स्वास्थ्य

लम्पी स्किन : संकटतिर पशुपालन, कुल बजेटको ७.२ प्रतिशत क्षति हुनसक्ने

साढे १० लाख पशुचौपायामा संक्रमण पुष्टि हुँदा ४० हजार मरे, खाेपकाे समस्या देशैभर

काठमाडौँ– पशु चौपायामा लाग्ने लम्पी स्किन रोग अहिले देशभर महामारीका रुपमा फैलिँदो छ । ७१ जिल्लामा फैलिइसकेको यो रोग नियन्त्रणका लागि स्थानीयदेखि संघीय सरकारले अनेकौं उपाय लगाउँदासमेत समाधानउन्मुख भएको छैन ।

देशभर साढे दस लाख पशु चौपायामा लम्पी स्किन संक्रमण हुँदा ४० हजारको मृत्यु भएको छ । सुदूरपश्चिम, कोशी, वाग्मती, कर्णालीमा संक्रमितको संख्या बढ्दो छ । साढे १० लाखमा संक्रमण हुँदा सुदूरपश्चिममा मात्रै तीन लाख १० हजारमा संक्रमण फैलिएको छ भने ४० हजार पशुचौपाया यो रोगबाट मृत्यु हुँदा २५ हजार ६ सय सुदूरपश्चिममै छ ।


लम्पी स्किन रोगबाट कोशी प्रदेशमा झण्डै पाँच हजार पशु मरेका छन् । दुई लाख १२ हजार पशुमा संक्रमण भइसक्दा आधाले मात्रै खोप प्राप्त गरेका छन् । यो रोगबाट अहिलेपनि दुई लाख पशुचौपाया थला परेका छन् ।

त्यस्तै मधेश प्रदेशमा हालसम्म ५२ हजार ६ सय ८६ गाईवस्तु पशुचौपाया प्रभावित भएका छन् । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका अनुसार पछिल्लो आर्थिक वर्ष २०७९/०८० सम्ममा ५० हजार ९७१ गाई/गोरु र एक हजार ७१५ भैंसी राँगोमा लम्पी स्किनको संक्रमण पुष्टि भएको हो ।

निर्देशनालय दिएको जानकारी अनुसार हालसम्म प्रदेशका ८ वटा जिल्लामा गरी लम्पी स्कीन संक्रमणबाट एक हजार ७ सय गाईवस्तु चौपाया मरेको छ ।

वागमतीको विभिन्न स्थानमा पनि यो रोग झन् झन फैंलदो छ । तथ्यांकअनुसार कुल एक लाख ३९ हजार ८ सय ३८ पशुमा संक्रमण पुष्टि हुँदा तीन हजार चार सय ७६ पशु चौपाया मरे । वागमतीमा ९७ हजार तीन सय ५१ मा खोप लगाइएको छ ।

गण्डकीको अवस्था पनि भयावह देखिन्छ । यहाँका ४८ हजार एक सय ३९ मा संक्रमण पुष्टि हुँदा एक हजार आठ सय १ पशु चौपाया मरेका छन्  भने लुम्बिनी प्रदेशमा पनि यो रोग झन झनै फैलिँदो छ ।करिब ८४ हजार पशु चौपाया संक्रमित हुँदा पाँच हजारको मृत्यु भयो ।

कर्णालीमा हालसम्म दुई लाख १७ हजार एक सय ३५ मा लम्पी स्किन पुष्टि भएको छ । तीमध्ये ६ हजार सात सय ४१ पशु चौपाया मरेका छन् ।

लम्पी स्किन फैलिएका कारण यो बर्खामा भइरहेका रोपाईं प्रभावित बनेका छन् । गोरुहरु बिरामी पर्न थालेपछि रोपाईंमा जोत्नका लागि गोरु अभाव हुँदा किसानहरु मर्कामा परेका हुन् ।

लम्पी स्किन रोगका कारण गोरु मरेपछि कृषकलाई खेत जोत्न समस्या भएको छ । धान रोपाइँको चटारोका बीचमा सो रोगबाट गोरु मरेपछि कृषकलाई समस्या भएको हो । गोरुको विकल्प ट्रयाक्टर भए पनि कतिपय किसानले ट्र्याक्टर किन्न सक्ने अवस्था छैन  ।

