वार्ता

भोजराज पोखरेलसँग कुराकानी- २

म हात जोडेर भन्छु- यो तपाईंहरूको समय हैन, अब नउठ्नुस्, इज्जत जोगाउनुस्

हरिबहादुर थापा | विमल आचार्य |
भदौ ४, २०७९ शनिवार १२:४० बजे

पदबाहिर रहँदा पनि खुसी हुन सकिन्छ, सम्मानजनक जीवन बिताउन सकिन्छ भन्‍ने उदाहरणमा पूर्वगृह सचिव तथा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको नाम आउने रहेछ । निर्वाचन आयोगमा साढे तीन वर्ष कार्यकाल बाँकी रहँदै राजीनामा गरेर उनी विद्यार्थी हुन हार्वर्ड विश्वविद्यालयतिर लागे । तत्कालीन राष्ट्रपतिले ‘राजीनामा स्वीकृत गर्दिनँ’ मात्र भनेनन्, कार्यालयसँगै साँध जोडिएका उपराष्ट्रपतिले पनि पद नछोड्न धेरै सम्झाए । ‘नेपाल भोट्स फर पिस एन्ड इलेक्सनु, ‘भायलेन्स प्रिभेन्सन थ्रु डिप्लोमेसी’जस्ता पुस्तक लेखेका पोखरेल नेपालमा त छँदै छ, विश्वका विभिन्‍न देशमा सरकार(राष्ट्रप्रमुखहरुबीच पनि निर्वाचन प्रणाली, शासन प्रणालीबारे बोल्न विज्ञका रूपमा उभिन्छन् ।

यही मंसिर ४ मा संघ र प्रदेश संसद्‌का लागि निर्वाचन हुँदै छ । पोखरेलका केही निजी र केही निर्वाचन अनुभवबारे हामीले उनीसँग लामै कुराकानी गरेका छौँ । पूर्वप्रधानमन्त्री हराऔँ अभियानमा आफ्नो नैतिक समर्थन रहेको भन्दै उनले हातै जोडेर भने, ‘प्लिज तपाईंहरू अब बसिदिनुस् ।’ आफ्नो देशका नेताप्रति आम नागरिकले छिःछि, दुरदुर गरिरहनुपर्ने अवस्था देख्दा पोखरेललाई दुःख लागेको छ । इकागज लागि हरिबहादुर थापाविमल आचार्यले गरेको यो विस्तृत संवादबाट ‘निजी कुराकानी’ हिजो साझा गरेका थियौँ भने अहिले ‘निर्वाचन कुराकानी’ साझा गरिरहेछौँ :  


तपाईं प्रमुख निर्वाचन आयुक्त हुँदाखेरि २०६४ मा हामीले नयाँ चुनाव प्रणाली अंगिकार गर्‍यौँ । १५ वर्ष पुग्दै छ, फेरि फेर्ने कुरा हुन थालेका छन्, किन ?
प्रणाली आफैँमा खराब होइन । खराब पात्रहरूको हातमा परेर हाम्रो प्रणाली नै दुर्घटनामा पर्ला भन्‍ने डर भइसकेको छ । कुनै पनि प्रणाली चल्न त्यसका निश्चित अवयव हुन्छन् । ती अवयवहरूलाई हामीले एकातिर पोको पारिदियौँ । अनि यस्तो खालको प्रवृत्ति भएको पात्रहरूमा ती कुराहरू गए कि जसले सकारात्मक कुराहरूलाई साइड लगाउने, नकारात्मक कुराहरूलाई अगाडि ल्याउने गर्न थाले ।

नातावाद, कृपावाद, पैसावादले समानुपातिक निर्वाचन प्रणाली बदनाम भयो ? 
हो नि, यो प्रणाली त समान अवसर नपाएको, प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुन नसकेको ठूलो तप्काका लागि हो । तिनलाई न्याय प्रदान गर्न यो ल्याइएको हो । तर यसले उल्टै अन्याय गरिदियो । अहिले समानुपातिकको कुरा गर्‍यौँ भने त्यो पनि प्रणाली हो भन्छन् । यसलाई दलहरुले विकृत बनाए ।

