वार्ता

'एकपटक मलाई हेर्नुस्, काम गरिनँ भने अर्कोपटक फेर्नुस'

इकागज |
कात्तिक ३०, २०७९ बुधबार १९:५२ बजे

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा मतदान गर्न अब ४ दिन मात्र बाँकी छ । विभिन्न दलका उम्मेदवारहरु यतिबेला मतदाता रिझाउदैं मत माग्न घरदैलोमा व्यस्त छन् । २ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र भएको सिन्धुपाल्चोकमा प्रतिनिधि सभा क्षेत्र नं १ को प्रदेश सभा क्षेत्र ख मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपक थापाले उम्मेदवारी दिएका छन् । विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा प्रवेश गरेका थापा उनी उम्मेदवार बनेको क्षेत्रका सुपरिचित व्यक्ति हुन् । निर्माण व्यवसायी थापा समाजसेवा र राजनीतिको माध्यमबाट त्यस क्षेत्रका युवाहरुमाझ लोकप्रिय छन् । प्रदेश सभा सदस्य बनेपछि पार्टी सरकारमा सहभागी भएमा थापालाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने समेत पार्टीका पूर्व अध्यक्ष पशुपतिशमसेर राणाले बताएका छन् । उनै थापासँग इकागज लागि निर्वाचनलक्षित गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

निर्वाचन प्रचारप्रसार अभियान कसरी चलाउँदै हुनुहुन्छ ? मतदाताको प्रतिकृया कस्तो पाउनुभएको छ ?


निर्वाचन प्रचारप्रसारको अवधि छोटो समय भएकाले त्यसको अधिकतम उपयोेग गर्दै प्रचारप्रसारमा जुटिरहेको छु । भौगोलिक रुपले विकट रहेका गाउँबस्तीहरुमा समेत पुगेर मतदाता भेटघाट गर्न समय नै कम भयो । तैपनि रातदिन नभनी घर—घर, आँगन—आँगनमा पुगिरहेको छु । मेरो पारिवारिक सम्बन्ध र व्यक्तिगत आचरणका कारण पनि मतदाता मलाई भोट हाल्न आतुर भएको देखेको छु । फेरि मेरा प्रतिस्पर्धीहरु यसअघि नै परीक्षण भइसकेका व्यक्तिहरु हुनुभएकाले मतदाताहरु नयाँ युुवा उम्मेदवारलाई मत हाल्ने पक्षमा हुनुहुन्छ । 

तपाईं आफैले आफूलाई नयाँ उम्मेदवार भन्नुभयो । जनताले एकैपटक नयाँ उम्मेदवारलाई के विश्वासले मत हाल्छन् जस्तो लाग्छ ? तपाईं आफू नयाँ भएपनि पार्टी त पुरानै छ । तपाईंलाई के विश्वासले मतदान गर्ने ?

म राजनीतिक चेत बोकेर विद्यार्थीकालदेखि नै राजनितिमा होमिएको युवा हुँ । क्याम्पसका स्ववियु निर्वाचनहरुमा समेत सहभागी भइ विद्यार्थीको हक र अधिकारको पक्षमा वकालत गर्दै आज यो अवस्थामा आइपुगेको छु । म सँग स्पष्ट भिजन छ । म जितेर गएपछि नीति बनाउने ठाँउमा पुग्ने भएकाले नयाँ पुस्ताले देशमै रोजगारी पाउन सक्ने, उचित शिक्षा पाउन सक्ने, अध्ययन र रोजगारी कै लागि विदेशिनु पर्ने अवस्थाका अन्त्य हुने गरी दिर्घकालीन लक्ष्यसहितको नीति निर्माण गर्नेछु । भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर आफू पनि भ्रष्टाचार गर्दिन र भ्रष्टाचारीलाई कडाभन्दा कडा सजाय हुने कानुन निर्माण गराउनेछु । मैले मतदातालाई एकपटक मलाई हेर्नुस्, काम गरिन भने अर्कोपटक फेर्नुस भन्दै हिँडेको छु । म अरु दलका उम्मेदवार जस्तो म मात्रै ठिक भन्ने घमण्ड बोकेर हिडेको छैन । मसँग त आत्मविश्वास छ, मेरो त्यही आत्मविश्वास देखेरै मतदाता पनि मलाइ मत दिन आतुर हुनुहुन्छ ।

म आवद्ध पार्टी देशकै माटो सुहाँउदो पार्टी हो । आयातित माक्र्सवादी दल भन्दा म आवद्ध दल नयाँ र नेपाली मौलिक पार्टी हो । यो पार्टीको सदस्य भएर निर्वाचनमा होमीन पाउनु मेरो लागि सौभाग्य समेत हो । पार्टीमा नयाँ नेतृत्व आएपछि अहिले देशैभरबाट उदयीमान वैकल्पिक शक्तिको रुपमा राप्रपा उदाइरहेको छ । यस्तो अवस्थामा आम मतदाताले यसपटकको स्वर्णीम मौका गुमाउनु हुनेछैन ।

तपाईंको मुख्य चुनाजी अजेन्डाहरु के–के छन् ?