‘लम्पी स्किन सङ्क्रमण भएकै अवस्थामा काममा लगाउँदा त्यसैका कारण पशुको मृत्यु भएको हुनसक्ने देखिएको छ,’ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठले भने ,‘लम्पी स्किन सङ्क्रमण हुँदैमा मृत्यु हुने होइन, बिरामी भएको अवस्थामा काम गर्नुपर्दा पशुलाई गाह्रो भएर मृत्यु भएको देखिएको छ ।’

यसको नियन्त्रणका लागि अहिले देशैभर खोप अभियान पनि चलाइएको छ । तर नियन्त्रणका लागि निकै चुनौतीको सामना गर्नुपरेको अवस्था देखिन्छ । यो संक्रामक रोगले पशुपालन क्षेत्र अहिले संकटमा रहेको पशु चिकित्सकहरु बताउँछन् । देशका ७१ जिल्लामा फैलिइसकेको यो रोगका कारण हालसम्म २७ अर्ब २२ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भइसकेको नेपाल पशु चिकित्सा परिषदले जनाएको छ । 

परिषदको आंकलन छ– ‘यही रफ्तारमा रोगको संक्रमण फैलिने हो भने चालु आर्थिक वर्षको कुल बजेटको ७.२ प्रतिशत रकम बराबरको क्षति हुनेछ ।’
परिषदले एउटा पशुको मृत्यु हुँदा कृषकलाई सरदर ४९ हजार १३५ रुपैयाँको क्षति भइरहेको छ । ‘यही अनुपातमा संक्रमित पशुको मृत्यु भएको अवस्थामा १ लाख गाई–भैँसी मर्छन् । त्यो भनेको १ खर्ब २६ अर्बको क्षति हो,’ परिषदले सरकारलाई बुझाएको ध्यानाकर्षणहितको सुझाव प्रतिवेदनमा भनिएको छ । यो क्षति आर्थिक

वर्ष २०८०/०८१ को कुल बजेटको ७.२ प्रतिशत हुने सुझाव पत्रमा उल्लेख छ  । यो रोग लागेपछि हुने मृत्युदर हाल ३.८ प्रतिशत छ ।

संक्रमण पूर्व खोप लगाउन सकिएन कोशीमा, संक्रमितमध्ये आधालाई मात्रै खोप

पशुचौपायामा तीब्र रुपमा फैलिएको ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशमा झण्डै पाँच हजार पशु मरेका छन् । दुई लाख १२ हजार पशुमा संक्रमण भइसक्दा आधाले मात्रै खोप प्राप्त गरेका छन् । यो रोगबाट अहिलेपनि दुई लाख पशुचौपाया थला परेका छन् ।

कोशी प्रदेशका १४ वटा जिल्ला मध्ये सवैभन्दा बढी इलाममा १ हजार ३८२ वटा पशु चौपाया मरेको कोशी प्रदेशस्थित पशुपंक्षी तथा मत्यविकास निर्देशनालयले जनाएको छ । यो जिल्लामा लम्पी स्किनबाट ३१ हजार ३ सय ३९ पशु प्रभावित छन् । सवैभन्दा कम संखुवासभामा ३५ चौपाया मरेको जनाइएको छ । 

इलामपछि मोरङमा ४२९ वटा पशु मरिसकेका छन् । नेपालमा २०७७ साउन २२ मा पहिलो पटक मोरङ जिल्लामै लम्पी स्किनको संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । त्यसपछि आठ जिल्लाका ११ वटा पालिकामा फैलिएको लम्पी स्किन रोग अहिले मुलुकका ७१ जिल्लामा देखिइसकेको छ । 

कोशी प्रदेशमा असार मसान्तसम्म ४ हजार ७५७ वटा गाईगोरु र ६२ वटा भैंसी राँगा गरी ४ हजार ८१४ वटा पशु चौपाया मरेको निर्देशनालयले जनाएको छ । २ लाख १२ हजार ८५७ वटा गाईगोरु र १ हजार ७८८ वटा भैंसी राँगा गरी २ लाख १४ हजार ६४५ वटा पशु चौपायामा लम्पी स्किन पुष्टि भएको निर्देशनालयकी पशु विकास अधिकृत हिमाकुमारी गौतमले बताइन् । उनले असार मसान्तसम्म १ लाख ३७१ वटा पशु चौपायामा खोप लगाइएको जानकारी दिइन् ।

