विशेष रिपोर्ट

पठाओ र इन्ड्राइभको प्रभाव

काठमाडौँका टयाक्सी यात्रुलाई वास्तै गर्दैनन्, मिटरको नाम सुन्‍नै चाहँदैनन्

अतिन आचार्य | बैशाख २०, २०८१

काठमाडौँ- बुधबार मध्यान्ह रामबहादुर तामाङ सुनधारास्थित धरहरा अगाडि पुगे । उनी पुग्नुपर्ने थियो डिल्लीबजार । परिवारको साथमा पुगेका एउटा हातमा तीन वर्षीय नानी लिएर यताउता गरिरहेका थिए ।

उनले सार्वजनिक  यातायातको साधन कालो प्लेट नम्बर प्लेट भएको टयाक्सी खोजे । रामबहादुर एक निजी मेडिकलमा जानुपर्ने भएकाले टयाक्सीमा जानुपर्ने थियो ।

उनले धरहराको अगाडि लामबद्ध पार्किङ टयाक्सीलाई डिल्लीबजार जान सोधे । तर, कुनै पनि टयाक्सीले उनीसँग जान मानेनन् । उनले टयाक्सीलाई सोधिरहे तर चालकले उनको अनुरोधलाई ठाडै अस्वीकार गरे ।

टयाक्सी चालक जान नमान्नुको एउटै कारण मिटर थियो । रामबहादुरले चालकलाई मिटरमा जान अनुरोध गरे । धरहरा अगाडि रहेका कुनै पनि टयाक्सीले मिटरमा जान मानेनन् ।

उनले टयाक्सीलाई मिटरमा जान आग्रह गर्दा चालकले २ सय ५० रुपैयाँ दिन आग्रह गरे । मिटरमा जान नमानेपछि उनी अरु टयाक्सीको खोजीमा लागे । ‘टयाक्सी चालकले मिटरमा नजाने तर मिलाएर दिनु मात्र भन्छन्,’ उनले इकागजसँग भने,’ पठाओ र इन्ड्राइभमा जाने हो भने चालक जान तयारी छन् ।

चालकले उनलाई पठाओ र इनड्राइभमा जान आग्रह गरे । अनलाइनबाट टयाक्सी अर्डर गर्दा मिटरमा भन्दा बढी पैसा उठ्ने गरेको छ । ‘मिटरमा जाँदा हामीलाई फाइदा हुँदैन,’ चालकको भनाइ उदृत गर्दै उनले सुनाए,’ मिटरमा त जान मिल्दैन। अनलाइन बुक गर्नु जति उठ्छ त्यसमा जानुपर्छ ।‘

मिटरमा जान नमान्दा यात्रुलाई सास्ती

रत्‍नपार्कबाट एयरपोर्ट जान खोज्दा राजु श्रेष्‍ठले पनि रामबहादुरको जस्तै समस्या भोगे । उनी बुबाको उपचारका लागि भारत जानका लागि एयरपोर्ट पुग्न टयाक्सी खोजिरहेका थिए ।

रत्‍नपार्कको सडकमा रहेका टयाक्सीले पनि उनीसँग जान मानेनन् । उनले मिटरमा जान आग्रह गर्दा सडकमा रहेका टयाक्सीले नमानेको उनी बताउँछन् । ‘सबैले ६ सय रुपैयाँ दिनु भन्थे । मिटरमा जुम भन्दा कसैले मानेनन्,’ उनले भने,’ सबैले मिलाएर दिनु मात्र भन्छन् । अनलाइनमा बुक गर्नु जान तयार छौ मात्र भन्थे ।‘

सडकमा भएका टयाक्सी मिटरमा चल्न नमान्ने भए मिटर र कालो प्लेट किन राखेको भन्दै रत्नबहादुर आक्रोशित भए । सडकमा उभिएका ट्राफिकले पनि मिटरमा जान नमान्नेलाई कारबाही गर्नुपर्ने उनी बताउँछन् ।

