वार्ता

स्वतन्त्र र युवाको प्रतिनिधित्व मैले गर्छु, तीन हजार मतान्तरले चुनाव जित्छु

अतिन आचार्य | कात्तिक २, २०७९

काठमाडौँ निर्वाचन क्षेत्र नं १ को चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । काठमाडौँ-१ प्रमुख दलका 'प्रभावशाली भनिएका' नेतादेखि स्वतन्त्र र साना दलका ठूला नेता यही क्षेत्रबाट भिड्दै छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसबाट नेता प्रकाशमान सिंह, नेकपा (एमाले)बाट युवा नेता किरण पौडेल र चुनावअघि मात्रै राजनीतिक 'युटर्न' गरेका राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रलगायत दर्जनौँ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । सिंह विगत तीन निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । मिश्र गत निर्वाचनमा थोरै मतान्तरले पराजित भएका थिए । यसपालि गत निर्वाचनका दुई प्रतिस्पर्धीलाई टक्कर दिन एमालेले युवा संघका अध्यक्ष किरण पौडेललाई मैदानमा उतारेको छ । उनी चुनाव जित्नेमा ढुक्क छन् । उनको हिसाब छ, 'आगामी निर्वाचनमा तीन हजार मतान्तरले जितिन्छ ।' उनी भन्छन्, 'विगत तीन निर्वाचनमा कांग्रेसले जरा गाँडेको क्षेत्र अब  भत्किने र ढल्ने चरणमा छ । यसपालि भत्किन्छ ।' एमाले उम्मेदवार पौडेलसँग इकागजका अतिन आचार्यले गरेको चुनावी संवाद :

काठमाडौँ–१ किन रोज्नुभयो ? 
काठमाडौँ–१ देशभरकै महत्वपूर्ण क्षेत्र मध्ये एक हो । हरेक किसिमले यो क्षेत्र महत्वपूर्ण छ । न्यायपालिका, संसद् भवन, अदालत यही क्षेत्रमा छन् । यो क्षेत्रका मतदाताले लामो समयदेखि आफ्नो भावना प्रतिनिधित्व गर्ने प्रतिनिधि पाएनन् । त्यो कुरा एमालेले गम्भीरतापूर्वक लिएको थियो । पार्टीलाई जबरजस्त नयाँ पुस्तामा राजनीतिलाई ‘ट्रान्सफर’ गर्नुपर्छ भन्ने सोच भयो । त्यो सोचअनुसारको पात्र म हो । मेरो पार्टी र बाहिरी पङ्तीले पनि मलाई चाहिरहेको थियो । फरक पार्टीका साथी र ‘न्यट्रल’ले पनि तपाईं आउनुपर्‍यो भनिरहनुभएको थियो । पार्टीले पठायो । म आएँ ।

महत्वपूर्ण क्षेत्रमा अवसरसँगै चुनौती पनि हुन्छ । चुनाव जित्न सजिलो छ र ?
मैले महत्वपूर्ण क्षेत्र भएर मात्रै छानेको होइन । यहाँको मतदाताको मतको सम्मान भएन भन्ने हो । चुनौती त खासै देख्दिनँ । यही क्षेत्रमा प्रदीप नेपाल, विद्या भण्डारीले चुनाव जित्नुभएको हो । मनमोहनले जित्नुभयो । मदन भण्डारीले कृष्ण भट्टराईलाई पराजित गर्नुभएकै हो । यो क्षेत्रमा एक पार्टी र व्यक्तिले मात्रै जित्दैन । यो कसैको गण होइन, यहाँका मतदाता समेत हुनुहुन्छ । पछिल्लो तीन पटकदेखि यहाँ प्रकाशमान दाइले जित्नुभयो । तर न राष्ट्रिय मुद्दामा आवाज सुनियो न स्थानीय मुद्दामा आवाज सुनियो । संसद् र मिडियामा समेत कतै आवाज सुन्न पाइएन ।  यहाँको जनताले नयाँपन खोजिरहेका छन् । त्यो नयाँपन युवामा भेटिन्छ । त्यो म हो । 