तत्कालका लागि बन्द सूचीमा कसरी खबरदारी गर्न सकिन्छ ? 
विगतको भन्दा बन्द सूची अलिकति परिमार्जन भएको छ । विगतमा लिस्टभित्र परेको अन्तिमको नामलाई पनि चुन्‍न पाउने, सांसद बनाउन पाउने प्रावधान थियो । त्यसलाई यो भन्दा पहिलेको संशोधनले हटाइयो । बन्द सूचीमा जुन क्रम छ, त्यसअनुसार नै गर्नुपर्ने हुन्छ ।

कतिपय इमानदार साथीहरु भन्‍नुहुन्छ- म त चुनावमा जान सक्दिनँ, मसँग पैसा छैन ।

अब त्यो क्रमलाई कसरी न्यायोचित बनाउने भन्‍नेतिर ध्यान दिनुपर्छ । अवसरबाट वञ्चित व्यक्तिहरूलाई नामावलीको माथिल्लो क्रममा राख्न दबाब दिनुपर्छ । त्यहाँ सम्भावित जित्ने नम्बरभित्र राम्रोलाई पारिदियो भने त गुनासो कम हुन्छ । यसमा आशा भनेको त्यहाँ आउने मान्छेहरूले बेइमानी नगरिदिऊन् र नगर्ने खालका मान्छे आऊन् भन्‍ने हो । हामीले गर्न सक्ने नेतृत्वलाई दबाब दिनेबाहेक अरु के होला र ?

बाहिरतिर त समानुपातिकबाट पनि राम्रै भइरहेको छ, यहाँ किन यस्तो विककृत भयो होला ? 
स्क्यान्डेनेभियन मुलुक संसारको उत्कृष्ट सुशासन भएका देश हुन् । जापान, जर्मनी वा नेदरलेन्डस् यी सबै देशहरूमा हाम्रो जस्तै पूर्ण समानुपातिक प्रणाली छ । कहीँ मिश्रित प्रणाली छ । त्यही ठाउँमा ४÷५ सय वर्षदेखि सधैँ नै उनीहरू उत्कृष्ट पर्फमरका रुपमा देखिरहेका छन् । प्रणाली त यही नै हो नि ।

मैले त्यहाँ गएको बेला ओस्लोका मेयरलाई सोधेँ, ‘तिमीहरूले कसरी यो लिस्ट बनाउँछौ ?’ त्यहाँ पनि आकांक्षीहरू धेरै हुने होलान् । सूचीमा तल पर्‍यो भने पार्टीलाई असहयोग गर्ने लगायतका समस्या आउँछन् होला ? 
मेयरले भने, ‘हाम्रोमा एउटा राजनीतिक संस्कार विकास भएको छ । जसले प्रतिनिधित्व गर्ने हो, जो पोलिटिकल फिल्डमा जाने हो, उनीहरू सूचीमा माथि बस्छन् । किनभने कस्तो मान्छे त्यो लिस्टमा छ भनेर पनि दलहरुको नियत निर्धारण हुन्छ । जस्तो म ओस्लोको मेयर मलाई त संसद्‌मा जानु छैन । मैले के गर्छु भने, जुन पार्टीसँग आबद्ध छु, त्यो पार्टीलाई मेरो नाम पुछारमा राखिदेऊ है भन्छु । यस्तै समाजका प्रतिष्ठ मान्छेहरू जो संसद्‌मा जान चाहँदैनन्, दललाई माया गर्ने तिनले के भन्छन् भने त्यो लिस्टमा मेरो नाम राखिदेऊ तर संसद्‌मा जानु नपर्ने ठाउँमा राखिदेऊ है भन्छन् । किनभने जनताले लिस्टमा कस्तो मान्छे परेको छ भनेर मतदान गर्ने हुन्छन् ।’

हाम्रोमा चाहिँ यस्तो त छैन ? 
मतदातालाई के तयार गर्नुपर्‍यो भने, कस्ता मान्छेहरू छन् हेरेर मतदान गर्ने । अर्को एउटा, अलि अप्ठेरो पनि होला तर हामीले सक्यौँ भने यो समानुपातिकभित्र दल छान्‍ने र दलभित्रको पनि कसलाई प्राथमिकतामा राख्ने भनेर छान्‍ने गर्न सकिन्छ । जस्तो हामीले अहिले १, २, ३ भनेका छौँ । यीबीचबाट पनि प्राथमिकतामा परेकालाई छान्‍ने । तर यी सम्पूर्ण कुरा गर्नलाई पनि दलको नेतृत्व नै तयार हुनुपर्‍यो । कानुन संशोधन गर्नुपर्छ । त्यसका लागि उहाँहरू तयार हुनुहुन्छ कि हुनुहुन्‍न ? उहाँहरूले चाहनुभयो भने यसलाई नै सुन्दर फूलबारी बनाउन सक्नुहुन्छ ।

