वार्ता

ओलीविरुद्ध चुनाव लड्ने घोषणा गरेका युग पाठक भन्छन् : यो हतासमा गरेको निर्णय होइन

कमल विष्ट |
भदौ १३, २०७९ सोमवार २०:३१ बजे

पत्रकार, लेखक तथा राजनीतिक विश्लेषक युग पाठकले आगामी मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् । पाठक झापा ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लड्ने गरी तयारी गरिरहेका छन् । 

उनले चुनावका लागि घोषणापत्र लेखिरहेका छन् । त्यो केही दिनमै सार्वजनिक हुँदैछ । तर, पाठकले उक्त दस्तावेजलाई सामान्य घोषणापत्र मात्र भनेका छैनन्, ‘दार्शनिक ग्रन्थ’ भनेका छन् । ‘यो सामान्य चुनावी घोषणापत्र होइन । दार्शनिक ग्रन्थ नै हो । ग्रन्थमार्फत नेपाली समाज र संसारलाई एउटा दार्शनिक प्रस्तावना दिने मेरो कोसिस हो,’ इकागजसँग उनले भने । 


'उर्गेनको घोडा', 'माङ्गेना नेपाल मन्थन'का लेखक पाठक तत्कालीन प्रधानमन्त्री ओलीले ५ मंसिर २०७७ मा संसद् विघटन गरेपछि त्यसलाई असंवैधानिक कदमको संज्ञा दिँदै ओलीविरुद्ध सडकमा उत्रिएका थिए । 

नेपाली, अंग्रेजीलगायतका भाषामा प्रकाशित हुने उक्त ग्रन्थ केही दिनपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने उनको तयारी छ । सम्पूर्ण बाल्यकाल झापामा बिताएका पाठक झापासँग आफ्नो गहिरो सम्बन्ध रहेको बताउँछन् । ‘म त्यहाँ हुर्केँ, बढेँ । झापाको सामाजिक संरचना, उहाँहरूको बोलीचाली, सोच्ने र भाेग्ने तरिका आदी मलाई राम्रोसँग थाहा छ,’ उनले भने, ‘त्यसैले त्यहाँबाट एउटा दार्शनिक अभियानको सुरुवात गर्दैछु ।’

आफ्ना अभियानमा झापालीहरूले साथ दिनेमा उनी आशावादी छन् । उनको उम्मेदवारी र चुनावी तयारीका सन्दर्भमा इकागजका कमल विष्टले संक्षिप्त कुराकानी गरेका छन् । प्रस्तुत छ, संवादको सम्पादित अंशः 

तपाईंको उम्मेदवारीले धेरै सरप्राइज्ड भएका छन् । यो आकस्मिक हो कि पहिलेदेखि नै तयारीमा हुनुहुन्थ्यो ?

आकस्मिक होइन । मैले लामो समयदेखि एउटा अध्ययन तथा बहस गरिरहेको थिएँ, विभिन्‍न कोणबाट । नेपालमा धेरै राजनीतिक आन्दोलन भए, तिनले परिवर्तन ल्याए । तर, ती परिवर्तनपछि पनि पार्टी र नेताहरू सधैँ असफल मात्र भइरहे । यसले नागरिकमा निराशा ल्यायो । तर, यो नेता वा पार्टीको समस्या होइन । बरु राजनीतिक दर्शनको समस्या हो । समस्या दर्शनमै हो र यसो भएपछि नेताहरूको केही लाग्दैन भन्‍ने बहस मैले केही वर्षदेखि उठाइरहेकै हो । तर, यो संकटको कारण र उपाय के हो भन्‍ने चाहिँ थाहा पाउन सकेको थिइनँ । लामो अध्ययन तथा बहसपछि अहिले चाहिँ यसबाट बाहिर निस्कने उपाय पत्ता लगाएँ । 

