वार्ता

'सतहमा तीन प्रतिस्पर्धी देखिए पनि हामी फराकिलो मतान्तरले चुनाव जित्छौँ'

विनोद देवकोटा |
मंसिर १, २०७९ बिहीबार १५:१६ बजे

कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले २०४८, २०५१ र २०५६ सालको निर्वाचन जितेर ह्याट्रिक गर्‍यो । २०७० र २०७४ को निर्वाचनमा नेकपा एमालेले बाजी मार्‍यो । नेकपा माओवादी केन्द्रले २०६४ सालमा एक पटक जित्यो । मंसिर ४ को निर्वाचन जितेर ह्याट्रिक गरेर कांग्रेससँग रेकर्ड बराबर बनाउने एमालेको योजना छ भने माओवादी २०६४ को जित दोहोर्‍याउने दाउमा । माओवादीको दाउ जित दोहोर्‍याउने मात्रै छैन २०६४ सालकै उम्मेदवारसमेत दोहोर्‍याएको छ । २०६४ मा संविधान सभा सदस्य जितेका भगत बडुवाल यसपालि पुन:चुनावी मैदानमा छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । उसो त एमालेको ह्याट्रिक र माओवादीको दोहोर्‍याउने दाउमा नागरिक उन्मुक्ति पार्टी चुनौती बन्ने देखिएको छ । तर, माओवादी उम्मेदवार बडुवाल भने सतहमा तीन प्रतिष्पर्धी देखिए पनि गठबन्धन भारी मतान्तरले विजयी हुने दाबी गर्छन् । प्रस्तुत छ बडुवालसँग इकागजका विनोद देवकोटाले गरेको चुनावी सम्वाद : 

चुनावी माहौल कस्तो छ, घरदैलोमा गइरहँदा जनताका गुनासा, प्रश्न र अपेक्षा कस्ता छन् ? 


चुनावी माहोल राम्रो छ । गरमागरम छ । आज चुनावी कार्यक्रमको अन्तिम दिन पनि हो । जनतामा राजनीति र नेतृत्वप्रतिका केही गुनासा, वितृष्ण र आक्रोस पनि छ । राजनीतिलाई बुझ्ने र बुझाउने समस्याहरू पनि छन् । व्यवस्थापकीय वितृष्ण पनि छ । विगतमा चुनावमा ठूला आश्वासन दिने तर काम नगर्ने कुराहरू जनताले सुनाएका छन् । चुनावताका गर्ने भन्ने तर पछि नगर्ने प्रवृत्तिविरुद्ध जनता आक्रोसित छन् । कतिपय सदियौँदेखि थन्किएका समस्या छन् । सुकुम्बासी, बाटोघोटो, सिँचाइ, नहरका कुरा छन् । ती समस्याहरू समाधान नहुँदा आक्रोस हुने र वितृष्ण जाग्ने स्वाभाविक हो । सामान्य दैनिक जीवनमा भइपरी आउने समस्या समाधान नहुँदाको पीडा अभिव्यक्त हुन्छ । 

जनताका गुनासा र आक्रोस सम्बोधन गर्ने तपाईंका योजना र प्रतिबद्धता के छन् ?

जनताका गुनासा सम्बोधन गर्ने कुरा राखेका छौँ । सम्भावनाका कुरा राखेका छौँ । उहाँहरूलाई विश्वस्त तुल्याउने काम पनि गरेका छौँ । विकासको अवधारणामा लैजाने कुरा पनि राखेका छौँ । गठबन्धनका साझा एजेण्डा पनि छन् । हामी के गर्न खोजिरहेका छौँ । के-के योजना छन् सबै भनेको छौँ । स्थायित्व, शान्ति र विकासलाई प्राथमिकतामा राखेका छौँ । समग्रमा जनताका गुनासा सम्बोधन गर्ने प्रतिबद्धता गरेका छौँ । 

खास एजेण्डा के-के छन् ?