त्यसैगरी, टयाक्सी ड्राइभर मनोज मगरले सरकारले पेट्रोलको मूल्य १२५ रुपैयाँ हुँदा तोकिएको मूल्य अहिलेसम्म नबढाएकाले टयाक्सी चालक मारमा परिरहेको बताए ।

‘पटक-पटक इन्धनको मूल्य वृद्धि हुन्छ । टयाक्सी चालकले लिने भाँडा वृद्धि भएको छैन,’ उनले गुनासो गर्दै भने,’ सरकारले टयाक्सी पानीले चल्‍ने जस्तो गरेर मूल्य तोकेको छैन ।‘

टयाक्सी मिटरमा चलाउँदा हामीलाई खासै फाइदा नहुने चालक मगरको भनाइ छ । अहिले अनलाइन सुविधा भएर होला यात्रुहरू पाइन छोडेको उनले बताए । पठाओ र इनड्राइभका कारण मिटरमा र टयाक्सीमा चढ्ने यात्रु नभेटिने उनले गुनासो पोखे ।

अधिकांश टयाक्सी चालकहरूले इनड्राइभ र पठाओबाट यात्रु बोक्न थालेको मगरको भनाइ छ । मिटरमा भन्दा केही बढी रकम अनलाइन बूकिङ राखिएको हुने उनले बताए । ‘अनलाइनबाट जाँदा टयाक्सी चालकलाई फाइदा हुने गरेको छ,’ उनले भने ।

उनका अनुसार यात्रु टयाक्सीमा चढ्नासाथ सुरुमा ५० रुपैयाँबाट सुरु हुन्छ । प्रत्येक २ मिटरबाट १० रुपैयाँ थप हुँदै जाने गरेको छ । गन्तव्यमा पुग्दा मिटरमा देखाए बमोजिम पैसा लिने गरिएको छ ।

'कालो प्लेटमा दर्ता भएकाहरू एपमा दर्ता गरेर चलाउन पाइन्न'

काठमाडौँ उपत्यकामा सञ्चालन रहेका सबै टयाक्सीमा मिटर हुनुपर्छ । सोही बमोजिम चालकले यात्रुलाई मिटरमा लैजानुपर्छ । पछिल्लो समय उपत्यकामा रहेका अधिकांश टयाक्सी चालक अनलाइन मार्फत यात्रु बोकिरहेका हुन्छन् । उनीहरू कुनै न कुनै राइड सेयरिङ एपमा दर्ता भएका छन् । ट्राफिक प्रहरीले पनि कालो प्लेटधारी टयाक्सी अनलाइनमा दर्ता भएर चलाइरहेको थाहा पाइसकेको छ । अनलाइनमा जान बानी परिसकेका टयाक्सी चालकहरू अहिले भने मिटरमा जान खासै रुचाउँदैनन् ।

धेरै टयाक्सी चालकहरू मिटरमा जान नमानिरहेको सूचना प्राप्त भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवन कुमार श्रेष्ठले जानकारी दिए । मिटरमा जान नमान्ने र बढी भाडा लिनेलाई ऐन बमोजिम कारबाही गरिने उनले बताए । मिटरमा नजाने टयाक्सी चालकलाई कारबाही गरिएको उनको भनाइ छ । पीडितको गुनासो अनुसार लोकेसन र नम्बरको आधारमा टयाक्सीलाई कारबाही गरिएको उनले जानकारी दिए ।

‘यात्रुको भनाइ नमान्ने र बढी टयाक्सी भएका ठाउँमा सिभिल ट्राफिक प्रहरी खटाएर कारबाही गरिरहेका छौ,’ उनले भने,’ ट्राफिक प्रहरी यात्रुको भेषमा गएर पनि बार्गेनिङ गरी मिटरमा जान नमान्नेलाई कारबाही गरिएको छ । ‘

प्रवक्ता श्रेष्ठले कालो प्लेट भएका टयाक्सी चालकले विभिन्न राइड सेयरिङ एपमा दर्ता गरेर सञ्चालनमा ल्याइरहेको बताए । कालो प्लेट राखेर त्यसरी अनलाइनमा दर्ता गरी चलाउन नपाइने उनले जानकारी दिए ।

