधुनिक खानपान र औषधि हाम्रो तत्कालको आबस्यकता पूर्ति गर्ने माध्यम त बने तर हाम्रो समग्र स्वस्थ निर्माणमा सन्तोजनक प्रभाव दिन असमर्थ बने। हाम्रो सक्रिय र आध्यात्मिक जीवनको चुरो आधार भत्काउन तर्फ यसले भूमिका खेलिदियो।
उदाहरण दिएर नै भन्ने हो भने हाम्रो पाचन प्रणालीले दहीबाट शक्ति निकाल्ने क्रममा प्राकृतिकद्वारा निर्धारित निश्चित प्रक्रियाहरू पुरा गर्ने गर्दछ। जस्तै दहीलाई आन्द्राको नियमित चालको कारण पाचन रस आदि सँग मिसावट गर्ने, त्यसका सार तत्त्वहरूको अन्तर घुलन गराउने, अम्लीय र क्षारीय पाचन रस मार्फत सम्भव हुने प्रशोधन क्रिया बाट दही मोथेर नौनी निकाल्ने, नौनी पगालेर पानीको मात्रा हटाउँदै घिउ निर्माण गर्ने गर्दछ। यसरी उत्पादित घिउ लाई अवशोषण गरी कोशिकाहरूमा रहेको माइटोकोन्ड्रिययामा पुर्याएर आन्तरिक अग्नि रुपी एडिपि प्रयोग गरी एटिपि युक्त शक्तिमा बदल्ने गर्दछ।
नियमित रूपमा दही उपलब्ध हुँदा सामान्य रूपमा सुचारु कार्य गर्ने आन्द्राको दही पचाउने प्राकृतिक मेसिनमा शरीरको चिल्लो पूर्ति गर्न दहीको सट्टा सोझै नौनी मात्र उपलब्ध गराउने हाम्रो प्रयासमा दही मथिएर नौनी बन्ने प्रक्रिया अन्तर्गत नौनी मथिएर पाचन रसमा नौनी नै झोलिएर शरीरको जरुरतको चिल्लो उपलब्ध नबनी रहेको देखिन्छ।
अधिक मोथिएर पेलिएको नौनीको उत्पादन जसरी पाचन प्रणालीमैत्री नरहेर आन्द्रामा नयाँ समस्या पैदा गर्ने विषय बनी दिन्छ, त्यस्तै हाम्रा उच्च प्रशोधित खाना हाम्रो शरीरको विभिन्न भागमा असामान्य भूमिका खेल्ने पदार्थ उत्पादन गर्न भूमिका खेली दिन्छन्। जसले गर्दा त्यस्ता खान बाट हामीले फाइदा कम र विकृति धेरै भोग्नु पर्ने वातावरण पैदा हुन पुगिरहेको छ। हामी पर निर्भर बनेको मात्र हैन यसले हाम्रो हिजोको निरोगी समाजलाई आज रोगी समाजमा परिवर्तन समेत गरिदिएको छ।
आधुनिकताको नाममा हाम्रा टाठा बाठा भनिएका हाम्रा शासकहरूले भित्र्याएको यो जटिलताले हाम्रो समाजमा निम्त्याएको र पुर्याएको केही विकृतिहरू किटेरै भन्न सकिने पनि त होलान् नि ? त्यो बारे पनि केही अध्ययन भएको भए जानकारी पाउन सकिन्छ कि ?