यहाँका अधिकांश घरमा सदस्य युरोप, अमेरिकातिर बाहिर छन् । मेरो घरमा छोराछोरी नभएको बेला त्यसको अभाव नहुने, खट्न सक्ने, जनताको भावना बुझ्न सक्ने पात्र उनीहरूले खोजिरहेका छन् । घरघरमा पुग्न सक्ने पात्र खोजिरहेका छन् । त्यो पात्र युवा हो । त्यसको सही विकल्प म हो ।  यो ठाउँ मेरो निम्ति चुनौतीपूर्ण होइन । फरक पार्टीमा आस्था राख्ने साथीहरूले पनि अनुरोध गर्नुभएको छ । सहयोग गर्ने बचन दिनुभएको छ । परिस्थिति हेर्दा जित सुनिश्चित छ । आउने निर्वाचनमा तीन हजार मतान्तरले जित्छौँ । 

आफूलाई युवाको प्रतिनिधि भन्नुभयो । यो क्षेत्रमा युवा उम्मेदवार नै दर्जन बढी हुनुहुन्छ । तपाईलाई नै किन चुन्ने त ? 

जति धेरै युवा साथीहरू आउनुभएको छ उहाँहरूभन्दा यो क्षेत्रमा बढी भिजेको म हो । बसोबास र आन्दोलन दुवै हिसाबले म यो क्षेत्रमा सबैभन्दा बढी भिजेको छु । म देशको युवा आन्दोलनकै सबैभन्दा बढी गतिविधि गर्ने संगठनको बहालवाला अध्यक्ष हो । म स्वतन्त्र उम्मेदवारलाई पनि सम्मान गर्छु । हिजो उहाँहरू ‘पोलिटिक्स इज अ डर्टी गेम’ भन्नुहुन्थ्यो । आज यही राजनीतिमा आउनुभएको छ । म स्वागत गर्छु । कतिपय दल नै खोलेर आउनुभएको छ । उहाँहरू र म देशकै निम्ति भनेर काम गरेको हो । संसदीय प्रणललीमा अन्ततः सरकार निर्माण गर्ने, मन्त्री बनाउने हो । त्यहीबाट सेवा दिने हो । त्योभन्दा फरक हुँदैन । दलीय प्रणालीलाई अझ मजबुद बनाउने हो । बहुदीय प्रणालीमा धेरै दल हुनु नराम्रो होइन । तर स्थिरताको निम्ति कम दल भए राम्रो वातावरण भन्ने हो । 

हामी एउटा दलभित्रको युवा पङ्ती हो । तपाईंको भावनाको सम्बोधन पनि हामीले गर्छौँ । तपाईंको पक्षमा टेबुल ठोक्छौँ । स्वतन्त्रको बाटो दिगो बाटो होइन । कसैलाई होच्याएको होइन । क्षणिक ‘डाइभर्सन’ होला । पछि मिसिने त यहीँ हो । परिवर्तनको आन्दोलनमा हाम्रो तीन पुस्ता गयो । फेरि नयाँ दल र संगठन खोलेर निर्माणमै समय जान्छ । कति अल्झिने ? समय छैन । जाने अन्तिममा यही हो । त्यसका कारण म साथीहरूलाई नै यही प्रणालीमा हातेमालो गरौँ भन्छु । स्वतन्त्र विचारको प्रतिनिधित्व हामीले गछौँ । किनकी भोलि संसद्मा राष्ट्र हितका कुरा पास र विपरीतका कुरा फेल गराउनुपर्छ । त्यो पास गराउने हामीले हो । हाम्रा पछि दर्जनौँ सांसद हुन्छन् । संसद्मा एक्लै कुनामा बोलेर मात्रै हुँदैन । साथ दिने पनि चाहिन्छ । म त संसद्मा टेबुल ठोक्ने बनाउनु सक्छु । पछाडि साथ हुन्छ । 