ट्राफिकले कति संख्यामा टयाक्सी राइड सेयर एपमा दर्ता छन त्यसको यकिन तथ्यांक राखेको छैन । तर ट्राफिकले एपमा दर्ता भएका टयाक्सीहरूलाई अनुगमन गरिरहेको श्रेष्ठको भनाइ छ ।

काठमाडौँ उपत्यकाभित्र यात्रु र चालक सहमति गरेर जान चाहन्छन् भने त्यस्तो अवस्थामा ट्राफिक प्रहरीले कुनै अवरोध गर्दैन । 

कुनै पनि यात्रुले गन्तव्यमा पुग्न आग्रह गर्दा मिटरमा जान नमान्ने चालकलाई कारबाही गरिने श्रेष्ठले उल्लेख गरे । पीडितले सूचना दिएमा तत्कालै कारबाही गरिने उनले जानकारी दिए । उनले यात्रुलाई कुनै पनि टयाक्सी चालक मिटरमा जान नमाने तुरुन्त खबर गरिदिन अनुरोध गरे ।

‘कालो प्लेट दर्ता गर्दा जुन सर्त पालना गर्ने भनेर भनेका हुन्छन् । त्यहीँ अनुसार नियम नमानेमा कारबाही गरिन्छ,’ उनले अगाडि थपे,’ टयाक्सी चालक मिटरमा जान नमान्ने ठूलै समस्या बनिरहेको छ ।‘

'मिटरमा जान नमान्नेलाई तत्कालै कारबाही गर्नू'

त्यसैगरी नेपाल राष्ट्रिय मिटर टयाक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष राजकुमार श्रेष्ठले मिटरसहित दर्ता भएका टयाक्सीले मिटरबाटै यात्रुलाई सेवा दिनुपर्ने बताएका छन् ।

‘मिटर भएका टयाक्सीले यात्रुलाई मिटरबाटै सेवा दिनुपर्छ,’ उनले भने,’ यदि मिटरबाट जान मानेनन् भने त्यस्ता टयाक्सी चालक कारबाहीको दायरामा आउनुपर्छ ।‘

राज्यको कानुन अनुसार कालो प्लेटमा दर्ता भएकाले कानुन अनुसार काम गर्नुपर्ने उनको भनाइ छ । राज्य र चालकले सहमति गरेर भाडा दर कायम गरेको उनले जानकारी दिए । कुनै पनि टयाक्सी चालकले मिटरमा जाँदा मार परिन्छ भने त्यस्ताले टयाक्सी नचलाए हुने उनको भनाइ छ ।

‘मिटरमा बाहेक चालकले अन्य तरिकाले यात्रुसँग पैसा असुल्न हुँदैन । त्यसलाई गैरकानुनी मानिन्छ । यात्रु र चालक सहमतिमा यात्रा गरेमा गुनासो गर्ने ठाउँ हुँदैन,'  उनले सुनाए,’ यात्रुले मिटरमा जानुपर्छ भन्दा टयाक्सी चालकले मिटरमा जानुपर्छ ।  नमान्नेलाई राज्यले कारबाही गर्नैपर्छ ।‘

अध्यक्ष श्रेष्ठले ट्राफिक प्रहरीले मिटरमा गए नगएको त्यसको निरन्तर अनुगमन गर्नुपर्ने धारणा राखे ।

अहिले भने केही टयाक्सीहरू अनलाइनमार्फत चल्न थालेको सुनेको उनले बताए । अनलाइनमा दर्ता हुनसाथ कारबाही गरिहाल्न नहुने उनको तर्क छ । यात्रु बोक्ने साधन अनलाइनमा दर्ता हुँदा खासै फरक नपर्ने उनले प्रस्ट पारे । प्रविधिको समय भएकाले प्रविधि सँगसँगै हिड्नुपर्ने उनको भनाइ छ । प्रत्येक टयाक्सी चालकको मोबाइलम राइड सेयरिङ एप छ ।

