समाज

ज्यानमारा टिकटक

सृजना खड्का |
माघ २६, २०७७ सोमबार ८:३२ बजे

काठमाडौँ : कञ्‍चनपुरकी १३ वर्षीया करुणा चन्दको शनिबार टिकटक बनाउने क्रममा मृत्यु भयो । करुणाकी आमा त्यस दिन दिउँसो खेतमा काम गर्न गएकी थिइन् । उनी र उनका कान्‍छा भाइ घरमा थिए । टिकटकमा केही नयाँ प्रयोग गर्ने सोचले उनी स्टुल चढिन् । पंखामा डोरी बाँधिन् । पंखामा डोरी झुन्डियो । त्यही झुण्डिएको डोरी उनले घाँटीमा बाँधिन् । त्यति नै बेला उनले खुट्टामा टेकिरहेको स्टुल भुइँमा पल्टियो । करुणा पंखामा झुण्डिइन् ।

नजिकै रहेका उनका भाइले केही गर्न सकेनन् । घटना सुन्‍नेबित्तिकै करुणाकी आमा खेटबाट तुरुन्तै घर आइन् । तर, त्यतिबेलासम्म उनले करुणाको ज्यान गइसकेको थियो । जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले टिकटक बनाउने क्रममा करुणाको ज्यान गएको बताएका छन् ।


हामीमध्ये धेरैको मोबाइलमा हुने एप हो, टिकटक । टिकटक बिनाको मोबाइल आजभोलि बिरलै भेटिन्‍छन् । टिकटक मुख्यतया मनोरञ्‍ज‍नका लागि चलाइन्‍छ । तर, त्यही मनोरञ्‍ज‍न कहिलेकाहीँ मृत्युको कारणसमेत बन्‍न सक्छ । तुलसीपुर उपमहानगरपालिका-१९ मा पुस ४ गते त्यस्तै भयो । टिकटक बनाउने क्रममा एक युवक झोलुङ्गे पुलबाट खसे । घाइते भएका उनको उपचारको क्रममा मृत्यु भयो ।

२४ वर्षीय रमेश थापा टिकटक बनाउने क्रममा पुलबाट खसेका थिए । त्यसदिन थापा दाङको पुन्धाराको छहरामा बनभोज खान गएका थिए । सोहिक्रममा उनी साथीहरूसँग झुलुङ्गे पुलतिर लाग्छन् । टिकटक बनाउन पुलको डोरीमा झुण्डिन्‍छन् । केही साथीहरु उनको भिडियो खिच्‍न थाल्छन् ।

घटनापछि रमेशको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । भिडियोमा उनी डोरीमा झुण्डिएको र बाँच्‍नका लागि संघर्ष गरिरहेको देखिन्‍छ । उनलाई कसैले ‘माथि आउ माथि’ बनेर बोलाएको सुनिन्‍छ । कसैले ‘के यो आर्मी ट्रेनिङ हो’ भनेर जिस्काइरहेको आवाज पनि आउँछ । त्यत्तिकैमा उनी पुलबाट तल झर्छन् । पुलबाट झरेका उनलाई अस्पताल लगिन्‍छ । तर, उपचारको क्रममा उनको मृत्यु हुन्‍छ ।

भारत र चीनमा पनि 
केही महिनाअघि चीनमा एक टिकटक स्टारको मृत्यु भयो । चीनको सिचुवान प्रान्तकी ३० वर्षीय लामु टिकटकमा एकदमै भाइरल थिइन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार उनी टिकटक लाइभमा भएका बेला उनका पूर्व पतिले पेट्रोल छर्किएर आगो लगाएका थिए । आगोबाट उनको शरिरको ९० प्रतिशत भाग जलेको थियो । आक्रमण भएको दुई सातापछि उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

केही समयअघि भारतमा पनि टिकटक बनाउने क्रममा एकजनाको मृत्यु भयो । भारतको हैदरवादका नरसिंह नाम गरेका युवक टिकटकमा भिडियो रेकर्ड गर्ने क्रममा तालमा खसेको थिए । हैदरवादको मेदचाल जिल्लास्थित डुलापाल्ली तालमा खसेर उनको ज्यान गएको थियो ।

उनी तालको छेउमा उभिएर अभिनय गरिरहेका थिए । उनका साथीले भिडियो खिचिरहेका थिए । सोहीक्रममा उनी चिप्लिएर तालमा खसेका थिए । ताल गहिरो भएको र पौडी खेल्न नजान्‍ने भएकाले उनी बाहिर निस्किन नसकेको भारतिय संञ्चार माध्यमले उल्लेख गरेका छन् । प्रहरीको सहयोगमा उनको लास तालबाट निकालिएको थियो । भारतमा अहिले टिकटक ब्यान्ड गरिएको छ । 

के भन्‍छन् न्यू मिडिया अभियन्ता र मनोविद् ?
न्यू मिडिया अभियन्ता प्रवेश सुवेदी जुनसुकै सामाजिक सञ्‍जालका सकारात्मक मात्रै नभएर नकारात्मक असर पनि हुने बताउँछन् । ‘मनोरञ्‍ज‍नात्मक सोसल मिडियामा मान्‍छेहरुको लत लाग्छ,’ उनी भन्‍छन्, ‘कतिपय अवस्थामा त्यही लतले मान्‍छेलाई बेसुर बनाउँछ र, दुर्घटना निम्तिन्‍छ । अहिले भइरहेका घटना त्यसकै उदाहरण हुन् ।’

अन्य देशमा आर्थिक र राजनीतिक कारणले टिकटक ब्यान्ड गरेको देखिए पनि हाम्रोमा सामाजिक कारणले गर्दा टिकटक बन्द गर्नुपर्छ भन्‍ने आवाज उठेको उनी बताउँछन् । टिकटक ब्यान्ड गर्नुलाई सुवेदी समस्याको समाधान मान्दैनन् । भन्‍छन्, ‘आज टिकटक बन्द गर्‍यौँ भने भोलि त्योभन्दा लत लगाउने अर्को एक आउन सक्छ । त्यो बेला के गर्ने ?’

यस्ता एप कुन र कति समय चलाउने भनेर आफैले नियन्त्रण गर्नुपर्ने उनी बताउँछन् । ‘कुन एप कति चलाउने भनेर आफैँ अनुशासन बनाउनुपर्छ,’ उनी भन्‍छन्, ‘साथीभाइ र परिवारका सदस्यले पनि कोहि क्रेजी भएको देखे सतर्क गराउनुपर्छ । दुर्घटना निम्तिन सक्छ भनेर घच्घचाउनु पर्छ ।’

मनोविद् करुणा कुँवर लाइक र भ्यूज पाउनका लागि धेरैले सामाजिक सञ्‍जाल चलाएको बताउँछिन् । त्यही लाइक र भ्यूज पछि गएर मृत्युको कारणसमेत बन्‍न सक्ने उनी बताउँछिन् । ‘लाइक र भ्यूजका लागि धैरैले टिकटकमा नयाँ-नयाँ शैली अपनाउँछन्,’ उनी भन्‍छिन्, ‘त्यो उनीहरुको सिर्जनशिलता होइन, मुर्खता हो । जसबाट हामी सधैँ जोगिनुपर्छ ।’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x