घटना-दुर्घटना

सडक मर्मत र पहाडी बाटोका कारण गुल्मी दुर्घटना ! (नामावलीसहित)

इकागज |
जेठ ४, २०८१ शुक्रबार १६:० बजे

काठमाडौँ- बिहीबार पोखराबाट गुल्मीतर्फ गइरहेको बस दुर्घटनामा पर्‍यो । तम्घास रिढि सडकखण्डको रुरुक्षेत्र गाउँपालिकाको १ मक्वादीमा बस दुर्घटना हुँदा सहचालक युवराज कुँवरको उपचारकै क्रममा मृत्यु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी शंकर पोखरेलका अनुसार पोखराबाट तम्घासतर्फ गएको बस मक्वादीमा ४ बजेर ५० मिनेटमा दुर्घटना भएको थियो ।  


बसमा १३ जना सवार रहेको र अन्दाजी ५०-६० मिटर तल खसेको उनले बताए । एक जना सहचालकको मृत्यु भइसकेको र घाइते चालकको अवस्था गम्भीर  रहेको पोखरेलले जानकारी दिए । पाँच महिला र दुई जना पुरुषको उपचार भइरहेको छ ।

घाइते पाँच जना अस्पतालबाट डिस्चार्ज भइसकेको उनले जानकारी दिए । ‘एकजना घाइतेको हिजै रिढी प्राथमिक अस्पतालबाट डिस्चार्ज र बाँकी चार जनाको आज डिस्चार्ज भएको हो,’ उनले भने ।

घाइतेहरूको गुल्मी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको पोखरेलले जानकारी दिए । उनका अनुसार घाइते यात्रुहरूको पश्चिम नेपाल यातायात समितिले उपचार गरिरहेको छ ।

‘सडक मर्मत भइरहेको छ । रिढिदेखि तम्घाससम्म मर्मतकै क्रममा छ,’ उनले भने,’ सुधार हुने क्रम जारी छ । ‘

बस दुर्घटनाको कारण अहिलेसम्म खुल्न नसकेको डिएसपीले प्रस्ट पारे । ‘अनुसन्धानकै क्रममा रहेको छ । तीव्र गति नै मुख्य कारण हुन सक्ने छ,’ उनले थपे ।

पोखराबाट गुल्मीतर्फ सधैँ सञ्चालनमा आउने बस रहेको उनले जानकारी दिए । ‘पहाडी क्षेत्रको मार्ग भएकाले धेरै ठाउँमा दुर्घटना भइरहन्छ । त्यस क्षेत्रमा पहिलोपटक दुर्घटना भएको हो,’ उनले सुनाए,’ सडकको प्राविधिक र तीव्र गति नै मुख्य कारण हुने विभिन्न समयको दुर्घटनाले बताएको छ ।‘

इलाका प्रहरी कार्यालय गुल्मीका प्रहरी टोलीले उद्धार गरेको उनले जानकारी दिए । दुर्घटना भएको बसलाई कस्तो अवस्थामा राखिएको छ त्यसलाई बुझ्ने कार्य भइरहेको छ,’ डिएसपी पोखरेलको भनाइ छ ।

दुर्घटना गराउने चालकलाई कारबाही गरिने उनले बताए । अहिले चालक गम्भीर रहेकाले उसलाई कारबाही भन्दा पनि बचाउने पहिलो प्राथमिकतालाई ध्यान दिएको पोखरेलको भनाइ छ ।

बसमा सवार यात्रुहरूको नामावलीः

​रोशन नेपाली- २२ वर्षीय सल्यान

खेमराज लम्साल-३५ वर्षीय सल्यान

राजबहादुर साउद-  प्रहरी जवान

मनोज बस्याल- २८ वर्षीय चालक

तारा प्रसाद पाण्डे- ६२ पाल्पा

शान्ता सुनुवार-३६ गुल्मी

केशव अर्याल- ३० वर्षीय गुल्मी

इन्दिरा सुवेदी- २१ वर्षीय गुल्मी

गंगाबहादुर कामी- ३२ वर्षीय गुल्मी

रीता विक-३० वर्षीय गुल्मी

युवराज कुँवर- ३५ वर्षीय जुम्ला

​ओमबहादुर बलाल

र, यो पनि

पोखराबाट गुल्मीतर्फ जाँदै गरेको यात्रुवाहक बस १५० मिटर तल खस्यो [फोटो/भिडियोसहित]

गुल्मी बस दुर्घटना: १२ जना घाइते, एकको अवस्था गम्भीर (अपडेट)

पोखरा-तम्घास सडकखण्ड दुर्घटना अपडेट: सहचालक कुँवरको मृत्यु

 

 

 

 


Author

थप समाचार
x