हामीसँग जे जति दर्शनहरू छन्, तिनले हामीलाई मात्र होइन, संसारलाई नै आशा दिन नसक्ने अवस्थामा पुगिसकेका छन् । त्यो विचारहीनताको जञ्जालबाट बाहिर निस्किएर एउटा नयाँ विचारको आलोकमा राजनीति र समाजलाई रिकन्सट्रक्ट गर्नुपर्छ भन्‍ने लाग्यो । 

नेपालमात्र युरोप, चीनलगायत सारा संसार संकटमा छ । यो समस्यालाई चिर्न र संसारलाई नयाँ ढंगबाट अगाडि लैजानका निम्ति पछिल्लो २० वर्षदेखि विश्वभर विभिन्‍न अध्ययन तथा अनुसन्धान भइरहेका छन् । 

यही विचारहीनताकाे अवस्थालाई केन्द्रमा राखेर मैले दार्शनिक ग्रन्थ तयार पारिरहेको छु । यो सामान्य चुनावी घोषणापत्र मात्र होइन । दार्शनिक प्रस्ताव हो । यो प्रस्तावमार्फत नेपाली समाज र संसारलाई एउटा नयाँ दार्शनिक प्रस्तावना दिने एउटा कोसिस हो । ग्रन्थउपर थप बहस हुँदै जाँदा सीमारेखाहरू देखा पर्दै जान्छन् । ती सीमाहरूलाई समाधान गर्दै अगाडि बढ्नुपर्छ । समाज तथा मानिसको मनमा नयाँ आशाको उत्पादन गर्ने र हामी आफैँ गर्न सक्छौँ भनेर मनोवैज्ञानिक राजनीतिक शक्ति उत्पादन गर्ने यसको मुख्य उद्देश्य हो । र, त्यो उद्देश्यको प्राप्तिका लागि मेरो उम्मेदवारी सानो औजार मात्र हो । 

ओलीको संसद् विघटनको कदमलाई असंवैधानिक करार गरेर तपाईंलगायत नेतृत्वको बृहत नागरिक आन्दोलन सडकमा आयो । ओलीको खरो आलोचक तपाईं अहिले उनीविरुद्ध चुनावमा जाँदै हुनुहुन्छ । यो संयोग मात्र हो कि नियोजित ?

मैले झापा ५ राेज्नुका मूलतः दुई कारण छन् । पहिलो कारण, म त्यहाँ हुर्केँ, बढेँ । झापाको सामाजिक संरचना, झापालीको जनजीवन, ती जीवनले भाेग्ने र बुझ्ने तरिका मलाई राम्रोसँग थाहा छ । त्यसमा म भिजेको छु । त्यहाँबाट मैले दार्शनिक अभियान गर्न पाएँ नागरिकले साथ दिन्छन् भन्‍ने लागेको छ ।

कसैको आशाबाट नभइ आफ्नै शक्ति तथा ढंगबाट समाज र देशको विकास गरौँ भन्‍ने हुटहुटीले झापा रोजेको हुँ । उहाँहरूले पनि त्यसलाई आफ्नो ठानेर अगाडि बढ्नु हुन्छ र एउटा निराशाको खाडलबाट निस्कन सकिन्छ भन्‍ने विश्वास छ । 

अब अर्को कारणबारे भन्छु । झापा ५ नै राेज्नुकाे यो वा त्यो कारण छैन । हामीसँग भएका सबै दार्शनिक अवधारणा, चाहे त्यो उदार लोकतन्त्र होस् वा मार्क्सवाद वा कुनै अरु । कुनै पनि अवधारणाले अब दुनियाँलाई अगाडि बढाउन सक्ने अवस्था छैन । यी तमाम अवधारणाका एकजना जबरदस्त नेता हुन् ओली । उहाँ त्यहाँबाट लड्नुभयो भने उहाँसँगै लड्ने निधो गरेको हुँ । ओलीसँग लड्ने भनेको भनेको चाहिँ एउटा दार्शनिक अवधारणालाई एउटा नयाँ उचाइमा पुर्‍याउन र बहस सिर्जना गर्न सजिलो होस् भनेर हो । 

केही गरी ओली त्यहाँबाट उठेनन् भने ?

