समाज

व्यवसायी राई हत्या प्रकरण ३ : शंकरले भनेका ती पाँचजना काे हुन् ? (अडियाे/भिडियाे)

पुष्प श्रेष्ठ |
असार १०, २०८० आइतबार १८:४६ बजे

वैदेशिक रोजगार व्यवसायी रिन्जी राई हत्या प्रकरणमा हामीले निरन्तर फलोअप गरिरहेका छौं ।  पहिलो भागमा हामीले राईको मृत्युपछि प्राप्त गरेका केही अडियो र मृत भेटिँदा खिचिएको श्रव्य दृष्यका आधारमा काठमाडौँको गौशाला नजिकको पिंगलास्थानमा रहेको जे.पी ओभरसिजका प्रचण्ड बम र राई जीवित हुँदा एउटै कोठामा बस्ने योजना बनाएका भान्जा भनिने लोकेश चन्दको बारेमा खुलासा गर्यौं ।

दोश्रो भागमा हामीले प्राप्त गरेका अडियोको आधारमा रिन्जीलाई जबर्जस्ती दबाब दिएर मलेसिया बोलाउने शंकरप्रसाद आचार्य र एम जे नामले मलेसिया परिचित महेन्द्र जंग शाहको बारेमा खुलासा गरेका थियौं ।


नेपालबाट स्वीकृत लिएर धन कमाउन मलेसिया हिँडेका युवाहरूलाई स्थानीय कम्पनीले ३ महिनासम्म काम दिन नसकेपछि आएको समस्या समाधान गर्न उडेका व्यवसायी राई गत अप्रिल ७ तारिख शंकास्पद रूपमा मृत भेटिएका थिए । नेपालबाट आफूले पठाएका कामदारहरूको समस्या मलेसियामा रहेका रोजगारदाता कम्पनी, नेपाली दूतावासले समेत समाधान गर्न नसकेपछि तिनै समस्या समाधान गर्न जाने तरखरमा रहेका राईलाई शंकरप्रसाद आर्चायले पटक–पटक चाँडो मलेसिया आउन दबाब दिएको प्रष्ट रूपमा अडियो मार्फत सुन्न सकिन्छ । एम जे भनिने महेन्द्र जंग शाहीले आउन पर्दैन भन्दाभन्दै जबरजस्ती बोलाइएका शंकरप्रसाद आचार्य हामीसँगको भेटमा नाजवाफ देखिए ।

अडियोमा स्पष्ट रूपमा ‘कमीसन वापतको रकम लिएर आउनु’ भनेर धम्काएर फोन गरेका आचार्यले चक्रपथको एक होटलमा हाम्रो भेट हुँदा मृतक राईसँग आफ्नो  लेनदेन नभएको बताएका थिए । तर, हामीले प्राप्त गरेको फोन संवादमा हरेक पटक ‘एक नेपाली कामदार बराबर २ सय रिंगेटले हुन आउने १३ हजार रिंगेट लिएर मात्र आउनु, अरु कुरा म जान्दिनँ’ भनेको स्पष्ट सुनिन्छ ।

कमीसन वापतको रकम ज्ञानेन्द्र हुसेन भनिने ज्ञानेन्द्र आंग्बोहाङ्ग मार्फत पहिला नै बुझाइसकेको बताउँदा पनि थाहा नभएको बताउने शंकरप्रसाद आचार्यसँगको भेटमा उनी हाम्रो प्रश्नको जवाफ सहजै छलिरहेका थिए । कुराकानीकै सिलसिलामा उनले रिन्जी राईको हत्यामा आफू र महेन्द्र जंग शाहको हात नभएको बताएका थिए । तथापि उनले त्यस दिन मृतक भेटिएको स्थानमा बसेका भान्जा भनिने जेपी ओभरसिजका लोकेश चन्दलगायत उनै जेपीले पठाएको ५ जना नेपाली युवाहरूलाई अनुसन्धानको दायरामा ल्याउने हो भने सबै कुरा पत्ता लाग्ने ठोकुवा गरेका थिए । यो प्रकरणमा आफूले जस्तोसुकै सहयोग गर्न तयार रहेको, नेपालबाट प्रहरी लगेर हुन्छ कि ती ५ जनालाई नेपाल ल्याएर हुन्छ अनुसन्धान गर्न अनुरोध गरेको यो अडियो सुन्नुहोस्  ।

अडियो: शंकरप्रसाद आचार्य

हामीसँगको भेटमा अति मीठा कुरा गर्ने यिनै शंकरप्रसाद आचार्यले रिन्जी राई मलेसिया जानुअघि भनेका थिए, ‘तपाई जसरी पनि आउनु म सहयोग गर्छु ।’ तर, जब रिन्जी राईले २ सय रिंगेट नलिई आएको शंका पाए वा उनको अरु नै केही योजना बनिसकेको थियो ? उनले कति सहयोग गरे त भनेर हामी खोज्दै जाँदा एक श्रोत भेटायौँ । श्रोतले हामीलाई दिएको जानकारी अनुसार शंकरले व्यवसायी राई मलेसिया पुगेपछि खासै राम्रो व्यवहार देखाएनन् । शंकर आचार्यले देखाएको हर्कत यो अडियोबाट प्रष्ट हुन्छ । प्राप्त अडियो आवाज हाम्रो श्रोत भएकोले श्रोत माथि हुन सक्ने खतरालाई मध्यनजर गर्दै अडियो आवाज परिवर्तन गरिएको छ । 