एक जना पूर्वप्रधानमन्त्रीले २०६४ को चुनाव पैसै खर्च नगरी जित्यौँ, अहिले त करोड करोड खर्च गर्नुपर्छ भन्‍नुभयो । अर्काे पार्टीका पूर्वमहामन्त्रीले क्रमशः ८० हजार, तीन करोड र ६ करोड रुपैयाँ खर्च भयो भन्‍नुभयो । यसअनुसार अब १२ करोड पुग्ने भयो खर्च ? अनि हिजै हामीले चुनावी चाडका लागि क्षेत्र फर्किन टिकट बिक्री खुल्ला भयो भनेर सम्पादकीय लेख्यौँ । बालुवाटार, बालकोट, खुमलटार सबै सबै टिकट काउन्टरदेखि मतदातासम्म सबैलाई पैसै चाहिएको छ, यो पैसाबन्धन के हो खासमा ? 
पैसातन्त्रले लोकतन्त्र मारेको छ । पछिल्ला दिनहरू हेर्दा केही अपवाद त छन् । जस्तो बालेनजीले ३ लाख ५० हजार रुपैयाँभन्दा कम खर्चमै जितेँ भन्‍नुभयो । तर, मूल रुपमा कस्तो देखिन्छ भने निर्वाचनको परिणामलाई पैसाले हाइज्याक गरेको छ । पैसाबाहेक अन्य कुराले त निर्वाचनको परिणाम निर्धारण नगर्ने अवस्थामा मुलुक गयो ।

आज मतदान गर्ने, पाँच महिनापछि पछुताउने काम नगर्नुहोस् ।

उम्मेदवारहरू के भन्‍नुहुन्छ भने टिकटदेखि लिएर मतपत्रसम्म किन्‍नुपर्छ, हामीलाई गाह्रो भयो । कतिपय इमानदार साथीहरू भन्‍नुहुन्छ- म त चुनावमा जान सक्दिनँ, मसँग पैसा छैन । पैसावालाहरू सबै आपराधिक हुन्छन् भन्‍ने होइन । तर हाम्रो जस्तो चरित्र भएको मुलुकमा धेरैजसो पैसावालाहरू कुकर्म गरेर पैसावाला भएका छन् ।

कुकर्मको पैसा खर्च हुनु त राम्रै भएन र ? 
कुकर्मको आय खर्च हुनु एउटा वितरण त भयो । तर, उसलाई कुकर्मको दोषी ठहर गरेर पैसा असुल गर्नुपर्छ । चुनावमा जाँदा उसको नियत कति सफा भयो भन्‍ने कुरा हो । आफ्ना व्यक्ति र स्वार्थ समूहले सुशासनलाई बढावा दिन्छन् र ? पैसातन्त्रको ठूलो दुष्परिणाम कहाँ देखिइरहेको छ भने यसरी नै खर्च बढ्दै जाने हो भने इमानदार र इमानदारी कहीँ आसै नगरे भयो । यसले प्रणालीप्रति नै वितृष्णा बढाउँछ । टिकटदेखि मतपत्रसम्म किन्‍नुपर्ने संस्कृतिले कुनै सकारात्मक संकेत गर्दैन ।

पैसामा भोट साट्ने किन होला त ?
अझै पनि केही मतदाता यस्ता छन् कि कहिले चुनाव आउला र दुई छाक खान पाउँला, नयाँ लुगा लगाउन पाउँला अथवा केही हासिल हुन सक्छ कि भनेर अपेक्षा गरिरहेका हुन्छन् । हामीले त्यो समूहलाई के बताउन चुकिरहेका छौँ भने त्यो निर्वाचन गर्ने भनेको मतपत्रमा एउटा उम्मेदवारलाई छाप हान्‍ने मात्रै होइन ।