तपाईंको मुख्य प्रतिस्पर्धा कोसँग हुन्छ ?
मेरो मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँगै हुन्छ । स्थानीय तहको निर्वाचनको परिणामले पनि त्यहीँ देखाउँछ । रवीन्द(मिश्र) दाइको अघिल्लो चुनावमा राम्रो मत आयो । उहाँलाई ‘क्रस पार्टी’ भोट पनि आएको थियो । त्यतिबेला जुन पार्टीबाट उहाँ उठ्नुभएको थियो त्यो पनि हाइटमा थियो । त्यो उहाँको कारणबाट होइन कि उज्जल थापाका कारण । त्यसको जगमा उहाँले मत ल्याउनुभयो । तर अहिले परिस्थति फेरिएको छ । पाँच वर्षअगाडि उहाँसँग वैकल्पिक राजनीतिको नारा थियो । गत पाँच वर्षमा एउटा चुनाव हार्नुबाहेक उहाँको जीवनमा के चाहिँ बित्यो ? मुद्दा कुनै गुमेको र भत्केको छैन । पाँच वर्ष नबित्दै उहाँ 'युटर्न' हुनुभयो । पार्टी परित्याग गरेर उम्मेदवारी दिनुभयो । पाँच वर्षअघि जे भन्नुहुन्थ्यो अहिले ३६० डिग्री फरक कुरा गर्नुहुन्छ । उहाँको अस्थितरतापूर्ण मूभ देखियो । त्यो कुरा मतदाताले बुझेका छन् । पहिले धेरै साथीहरूलाई पछि लाउनुभयो । अहिले छिन्नभिन्न छ । उनीहरू कहाँ छन् ? सबैलाई निरास पार्दै चुनावी फाइदा हेर्न तिर लाग्नुभयो । मेरो मुख्य प्रतिस्पर्धा कांग्रेससँगै हुन्छ । विगत तीन निर्वाचनमा यहाँ कांग्रेसले जरा गाँडेको थियो । अब भत्किने र ढल्ने चरणमा छ । यसपालि भत्किन्छ ।

कांग्रेस उम्मेदवारलाई सत्ता गठबन्धन दलको पनि साथ छ । तपाईंले भनेजति सजिलो छ र जित्न ? 

हो । कांग्रेस उम्मेदवारलाई नेकपा एस र माओवादीको समर्थन छ । तर हामीजस्तो युवा उम्मेदवार मैदानमा आइसकेपछि मतदाताले भविष्य हेर्छन् । एउटा ज्येष्ठ नागकिले छोरानातिको भविष्य हेर्छ । युवा खोज्छ । युवा पुस्ताले त आफ्नो प्रतिनिधि गर्ने नै भयो । सबै हिसाबले उपयुक्त पात्र मै हो । चुनौती छैन । सजिलै जितिन्छ । 

उहाँ (प्रकाशमान सिंह) त प्रधामन्त्रीको दाबेदार भनेर प्रचार गरिरहनुभएको छ नि ? तपाईं के भनेर जानुहुन्छ घरदैलोमा ?

त्यो हो भने पनि ठीकै छ त । आम रुपमा कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार को हो त ? एमालेले त निर्णय नै गरेकै छ । अरुले गरेकै छैन । मंसिर पाँच पछि केपी ओली कि प्रकाशमान अथवा केपी वा देउवा प्रधानमन्त्री भनेर जाऔँ न त । उहाँहरूले त्यो भन्ने हो भने पनि नेपाली जनताले देउवा वा प्रकाशमान सिंहलाई प्रधानमन्त्री भनेर जानुहुन्छ त ? विकल्प के छ त ? कमजोरी मध्येका पनि कम कमजोरी भएको को हो ? छान्ने यही भित्रबाट हो । यहाँको जनताको भावना प्रतिनिधित्व गर्ने मुख्य विषय हो । राष्टिय एजेण्डा मुख्य विषय हो । उहाँका योजना र मैले दिने योजना तुलना गरौँ न त । 

काठमाडौँ–१ मा केके समस्या छन् र तिनको समाधान गर्ने योजना के छन् ?

मुख्यगरी संसद्मा निर्वाचित भएर गएपछि राष्ट्रिय मुद्दामा केन्द्रित गर्नुपर्छ । त्यो भन्दा बढी जहाँबाट निर्वाचित भएको हो त्यस क्षेत्रको समस्या पहिचान र समाधान गर्नुपर्छ । क्षेत्र नम्बर १ मा बाटोघाटो, पुल र सिँचाइको जरुरी छैन । यहाँको भित्रि सडकहरू मर्मत गर्ने र सडक बत्तीको व्यवस्था गर्ने होलान् । ढल र खानेपानीलगायतको व्यवस्थापन गरिन्छ । पूर्वाधारको ठूला–ठूला कुराहरू यहाँ छैनन् । यो क्षेत्रको मुख्य समस्या व्यवस्थापन हो । कतिपय बस्तीहरू व्यवस्थापन गर्नु छ । यहाँको जनताको जीवनस्तर माथि उकास्नु छ । जनजीवनलाई सहज बनाएर शिक्षा, स्वास्थ्य तथा रोजगारीमा सहजीकरण गर्ने हो । सदनमा गएर स्थानीय तहसँग कसरी समन्वय गर्ने त्यसका लागि मुख्य आधार खडा गर्छौँ । 