श्रोतको अडियो:

नेपालबाट दबाब दिएर मलेसिया बोलाइएका राईलाई पटक–पटक दबाब दिएको एक थप अडियो फेला पारेका छौं, जसमा शंकरले आफ्नो काम गराउन (स्वीकृतिका लागि) नेपाली दूतावास, मलेसियालाई कमीसन दिएको भनेका छन् । यो कमीसनका बारेमा हामीले बुझ्ने प्रयास गरिरहेका छौं । आगामी अंकमा हामी नेपाली दूतावासले लिएको भनेको कमीसनको बारेमा थप खुलासा गर्नेछौ । 

किन पटक–पटक शंकरलाई यो २ सय रिंगेटले रिंगाटा चलायो ? कतै व्यवसायी राई र मलेसियामा रहेको अर्का व्यवसायी एम जे भनिने महेन्द्र जंग शाहीको व्यवसायबीचको सम्बन्ध राम्रो देखेर त हैन ? अरुले गरेको कामको अभिभारा मैले बोकेको हुँ र मैले नै नेपाली दूतावासलाई कमीसन बुझाएको भन्ने शंकर आचार्यले रिन्जी राईसँग अनौपचारिक संवादमा भएका केही कुरा राईले शाहलाई सुनाएका छन् । राईको कुरा सुनेर केही आक्रोशित सुनिएको यो अडियो सुन्नु होस् । 

रिन्जी राई र महेन्द्र जंग शाहीबीचको कुराकानी: 

समग्र घटनाको प्रकृति हेर्दा यहाँसम्म शंकरप्रसाद आचार्यले बढी नै दबाब दिएको स्पष्ट हुन्छ । मलेसिया पुगेपछि सँगै रहेका भन्जा भनिने लोकेश चन्द मध्यरातमा हिँड्नु, यता नेपालमा रहेका लोकेश चन्दका मामा प्रचण्ड बमले गलत अफवाह फैलाउनु अनि हामीसँगको भेटमा तिनै शंकरप्रसाद आचार्यले जेपी ओभरसिजका लोकेश चन्दसहित अन्य ५ जनालाई सोधपुछ गर्नुपर्ने तर्क गर्नु । केहीअघि हामीसँगको भेटमा लोकेश चन्दले पनि राईसँग तीन जना रहेको भन्दै सोधपुछ गर्न आग्रह गरेका थिए ।

​तत्कालीन नेकपा माओवादीको सशस्त्र द्वन्द्वले गाउँका युवाहरू शहर पलाएन हुन थाले । रिन्जी राई पनि उनीहरूसँगै राजधानी पसे । त्यसबेला लेखेर परिवार पाल्छु भनेर छिरेका राईको सपना राजधानीजस्तो विशाल शहरले बुझ्न सकेन । त्यसपछि वैदेशिक रोजगार व्यवसायी भएर काम सुरु गरे । तर, पनि उनको लेख्न भने छाडेनन् । यात्रा कविता संग्रहसँगै उने ‘प्रीत’ नामक आधुनिक गीति संग्रह पनि नेपाली बजारमा ल्याउन सफल भए ।

कामको तनाव परिवारको खुसी, सामाजिक सेवालगायत विभिन्न कार्यमा संलग्न हुँदाहुँदै १९ वर्षअघि राईलाई मधुमेह रोगले भेट्टायो । सानैदेखि शाकाहारीमा हुर्केका उनी पनि शाकाहारी बने । मधुमेह लागेपछि नियमित उपचारमा रहेका राई औषधिसँगै इन्सुलिनको इन्जेक्सन लगाउने गरेका थिए । मधुमेहकै कारण दुवै हात कानभन्दा माथि लैजान सक्दैनथे । उनले विभिन्न समयमा हात माथि लैजानका लागि डाक्टरले दिएको रोग निदानको पत्र र फिजियोथेरापी गरेको प्रमाण हेर्नुहोस् । 

 

 

हामीले मृतक राईबारेमा अप्रिल ७ तारिखबाट नै घटनालाई नजिकबाट नियालिरहेका थियौं । हाम्रो निरन्तरको खोजले राईको मृत्यु आत्महत्याबाट भएको भन्नेबारे कसैले भन्न सकेका छैनन् र हामी खोजले पनि त्यही बताउँछ । तर, जेपी ओभरसिजका मामा भनिने प्रचण्ड बमलाई कसरी थाहा भयो कि राईले झुण्डिएर आत्महत्या गरे ? मलेसियामै रहेका अर्का व्यवसायी जसले पटक–पटक रिन्जी राईलाई फोन मार्फत विभिन्न विषयमा दबाब दिएका थिए । उनै आचार्यले समेत राईको मृत्युको बारेमा बोलेको यो संवाद सुन्नुहोस् ।

शंकरप्रसाद आचार्यको अडियो हामीले भेट्दा बोलेका कुरा:

प्रश्न नं १: उनै मृतक राईबारेमा परिवारसँग कुनै सोधपुछ नै नगरी जेपी ओभरसिजका प्रचण्ड बमले मृतक राईले पटक–पटक सुई लगाउने रहेछ, गोजीमा पनि पोइजन बोकेर हिँडेका रहेछन् भनेर किन अफवाह फैलाए ?