त्यहाँबाट उठ्नुभएन भने उहाँ आफ्नो तरिकाले जानुहुन्छ । म आफ्नै तरिकाले जान्छु । 

तपाईंको चुनावी अभियान कस्तो भइरहेको छ ? 

मैले तपाईंलाई भनिसकेँ कि म अहिले जनतामा विचार हुनुपर्छ भनेर लागिरहेको छु । हाम्रो राजनीतिमा अहिले विचारशून्यताको अवस्था छ । राजनीतिमा विचारै छैन । यो ठूलो चोर हो कि त्यो ठूलो चोर भन्‍ने खालको राजनीति भइरहेको छ । त्यसैले, मैले अहिलेसम्म विचारमा काम गरिरहेँ । अब प्रत्यक्ष–परोक्ष रुपमा विभिन्‍न भागमा पुग्‍ने, सहभागी हुने, साथीहरूसँग अन्तरक्रिया गर्ने आदि कार्य त लामो समयदेखि चलिरहेको छ ।  चुनावकै लागि भनेर अब म बल्ल जाने हो । 

२०७४ को निर्वाचन परिणाम हेर्दा झापा ५ मा एमाले बलियो देखिन्छ । ओलीलाई पराजित गर्ने तपाईंको आधार के हो ? 

यो कुरा विचार कति नागरिकमाझ पुग्‍न सक्यो भन्‍ने कुराले निर्धारण गर्छ । विचारलाई जति धेरै नागरिकमाझ लान सकियो र उहाँहरूलाई अनुभूति गराउन सकियो त्यति नै नागरिकले जित्ने सम्भावना हुन्छ । यहाँ मेरो जित वा हारको कुरा छैन । नागरिकहरूले आफैँलाई सक्रिय बनाउने र जिताउने विचारधारा निर्माण गर्ने हो । 

तपाईं नागरिक आन्दोलनका अगुवामध्येको एक । तपाईं राजनीतिमा लागेपछि यो कसरी अगाडि बढ्छ भन्‍ने धेरैको संशय छ । के भन्‍नुहुन्छ ? 

नागरिक आन्दोलन लामो समयदेखि विभिन्‍न ढंगले चल्दै आएको छ । युग पाठक त्यसमा पछिल्लो समय मिसिएको पात्र न हो । युग पाठक हुँदा नहुँदा फरक पर्दैन । अहिले जो साथीहरू हुनुहुन्छ, उहाँहरूले चलाइरहनुहुन्छ । अहिले फेरि थुप्रै नयाँ पुस्ताका साथीहरू आइरहनुभएको छ । उहाँहरूले चलाइरहनुभएको छ, चलाउनुहुनेछ । यो रोकिँदैन । चलि नै रहन्छ ।

अर्को महत्वपूर्ण कुरा, नागरिक आन्दोलनलाई मेरो सदैव साथ र सहयोग भइरहन्छ । सँगै उभिँदा केही फरक पर्दैन । समाजलाई अझ न्यायपूर्ण, अझ राम्रो बनाउने कुरामा हामी सधैँ सँगै त छौँ नि । 

तपाईं कुनै समय कट्टर माओवादी हुनुहुन्थ्यो । तपाईंले आफूलाई स्वतन्त्र उम्मेदवार भने पनि धेरैले बडो सन्देहसाथ हेरिरहेका छन् नि ?

म विशुद्ध रुपमा स्वतन्त्र उम्मेदवार हुँ । मैले सैद्धान्तिक रुपमै कुनै पार्टीबाट उठ्नै मिल्दैन । म पुराना अथवा चलिआएका विचारधाराले काम गर्न सक्दैन भनिरहेको छु । हामीसँग भएका कुनै पनि पुराना र नयाँ पार्टीले समाजलाई अगाडि लान सक्दैन भन्‍ने मेरो निष्कर्ष हो । यस्तो निचोडमा पुगेको व्यक्तिले फेरि कुनै दलबाट चुनाव लड्छ होला त ? मैले कुनै पार्टीबाट टिकट माग्‍ने र उठ्ने कुरै हुँदैन ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x