घटना-दुर्घटना

दश महिनामा पाँच हजारभन्दा बढी डढेलो

इकागज |
जेठ ४, २०८१ शुक्रबार १७:४९ बजे

फाइल तस्बिर

काठमाडौँ - करिब दश महिनाका अवधिमा पाँच हजार एक सय ३० वटा डढेलो सम्बन्धी घटना भएको छ । वन तथा भू–संरक्षण विभागको तथ्यांकनुसार गत वैशाख महिनामा मात्र तीन हजार दुई सय ७० वटा डढेलोको घटना भएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को साउनयताको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा बढी यस वर्ष वैशाखमा डढेलोको घटना भएका छन् । विभागको तथ्यांकनुसार चालु आवका साउनमा डढेलोको घटना शून्य छ । वर्षात्को समयमा पानी पर्ने र वनजङ्गलको पातपतिङ्गर ओसिलो हुँदा डढेलो कम लाग्ने विभागले जनाएको छ ।


यसैगरी विभागको तथ्यांकनुसार भदौमा एक, असोजमा तीन, कात्तिकमा पाँच, मङ्सिरमा ३५, पुसमा एक सय तीन आगलागीका घटना भएका थिए । यसैगरी माघमा जम्मा ८३ वटा आगलागीका घटना भए भने फागुनमा डढेलोका सङ्ख्या बढेर दुई सय छ पुग्यो ।

चैत महिना अझै बढी सुक्खा हुँदै गएपछि डढेलोका घटना पनि बढेर एक हजार चार सय २४ पुगेको विभागको तथ्यांकमा उल्लेख छ । यसैगरी वैशाखमा अझै डढेलोको घटना बढेर तीन हजार दुई सय ७० पुग्यो । विभागका अनुसार चालु आवको वैशाख मसान्तसम्म पाँच हजार एक सय ३० वटा आगलागीका घटना भएका छन् । विभागको तथ्यांकनुसार यही जेठयता भने ३० डढेलोको घटना भएकामा जनाइएको छ ।  आज एकैदिन सात डढेलोको घटना भएका छन् ।

विभागका अधिकृत गोविन्द श्रेष्ठले स्रोतसाधन अभाव, प्रशस्त पूर्वतयारी र तालिमको व्यवस्था नहुनु, आवश्यकतानुसार बजेट नहुनु, नेपालको भौलिक विकटताका कारण डढेलो नियन्त्रणमा समस्या भएको बताएका छन् । “नेपालको भिरालो स्थान र हावाको गति बढ्दा पनि डढेलो नियन्त्रणमा चुनौती भएको छ”, उनले भने, “डढेलो नियन्त्रणका लगि अन्तरसरकारी निकाय तथा अन्य सरोकारवाला निकायबीचको समन्वय आवश्यक रहेको छ ।”

उनका अनुसार डढेलोका कारण बर्सेनि वनजन्य स्रोतको विनास हुनु, वन्यजन्तुको नास हुनु, बासस्थानमा असर पुग्नुलगायतका समस्या उत्पन्न हुने गरेको छ । डढेलोविद् सुन्दर शर्माका अनुसार नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सय हाराहारीमा डढेलोका घटना हुन्छन् । “असी प्रतिशत डढेलोका घटना फागुनको मध्यदेखि जेठको मध्यसम्म चार महिनामा हुने गर्छन्  ।

चैत र वैशाखमा मात्र ६० प्रतिशत डडेलोका घटना हुने गर्छन्  । यसकारण अहिले हामी उच्च जोखिमको समयमा छौँ”, उनले भने, “मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलोका घटना हुने भएकाले यो समयमा एकदमै सतर्क भएर बस्नुपर्ने अवस्था छ । वैशाखको दोस्रो साता एकदमै डढेलो लाग्ने गर्छ । यो समयमा डढेलोका घटना बढी हुने गरेको पाइन्छ ।”
रासस


Author

थप समाचार
x