वार्ता

कथावाचन सरल हुनुपर्छ, दर्शकले बुझ्नुपर्छ

सामीप्यराज तिमल्सेना |
भदौ ५, २०७९ आइतबार १०:३० बजे

लघु फिल्म ‘मलामी’ र ‘छोरो’ निर्देशन गरेका सुवर्ण थापाले सन् २०११ मा ‘सुनगाभा’ निर्देशन गरेर फिचर फिल्म निर्देशन यात्रा सुरु गरेका थिए । त्यसपछि ‘फन्को’, ‘बाटोमुनिको फूल २’ र ‘म’ निर्देशन गरेका थापा निर्देशित नयाँ फिल्म ‘राधा’ आउँदो शुक्रबारबाट प्रदर्शन हुँदै छ । आफैँ निर्मातासमेत रहेका सुवर्णले यो फिल्म बनाउन श्रीमतीको गहनासमेत बेचेको बताएका छन् । फिल्म, यसको कथा र कथ्य र फिल्म निर्माण÷प्रदर्शनको चुनौतीका विषयमा थापासँग गरिएको कुराकानी ः  

श्रीमतीको गहना बेचेर ‘राधा’ बनाएको कुरा चाहिँ सुवर्णको ‘स्टन्ट’ हो भनिरहेका छन् ? साँच्ची हो र ? 


कसले भन्छ यार स्टन्ट ? म यस्तो स्टन्ट गर्छु होला त !

मान्छेले पत्याएनन् नि ? तपाईंलाई फ्रान्स पानी पँधेरो छ, उतै त्यत्रो लामो समय बस्नु पनि भा'छ । फेरि बुसानको ग्रान्ट । सौगात मल्ल पनि निर्माता । शंका त लागिहाल्छ नि ?

फ्रान्स बस्दैमा पैसा बर्सिने हो र ? फेरि म यो फिल्मका लागि तीन चार वर्षदेखि यतै छु । मलाई श्रीमतीले नै भन्नुहुन्थ्यो, के सुन-सुन बेचेको कुरा गरि'रा । तर म यस्तै छु । भएको जे हो भन्ने बानी छ । यति मात्र होइन, यो फिल्म बनाउन ऋण पनि लिएको छु, जसको ब्याज पनि तिरिरहेको छु । 

भनेपछि ‘राधा’ नबनाई नहुने थियो ? 

त्यस्तो पनि होइन । नबनाई नहुने भन्ने त के हुन्छ र ? मैले नबनाए अरु कसैले बनाउँछ । अथवा यो कथा नभने भने दर्शक कुनै अद्भुत चिजबाट वञ्चित हुँदैनन् । तर म फिल्मकर्मी भएको हुनाले एउटा त मेरो पेसा नै यही भयो । अर्को चाहिँ मैले बनाएका जति पनि सर्ट फिल्म होऊन् वा लघु फिल्म, मेरो वैयक्तिक अनुभवका दृश्य रूप हुन् । यसमा पनि मेरो एउटा अनुभूति जोडिएको थियो । त्यसैले पनि मेरा लागि यो प्रिय रह्यो । 

कस्तो अनुभूति ? बाँड्ने मिल्ने हो ? 

अवश्य नै । मैले धेरै ठाउँमा भन्दै आइरहेकै नै छु । ‘राधा’को केन्द्रीय कथा श्रीमान्को पर्खाइमा रहेकी श्रीमतीको मनोवैज्ञानिक यात्रा हो । अनि मैले यो अनुभूति आफ्नी आमालाई कल्पेर सिर्जना गरेको हो । म सानो छँदा नै एक दिन बुबा घरबाट हराउनु भयो । मैले आमाका आँखामा बुबालाई खोजिरहेको अनुभूति देख्थेँ तर आमाको खुट्टा यसका लागि चलेको देखिनँ । अर्थात् आमा पतिको खोजीमा कतै पनि दौडिनु भएन । एक दिन बुबा आफैँ टुप्लुक्क आइपुग्नु भयो । ‘राधा’को कथा पनि यही हो । यो परिवारको एक सदस्यको ‘एब्सेन्स’ले सिर्जना गर्ने खालीपनको कथा हो ।

ट्रेलरले त फिल्म बेपत्ता परिवारको वरिपरि घुमेको हो कि भन्ने अनुमान गराउँछ ? 

