वार्ता

देउवा बीपी, गणेशमान, किसुनजी कसैको बाटोमा हुनुहुन्न, श्रीमती आरजुको बाटोमा हुनुहुन्छ

उपेन्द्र अर्याल |
भदौ १६, २०७९ १७:५७ बजे

यही मंसिर ४ मा हुँदै गरेको आमनिर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनाव लड्ने तयारीमा छन्, कर्ण मल्ल । उनी नेपाली कांग्रेसमा रहँदा देउवाका नजिकका पात्र मानिन्थे । ०५९ मा कांग्रेस फुटाएर कांग्रेस प्रजातान्त्रिक बनाएका बेला मल्ल देउवाकै पक्षमा थिए । तर, पछि देउवाले महाधिवेशन प्रतिनिधि मल्ललाई कारबाही गरेर निष्काशन गरेका थिए । पछि कांग्रेस एकता गर्नुअघि कारबाही फिर्ता भयो । मल्ल फेरि देउवाको समूहमै सक्रिय भएर काम गरे । यी दुईको शत्रुता-मित्रता चलिरहेकै थियो । १३ औँ महाधिवेशनमा उनले देउवा पक्षका रघुराज भट्टराईलाई हराएर सभापति चुनिए । तर, सभापति भएपछि मल्लले केन्द्रीय महाधिवेशनमा देउवालाई नै सभापति बनाउन प्रस्ताव गरे । तर, उनीहरूबीचको सम्बन्ध समधुर भएन । १४ औँ महाधिवेशनमा केन्द्रबाट आफूखुसी क्रियाशील सदस्यता थपिएको भन्दै मल्ल पक्षधरले जिल्ला र केन्द्रीय कार्यालयमा अनशन बसेको थियो ।

गत वैशाखमा भने पार्टी विरोधी गतिविधि गरेको भन्दै देउवाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिदिए । त्यसलगत्तै मल्ल नेपाली कांग्रेस (बीपी) मा प्रवेश गरेका छन् । स्थानीय निर्वाचनमा एमालेसँग तालमेल गरेका उनले आगामी निर्वाचनमा पनि एमालेको साथ लिएर देउवालाई हराउने रणनीति बनाएका छन् । यसपालि उनको उम्मेदवारी देउवा भर्सेस डडेल्धुराबासी हुने उनी बताउँछन् । ‘देउवाले आफू निर्वाचन नलडीकन आफ्नो अभिभावकत्वमा निर्वाचन गराउनुभयो भने उहाँप्रति बचेखुचेको सम्मान रहन्छ,’ उनले भने, ‘तर, उहाँ फेरि चुनाव लड्नुभयो भने यसपटक डडेल्धुराको निर्वाचन शेरबहादुर भर्सेस डडेल्धुराका जनता बीचमा हुन्छ ।’ प्रस्तुत छ, आगामी निर्वाचनमा उम्मेदवारी र कांग्रेसमा देखिएका समस्याबारे उनै कांग्रेस बीपीका वरिष्ठ उपसभापति मल्लसँग इकागजका उपेन्द्र अर्यालले गरेको कुराकानी:


आगामी चुनावमा तपाईंको उम्मेदवारी रहन्छ कि रहँदैन, कुरा यहीँबाट सुरु गरौँ न ।

म साथीभाइसँग छलफलमै छु । मतदाताको भाव बुझ्‍ने क्रममा छु । छलफल सकिएपछि बीपी जयन्तीको दिन भदौ २४ डडेल्धुराको भूमिबाट उठ्ने सोचाइमा छु ।

आफ्नै पूर्वसभापतिविरुद्ध नै उठ्न लाग्नुभएको ?