जनताका सामान्य दैनिक जीवनमा आइपर्ने समस्याहरूका हामीले प्रतिबद्धता गरेका छौँ । खासगरी धेरै ठूला मुद्दा छैनन् । खानेपानी, बाटोघाटो, शिक्षा, स्वास्थ्यका समस्या छन् । सुकुमबासी समस्या समाधानका विषयवस्तु छन् । कतिपय सदियौँदेखि थन्किएका मुद्दा छन् । ती मुद्दामा जनतालाई विश्वस्त पारेका छौँ । जनता र मेरा समस्या एउटै हुन् । किनकी हामी एउटै ठाउँमा बस्छौँ । प्रतिनिधि सभामा निर्वाचित हुँदा ती समस्या समाधान गर्न काम, कर्तव्य र जिमेवारीका आधारमा सक्रियताका साथ लाग्ने भनेका छौँ । 

यी मुद्दा त स्थानीय निर्वाचनमा पनि उठे । वडा र पालिकामा उम्मेदवार भएकाहरूले पनि उठाए । तपाईं त प्रतिनिधि सभा उम्मेदवार हो । मुद्दा एउटै भएनन् र ? नीति निर्माणका कुरा उठाउनुभएन ? 

राष्ट्रिय मुद्दा त राखेकै छौँ । कयौँ मुद्दा यस्ता छन् जुन वडाबाटै हल हुन्छन् । केही पालिकाबाट, केही प्रदेश सभाबाट हल हुने खालका छन् । जनताको लेवलमा चुनावमा सबैलाई एउटै रूपमा हेर्ने र जिम्मेवारी बुझ्ने समस्या पनि छन् । तै पनि भरोसा दिने र भरोसा दिलाउने गरेका छौँ । अधिकांश ठाउँमा गठबन्धन छ । तल्लोदेखि माथिसम्म गठबन्धनले जितेको अवस्थामा जनताका मुद्दा सम्बोधन गर्न सजिलो हुने कुरा राखेका छौँ । 

प्रतिस्पर्धी उम्मेदवारलाई कसरी हेर्नुभएको छ, तपाईंको प्रतिस्पर्धा कोसँग हुन्छ ?
 
मेरो निर्वाचन क्षेत्रमा मुख्य गरी तीन दलबीच प्रतिस्पर्धा हुने देखिन्छ । सत्ता गठबन्धन, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । सतहमा देखिने तीन प्रतिस्पर्धी देखिए पनि हामी फराकिलो मतान्तरले जित्छौँ । 

यसपालि गठबन्धनमा ‘भोट ट्रान्सफर’ हुँदैन कि भन्ने आशंका छ । कांग्रेसले सहयोग गर्दैन कि भन्ने पनि चर्चा छ । कसरी हेर्नुभएको छ ?

गठबन्धनमा भोट ट्रान्सफर हुन्छ । सबै गठबन्धनमै समाहित हुन्छ भन्नेमै हामी विश्वस्त छौँ । त्योभन्दा बाहिर सोचेका छैनौँ । कसैले सोच्छ भने उहाँहरूले आफूले आफैँलाई र आफ्नै मान्यतालाई हराउन लाग्छ भने हाम्रो भन्नु केही छैन । गठबन्धनमा प्रतिबद्ध सबै कार्यकर्ताले गठबन्धनकै उम्मेदवारलाई जिताएपछि न उहाँहरूको उम्मेदवार जित्ने हो । अर्कोलाई जिताउन उहाँहरूको उम्मेदवार त होइन । कसैलाई रिस, राग र उत्तेजनामा आएर आफ्नो स्वार्थ पूर्तिमा लाग्दा दूध पोखरी बनाउन खोज्दा पनि पोखरी बन्ने सम्भावना पनि हुन्छ नि । आफूले नहाल्दा अर्कोले पनि नहाल्न सक्छ । खासमा यो एमालेले फिजाएको हावा हो । हावा फिजाउने काम एमालेले गरेको छ । कतिपय अवस्थामा आफ्नै दल र गठबन्धनका उम्मेदवारलाई सिद्ध्याउन कोही लाग्छ भने त्यो उहाँहरूको नैतिकताको कुरा हो । मूल रूपमा गठबन्धनभित्र सबै एकमतका साथ अगाडि बढ्ने विश्वास छ । जनताले हाम्रा मूल्य, मान्यता, आफ्नो पार्टी र गठबन्धनका अवधारणालाई सम्मान गर्दै यो देशको उन्नति र समृद्धिका निम्ति हामीले चाल्न खोजेका कदमहरूलाई, लक्ष्यहरूलाई पूरा गर्न जिताएर पठाउने विश्वास छ ।


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x