लम्पी स्किन रोगको ठोस उपचार विधी नभएका कारण पशु चौपायामा ठुलो क्षति भएको जनाइएको छ । यो रोग लागेका पशु चौपायालाई तत्कालै बथानबाट अलग्गै राख्नुपर्ने पशु चिकित्सकहरुको भनाई  छ । नेपालमा लम्पी स्किन विरुद्धको खोप आवश्यक मात्रामा उपलब्ध नभएका कारण पशु चौपायालाई संक्रमण पूर्व खोप लगाउन नसकिएको जनाइएको छ । खोप अभावकै कोशी प्रदेशका तेह्रथुम, संखुवासभा र भोजपुरमा अहिलेसम्म पशुलाई खोप लगाउन  नसकिएको निर्देशनालय स्रोतले जनाएको छ ।

लम्पी स्किनबाट कोशी प्रदेशका पा“चथर, झापा, उदयपुर, धनकुटा, सुनसरी लगायतका जिल्लामा बढि पशु चौपाया प्रभावित बनेका छन् । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय निमित्त निर्देशक पशुपति ढुंगानाका अनुसार कोशी प्रदेशका पहाडी जिल्लाहरुमा संक्रमण घट्दो दरमा देखिएपनि तराईका जिल्लाहरुमा अहिलेपनि संक्रमित पशुको संख्या बढिरहेको बताए ।

‘पहाडी जिल्लामा नियन्त्रणमै देखिएको छ तर तराईका झापा, मोरङ र सुनसरीमा बढिरहेको छ’ ढुंगानाले भने, ‘खोपका लागि स्रोत साधनको अभाव छ, खोप महंगो भएकोले किसानहरु आफैंले नै खोप किनेर लगाउन सकेका छैनन् ।’

लम्पी स्किनको संक्रमण सुरु भएपछि इलाम जिल्लाको सुर्योदय नगरपालिकाले पहिलो पटक खोप ल्याएर पालिकाभित्रका पशुचौपायालाई लगाएको थियो । त्यसपछि विभिन्न जिल्लाका स्थानीय तहहरुले समेत खोप खरिद गरेर किसानलाई उपलब्ध गराएका थिए ।

कोशी प्रदेशमा तीन महिनाअघि मात्रै लम्पी स्किनविरुद्धको खोप ल्याइएको थियो । हाल संघीय सरकारले समेत प्रभावित जिल्लाका जिल्ला स्थानीय तहरुलाई पहिलो चरणमा एक लाख रुपैयाँका दरले खोप खरिदका लागि बजेट पठाइएको जनाइएको छ ।

लम्पी स्किन रोगको थप संक्रमण फैलिनबाट रोक्न प्रभावित ठाउ“मा विज्ञ केन्द्रमार्फत औषधि उपचार र खोप वितरण अघि बढेको सरकारको दाबी छ । कोशी प्रदेश सरकारले लम्पी स्किनबाट प्रभावित पशुलाई मृत्यु हुनबाट जोगाउन थप एन्टिबायोटिक औषधि वितरण तथा नियन्त्रण गर्ने काम भइरहेको जनाएको छ । त्यसका लागि निर्देशानालयले ‘जेनरल लाइन अफ ट्रिटमेन्ट’ को प्रोटोकल बनाएर कार्यन्वयन समेत सुरु गरिसकेको छ ।

मधेशले अन्य रोगको औषधी किन्यो, लम्पी स्किन नियन्त्रणमा वेवास्ता

‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट मधेश प्रदेशमा हालसम्म ५२ हजार ६ सय ८६ गाईवस्तु पशुचौपाया प्रभावित भएका छ् । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका अनुसार पछिल्लो आर्थिक वर्ष २०७९/०८० सम्ममा ५० हजार ९७१ गाई/गोरु र एक हजार ७१५ भैंसी राँगोमा लम्पी स्किनको संक्रमण पुष्टि भएको हो ।