स्थानीय निर्वाचनले पैसा, सत्ता र शक्तिले मात्रै पनि हुँदो रहेनछ भन्‍ने देखायो ।

नागरिकमा भएको सबभन्दा ठूलो अधिकार उसको सार्वभौम अधिकार सम्पन्‍नताका लागि हो । त्यो छापबाट उसले आपूmमा भएको सार्वभौम अधिकार प्रत्यायोजित गर्दै छ । त्यो प्रत्यायोजित गरेर जसले प्रयोग गर्ने ऊ उसलाई पठाइरहेको छ । सही पात्रको खोजी गर्ने खालको हैसियत जबसम्म हामीले नागरिकमा बनाउन सक्दैनौँ, आर्थिक सामाजिक पक्षहरूमा सम्बोधन गर्न सक्दैनौँ, यो हुन्छ । समस्या तत्कालै समाधान होला भन्‍ने मलाई लाग्दैन । तर यी कुराहरू व्यवस्थापन गर्न ढिलो हुँदै गयो भने यसका धेरै नै नकारात्मक पाटोहरू आउँछन् । त्यो पाटोले गर्दा को कहाँ हुन्छ, कहाँ पुग्छ, त्यसको ठेगान नहुने दिन पनि आउन सक्छ । यसो भन्‍नुपर्दा मलाई डर लाग्छ ।

तर, मै हुँ भन्‍नेलाई पनि त मतदाताले हराइदिइरहेका छन् नि ? तर, राम्रो भनेको बिग्रिन्छ, पहिला बिग्रेकाले नसुध्रिई फेरि चान्स पाउँछ, मतदातालाई विकल्प छैन कि मतदाता विगत बिर्सन्छन् ?
निराशाबीच पनि सानो कुराले आशा जगाउँछ । भर्खरै भएको स्थानीय निर्वाचनले के देखायो भन्दाखेरि पैसा, सत्ता र शक्तिले मात्रै पनि हुँदो रहेछ । हामीले पहिले नै पनि देखेका थियौँ । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा चुनाव गराउँदा उहाँ नै हार्नुभयो । कृष्णप्रसाद भट्टराईजी प्रधानमन्त्री भएको बेला उहाँ नै हार्नुभयो । अन्य हस्तीहरू पनि हार्नुभएको छ ।

सत्ता र शक्तिले मात्रै चुनाव जितिन्छ भन्‍ने ह्याङओभर जुन छ, नेतृत्वमा चैँ गएको छैन । जनताले चैँ त्यो कुरा बुझेका छन् । मतदाता चलाख भइसकेका पनि छन् । एक ठाउँको अन्तक्र्रियामा मैले के सुनेँ भने मौन अवधि भनेको एकदमै उर्वर समय हो । रातभर पैसा बाँड्दै हिँडियो, मलाई यति मत भए पुग्छ भन्‍ने मतदाताको प्रतिबद्धतासहित कसम खाएपछि म ढुक्क भएर सुतेँ । परिणाम आयो । परिणाम आउँदा त मैले हारेँ । भरे मैले किन हारेँ भन्दा त मेरो प्रतिस्पर्धी पछि गएछ, त्यो भन्दा बढी पैसा बाँडेछ, उसले जित्यो । उनले कार्यक्रममा यसै भने ।

यसले सकारात्मक सन्देश त दिएन । तर, मतदाताले सबैको पैसा पाए पनि भन्दा राम्रो मान्छे छानेर मत दिएको हुनुपर्छ । धेरै दिनेलाई वा ढिलो चाँडो आउनेलाई भन्दा पनि सकेसम्म राम्रो मान्छे छान्‍नुहोस् । मतदान गोप्य हुन्छ । यसमा निर्धक्क हुनुहोस् ।

मतदाता आफ्ना उम्मेदवारहरुमा के हेर्छन् ? के हेर्नुपर्छ ?
उसको इतिहास हेर्ने । भविष्य पनि हेर्ने । भविष्य चाहिँ उसले जितेपछिको हेर्ने । जितेपछि राम्रो काम गर्छ, त्यो हेर्ने । हाम्रो काम गर्देला भनेर हैन, राम्रो काम पक्कै गर्छ भनेर छान्‍ने । उसको धन, सम्पत्ति, इतिहास, सहयोगभन्दा पनि उसको क्षमता के छ, त्यो हेर्ने । उसले अहिलेको समय सम्बोधन गर्न सक्छ कि सक्दैन ? त्यसअनुसार उसमा दृष्टिकोण छ कि छैन । उसको छवि कस्तो छ ? यस्ता हेर्ने । यस्तो हेराइ प्राथमिकतामा परेका पनि छन् ।

