दल

सबै वामपन्थी आउनुहोस्, सबै एकजुट हौँ : अध्यक्ष ओली

इकागज |
बैशाख २४, २०८१ सोमबार १८:३४ बजे

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै वामपन्थी पार्टीहरूका बीचमा एकताको आवश्यकता औंल्याएका छन् ।​

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित ‘वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’ को विमोचन गर्दै उनले सबै वामपन्थी र कम्युनिष्टलाई एमालेमा समाहित हुन आह्वान गरे । 'आफूलाई वामपन्थी र कम्युनिष्ट भन्ने सबै व्यक्तिलाई एमालेको सही धारमा छ । यसै धारमा समाहित हुन म आग्रह गर्न चाहन्छु । सबै आउनुहोस्, सबै एकजुट हौँ,' उनले भने ।  


उनले आफ्नो पार्टी एमाले एकता स्वार्थका लागि नभई सफलताका लागि एकता अभियान सञ्चालन गर्ने बताए । उनले मुलुकको राष्ट्रिय शक्तिका रूपमा रहेको एमालेलाई निर्णायक तहमा विकास गर्न आफूले चाहेको जिकिर गरे ।    

अध्यक्ष ओलीले एमालेको वैचारिक रूपमा स्पष्टता, साङ्गठनिक रूपमा एकता, कुनै भावनाबेगर नभई सही विश्लेषण र नीतिकै आधारमा पार्टी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 'पार्टीमा गल्ती हुन सक्छन् र ती गल्तीलाई सच्चाइनुपर्दछ । आत्मकेन्द्रित होइन । देश र जनता केन्द्रित भएर हामी चल्न सिक्नुपर्दछ,' उनले भने । 

अध्यक्ष ओलीले  उपनिर्वाचनको परिमाण मिसन २०८४ को सफलताको सुरुआत रहेको बताए । 'हाम्रो पक्षमा उपनिर्वाचनको नतिजा आयो । यो हाम्रो मिसन ८४ तर्फको सफलताको सुरुआत हो । मिसन ८४ लाई हामी सफल पारेर छाड्छौँ । यस अभियानमा सही ढङ्गले समाहित हुन साथीहरूलाई आग्रह गर्न चाहन्छु,' उनले भने ।

उनले सिद्धिलाल ज्ञवाली देश, जनता, पार्टी र आन्दोलनप्रति निष्ठा भएको राजनीतिज्ञ  र परिवर्तन साकार पार्नका लागि साँच्चै समर्पित भएर रात दिन काम गर्ने व्यक्ति रहेको बताए । 'उहाँसँग मेरो घनिष्ट सम्बन्ध रहेको थियो । २०५४ सालतिर अन्तिमतिर पार्टी अलि ठीक ढङ्गले नचल्ने, समस्या पैदा हुने र हेर्दाहेर्दै अनावश्यक ढङ्गले पार्टी विभाजन हुने काम भयो,' उनले भने, 'त्यसपछि हाम्रो सम्बन्ध पातलियो र एकअर्कामा स्नेह र सद्भाव कहिल्यै हटेन ।' 


Author

थप समाचार
x