प्रश्न नं २: शंकरप्रसाद आचार्यले के आधारमा जेपी ओभरसिजका ५ जना कामदारसहित जेपीकै लोकेश चन्दतिर किन औला तेर्स्याए ?

प्रश्न नं ३: शंकरप्रसाद आचार्यले महेन्द्र जंग शाह र रिन्जी राइको बीच पसेर किन फुटाउन खोजे ? ज्ञानेन्द्र हुसेन भनिने ज्ञानेन्द्र आंग्बोहाङ्ग पैसा बुझाएको पटक–पटक भन्दा पनि शंकरप्रसाद आचार्यले किन बुझ्न चाहेनन् ?

प्रश्न नं ४: शंकरप्रसाद आचार्यले नेपाली दूतावास मलेसिया आफैले सबै काम गरेको र सहज रूपमा काम लिन सफल भएको भनी जश लिन खोजेको देखिन्छ । तर, काम कति गरे भनेर महेन्द्र जंग शाहले माथि सुनिएको अडियोबाट प्रष्ट हुन्छ । यिनले किन यस्तो व्यवहार राईमाथि देखाए ?

प्रश्न नं ५: शंकरप्रसाद आचार्य नेपाल आएका बखत हामीले उनलाई चक्रपथमा भेटेका थियौँ । पुन: दोस्रोपटक जेपी ओभरसिजका प्रचण्ड बम र लोकेश चन्दलाई भेटाउने भनेर छुटेका उनी सम्पर्कमा न आउनुको कारण के हुन सक्छ ?

प्रश्न नं ६: ज्ञानेन्द्र हुसेन भनिने ज्ञानेन्द्र आंग्बोहाङ्ग रिन्जी राईको मृत्युपछि कहाँ छन् ? राईसँग लिएको पैसा कहाँ कसलाई बुझाए ? उनले केका लागि पैसा लिएका थिए ? राईसँगको व्यावसायिक सम्बन्ध के हो ? उनले राईको मृत्युलाई कसरी हेरेका छन् ? यी प्रश्नको जवाफका लागि ज्ञानेन्द्र आंग्बोहाङ्ग किन सम्पर्कमा आउन चाहँदैनन् ?

प्रश्न नं ७: नेपाली दूतावास मलेसियाले मृतकको हराएको फोन कहाँ छ भनेर मलेसियन प्रहरीसँग बुझ्न किन चाहेन ?

प्रश्न नं ८: रिन्जी राईले प्रयाग गर्ने गरेको फोन Huawei Nova 3I malaysi ma April 8 /6.48 Am सम्म चलेको देखिन्छ ? कसले चलायो यो फोन किन मौन छ नेपाली दूतावास र मलेसियाका प्रहरीहरू ?


राईको मृत्युले धेरै प्रश्नहरू उब्जाएको छ । उनी सुतेको बेडदेखि भेटिएका मृतकको अवस्था र हामीले प्राप्त गरेका अडियोले मृतककाे आत्महत्या नभई हत्या नै भएको स्पष्ट हुन्छ । मृतक राईको परिवारले गृह मन्त्रालयमार्फत अनुसन्धानका लागि अनुरोध गरेको पत्रको कारबाही नेपाली दूतावास मलेसियाले कसरी के गरिरहेको छ हेर्न बाँकी छ । कमीसन आएर वा लिएर स्वीकृत गरेको कामदारका लागि दूतावासले किन सहज रूपमा व्यवस्थापन गर्न सकेन, नेपाल सरकार यसमा किन मौन छ ?

नेपालीले विदेशमा ज्यान फालेको, तातो घाममा पसिना बगाएको, मेसिनमा काटिएर रगत बगाएको र सडकमा किचिएर मारिएको, सुतेका अवस्था मृत भेटिएको, हत्या भएको अवस्थामा तिनै मृतकले तिरेर गएको बीमा, पठाएको रेमिटेन्सको के महत्व राख्छ देशलाई ? पक्कै जनसंख्या बढी भएर पठाएको त हैन होला ? रेमिट्यान्स आउँछ, परिवार, देश चल्छ भनेर नै गएका हुन् । 


यसै विषयमा लेखिएका यसअघिका न्युज रिपाेर्टहरू:

व्यवसायी राई हत्या प्रकरण २ : मृत्युअघि उनलाई यसरी दिइएको थियो दबाब (अडियाे/भिडियाे)

कसले गर्‍याे रोजगार व्यवसायी राईको हत्या मलेसियामा ? (अडियो/भिडियोसहित)

 


Author

थप समाचार
x