पूर्वप्रधानमन्त्री हराऔँ अभियान पनि चल्या छ, के भन्‍नुहुन्छ ?
असफल भएकाहरू फेरि नआओ भनेको त हो नि यो । यो अभियानमा मेरो नैतिक समर्थन छ । उहाँहरु जसले जे–जति दिनुभयो, जो ०४८ देखि नै शक्तिमा हुनुहुन्छ, भयो अब पुग्यो । असफल भएर पनि सधैँ दोहोरिइरहँदा घृणित भइरहनुभएको छ । आफूले त्यसलाई महसुस गर्नुहोस् ।

पूर्वप्रधानमन्त्री हराऔँ अभियानमा मेरो नैतिक समर्थन छ । तीनचार पुस्तालाई शासन गर्ने गरी उहाँहरुमा के विलक्षण प्रतिभा छ ?

तीनचार पुस्तालाई शासन गर्ने गरी उहाँहरुमा के विलक्षण प्रतिभा छ ? यो उहाँहरूको समय होइन । उहाँहरूले आफैँ महसुस गरेर उम्मेदवार नबनिदिनुहोस् भन्छु म । मेरा अग्रजहरूले अब रिटायर्ड लिनुहोस् । आफ्नो इज्जत जोगाउनुहोस् । अरुलाई ठाउँ दिनुहोस् । म हात जोडेर भन्छु- अब नउठ्नुस् तपाईंहरु, देश उठ्न दिनुहोस् ।

अहिले त एउटै क्षेत्रमा बहु स्वतन्त्रहरुको लहर छ, के भन्‍नुहुन्छ ? तपाईं पनि स्वतन्त्र उम्मेदवार बन्‍ने कि ? 
बालेन, हर्क, गोपालजीहरूले एउटा माहोल त ल्याइदिनुभयो नि । चुनावमा गएपछि स्वतन्त्र भएर पनि जितिँदो रहेछ । मैले चिनेका धेरै मान्छेहरू जो जहाँ हुनुहुन्छ, आफ्नो पेसामा आनन्दले बस्नुभएको छ । स्वतन्त्र उठेर धेरैले आपूmलाई दाउमा चढाउनुभएको छ । सबैले जित्ने अवस्था त हुँदैन । यदि लज्जास्पद हार भयो भने झनै दिक्क लाग्ला । कामको भविष्य बिग्रेला । त्यो परिस्थितिलाई पनि कतिपय उम्मेदवारले हेर्नुहोस् है भन्छु म ।

तपाईं उठ्ने कुरा ? 
खोइ मलाई कसैले भनेको छैन । मैले आफ्नो भएको पद छाडेर हिँडेँ । मैले सार्वजनिक जीवनबाट बिदा लिइसकेँ भनेर सार्वजनिक रुपमै भनेको छु । स्वेच्छाले छाडेपछि फेरि ती पदमा जानु भनेको त नैतिकतामा स्खलन भइहाल्यो नि ।

अब अन्त्यमा, मतदाताले तपाईंको अपिल के छ ?
कुनै पनि प्रभावमा नपर्नुहोस् । शारीरिक, मानसिक, आर्थिक प्रभावमा नपर्नुहोस् । कुनै पनि प्रलोभनमा नपर्नुहोस् । आफ्नो ब्रह्मले जे भन्छ, भोलिका लागि राम्रो काम गर्न सक्छ भने त्यस्तो मान्छेलाई मत दिनुहोस् । आज मतदान गर्ने, पाँच महिनापछि पछुताउने काम नगर्नुहोस् । पात्र हेरेर मतदान गर्नुहोस् । मेरो यही दल हो । मेरो हजुरबुवादेखिको पार्टी हो भनेर आफ्नो दलले दिएको पात्र उपयुक्त छैन, घृणाको पात्र छ भने तपाईं त्यस्तो सोचको बन्दी नहुनुहोस् । मुलुकको र समुदायका लागि राम्रो गर्ने मान्छे छान्‍नुहोस् ।

भोजराज पोखरेलसँग कुराकानी-१ : जनताले घृणा गरेको छ, थुकेको छ उहाँहरूलाई


Author

हरिबहादुर थापा

संसद्, शासन र राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
x