उनका अनुसार टयाक्सीको भाडा नबढेको दश वर्ष भएको थियो । दुई वर्षअघि मात्र सरकारले टयाक्सीको भाडा वृद्धि गरेको थियो । भाडा बढ्नुअघि प्रति किलोमिटर ३९ रुपैयाँ थियो । केही समयअघि मात्र चालक तथा राज्यको सहमतिमा मूल्य समायोजन गरिएको थियो । दुई वर्षअघि मूल्य वृद्धि गरेर अहिले भने प्रतिकिलोमिटर ५० रुपैयाँ भएको छ । अहिले भएको मूल्य समायोजनले कुनै टयाक्सी चालकलाई असर नपार्ने श्रेष्ठको भनाइ छ ।

उनका अनुसार उपत्यकाको  ग्यारेजमा रहेका टयाक्सी गणना गर्दा  कुल १२ हजार संख्यामा छन् । दैनिक उपत्यकामा यात्रुलाई सेवा दिने मिटरसहितको टयाक्सी ८ देखि ९ हजार सञ्‍चालनमा छन् ।

देशलाई विश्वास नगर्नेको संख्या बढ्दै, चार वर्षमा डेढ लाख नेपालीले नागरिकता त्यागेर गए विदेश

अतिन आचार्य | पुस २९, २०८०

काठमाडौँ- चार वर्षमा स्थायी रुपमा एक लाख ४७ हजार नेपालीले देश छाडेका छन् । सन् २०२० मा ५ हजार १४४ जना...

किन भोटका लागि फालिँदैछ विमानस्थल तुरुप ? बन्द छन् साढे १० अर्बमा बनेका २१ विमानस्थल

अतिन आचार्य | मंसिर २५, २०८०

काठमाडौँ- गत बिहीबार धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसहित नेपाल नागरिक उड्डयन प्राध...

अघिल्लाे वर्षभन्दा घातक बन्दै डेंगी, देशैभर प्रकाेप

काठमाडौँ– सामान्य स्वास्थ्य अवस्थामा रहेका उनलाई असारको पहिलो साता एक्कासि ज्वरो आयो । उनले ज्वरोला...

लम्पी स्किन : संकटतिर पशुपालन, कुल बजेटको ७.२ प्रतिशत क्षति हुनसक्ने

काठमाडौँ– पशु चौपायामा लाग्ने लम्पी स्किन रोग अहिले देशभर महामारीका रुपमा फैलिँदो छ । ७१ जिल्ला...

सुख्खायाममा भारतलाई सित्तैमा पानी उपलब्ध गराउने एडीबीको खेल

विकास थापा | असार १८, २०८०

काठमाडौँ- सुख्खायाममा अमृतसमानको नियन्त्रित पानी भारतलाई सित्तैमा उपलब्ध गराउने खेलमा एसियाली विकास बै...

व्यवसायी राई हत्या प्रकरण ३ : शंकरले भनेका ती पाँचजना काे हुन् ? (अडियाे/भिडियाे)

पुष्प श्रेष्ठ | असार १०, २०८०

वैदेशिक रोजगार व्यवसायी रिन्जी राई हत्या प्रकरणमा हामीले निरन्तर फलोअप गरिरहेका छौं ।  पहिलो भागम...

व्यवसायी राई हत्या प्रकरण २ : मृत्युअघि उनलाई यसरी दिइएको थियो दबाब (अडियाे/भिडियाे)

पुष्प श्रेष्ठ | असार ६, २०८०

काठमाडौं– ‘मलेसियामा कसले ग¥यो वैदेशिक रोजगार व्यवसायी रिन्जी राईको हत्या’...

कसले गर्‍याे रोजगार व्यवसायी राईको हत्या मलेसियामा ? (अडियो/भिडियोसहित)

पुष्प श्रेष्ठ | असार ४, २०८०

वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको मृत्यु नेपाल सरकारका लागि सामान्य घटना नै भइसकेको छ । रेमिट्...