निर्देशनालय दिएको जानकारी अनुसार हालसम्म प्रदेशका ८ वटा जिल्लामा गरी लम्पी स्कीन संक्रमणबाट एक हजार ७ सय गाईवस्तु चौपाया मरेको छ । तीन वर्षदेखि छिटपुटरूपमा देखापर्दै आएको लम्पी स्किन हाल मधेश प्रदेशका सबै जिल्लामा फैलिएको छ ।

पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका प्रवक्ता डा. रञ्जित अधिकारीका दिएको जानकारी अनुसार लम्पी स्किनको संक्रमण सबभन्दा बढी प्रभावित महोत्तरी जिल्ला रहेको छ । यहाँ २४ हजार ४१२ चौपाया प्रभावित रहेको । सो संक्रमणबाट सबभन्दा बढी सिरहा जिल्लामा १ हजार ११८ चौपाया पशु मरेको छ ।

निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार प्रदेशका सप्तरीमा ३१००, धनुषामा ५७९३, सिरहामा १४ हजार २९३, सर्लाहीमा ३ हजार ५३, रौतहटमा ९४९, बारामा ९६४ र पर्सामा १२२ गाईवस्तु सहितका चौपायामा लम्पी स्कीन संक्रमण देखिएको छ । लम्पी स्कीन संक्रमणबाट प्रदेशका सप्तरीमा ४०, धनुषामा १४३, महोत्तरीमा २०५, रौतहटमा २९, सर्लाहीमा १०३, बारामा ६१ र पर्सामा एउटा चौपाया मरेको छ ।

प्रदेशका चौपायाहरुमा महामारीको रुपमा फैलिंदै गएको लम्पी स्किन संक्रमणको रोकथामका लागि प्रदेश र संघीय सरकारबाट खासै प्रयास भएको देखिदैन । हुनत प्रदेशका निर्देशनालयबाट रोग पहिचान, औषधोपचार र अनुगमनका लागि रैपिड रिस्पोन्स सहितका विभिन्न टीमका गठन बाहेक केही काम गरेको छैन । डा. अधिकारीका अनुसारका डा. सुनिल ठाकुरको नेतृत्वमा रैपिड रिस्पोन्स टीम, निर्देशनालयका निर्देशक डा. जागेश्वर यादवको नेतृत्वमा प्राविधिक टीम गठन गरिएको छ ।

रोगविरुद्ध प्रदेश सरकारबाट खासै बजेट नछुटयाइएपनि जिल्ला स्थित भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र निर्देशनालयबाट लक्षणको आधारमा औषधोपचार तथा जनचेतनामूलक कार्यक्रम संचालन गरिएको कुरा रैपिड रिस्पोन्स टीमका संयोजक एवं थत भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. सुनिल ठाकुरले बताएका छन् ।

उनले भने ‘गत वर्ष प्रदेशका प्रत्येक जिल्ला भेटनरी अस्पताललाई ५ लाख रुपैयाँको दरले लम्पी स्कीन लगायतका अन्य रोगको औषधोपचारका लागि उपलब्ध गराइयो । तर त्यसले अन्य रोगकै औषधी खरिदमा रकम खर्च भएको कारण लम्पी स्कीन संक्रमण नियन्त्रणलाई समेट्न सकिएन ।’

प्रदेश सरकारले सो रोग नियन्त्रणका लागि गत आर्थिक वर्षमा केही गरेनन् । तर चालु आर्थिक वर्षमा विपत् व्यवस्थापन समितिबाट ७७ लाख रुपैया लम्पी स्किन रोग नियन्त्रणका लागि छुटयाएको छ । सो रकमबाट रोकथाम तथा नियन्त्रणका लागि खोप र औषधि खरिद गरिने डा. अधिकारीले बताए ।

सर्लाही, रौतहट र बारा जिल्लाका ७ वटा पालिका १२ हजार ७५९ पशुचौपायामा लम्पी स्किन विरुद्धको खोप लगाएका छन् । निर्देशनालय दिएका जानकारी अनुसार सर्लाहीका बागमती नगरपालिकाले ३२५, धनकौल नगरपालिकाले २ हजार, रौतहटका चन्दपुर नगरपालिकाले २३४, वृृन्दावन नगरपालिका २ सय र बारा जिल्लाका जितपुर सिमरा उपमहानगरपालिकाले ४ हजार ५००, निजगढ नगरपालिका २ हजार ५ सय, कोल्हवी नगरपालिकाले ३ हजार चौपायामा खोप लगाएका छन् ।

