घटना-दुर्घटना

चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु

इकागज |
बैशाख १४, २०८१ शुक्रबार १३:५० बजे

फाइल फोटो

काँक्रेविहार- कर्णाली प्रदेशमा विगत चार वर्षमा आगलागीबाट ५५ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आगलागीकै कारण ६७ करोड ९७ लाख ३२ हजार बराबरको क्षति भएको छ ।

उक्त तथ्याङ्कअनुसार मुगुमा रु ३१ करोड २८ लाख ४४ हजार बराबरको क्षति भएको छ ।      त्यस्तै, जुम्लामा रु ११ करोड ६६ लाख ४७ हजार बराबरको क्षति भएको छ । कर्णालीमा आर्थिक वर्ष २०७७/०७८, ०७८/०७९, ०७९/०८०, र चालु आवको चैत मसान्तसम्म आगलागीमा परी ६७ जना घाइते भएका छन् । आगलागीमा परी सबैभन्दा बढी मानवीय क्षति कालीकोटमा भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए ।


ओलीका अनुसार कालीकोटमा १३ जना, डोल्पामा आठ जना, सल्यानमा सात, सुर्खेत र जुम्लामा छ–छ जना, दैलेखमा पाँच, मुगुमा चार, जाजरकोट, रुकुमपश्चिम र हुम्लामा दुई-दुई जनाको मृत्यु भएको छ । दुई सय ७८ घर परिवार विस्थापित भएका छन् । तीन सय ५८ वटा पशुचौपायाको क्षति भएको छ ।

चार वर्षमा सबैभन्दा बढी जुम्लामा एक सय २३ घर परिवार विस्थापित भएका छन् । सल्यानमा ४०, जाजरकोटमा ३३, कालीकोटमा ३१, रुकुम पश्चिममा २५, सुर्खेतमा २०, दैलेखमा चार, हुम्लामा दुई घर परिवार विस्थापित भएका हुन् ।

आगलागी तथा विभिन्न विपद्मा तत्काल उद्धारका लागि कर्णालीका १० वटै जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली २४सै  घण्टा तयारी अवस्थामा राखिएको प्रवक्ता ओलीले जानकारी दिए ।

आगलागी तथा वन डढेलो नियन्त्रणका लागि प्रहरी एक्लैले सम्भव नभएकाले स्थानीय सरकार तथा समुदायले सहयोग गर्नुपर्ने उनले बताए । कर्णालीमा वनजङ्गल नजिकै बस्ती र खरको छानो भएकाले आगलागीका घटना धेरै हुने गरेका छन् । चैत महिनामा मात्रै आगलागीमा परी कर्णालीमा सात जनाको मृत्यु भएको छ ।

गत चैत २ मा बाख्रा चराउन गएका कालीकोटको खाडाचक्र-५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी ५० वर्षका नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको थियो । नन्दरामका ४५ वटा बाख्रा जलेर मरेका थिए ।

यस्तै चैत ३० गते हुम्लाको सर्केगाड गाउँपालिका-८ रादेउ कुरिल्ला लेखको आफ्नै भेँडीगोठमा राति आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको मृत्यु भएको थियो । भेँडीगोठको आगलागीबाट ६० वटा भेँडासमेत मरेका थिए । चैतमै ३० मा डोल्पामा आगलागीमा परी १० वर्षका सुलज बुढाको मृत्यु भयो । उपचारका क्रममा जिल्ला अस्पताल डोल्पामा बुढाको मृत्यु भएको थियो ।

त्यसैगरी चैत २६ गते डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका नेपाली सेनाको देवीदत्त गुल्मका तीन जना सिपाहीको मृत्यु भएको थियो । मृत्यु हुनेमा काभ्रे घर भएका ३८ वर्षका सेनाका जमदार केशवबहादुर जर्गा मगर र हुम्ला घर भएका २३ वर्षका सिपाही आशीष बुढा र जुम्लाको तातोपानी गाउँपालिका-४ का २४ वर्षीय हेमन्त रावत थिए ।

कर्णालीमा अझै कतिपय घरमा टुकी, दियालो बाल्ने गरेको र चुरोट तमाखु खाँदा फालिएको आगोलगायतले आगलागी हुने गरेको प्रहरीको भनाइ छ । सहरी क्षेत्रमा भने विद्युत् सर्ट भइ आगलागी हुने गरेका छन् ।

गाउँका सामुदायिक वनमा घाँस राम्रो पलाउने भन्दै आगो लगाउने प्रवृत्ति रोकिएको छैन । गोठालो जाने स्थानीयवासी र बालबालिकाले आगो लगाउने गरेका छन् । आगो लगाउँदा कसैले कारबाही नभोगेका कारण बर्सेनि आगलागीका घटना बढेको हो । यसरी आगो लगाउँदा वनक्षेत्रसँगै  जङ्गली जनावार, चरा चुरुङ्गी मासिने गरेको छ । रासस


Author

थप समाचार
x