को पूर्वसभापति ? सानेपा कांग्रेस सभापतिविरुद्ध भन्नुभएको ? म उनको विरुद्धमा किन उभिनु र ? मैले डडेल्धुराबाट प्रतिनिधिसभाको सदस्यमा चुनाव लड्ने घोषणा गरिसकेपछि उहाँहरूको आशीर्वादसहितको हुन्छ । मेरो उम्मेदवारी डडेल्धुराबासीको प्रतिनिधित्वका लागि हुन्छ । मेरो उम्मेदवारी कसैविरुद्ध हुँदैन । तर, उहाँ जस्तो ६ पटक निर्वाचन जितेको र प्रधानमन्त्री हुनुभएको व्यक्तिविरुद्ध किन लड्ने र ? उहाँ पनि धेरै धनाढ्य घरबाट आउनु भएको होइन । सामान्य परिवेशबाट आएर आज देशको सबैभन्दा धनीमानी हुनुभएको छ । आफू चुनाव नलडेर आफ्नो अभिभावकत्वमा निर्वाचन गराउनुभयो भने उहाँप्रति बचेखुचेको सम्मान रहन्छ । तर, उहाँ फेरि चुनाव लड्नुभयो भने यो निर्वाचन डडेल्धुरामा शेरबहादुर भर्सेस डडेल्धुराका जनता बीचमा हुन्छ ।

देउवाकै क्षेत्रबाट उठ्ने भएपछि तयारी पनि व्यापकै गरिरहनुभएको होला ?

म केटाकेटी बेलैदेखि राजनीति गरेको मान्छे हुँ । ३० वर्ष बढी भइसक्यो । अहिलेको विषम परिस्थितिमा नेपाली कांग्रेस बीपीको सदस्य भएको छु । पार्टीका देशभरका साथीहरूसँग छलफलमा छु । 

कुनै समय त तपाईं देउवाको एकदम नजिक हुनुहुन्थ्यो । पछि किन देउवाको यति धेरै विरोध गर्नुभयो ?

शेरबहादुरजीले गिरिजाप्रसाद कोइरालाले पार्टी विधि, विधान, पद्धतिसम्मत चलाएनन् भनेर ०५८ सालमा पार्टी विभाजन गर्नुभएको थियो । त्यसबेला पार्टीभित्रकै विजयकुमार गच्छदार, खुमबहादुर खड्का र चिरञ्जीवीको प्रत्यक्ष समर्थन र किसुनजीको आशीर्वाद र तत्कालीन दरबारको पूर्ण समर्थन भएको हुनाले उहाँले कांग्रेस प्रजातान्त्रिक खोल्नुभएको थियो । त्यसबेला म २४ घण्टा उहाँकै साथमा थिएँ । उहाँले पार्टी विधिसम्मत चलेन, पार्टी नातावाद, कृपावाद र परिवारवादबाट चलाइयो भनेर विरोध गर्नुभएको थियो । यही कुरा कार्यकर्तालाई बताउँदै देश दौडाह गर्नुभयो । म हरेक कार्यक्रमको तयारी गर्ने जिम्मेवारी पाएको कार्यकर्ता थिएँ । त्यसको ठीक एक वर्षपछि नेपाली कांग्रेस प्रजातान्त्रिकको अधिवेशन हुनुभन्दा अगाडि उहाँले आफ्नी श्रीमती आरजु भाउजूलाई महाधिवेश प्रतिनिधिमा ल्याउने भनेर प्रस्ताव ल्याउनुभयो । त्यो कुरा मैले त्यस बेलै इन्कार गरेँ ।

देउवाले जे आरोप लगाएर नयाँ पार्टी खोल्नुभयो, उहाँले त्यही प्रवृत्ति दोहोर्‍याउनु भयो । 

मैले किन इन्कार गरेको थिएँ भने, देउवाले जे आरोप लगाएर नयाँ पार्टी खोल्नुभयो, उहाँले त्यही प्रवृत्ति दोहोर्‍याउनु भयो । त्यसकारण मैले निर्णय मान्दिनँ भनेँ । २४ घण्टा नबित्दै उहाँले मलाई नेपाली कांग्रेस प्रजातन्त्रिकबाट निष्काशन गर्नुभयो ।

त्यसपछि फेरि पार्टी एकता भयो । उहाँ डडेल्धुराबाट लड्ने नेता हुनुहुन्थ्यो । म उमेरका दृष्टिले उहाँको अगाडि कार्यकर्ता भाइ नै थिएँ । पार्टीभित्र म उहाँकै पथमा थिएँ । १२औँ महाधिवेशनमा डडेल्धुराको सभापतिको चुनावमा लडेँ । उहाँ मेरो विरोधमा जानुभयो । तर, पनि मैले यो भूगोलको मान्छे सभापति हुनका लागि अन्तर्संघर्षमा उहाँलाई समर्थन गरेँ । तर उहाँ सुशील कोइरालासँग हार्नुभयो । फेरि १३ औँ महाधिवेशनमा पनि उहाँलाई सहयोग गरेँ । सभापति हुनुभन्दा अगाडि उहाँले भन्नुएको थियो- आजबाट यो गुटको अन्त्य भयो । आजदेखि म सभापति भएँ । गुटको अब बैठक पनि हुँदैन । पार्टीको अर्को समूहप्रति पनि सम्मान गर्नुपर्छ भनेर घोषणा गर्नुभएको थियो ।