म पहिलो कुरा त के स्पष्ट पार्न चाहन्छु भने मैले यो फिल्म समाजको कुनै मुद्दालाई उठाउन वा निर्देशन गर्न बनाएको होइन । यो फिल्म सामाजिक मुद्दा उठाएर अपोजिसनमा बस्ने खालको पनि होइन । यस्ता चरित्र समाजमा प्रशस्त पाइन्छन् तर मैले समाजभन्दा पनि चरित्रलाई पछ्याएको छु । एकदमै पर्सनल स्पेसमा बनेको फिल्म हो । तर यति गर्दा गर्दै पनि मैले एकल महिला पनि सक्षम छन् है भन्ने सन्देश दिने प्रयास गरेको छु । यो एउटा महिलाको ‘अनकन्डिस्नल लभ’को कथा हो । मिथमा भएकी राधाको जस्तै । जसरी कृष्ण फर्केर नआउँदा पनि राधाको पर्खाइ सकिएको छैन । मेरो फिल्मकी राधा पनि यस्तै हो । 

तर तपाईंलाई यो कथा हलसम्म ल्याउन धेरै समय लाग्यो । पहिला तपाईंले अरु दुई अभिनेत्रीलाई लिएर यो फिल्म बनाउन लाग्नु भएको थियो ? 

हो, त्यो धेरैलाई थाहा पनि होला । जे हुन्छ राम्रैका लागि हुन्छ । अहिले राधाको रूपमा सृष्टिको कास्टिङ कथामा एकदमै सुहाएको छ । मलाई अरु ठूला कुरा गर्न त मन छैन तर यत्ति चैँ विश्वास छ कि यो फिल्मपछि दर्शकले सृष्टिलाई सृष्टि हैन, राधाको रूपमा चिन्नुहुन्नेछ । मैले यो कथा सन् २०१४ देखि लेख्न थालेको हो । सन् २०१७ मा यसले बुसानको १० लाख रुपैंया बराबरको ग्रान्ट पायो । तर ठ्याकै काम सुरु गर्न अरु दुई तीन वर्ष लाग्यो ।

कास्टिङको कुरा निकालिहाल्नु भयो ? फिल्ममा कलाकारको त भिड नै जम्मा गर्नुभएको छ ? कसरी सबलाई मनाउनु भयो ? 

त्यस्तो खासै गाह्रो भएन । फिल्ममा हुने धेरैजसो हामी सबै संघर्ष गरेका र गरिरहेका साथी हौँ । सौगात र मैले भनेपछि एक एक सिनमा पनि सजिलै आएर काम गरिदिनु भयो । म यसका लागि सबैप्रति आभारी छु ।

सौगात मल्ललाई निर्माता बन्‍न चाहिँ कसरी मनाउनु भयो ? 

खासमा यो फिल्म बनाउनलाई अर्कै निर्माता तयार थिए । तर कोभिड–१९ को महामारीले ती निर्माताले पूरै पैसा हाल्न सकेनन् । सौगातले पनि फिल्म बनाउने कुरा गरिरहेका हुन्थे । मैले उनलाई स्क्रिप्टसँगै निर्माणमा पनि सघाउन प्रस्ताव गरेँ । उनलाई पटकथा मन परेपछि हामीले मिलेर यो फिल्म बनाएका हौँ ।

तपाईंले ‘राधा’लाई आफ्नो कमब्याक फिल्मका रूपमा पनि उल्लेख गर्नुभएको छ ? यो कमब्याक निर्माताको रूपमा गर्न खोज्नुभएको हो कि सर्जकको रूपमा ? 