तीन वर्षअघि प्रदेशका सप्तरी जिल्लाको रुपनी गाउँपालिका पहिलो पटक यो एक गाईमा यो संक्रमण फेला परेको थियो । ती बेला सरकारले खासै चासो नलिएपछि अहिले मधेश प्रदेश मात्रै होइन देशैभरिमा महामारीको रुपमा फैलिदैं गएको डा. ठाकुरले बताए । लम्पी स्कीन संक्रमणको पूर्ण उपचार खोप भएपनि औषधोपचारबाट केही हदसम्म ठिक भइरहेको डा. अधिकारीको भनाई छ ।

उनले भने ‘पूर्ण उपचार त खोप नै हो । तर लक्षणको आधारमा उपचार गर्दा हजारौको संख्यामा निकै पनि भएका छन् । मरेका बाहेक संक्रमण पुष्टि भएका पशु चौपाया औषधोपचारबाट पूर्ण रुपमा निको नभएपनि निको भएका हुन् । निको भएपनि लामो समयसम्म कमजोरी, बाँझोपन र दुध उत्पादनमा कमी लगायतका समस्या यथावतै रहने गरेको देखिएको छ ।’  

प्रदेशका सप्तरी जिल्लामा २ हजार ५ सय गाइ/गोरु र ६ सय भौंसी/राँगो, सिरहामा  १३ हजार ८५७ गाइ/गोरु र ४३६, धनुषामा ५ हजार ४८६ गाइ/गोरु र ३०७ भौंसी/राँगो,  महोत्तरीमा २४ हजार ३९६ गाइ/गोरु र १४ भौंसी/राँगो, सर्लाहीमा २७१६ गाइ/गोरु र ३३७ भौंसी/राँगो, रौतहटमा ९३९ गाइ/गोरु र १० भौंसी/राँगो, बारामा ९६२ गाइ/गोरु र २ भौंसी/राँगो र पर्सामा ११५ गाइ/गोरु र ७ भौंसी/राँगोमा लम्पी स्कीनको संक्रमण देखिएको छ । 

नियन्त्रणका लागि वागमतीमा आवश्यक बजेट विनियोजन

वागमतीमा यो रोग नियन्त्रणका लागि अघिल्लो आर्थिक बर्षबाटै खोप लगाउन सुरू गरिएको छ । यस आवमा पनि खोप कार्यक्रम नियमित छ । प्रति जिल्ला ५/७ लाख बजेट वागमती सरकारले यो रोग नियन्त्रणका लागि छुट्याएको छ । साउनबाटै खोप अभियान सप्ताह व्यापीरुपमा खोप कार्यक्रम सुरू हुने जनाइएको छ । 
‘पहिले बजेटको कारण अलि समस्या थियो,अब त्यो छैन,बजेट नै विनियोजन भैसकेको छ,’ बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशु विकास अधिकृत निशान्त शर्माले भने । 

बिरामीको उपचार र रोकथाम नै किसानको मुख्य अपेक्षा रहेको उनले बताए । पशुको बीमा गरेका किसानले बीमा रकमसमेत पाएका छन् । बीमा नहुनेहरुले क्षति भोग्नुपरेको उनले सुनाए ।

गण्डकीमा १० करोड बढी नोक्सान, नियन्त्रणका लागि जुट्दै सरकार

गण्डकीमा लम्पी स्किन रोगबाट ४८ हजार १ सय ३९ पशुवस्तु संक्रमित भएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशका अनुसार असार २६ सम्ममा १ हजार ८ सय १ पशुवस्तु मरेका छन् ।  