तर, उहाँले एउटा गिरोहको सभापतिको रूपमा पार्टी चलाउन थाल्नुभयो । उहाँलाई पटकपटक तपाईं बाटो बिराउँदै हुनुहुन्छ भनेर सम्झाएँ । तर त्यो कुरा उहाँलाई अप्रिय लाग्यो । त्यसपछि पार्टीको महासमितिमा पनि राखेँ । पार्टीका जिल्ला सभापति भेलामा पनि भने । मेरा कुरा देउवालाई प्रिय हुने कुरा थिएन । 
०७४ मा आरजु भाउजूलाई संंसदीय दलको नेता बनाउन देउवा अग्रसर थिए । तर, हार्नुभयो । उहाँले खुलेआम रूपमा भावी प्रधानमन्त्रीका रूपमा आफ्नी श्रीमतीलाई अगाडि सार्नुभएको छ । म उहाँ महाधिवेशन प्रतिनिधिसमेत हुनुहुँदैन भन्ने मान्छे कहाँबाट प्रिय हुन्छु त ? पार्टीको अन्तरसंघर्षमा थिएँ । त्यसैले उहाँले मलाई दोस्रो पटक पार्टीको साधारण सदस्यबाट निकाल्नुभयो ।

म देउवासँग रिसाएको होइन, उहाँ मसँग रिसाउनुभएको हो । उहाँले हिजो गिरिजालाई जे आरोप लगाएर पार्टी विभाजन गर्नुभयो आज त्यही रोगबाट उहाँ ग्रस्त हुनुहुन्छ । उहाँ नेपाली कांग्रेसका संस्थापक कुनै पनि नेताको बाटोमा हुनुहुन्न । उहाँ बीपी कोइराला, गणेशमान, कृष्णप्रसाद भट्टराई कसैको बाटोमा हुनुहुन्न । श्रीमती आरजुको बाटोमा हुनुहुन्छ । उहाँका कार्यकर्ता समानुपातिकको सूचीमा नाम पर्छ कि पर्दैन, टिकट पाइन्छ कि पाइँदैन भनेर पर्खिरहेका छन् । 

पहिले त पार्टी विधानअनुरूप नचल्दा देउवाले पार्टी विभाजनसम्म गरेका थिए । आफैँ सभापति हुँदा विधान नमान्दा चै किन विद्रोह हुन नसकेको त ?

विद्रोह भइरहेको छ । हरिबोल भट्टराई, सुशीलमान शेरचनहरू अहिले पार्टीमा छैनन् । यो विद्रोह होइन र ? तीन दिन अगाडि मात्रै उदयपुर, झापा, मोरङ र सुनसरीबाट धेरै मानिसहरू हाम्रो पार्टीमा आएका छन् । ०७४ मा प्रतिनिधिसभा र प्रदेशसभा लडेका साथीहरू आइरहनुभएको छ । विद्रोह भइरहेको छ । 

अब पनि यस्तै रवैया रह्यो भने कांग्रेस कता जान्छ त ?

सानेपा कांग्रेसका कुनै सिद्धान्त बाँचेको छ र ? आम कार्यकर्ताको आस्था नभएको मान्छे नेता बन्न सक्छ ? आज जसले देउवाको जयजयकार गरिरहेका छन्, उनीहरू लोभले गरिरहेका छन् । टिकट पाउने लोभले । ठेक्काको लोभले । दलाली गर्न पाउने लोभले उनीहरू देउवाको समर्थनमा छन् ।

पार्टी फुटाएको एक वर्षपछि देउवाले श्रीमती आरजुलाई महाधिवेशन प्रतिनिधिमा ल्याउने भनेर प्रस्ताव ल्याउनुभयो । त्यो कुरा मैले त्यस बेलै इन्कार गरेँ ।

