घटना-दुर्घटना

व्यवसायी राई हत्या प्रकरण २ : मृत्युअघि उनलाई यसरी दिइएको थियो दबाब (अडियाे/भिडियाे)

पुष्प श्रेष्ठ |
असार ६, २०८० बुधबार १९:३४ बजे

काठमाडौं– ‘मलेसियामा कसले ग¥यो वैदेशिक रोजगार व्यवसायी रिन्जी राईको हत्या’ शीर्षकको पहिलो भागमा हामीले रिन्जी राईको शंकास्पद मृत्युपछि भेटिएका प्रमाणको आधारमा मामा भनिने प्रचण्ड बम र भान्जा भनिने लोकेश चन्दको बारेमा खुलासा गरेका थियौं । आज हामी रिन्जी राईको शंकास्पद मृत्युअघि टेलिफोनमार्फत दबाब दिनेहरुको खुलासा गर्न गइरहेका छौं ।  

अप्रिल ४ तारिख नेपालबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदैं मलेसिया उडेका वैदेशिक रोजगार व्यवसायी रिन्जी राईको मृत शरीर शंकास्पद अवस्थामा भेटिएको थियो । 


मलेसिया पुगेका नेपाली युवाहरुले त्यहाँ काम पाउन नसकेपछि समस्यामा परेका थिए । मलेसियाली कम्पनी स्टार डोमेन रिसोर्स कम्पनीले त्यहाँको बन्दरबारु निलाइमा १६७ नेपाली कामदार र ५९ जना बंगालादेशी युवाहरु बिच्चली पारेको थियो । 
 

कोभिडपछि बन्द रहेको मलेसियाले २०२२ अप्रिलबाट नेपाली कामदार लिन थालेको थियो । कोटा तोकेर कामदार लैजाने निर्णय गरेलगत्तै मलेसियामा रहेको स्टार डोमेनले ८ सय ५० जना कामदार लैजाने अनुमति माग्दै क्वालाम्पुरस्थित नेपाली दूताबासमा गत सेप्टेम्बरमा माग पत्र पेस गरेको थियो । तर नेपाली दूताबासका श्रम काउन्सिलर दीपक ढकालले कम्पनीको आधिकारिता पुष्टि हुन नसकेको भन्दै रोकिदिए ।

यसैबीच श्रम काउन्सिलर दीपक ढकाल र श्रम सहचारी केशव पन्थी नेपाली दूतावास मलेसियाको कार्यकाल सकेर नेपाल फर्केपछि माग–पत्र प्रमाणीकरणको जिम्मेवारी राजदूत डिल्लीराज पौडेलले लिए ।

राजदूत पौडेलले सुरक्षा र क्लिनिङ क्षेत्रमा समस्या रहेको भन्दै स्टार डामेन सञ्चालकलाई बोलाएर कामदारको काम र सुरक्षाको प्रतिबद्धता जनाएपछि प्रमाणीकरण गरिदिए । यसरी प्रमाणीकरण गर्दा ठूलो रकम कमीसनस्वरुप व्यवसायीहरुले दिनुपरेको बताएका छन् । प्रमाणीकरण भएपछि स्टार डोमेनले नेपालबाट कामदार लैजान अनुमति पायो र नेपालमा रहेका ६ वटा मेनपावर कम्पनीबाट नेपाली युवाहरुलाई मलेसिया पु¥याएको थियो । ती नेपाली म्यानपावरहरु थिए जेपी ओभरसिजका ५६ जना, मार्भेलस र रोजबाट ६५ जना नूर ओभरसिजबाट ४६ जना गरी १ सय ६७ नेपाली युवाहरु थिए ।

मलेसियन कम्पनी स्टार डोमिनको चलखेलबारे न नेपाली दूतावासले सूइँको पायो, न त नेपाली म्यानपावर व्यवसायीहरुले नै । प्रतिव्यक्ति २ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्म उठाएर पठाएको कामदारहरुलाई स्टार डोमेनले ३ महिनासम्म काम दिन सकेन । यसपछि सेलेङ्गारको निलाईस्थित एक भवनमा ती नेपाली युवाहरुलाई राखिएको थियो । समस्या चुलिंदै गयो, तर स्टार डोमेनले समाधान गर्न सकेन । नेपालबाट नेपाली म्यानपावर सञ्चालकहरुलाई मलेसिया बोलाइयो, यही क्रम मृतक रिन्जी राई मलेसिया गइसकेका थिए ।

मलेसियाबाट तानावाना बुनिरहेका नेपालीहरु शंकर आचार्य र एम जे भनिने महेन्द्र जंग शाहले मृतक राईलाई टेलिफोनमार्फत धम्काएको अडियो सम्वादबाट प्रष्ट हुन्छ । 

४ अप्रिल २०२३ को साँझ उडेका व्यवसायी राई अप्रिल ७ तारिख बिहान शंकास्पद अवस्थामा मृत भेटिएका थिए । उनका दुवैै खुट्टा पूर्ण रुपमा भुइँमा टेकिएको, आँखामा लगाएको चस्मासमेत नझरेको, गम्छाजस्तो सलमा पूरै टाई लगाएको जस्तो गरी बाथरुमको नुहाएर जीउ पुछ्न कपडा प्रयोग गर्न राखिएको हुकमा गम्छा अड्कायर उभिएको अवस्थामा भेटिएको थियो । अप्रिल ६ तारिख साँझ साढे आठ बजे नेपालमा रहेकी श्रीमती इन्द्रसुवा राईसँग कुरा गरी आराम गर्न गएका राई बिहान सेलेङ्गारको निलाईस्थित १५ तले भवनको सातौं तलामा कामदारहरुले मृत भेटिएका हुन् । 