जान त म कतै गएको छैन त्यसैले कमब्याक भन्ने शब्द मेरो लागि उपयुक्त हो कि होइन भन्ने थाहा छैन । निर्देशकको रूपमा मेरो रियलाइजेसन चाहिँ हो । ‘सुनगाभा’ मैले बेग्लै जोसमा बनाएको थिएँ । त्यसले आफ्नो सीमितताअनुसार आफ्नो गन्तव्य भेट्टाएकै हो । तर मलाई के लाग्यो भने एउटा निर्देशक हरेक चोटि स्क्रिप्ट बोकेर कतिजना निर्माताको ढोका ढकढक्याइरहने ? निर्माता सुवर्ण थापा पनि खोज्दै आऊन् न ।

यही लोभले मैले ‘फन्को’ र ‘बाटोमुनिको फूल २’ गरेँ । तर दुवै फिल्मले अपेक्षित दर्शक पाएनन् । यसले सुवर्ण थापा दर्शकका लागि आवश्यक निर्देशक होइन रहेछ भन्ने महसुस गरायो । त्यसपछि म ‘राधा’मा फर्किएँ, दुई फिल्मको अनुभवसहित । तपाईँ ‘राधा’मा यसको असर पनि देख्न सक्नुहुन्छ । मैले यो कथालाई एकदमै आर्टिस्टिक एप्रोचमा पनि बनाउन सक्थेँ । तर मलाई के लागेको छ भने संसारको जुन फेस्टिभल पुगे पनि नेपाली फिल्मको मुख्य बजार नेपाल नै हो, बढीमा डायस्पोरा हो । त्यही भएर कथावाचन सरल हुनुपर्छ । दर्शकले बुझ्नुपर्छ ।

भनेपछि तपाईं पनि दर्शकले सिनेमा बुझिरहेका छैनन् भन्ने मान्यताकै अनुयायी हो ? 

त्यस्तो मैले बिल्कुलै भन्न खोजेको होइन । अरु कसैले भनेको हो भने त्यसको कन्टेक्स्टसहित भन्नु भएको होला । त्यतातिर नजाऔँ । म मेरो कुरा मात्र गर्छु । एउटा निर्देशक सबै शैलीका फिल्ममा सफल हुँदैन । जस्तो कि जेम्स क्यामरुनले सोसल ड्रामामा फिल्म बनाउँदैन ।

दर्शक हलसम्म किन जाने ? न कथा ह्यापेनिङ छ, न न्यारेसन, न मेकिङ । म भन्छु, ‘राधा’मा यो प्याकेज छ 

तर मार्टिन स्करसीले सबै विधामा बनाउँछ । हामी पनि प्रयास गर्छौँ । कुनै कथा दर्शकले मन पराउनुहुन्छ, कुनै मन पराउनुहुन्न । हामी निर्देशकका रूपमा सफल छैनौँ । निर्देशकका रूपमा हामीले त्यो छाप छाड्न सकेका छैनौँ जसको नाम देखेर दर्शक हल जानुहोस् । म दर्शकलाई दोष दिने पक्षमा छैन । पहिलो त हामीले एउटा कम्प्याक्ट फिल्म बनाउन सकेका छैनौँ । अनि सिनेमा लिट्रेसी भएन भनिरहँदा हामीले त्यो बढाउने काम चाहिँ के गर्यौँ ? यो प्रश्न पनि बिर्सन हुन्न । 

तपाईंको कुरा मानेँ मैले, फेरि पनि तपाईं ‘राधा’लाई नेपालका हलमा रंगीनमा अनि बाहिर चाहिँ ब्ल्याक एन्ड ह्वाइट रिलिज गरिरहनु भएको छ ? यो त नेपाली दर्शकलाई नपत्याएकै भयो नि हैन र ? 