प्रदेशमा सबैभन्दा धेरै गोरखामा पशुवस्तुहरु संक्रमित भएका छन् । १३ हजार ८ सय ३६ वटा गाईभैंसी गोरखामा मात्रै संक्रमित भएका हुन् । त्यसपछि कास्कीमा १२ हजार २ सय ८७, तनहुँमा ६ हजार ४ सय २५, नवलपुरमा ५ हजार ९ सय ५८, म्याग्दीमा ३ हजार २ सय ३६ र बागलुङमा २ हजार ९ सय १२ गाईबस्तु लम्पी स्किनबाट संक्रमित भएका छन् । हिमाल पारीको जिल्लामा मनाङ र मुस्ताङमा पनि यो रोग पुगेको छ । निर्देशनालयको तथ्यांक अनुसार मनाङमा एक र मुस्ताङमा ३३ वटा जनावर संक्रमित भएका छन् । प्रदशको लमजुङमा १ हजार ५ सय ८६, पर्वतमा १ हजार ४ सय ३२ र  स्याङ्जामा ४ सय ४२ जनावरमा लम्पी स्किन देखिएको हो । 

निर्देशनालयको तथ्यांकमा मनाङमा एक मात्र पशुमा संक्रमण देखिएको भेटिएपनि का पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिँदै गएको छ । जिल्लाको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका अनुसार २ सय ३६ गाई, गोरु र याक सङ्क्रमित भएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुमले जानकारी दिए । 

प्रदेशभर हालसम्म ४ हजार ५ सय ७३ वटा बाच्छाबाच्छी, २४ हजार ३ गाई, १७ हजार ७ सय ६४ गोरु, १ सय २५ पाडापाडी, १ हजार ५ सय ५२ भैंसी र १ सय २२ वटा राँगोमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । तीमध्ये २ सय १४ बाच्छाबाच्छी मरिसकेका छन् भने ८ सय ४९ गाई, ६ सय ९८ गोरु, १७ वटा पाडापाडी, २२ वटा भैंसी र एउटा राँगो मरिसकेको निर्देशनालयले जनाएको छ ।

लम्पी स्किन रोगबाट प्रदेशमा संक्रमणदर बढ्दो अवस्थामा देखिएपनि अवस्था भयावह नरहेको निर्देशनालयका पशु चिकित्सक सुरेशकुमार श्रेष्ठले बताए । सुरुवाती समयमा यसबाट धेरै पशु संक्रमित भएपनि अहिले नियन्त्रण हुँदै गएको उनको भनाइ छ ।  ‘ठूलो फर्महरुमा क्षति भएको छैन । पहिले नै खोप लगाएर सुरक्षित गरिएको छ,’ निर्देशनालयका पशु चिकित्सक सुरेशकुमार श्रेष्ठले भने, ‘अहिले पनि खोप अभियान तीव्र छ ।’ 

उनका अनुसार हालसम्म ५ सय ९५ जना किसानका ६० हजार ६ सय ९९ वटा पशुमा खोप लगाइसकिएको छ । ‘जुन जुन पालिकाहरुले आफ्नो बजेट छुट्याएको थियो । त्यो जिल्लामा खोप पहिलेबाट नै सुरुवात गरिएको हो । पछि आएर प्रदेश सरकारले सबै जिल्लालाई १०/१० लाख र संघीय सरकारले प्रत्येक पालिकालाई एक/एक लाख हालिदिएपछि सबै पालिकामा सुरुवात भएको छ,’ उनले भने, ‘यो वर्ष पनि प्रदेश सरकार र पालिकाले बजेट छुट्याएको छ । अब निरन्तर रुपमा खोपको कार्यक्रम चल्छ ।’ खोप लगाउने, नियन्त्रण र उपचार गर्ने क्रम निरन्तर चलेकाले खतरा नहुने उनको तर्क थियो । 

गण्डकीमा लम्पी स्किनका कारण अहिलेसम्म १० करोड हाराहारी नोक्सान भएको आंकलन गरिएको छ । क्षतिको एकिन तथ्यांक भने निकालिएको छैन । यसबाट सबैभन्दा बढी नवलपुरमा ४ सय ८ पशुचौपया मरेका छन् । मुस्ताङमा ४ वटा पशु मरेका विवरण छ । यसैगरी कास्कीमा ३ सय ५३, गोरखामा ३ सय १९, तनहुँमा २ सय ४८ र बागलुङमा १ सय ६६ वटा पशु मरेका छन् । स्याङ्जामा १७, लमजुङमा ४७, पर्वतमा ७० वटा मरेका छन् । गण्डकीमा लम्पी स्किनबाट गाई र गोरुको क्षति बढी छ ।