फुटेजमा देखिएअनुसार कामदारहरुले भित्र मानिस मृत अवस्थामा रहेको थाहा पाएझैँ गरी बाहिरबाटै गाली गलौज गर्दै भिडियो खिच्दै ढोका खोलेको देखिन्छ ।
यी कामदारहरुलाई ढोका नै नखोली कसरी थाहा भयो कि रिन्जी राई भित्र झुण्डिएको छ भन्ने ? ढोकामा लगाएको लक पनि चाबी नै नछिराई खुलेको देखिन्छ । हेर्दा लाग्छ कुनै व्यक्तिले ठूलै गल्ती गरेर समात्न हिंडेको झंै गरी यति धेरै कामदार भिडियो खिच्दै भित्र पस्ने आँट कसरी गरे ? घटनाबारेमा स्थानीय प्रहरीलाई खबर गर्नुपर्ने तर यिनीहरुले नै सबै प्रक्रिया भिडियोबाटै पूरा गरे । त्यसपछि त्यहाँ न प्रहरी आयो, न बाँकी भिडियो नै । भित्र रिन्जी नै छ भन्दै नेपाली भाषामा गाली गर्दै पस्ने नेपाली को हुन ? यही भिडियोमा देखिएको अन्य केटाहरु कहाँका थिए ? हालसम्म यसबारे न मलेसिया प्रहरीले सार्वजनिक गरेको छ । न त यसबारे नेपाली राजदुतावासले नै बोलेको छ । 

नेपाली युवाहरुलाई समस्या परेपछि स्टार डोमेनसँग दलाल एजेन्ट गरेका शंकरप्रसाद आचार्य, एम जे नामले परिचित महेन्द्र जंग शाह, ज्ञानेन्द्र हुसेन नामले परिचित ज्ञानेन्द्र आँग्वोहाँलगायतले राईलाई फोन र भ्वाइस मेसेजमार्फत मलेसिया आउन दबाब दिएको यो अडियाे सुन्नहोस् ः


मलेसियामा रहेका नेपाली युवा कामदारहरुलाई त्यहाँ रहेका दलालहरुले दुःख दिएको त सबैले देखेको सुनेका नै थियौ । तर नेपाली म्यानपावर व्यवसायीहरुलाई यसरी दुःख दिन्छ भन्ने सुनेको सायद पहिलो हुनसक्छ ।

नेपालदेखि विवादित छवि बोकेर मलेसिया छिरेका एम जे भनिने महेन्द्रजँग शाह र शंकर आचार्यलगायत ज्ञानेन्द्र हुसेन भनिने ज्ञानेन्द्र आँग्वोहाँङ्गको मिलेमतोमा राईलाई ठग्ने रणनीति बनाएका थिए । मृतक राईले महेन्द्रजंग शाहको निर्देशनमा ज्ञानेन्द्र हुसेन भनिने ज्ञानेन्द्र आँग्वोहाङ्गँलाई एक कामदार बराबरको २ सय रिँगेट पठाएका थिए । ज्ञानेन्द्र हुसेन भनिने ज्ञानेन्द्र आँग्वोहाँले त्यो पैसा न शंकरप्रसाद आचार्यलाई दिए न एम जे नामले परिचित महेन्द्रजंग शाहलाई नै दिए । उनै ज्ञानेन्द्र हुसेन भनिने ज्ञानेन्द्र आँग्वोहाँङ्गले त्यो रकम पचाइदिए । यही २ सय रिंगेटमा शंकरप्रसाद आचार्यले मृतक रिन्जी राईलाई दबाब दिएका थिए ।
हामीले प्राप्त गरेको एक अडियोमा ‘महेन्द्र जंग शाही भन्ने व्यक्ति डन हो । यसले त दिउसै मानिसलाई नालीमा सुताई दिन्छ’ भनिएको छ यो सुन्नु होस । 

 

उक्त घटनाको मुख्य पात्र यहाँसम्म आइपुग्दा यिनै शंकरप्रसाद आचार्य र मामा भनिने प्रचण्ड बम जसले राईको मृत्युबारे गलत अफाह फैलाए र सँगै बस्ने भनेका भान्जा भनिने लोकेश चन्दले मध्यरातमा छाडेर हिड्नु महेन्द्रजंग शाहले घटना घटेपछि आजसम्म परिवारका सदस्यलाई सम्र्पक नगर्नु, ज्ञानेन्द्र आँबोहाङ्ग जस्ले कमिसनबापतको रकम लिएर पनि महेन्द्र र शंकरलाई जानकारी नदिनु । ब्यवसायी राईलाई पटक–पटक कमिसन बापतको रकम माग गर्नुले मृतकका परिवारले यिनै माथि शंकाका सुई घुमाई रहेको छ । रिन्जी राई मलेसिया जाने भनेर प्रक्रिया अगाडि बढाउँदा बढाउँदै शंकरप्रसाद आचार्यले दिन नै तोकेर ‘टिकट काट्नुस भिसा लागेन भने म पैसा तिर्छु’ भन्दै जबर्जस्ती मलेसिया आउन दवाव दिइएको छ ।

यस्तै दबाबबीच नेपालबाट मलेसिया उडेको एक म्यानपावर व्यवसायीको दुखद अन्तत अप्रिल ७ तारिख शंकास्पद रुपमा भयो । 
 

याे पनि पढ्नुहाेस्

​कसले गर्‍याे रोजगार व्यवसायी राईको हत्या मलेसियामा ? (अडियो/भिडियोसहित)


Author

थप समाचार
x