उनीहरूको मनमा पनि देउवाले कांग्रेसलाई सिध्याइरहेको छ, देशलाई ठगिरहेको छ भन्ने भएको छ । देउवाका नजिकका मान्छेलाई उनले लोकतन्त्रको नाममा कसरी देश र जनतालाई ठगिरहेका छन् राम्रोसँग थाहा छ । उनीहरू लोभले बोल्न सकिरहेका छैनन् । यो पार्टी पतनको बाटोतिर गइरहेको छ । देउवा राष्ट्रियताका पक्षमा पनि उभिन सक्नुभएको छैन । उहाँसँग राजनीतिक रूपमा विमति भए तापनि उहाँ मेरो पनि प्रधानमन्त्री हो । तर उहाँ राष्ट्रियताका लागि बोल्न सक्नुभएन ।
देउवासँग बीपी कोइराला, किसुनजीहरूले बोकेको राष्ट्रियता छैन । उनको आलोचना गर्ने मान्छेहरू पार्टीमा टिकेका छैनन् । समग्रमा भन्दा यो पार्टी अब प्रजातान्त्रिक रहेन । आगामी निवार्चनमा धेरै ठूलो विद्रोह हुन सक्छ ।

यति लामो समयसम्म काम गर्नुभएको पार्टीमा फेरि देउवाले ‘आऊ अब मिलौँ’ भन्नुभयो भने जानुहुन्न ?

मलाई उहाँले बोलाउने हिम्मत नै गर्नुहुन्न । यदि बोलाइहाल्नुभयो भने मेरो प्रस्ताव के हुन्छ भने अब म एक्लै आउने कुरा भएन पार्टीका सभापति भएका मान्छेहरू अहिले बीपी कांग्रेसमा छन् । उहाँहरूलाई छाडेर म जान्नँ । शेरबहादुर दाइले बोलाउनुभयो भने पनि उहाँले विधिविधानअनुरुप चलेर हाम्रा साथीहरूको भावनालाई कदर गर्नुभयो भने सहकार्य हुनसक्छ । व्यक्तिगत रूपमा उहाँले मलाई बोलाएर हुँदैन ।

०७४ मा आरजु भाउजूलाई संंसदीय दलको नेता बनाउन देउवा अग्रसर थिए । तर, हार्नुभयो । उहाँले खुलेआम रूपमा भावी प्रधानमन्त्रीका रूपमा श्रीमतीलाई अगाडि सार्नुभएको छ ।

म पार्टीको केन्द्रीय कार्यालयमा अनशन बस्दा केन्द्रीय सदस्य, प्रतिनिधिसभाको उम्मेदवार बनाउन तयार छु तर अनशन रोकिदेऊ भनेर प्रस्ताव आएको थियो । त्यसको बदलामा उनले जति क्रियाशील सदस्यता बाँडेका थिए त्यसलाई मैले स्वीकार गरिदिनुपर्ने थियो । थप गरेका पनि स्वीकार गरिदिनुपर्ने थियो । मैले मान्दिनँ भनेँ ।

स्थानीय तहमा पनि एमालेसँग मिलेर पलिकामा उम्मेदवार उठाउनु भएको थियो । तपाईं पनि एमालेकै साथ लिएर उठ्ने होला नि ?

शेरबहादुरजीको नेतृत्वमा उपेन्द्र, बाबुराम, प्रचण्ड र माधव लगायतका सबै मिलेर चुनाव लडिरहेका छन् । एक्लाएक्लै लड्नुभयो भने पत्ता साफै हुन्छौँ भन्ने उनीहरूलाई लागेको छ । एक्लाएक्लै लड्दा राष्ट्रिय पार्टीको मान्यता पनि पाउछौँ पाउँदैनौँ भन्ने मनोविज्ञानबाट डराइरहेका छन् । त्यसको अर्को ध्रुव भनेको केपी ओलीले नेतृत्व गरिरहनुभएको छ । कांग्रेस बीपी राष्ट्रिय पार्टीको रूपमा दर्ज छैन । यदि एमालेको अध्यक्ष केपी ओलीले हाम्रो पनि सामीप्य लिने सदाशयता देखाउनु भयो भने हामी साना दलले अर्को ध्रुव बनाएर निर्वाचनमा जान सकिन्छ । 


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
ad
x