लुम्बिनीमा किसान आफैँ खोप किन्दै, गाईवस्तुलाई लगाउँदै

लुम्बिनी प्रदेशमा पशुमा लाग्ने लम्पीस्किन रोगबाट अहिलेसम्म ५ हजार पशु मरेका छन् । पशुपन्छी तथा मस्य विकास निर्देशनालय लुम्बिनी प्रदेशका अनुसार यो रोगवाट समाचार तयार पार्दा सम्म ८४ हजार गाई गोरु संक्रमित भएका छन् । कतिपय स्थानमा पुरा विवरण समेत संकलनकै क्रममा रहेको निर्देशनालयका डा परवेज आलमले बताए । उनका अनुसार प्रदेशका १२ वटै जिल्लामा प्रदेश सरकारले समेत थप जनशक्ति पढाएको छ । उनले भने –सबै जिल्लामा पशु डाक्टर सहितको टोली खटिएको र धमाधम खोप लगाउने कार्य भैरहेको छ । प्रदेशमा झण्डै १२ लाख गाई र गोरु रहेको तथ्याङक छ । संक्रमण तीव्र भएपछि किसानहरु निकै चिन्तित भएका छन् ।

लम्पीस्किन संक्रमणले गाई तथा गोरुमा शरिरभरी घाउ आउने गर्दछ । कतिपय घाउहरु पाक्ने, ईन्फेक्सन हुने गर्दछ । त्यतिमात्र होईन झिङ्गाका माध्यमले एउटाबाट अर्कोमा सर्ने गर्दछ । सरुवा रोग भएका कारण व्यवसायिक रुपमा पशुपालन गरेका किसानहरु समेत थप चिन्तित बनेका छन् । अहिले पशुपालक किसानहरुले खोप किनेर लगाउन थालेका छन् । यो पशुका लागि महामारी रोग भएको निर्देशक डा आलमले बताए । 

उनले भने –‘यो एक प्रकारको महामारी नै हो, कोभिडले जस्तै यसले लामो समयसम्म असर पुर्याउने छ, उत्पादनमा धेरै समयसम्म गिरावट आउने देखिन्छ ।’ उनले थपे – यो उत्कर्र्षमा पुगेका छ आशा छ अव बिस्तारै घट्ने अवस्थामा जान सक्छ । यो रोगको न्यूनीकरणमा दक्ष जनशक्ति र आर्थिक अभाव देखिएको छ । बजेट सकिएको र नयाँ आर्थिक वर्षको मुखमा भएकोले आर्थिक रुपमा पनि उपचारमा खटिएका चिकित्सकहरुले बताएका छन् । महामारी नियन्त्रणका लागि सबै शक्ति प्रभावित क्षेत्रमा लगाएको भन्दै प्रदेश सचिव यमनारायण देवकोटाले गाई गोरुमा देखिएको माहामारी न्यूनीकरणमा सबैको सहयोग आवश्यक रहेको बताए । 

सुदूरपश्चिममा महामारीकै रुपमा फैलँदै

लम्पी स्किन संक्रमणले सुदूरपश्चिम प्रदेशमा २५ हजार भन्दाबढी पशुचौपायाको मृत्यु भएको छ । संक्रमणका कारण अहिलेसम्म प्रदेशभरी २५ हजार ६०१ पशुचौपायाको मृत्यु भएको भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । रोग महामारीका रूपमा फैलिएकोले छ । प्रदेशमा संक्रमणका कारण सबैभन्दा धेरै बैतडीमा ११ हजार १८ पशुचौपायाको मृत्यु भएको भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी पुष्करराज नाथले बताए । उनले लम्पी स्किनका अहिलेसम्म ३ लाख ९ हजार ९६४ पशुचौपाया संक्रमणमा परेको बताए । 

संक्रमण नियन्त्रणका लागि सामान्य औषधोउपचार संगै खोपलाउने कार्य भैरहेको बताउँदै सूचना अधिकारी नाथले जनशक्ति अभावका कारण रोग नियन्त्रणमा समस्या भैरहेको बताए ।