म आफू पनि ग्रामीण क्षेत्रको मान्छे भएकोले सिन्धुपाल्चोकको सदरमुकाम चौतारा र जुगलले विकट गाउँ तेम्बाथानका बासिन्दाले समान सुविधा उपभोग गर्न पाउनुपर्छ भन्ने कुरामा सदैव दृढ छु । ६ कक्षाभन्दा माथि पढ्न नपाउने तेम्बाथानका बालबालिकासहित हरेक बालबालिकाले आफ्नो क्षमता अनुसार गरिब पारिवारिक पृष्ठभूमि हुनेले पनि एकदमै सस्तोमा उसले चाहेको शिक्षा लिन पाउनुपर्छ भन्ने मेरो माग छ । गरिबका बच्चा पनि डाक्टर, इन्जिनियर, पाइलट हुन पाउनुपर्छ । हरेक बालबालिकाको शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मा सरकारले लिनुपर्छ, म लिन्छु ।

सडक, पुल, विजुली, खानेपानी जस्ता आधारभूत विकास नेताले छानेर हैन, सरकारले जानेर दिनुपर्छ । मेरो क्षेत्रको हरेक नागरिक यी सुविधाबाट बञ्चित नहुने गरी समतामूलक ढंगबाट सबैतिर समान विकास गरिनेछ । आवश्यकताको आधारमा विकास गर्ने नीति निर्माण गर्दै प्रमुख सडक तथा अन्य वडास्तरीय ग्रामीण सडकहरु बाह्रैमहिना कम्तिमा एम्बुलेन्स गुड्न सक्ने गरी स्तरोन्नति गरिनेछ । अझै पनि विजुली बत्ती बाल्न नपाएका जुगलका तेम्बाथान, क्याङसिङ, गुम्बा सहितका यस क्षेत्रका सबै बस्तीमा नियमीत बिजुली बालिनेछ । विपन्न परिवार पहिचान गरी घरायसी प्रयोजनको बिजुली निशुल्क गरिनेछ । टुकी र सोलारको धिपधिपे उज्यालोमा रहेका बस्तीलाई राष्ट्रिय प्रशारण लाइनमा जोडेर गाउँवासकिो जीवनशैली परिवर्तन गर्ने मेरो लक्ष्य छ ।

कृषि तथा युवा रोजगारको क्षेत्रमा तपाईं कसरी अगाडि बढ्नुहुन्छ ? 

अहिले जुगल गाउँपालिकाभित्र मात्रै ३१० मेगावाटभन्दा धेरै विजुली निकाल्ने गरी हाइड्रोपावरहरु दर्ता भइ सञ्चालनमा रहेका छन् भने लामोसाँघुको म्याग्नेसाइट उद्योग रुग्ण बनेर बसेको छ । यी उद्योगहरुमा स्थानिय युवाहरुलाई उनीहरुको सीप र श्रमको आधारमा रोजगारीको व्यवस्था गर्न सकिने आधारहरु छन् । हाइड्रोेपावर कम्पनीहरुलाई नेताप्रति भन्दा जनताप्रति बफादार बनाइ जनताको माग पूरा गर्ने वाचा भयो । युवाहरुको विदेश पलायनताको क्रम रोक्न स्वरोजगारमूलक तालिम दिने र सीप बन्धकी राखेर सामूहिक कृषि उद्यम गर्न चाहने युवालाई निव्र्याजी ऋण दिने नीति प्रदेश सरकारबाट निर्माण गराइनेछ । मल तथा बिउ समयमै उपलब्ध गराउने मेरो पहल हुनेछ ।

उच्च क्षेत्रमा उत्पादन हुने आलु, मुला तथा बेशीका फाँटहरुमा तरकारी तथा अन्न उत्पादन गर्न प्रोत्साहन गरी विचौलियाले नाफा खाएर किसान लुटिने दिनको अन्त्य गरिनेछ । कृषि उत्पादन सरकारले नै किन्ने व्यवस्था गर्नेछु । प्रदेश सरकारको अनुदानमा बीमा गराउने गाउँमै रहेर कृषि कर्ममा लागेका किसानलाई कर छुट दिइने, व्यापारी, व्यवसायी ठेकेदारसँग नाफाको अनुपातमा मर्का नपर्नेगरी कर नीति लागू गर्ने मेरो योजना छ । 

पर्यटन क्षेत्र पनि नेपालको मुख्य आर्थिक उपार्जनको क्षेत्र हो । यस विषयमा त केही बोल्नुभएन नि ?