मैले भने नी अहिले खासगरी महामारीपछि दर्शकको मनोविज्ञान परिवर्तन भएका कुरा आइरहेका छन् । बलिउडमा पनि फिल्म नचलिरहेका कुरा आइरहेका छन् । यसले के देखाउँछ भने दर्शक अहिले अपूरा दृश्यमा दिमाग खियाउने झन्झट लिन चाहनुहुन्न । हलसम्म किन जाने ? न कथा ह्यापेनिङ छ, न न्यारेसन, न मेकिङ । म भन्छु ‘राधा’मा चाहिँ त्यो प्याकेज छ । तर यति हुँदाहुँदै पनि माथि भने जस्तो अहिले त्यति धेरै रिस्क लिने अवस्था छैन । घरमा पूजा गर्नु र महायज्ञ गर्नु फरक छ । हलमा जानु भनेको महायज्ञको तयारी गर्नु हो । सिनेमा कला त हो तर यसको व्यापार पनि हो । आफ्नो पूर्व कामबाट केही सिक्नु त पर्यो नि । श्रीमतीजीका गहना फिर्ता ल्याउन परेन ? यसका लागि पनि धेरै कम्ल्किेसन नराखी नेपालमा रंगीन रिलिज गर्ने, बाहिर वा फेस्टिभलमा ब्ल्याक एन्ड ह्वाइट रिलिज गर्ने सोच बनाएको हो । 

एउटै फिल्म कलर र ब्ल्याक एन्ड ह्वाइट गर्नुको कारण चाहिँ के हो ?

यसमा मैले महसुस गरेको कुरा के हो भने ब्ल्याक एन्ड ह्वाइट मा कलाकारको अभिनय मज्जाले निखे्रर आएको देखिन्छ । दर्शक कलाकारको अभिनयमा फोकस हुनेरैछ । तर हाम्रो आँखालाई रंगीन फिल्म हेर्ने बानी छ । अचानक ब्ल्याक एन्ड ह्वाइट हेर्न सहज नहुन सक्छ । तर फेस्टिभलका दर्शक यस्ता प्रयोगका लागि तयार हुन्छन् । त्यसैले नेपालमा पनि फेस्टिभल वा बाहिरका फेस्टिभलमा यो फिल्म विनाकलर सहभागी हुन्छ । 

फ्रान्ससँग तपाईंको राम्रै हिमचिम छ । नेपाली फिल्मको बजार खोज्ने कुरा हर कोहीको एजेन्डा छ । नेपाली फिल्म त्यहाँ रिलिज गर्न सकिन्न ? 

सजिलो छैन । हामी फ्रान्सका लागि आउटसाइडर हौँ । एरिक भ्याली त्यहाँका रैथाने हुनाले ‘क्याराभान’ राम्रोसँग रिलिज गरेको याद छ । ‘सुनगाभा’ त भइहाल्यो, ‘कालो पोथी’ पनि रिलिज भएको थियो । तर त्यसका लागि त्यताको वितरकले किन्नुपर्छ । ‘सुनगाभा’ ५ हजार जतिले हेरेका थिए । भारतकै पनि मलाई याद भएसम्म ‘लन्चबक्स’ मात्र होला जसले युरोपमा वाइड रिलिज पाएको थियो । त्यसैले समग्रमा गाह्रो छ । तर प्रयास त जारी राख्नैपर्छ ।

 ‘सुनगाभा’का दर्शक संख्याको कुरा गर्नुभयो, ‘राधा’ चाहिँ कतिले हेरे तपाईं ऋणमुक्त हुनुहुन्छ ? 

हो म यो फिगर लिएर हिँडिरहेको छु । मेरो लक्ष्य चाहिँ ३ लाख दर्शकलाई हेराउने छ । तर त्यसको आधा मात्र दर्शकले हेर्नुभयो भने म सुरक्षित हुन्छ । यदि ‘कबड्डी ४’ले २५ करोड ग्रस गरेको हो भने त्यो फिल्मको ८ लाख टिकट बिक्री भएको मेरो आँकडा छ । दर्शक त कसैले दोहोर्याएर पनि हेर्नुभयो होला । त्यसैले म डेढ लाख दर्शकले ‘राधा’ हेरिदिनुहोस् भन्ने कामना गरेको छु ।

अहिलेको रेसियोमा हेर्दा तपाईंको कामना पूरा होला त ? 

सजिलो त देखेको छैन । अहिलेको अवस्था देख्दा चुनावमा नेताले गरे जस्तो घरदैलो अभियान गर्नुपर्छ जस्तो लागिरहेको छ । तनाव छ, हेर्नुस् । 

 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x