तपाईँ हामीले खाएको आहारको रस अर्थात् सार तत्त्वले शक्ति त दिन्छ नै, त्यो बाहेक सेतो रगत अर्थात् रगतको प्लाज्मा बनाउने गर्दछ। प्लाज्माको सहयोगमा रातो रगत, रातो रगतको सहयोगमा मांसपेशी, मांसपेशीको सहयोगमा बोसो, बोसोको सहयोगमा हड्डी, हड्डीको सहयोगमा मासी, मासीको सहयोगमा वीर्य, शुक्रकीट, डिम्ब, नारी यौन रस आदि निर्माण हुने गर्दछ। मानिसको यौन शक्तिको क्षमताले अप्रत्यक्ष रूपमा उसको शारीरिक स्वस्थ र चुरो तागत बारेको मात्र नभएर उसको समग्र अन्तर्य र सुगठनबारे अर्थपूर्ण सूचना दिने गर्दछ।
एक अध्ययनले दिएको सुझावमा विगतको पचास वर्षमा (१९७३ र २०१८ बीचमा) पुरुषको वीर्यमा शुक्राणुको सङ्ख्या १०४ मिलियन प्रति मिलिलिटरमा बाट झरेर ४९ मिलियन प्रति मिलिलिटरमा पुगेको छ। त्यो भनेको प्रति मिलिलिटर वीर्यमा ५२ प्रतिशतले शुक्राणुको घनत्व घटेको हो। वीर्यमा शुक्राणुको घनत्व ४० मिलियन भन्दा कम हुन पुग्दा पुरुषको महिलालाई गर्भधारण गराउने क्षमता उल्लेखनीय रूपमा घट्न पुग्दछ। विश्व स्वास्थ्य सङ्गठनको कट(अफ बिन्दु १५(मिलियन शुक्राणु प्रति मिलिलिटर वीर्य भनि तोकेको छ। यसरी विश्वमै घटेको मानव प्रजनन क्षमतामा हाम्रो खानपान र हामीले पैदा गरेको प्रदूषण र प्रकृति अमैत्री वातावरण जिम्मेवार देखिन्छ। पेट्रोल डिजेल जस्ता इन्धन सँगको संसर्ग, सस्ता प्लास्टिकका प्यकिङ्ग सामानमा भेटिने बिस्फेनोल(ए जस्ता केमिकलहरूको यसमा ठुलो भूमिका रहेको देखिएको छ।
जर्नल अफ प्याथोलोजी अफ नेपाल २०२१ अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले यौन समस्या भएर त्यहाँ पुगेका डिसेम्बर २०१९ र जनवरी २०२० सम्मका २०(३५ वर्षका १८४ मानिसको वीर्यमा औसत ४९.६ मिलियन शुक्राणुको प्रति मिलिलिटर वीर्य भेटेको डाटा उल्लेख गरेको छ। यसले विश्वको परिस्थितिबाट हाम्रो परिवेश अलक नरहेको सङ्केत गर्दछ।
नेपाल तथा भारतीय परिदृश्य समेटिने एपोलो फर्टिलिटि कलकत्ताको डाटा अनुरूप एसियाको हाम्रो क्षेत्रमा १३ वर्ष बिचमा पुरुषहरूको शुक्रकीटको सङ्ख्या ३०।३१ प्रतिशतमा गिरावट आएको सङ्केत गर्दछ। त्यस्तै शुक्रकीटको गतिशीलता २२.९२ प्रतिशत कमी आउनु र शुक्रकीटको आकार नै ५१.२५ प्रतिशतले घटेको भेटिनु हाम्रो परम्परागत रैथाने खानपानमा पुगेको अव्यवस्थापनले विकास गरेको विकृतिको गम्भीर सूचक समेत हो।
अस्ट्रेलियाको न्यु साउथ वेल्समा सन् २००४ देखि २०१८ सम्म इमिग्रेसनको क्रममा त्यहाँ पुगेका तीस हजार आप्रवासी नेपालीहरूमा सक्रिय वा सुषुप्त अवस्थाको क्षयरोगको ब्याक्टेरिया रहे नरहेको बारे कसैलाई ट्युबरकुलिन स्किन टेस्ट र कसैलाई इन्टरफेरोन गामा रिलिज एस्से विधिबाट गरिएको परीक्षणले हरेक वर्ष नियमित रूपमा अस्ट्रेलिया पुगेका नेपाली आप्रवासीहरूमा अन्य मुलुक सबै मुलुक बाट पुगेका आप्रवासीहरू भन्दा अत्यन्त अधिक क्षयरोगको सङ्क्रमणको दर रहेको देखायो।
क्यानडा पुगेका आप्रवासी नेपालीहरू गरिने यस्तै प्रकृतिको परीक्षणमा समेत अधिक नेपालीहरूमा क्षयरोगको सङ्क्रमण रहेको देखाउने गरेको छ। उपलब्ध प्रोटिन तथा ऊर्जाको मात्रा अनुसार कुपोषित, भिटामिन मिनिरल्स जस्ता सूक्ष्म तत्त्वको कमी रहेको तथा औषधीय गुणका तत्त्वहरू नाश बनेको खानाले व्यक्तिमा क्षयरोगको सङ्क्रमणको जोखिम बढाउने गर्दछ। पोषण तथा औषधीय गुणका तत्त्वविहीन खानाले पैदा गर्ने खस्कँदो रोग प्रतिरोधी क्षमताले मानिसको शरीरमा पुगेको टिबीको जीवाणु लामो समय सम्म सुषुप्त अवस्थामा रहने र अवसर पर्दा सक्रिय सङ्क्रमण गर्ने उत्रन सक्ने जोखिम पैदा गर्दछ। अस्ट्रेलिया र क्यानडा पुगेका नेपाली आप्रवासीमा देखिएको सुषुप्त अवस्थाको क्षयरोगको ब्याक्टेरियाको दरले हाम्रो खानपान चिन्ताजनकको हदमै अव्यवस्थापनतर्फ पुगेको सङ्केतको रूपमा मैले लिने गरेको छु।