तपाईंलाई पनि थाहै होला, अहिले जुगल गाउँपालिकाले प्रचारमा ल्याएको नेपेमासल र जुगल हिमालको प्रचारको लागि मेरै व्यक्तिगत पहल र खर्चमा गाउँपालिकाले भन्दा पहिले नै भिडियो डकुमेन्ट्री बनाइसकेको छु । यस्ता पर्यटकीयस्थलहरुको प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार, पदमार्ग तथा प्रचारप्रसार गरी स्थानीय जनताको आर्थिक विकास गर्ने मेरो लक्ष्य छ । सुकुटे करिडोर जल पर्यटन हब बनाउदै जुगल हिमाललाई हिमाल आरोहण अभ्यास केन्द्रको रुपमा विकास गर्नेछु । जङ्गललाई स्थानीय जनताको आयस्तरको स्रोत बनाउदै जग्गा बाँझो छाड्ने परिपाटी अन्त्य गराउन बाँझो जग्गा भूमिहीनले खेती गर्न पाउनेगरी जग्गाधनिसँग निशुल्क लिजमा दिलाइनेछ ।

तपाईंको पार्टीको मत जित्नका लागि पक्कै पर्याप्त छैन । त्यसमा पनि दुई ठूला दल गठबन्धन नै गरेर आएका छन् । यस्तोमा हार्ने नै हो भनेर जनताले मत हाल्दैनन् कि तपाईंलाई ?

तपाईं कुरा अंकगणीतीय हिसाबले हेर्दा ठिकै हो । दलगत रुपमा हामी अरु दलको तुलनामा कमजोर छौं । तर अहिलेका सचेत मतदाताले दल भन्दा पनि त्यसका उम्मेदवार र उसले उठाएका मुद्दा हेरेर मत हाल्ने हुनाले जनताले मेरो प्रतिज्ञा पत्र हेरेर मलाई नै मत हाल्ने मनसाय बनाइसक्नु भएको छ । र, अर्को मलाई फाइदा हुने कुरा के छ भने मेरा प्रतिस्पर्धी मित्रहरु मेरो लागि कहिल्यै समस्या बन्नुहुन्न । गठबन्धनको तर्फबाट उम्मेदार बन्नुभएका माओवादी नेता यो ठाउँको पाहुना हुनुहुन्छ । पाहुनालाई फूलमालाले स्वागत गर्ने हो, मत दिने हैन भनेर उहाँकै कार्यकर्ताहरुले नै भन्दै आएका छन् । एमालेका उम्मेदवार पनि यसअघि गाउँपालिका अध्यक्ष जितेर जनताले उहाँको कार्यशैली नियालिसक्नु भएको छ । एमालेकै कार्यकर्ताहरु समेत उहाँसँग रुष्ट हुनुहुन्छ । 

गठबन्धनका कारण नेपाली काँग्रेसले उम्मेदवार नपाउँदा उहाँहरु पनि खुसी हुनुहुन्न । उहाँहरुलाई के कुरा थाहा छ भने यदि यो क्षेत्रमा यस पटक कम्युनिष्टले किला गाड्यो भने अर्को पटकबाट काँग्रेसले त्यो किला फुकाल्ने त परै जाओस, हल्लाउन पनि सक्नुहुन्न । त्यसकारण पनि प्रजातन्त्रको रक्षा गर्दै लोकतन्त्रको संस्थागत विकासको लागि पनि मैले जित्दा राप्रपासहित काँग्रेस, एमाले र माओवादीको जित नै हुन्छ । नयाँ स्वतन्त्र मतदाताहरुको चाहना पनि युवा नेतृत्व नै भएकाले मलाई मत हाल्ने कुरा उहाँहरुले नै मलाई बताउनुभएको छ । दीपकले हार्छ की भन्ने डर त्यागेर ढुुक्कसँग मत हाल्न मैले सबैलाई आग्रह समेत गरेको छु र उहाँहरुले पनि मत हाल्ने प्रतिबद्धता जनाउनुभएकोले म निर्वाचन जित्नेमा पूर्ण विश्वस्त छु ।
 


Author

थप समाचार
x