शिक्षा, स्वास्थ्य, खेलकुद युवा उद्यमशीलताको योजना र सम्पदा संरक्षणलाई पहिलो प्राथमिकतामा राखिन्छ । जसमा बालबालिकादेखि ज्येष्ठ नागरिकलाई समेटिन्छ । मतदातालाई आकर्षित गर्नका लागि यो गरिएको होइन । कतिपय विषयवस्तुमा लामो समयसम्म अध्ययन गरिएको छ । कतिपय कार्यक्रमहरू विकास भइसकेका छन र अन्य कार्यक्रमहरू लागू हुने चरणमा छन् । धेरै कुरालाई समाधान गर्न बाँकी छ । मुख्यगरी अहिलेको समयमा बालबालिकाले घरमा आफ्नो क्षमता अनुसार सिक्न र पढाइमा ध्यान दिन सकिरहेका छैनन् । फरक क्षमताका बालबालिका र क्षमता भएकालाई एउटै विद्यालयमा राखेर पढाउने काम गरिएको छ । त्यसले बालबालिकाको जीवनमा ठूलो असर गर्छ । त्यस्ता विद्यार्थीको निम्ती छुट्टै र उन्नत किसिमको कक्षाकोठाको व्यवस्थापन गर्छौँ । त्यस्ता प्रकृतिका विद्यार्थीका लागि कक्षा सञ्चालन गर्न छुट्टै विद्यालय स्थापना गछौँ । बालबालिकामा विभिन्न खालका स्वास्थ्य समस्या देखिएकाले समाधान गर्न विशेष प्याकेज ल्याएर ध्यान दिन्छौ । राष्ट्रिय र स्थानीय तहमा यस्ता खालको अभियान चलाउँछौँ ।

युवास्वरोजगार कार्यक्रमलाई प्रभावकारीतासहित कार्यान्वयन गराउनेछौँ । युवा स्वरोजगार कार्यक्रममा लागू गरिएको बजेट यस क्षेत्रमा ल्याउन चाहन्छौँ । सहकारीको माध्यमबाट युवा लक्षित विभिन्न कार्यक्रम ल्याइन्छ ।  कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका यहीँ क्षेत्रमा रहेकाले त्यसलाई विशेष कार्यान्वयनमा ल्याइन्छ । एकल महिलाको लागि लक्षित रकम कसरी उपयोग भइरहेका छन् । त्यसको अध्ययन गरी महिलाको जीवनस्तर उकास्न नयाँ–नयाँ कार्यक्रम ल्याइन्छ । रकम दिएर मात्र भएन त्यस रकमबाट मानिसलाई कसरी जीवनयापन गर्न सकिन्छ भनेर सिकाइन्छ । सामुदायिक स्वास्थ्य केन्द्रको अवधारण लागू गरिन्छ । प्रत्येक वडामा आधुनिक सुविधासहितको स्वास्थ्य सेवा केन्द्र बनाइन्छ ।