कर्णालीमा लम्पी स्किनको माहामारीले खेतको उच्पादन घट्ने अनुमान

कर्णालीमा लम्पी स्किन रोगको संक्रमण माहामारीका रुपमा फैलिएको छ । संक्रमण नियन्त्रण बाहिर गएपछि कृषकहरु चिन्तित बनेका छन् । खेतीपाती लगाउने समयमा रोगले प्रकोपको रुपमा लिएपछि कृषहरु समस्या मा छन् । 

कर्णालीमा लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म झण्डै  ७ हजार  पशुचौपायाको मृत्यु भएको छ । भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका अनुसार ६ हजार सात सय ४१ पशुचौपायाको मृत्यु भएको छ । संक्रमणको कारण २ लाख १७ हजार एक सय ३५वटा चौपायामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको मन्त्रालयका पशु विकास अधिकृत प्रचण्ड खड्काले जानकारी दिए ।

सङ्क्रमित हुनेमा धेरैजसो गोरुहरु रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हालसम्म १२ हजार सात सय ४३ पशुहरुलाई खोप लगाइएको खड्काले बताए । रोगको प्रकोप बढी फैलिएपनि मृत्युदर भने कमी देखिएको उनले बताए । ‘हामीले सबै जिल्लामा खोप त पठायौ तर, खोप भने लगाउन सकिएको छैन’ उनले भने, ‘संक्रमण देखिएको पशुमा लगाउन नमिल्ने भएको कारण खोप लगाउन सकिएको छैन ।’ यो खोप स्वस्थ पशुमा मात्र लगाउने भएको कारण जिल्लामा पठाइएको खोप स्टक रहेका छन् ।
विशेष गरी बर्खे खेती लगाउने समयमा गोरुमा लम्पी स्किनको सङ्क्रमण बढेपछि खेती लगाउन समस्या भएको किसानहरूको गुनासो छ । यसले गर्दा उत्पादनमा ह्रास आउने मन्त्रालयको अनुमान छ । ‘विशेषगरि कर्णालीका पहाडी जिल्लामा खेती लगाउँदा जोत्नको लागि गोरुको प्रयोग हुन्छ’ पशु विकास अधिकृत खड्काले भने, ‘यही बेलामा पशुहरुमा रोगको संक्रमण फैलिएका कारण उत्पादन घट्ने सक्ने अनुमान गरेका छौ ।’

माेरङबाट सुरु भएकाे राेग पुग्याे देशैभर

नेपालमा वि.सं २०७७ साल असार महिनाको अन्तिम सातातिर मोरङ जिल्लामा केही गाईमा लम्पी स्किनसँग मिल्दो लक्षणहरु देखापरेपछि थियाे । माेरङमा लक्षणसहित देखा परेपछि पशु सेवा विभागले आवश्यक नमुना संकलन गरी परीक्षण गर्दा नेपालमा २०७७ साल श्रावण महिनाको ११ गते यो रोग नेपालमा पहिलो पटक पुष्टि भएको थियाे । विश्व पशु स्वास्थ्य संगठनले पनि नेपाल लम्पी स्किन रोग देखापरेको प्रमाणित भएको जनाएको थियाे

 रोगी पशु र लामखुट्टेबाट समेत सर्ने यो रोग नेपालमा रोगी पशु भित्रिएर फैलिएको अनुमान छ । रोग फैलिँदै जानुमा सीमा नाकाका पशु क्वारेन्टाइन कार्यालयको हेलचेक्रयाइँलाई पनि एउटा कारण मानिएको छ  ।

कसरी फैलन्छ लम्पी स्किन, नियन्त्रणकाे उपाय के ?

यो रोग झिँगा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिन्छ। यो रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, र्‍याल र सिँगान काढ्ने, गर्भिणी पशु तुहिने, बाँझोपनको समस्या र दुहुनो गाईले दूध कम दिने जस्ता समस्या देखापर्छ।

रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ। यो रोग लागिसकेपछि पशुचौपायालाई कम्तीमा २१ दिन क्वारेन्टाइनमा राख्नुपर्ने बताइएको छ। पशुचौपायामा यो रोग फैलिएको बारे पशु सेवा विज्ञ केन्द्रले प्रदेश सरकारलाई पनि जानकारी गराइसकेको जनाएको छ।

 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x