दल

एकीकृत समाजवादीको निष्कर्ष : पार्टी विभाजनसम्बन्धी चलेको हल्ला गलत र भ्रामक

इकागज |
बैशाख २४, २०८१ सोमबार १८:६ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले पार्टी विभाजनसम्बन्धी चलेको हल्ला गलत र भ्रामक रहेको निष्कर्ष निकालेको छ ।

सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठकले संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा र हल्लाहरू गलत रहेको भन्दै त्यस्ता भ्रमहरूमा नपर्न सबैलाई अनुरोध गरेको छ ।


बैठकमा सबै सांसदहरूको उपस्थिति रहेको र पार्टी संसदीय दल एकताबद्ध रहेको निष्कर्ष रहेको प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए । पार्टीको विवादका बारेमा चलाइएका हल्लाहरू नियोजित रहेको उनले बताए । बैठकमा सांसदहरूले अहिलेको गठबन्धनलाई नै निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

प्रमुख सचेतक चौधरीले बजेट अधिवेशनसम्म सरकारलाई दिएको समर्थन फिर्ता नहुने र त्यसपछि पुन: बैठक बसेर आवश्यक निर्णय लिइने जिकिर गरे ।

संसदीय दलको बैठकले सरकारले ल्याउने नीति कार्यक्रम र बजेटबारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझावहरू दिने निर्णय गर्दै आगामी अधिवेशनमा जनसरोकारका विषयहरू सशक्त रूपमा उठाउने र कानुन निर्माण प्रक्रियामा सक्रिय भूमिका निभाउने निर्णय गरेको चौधरीले बताए ।

उनले अहिलेको अवस्थामा दलहरू विभाजन हुनुले राष्ट्रियतालाई नै कमजोर पार्ने धारणा राखे । 


Author

थप समाचार
x