यतिका धेरै सुविधा दिने कुरा गर्नुभयो । कार्यान्वयनमा कतिको सहज देख्नुहुन्छ ?
सबै गर्ने र गर्न सकिने काम मात्रै मैले गर्छु भनेको छु । भनेको कुरा पूरा गर्छु । धेरैजसो छोरानाति विदेशमा र अभिभावहरू मात्रै यहाँ हुनुहुन्छ । उहाँरूका धेरै ठूला अपेक्षा छैनन् । चेकजाँचका लागि नियमित अस्पताल गैरहनुपर्छ । त्यसमा सहजीकरण गर्ने हो । झेलाभरि कागज बोकेर अस्पताल जाने बाध्यता छ । त्यसलाई सहज बनाउने योजना छ । आमा वा बाबालाई समस्या भएमा उनीहरूको मोबाइलमा ‘एप’  हुन्छ । त्यो एपमा भएको ‘प्यानिक’ बटम दबाउन साथ सामुदायिक स्वास्थ्य केन्द्रहरू सक्रिय हुन्छन् । त्यसमा सुविधा सम्पन्न भ्यान हुन्छन् । इको, इसिजी र ब्लड प्रेसर नाप्ने उपकरणहरू हुन्छन् । २ जना नर्स र २ जना सिस्टरसहित सुविधासम्पन्न भ्यनमा बिरामीको घरमा पुग्छन् । उनीहरूले बिरामीलाई अस्पताल लैजान्छन् । युरोप, अष्ट्रेलिया र अमेरिकामा बस्ने छोराछोरीलाई धेरै आनन्द हुन्छ । यसलाई कार्यान्वयन गर्नलाई व्यवहारिक योजना ल्याउँछौ । बिरामीले अस्पताल जाँदा बील बोकेर जाने व्यवस्थाको अन्त्य गछौँ । काठमाडौँ १ बाट सुरु गरेर देशभर लागू गर्नलाई प्रोत्साहन गछौँ । नीतिगत रुपमा आवाज उठाउनुपर्ने कुराहरू सदनमा उठाउँछौँ । बिरामीले अस्पतालको ओपीडी कार्ड बोक्ने दिन अन्त्य हुन्छ । बिरामीले डाक्टरलाई युजर आइडी र कोड दिएपछि सबै कुराहरू बिरामीको समस्या समाधान गर्नुहुन्छ । डाक्टरले सिस्टमबाट यसअघि कसले हेरेको र कस्ता–कस्ता औषधि चलाइएको रहेछ सबै अनलाइनबाट थाहा पाउँछन् । मोबाइलको सहाराबाट मेडिकलले युजर कोड हानेपछि आवश्यक औषधि दिन्छन् ।

भिडिओ/तस्बिर: पुरन विश्वकर्मा

सेती बेसिनको भविष्य पनि अरूण करिडोर जस्तै देखिरहेको छु : सिईओ भट्ट

इकागज | कात्तिक २, २०७९

नेपाल सरकारले राष्ट्रिय गौरवको परियोजना घोषणा गरेको करिब चार दशकसम्म विभिन्न आरोहअवरोह पार गरेको पश्चि...

घोषणापत्रहरूमा ‘विशेष व्यवस्था’ गर्ने धेरै नै भनिन्छ, यो भनेको के हो ?

सृजना खड्का | कात्तिक २, २०७९

कैलाश राई सामाजिक अध्येता तथा अभियन्ता हुन् । उनी सामाजिक समावेशीकरण, महिला र पहिचानका मुद्दामा प्राज्ञ...

३०/४० वर्षदेखि सांसद, आफू र आसेपासेबाहेक कसलाई के राम्रो भो ?

सदिक्षा आचार्य | कात्तिक १, २०७९

आगामी मंसिर ४ मा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । दलहरू घोषणापत्र बनाउँदै छन् । निर्वाचन...

‘अहिलेका दल र नेताबाट देशले निकास पाउने नदेखेपछि आफैँ राजनीतिमा आएँ’

कमल विष्ट | कात्तिक १, २०७९

४५ वर्षीय डा. प्रधुम्न महत पेसाले रसायनशास्त्रका प्राध्यापक तथा अनुसन्धाता हुन् । उनी करिब दुई दशकदेखि अध्य...

'फलानोले जित्छ, फलानोले हार्छ भनेर पहिल्यै सामाजिक सञ्जालले टीको लगाउन पाइँदैन'

इकागज | असोज २८, २०७९

आगामी निर्वाचनका लागि लागू गरिएको आचारसंहिताको विषय अहिले विवादित बनेको छ । निर्वाचनलाई स्वच्छ र मर्या...

प्रेममा परेँ तर पुरुषहरूले महिलालाई मजदुर बनाएको देखेर विवाह गरिनँ

बसाइँसराइको भाष्यमा अक्सर यस्तै पढाइन्छ- मान्छे गाउँबाट सहर छिर्छ । परिधिबाट केन्द्रतिर सर्छ । हिमाल, पहाड...

आमाका पालामा विष्णुमतीमा नुहायौँ, बुवाका पालामा पानी छुनै सकिएन

बसाइँसराइको भाष्यमा अक्सर यस्तै पढाइन्छ- मान्छे गाउँबाट सहर छिर्छ । परिधिबाट केन्द्रतिर सर्छ । हिमाल, पहाड...

कांग्रेसको घोषणापत्र लेखिरहेका २२ वर्षीय युवा विकल राईसँग कुराकानी

सदिक्षा आचार्य | असोज १२, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरू चुनावी घोषणापत्र तयार गरिर...