समाज

(न)बदलिँदो नेपाली समाज

म आफूलाई ‘सिंगल हुँ’ भन्‍न पनि सक्दिनँ

सृजना खड्का |
मंसिर २५, २०७७ बिहीबार १७:५० बजे

‘तपाईंको जीवनको पहिलो सम्झना के हो ?’ 
यो प्रश्‍न कसैले उनलाई सोध्यो भने उनी भन्छिन्, ‘बुवाले आमालाई टाउकोमा केही चिजले हानेर आमा रन्थनिनुभएको दृश्य मेरो जीवनको पहिलो सम्झना हो ।’

‘अनि दोस्रो नि ?’
उनी भन्छिन्, ‘हातमा ग्लुकोज बिस्कुट थमाइदिँदै आमाले भन्‍नुभएका ती शब्द, ‘राम्ररी बस्‍नु ल तिमीहरूलाई लिन म छिट्टै आउँछु ।’ 
यिनै शब्दहरूसँगै उनकी आमाले आफ्ना दुई छोरी र एक छोरालाई श्रीमान्‍सँगै छाडेर माइती गएकी थिइन् ।
 
विजेता परिवारकी कान्छी छोरी हुन् । बुवा डाक्टर थिए, आमा गृहिणी । सानैदेखि बुवाले आमालाई रक्सी खाएर यातना दिएको देखेर उनी हुर्किइन् । उनी सानै हुँदा बुवाले अर्की आमा ल्याएको चित्र उसको स्मृतिमा अझै ताजै छ । डाक्टर बुवाकी दोस्री श्रीमती नर्स थिइन् ।


बुवाले अर्की श्रीमती ल्याएपछि आँखाभरि आँसु लिएर ग्लुकोज बिस्कुट थमाउँदै उनकी आमा माइती गएकी थिइन् । पछि उनका दिदी र दाइलाई पनि मामाघरबाट हजुरबुवा आए र, लिएर गए । तर, उनी बुवासँगै छाडिइन् ।
 
सौतेनी आमासँग बस्‍नुपर्दा बुवा पनि सौतेनी जस्तै लाग्‍न थाल्यो उनलाई । ‘चप्पल चुँडिएको निहुँमा पनि कुटाइ खान्थेँ,’ उनले भनिन्, ‘सानो निहुँमा सिस्‍नोपानी लाउँथे । एकदमै त्रस्त वातावरणमा हुर्किएँ । स्कुलका किताब बोक्ने ढाडमा सौतेनी आमाका बालबच्चा बोक्नुपर्थ्यो ।’
 
अत्याचार सहन नसकेर सात वर्षको उमेरमा विजेता घरबाट भागिन् । बुटवलबाट सोध्दै खोज्दै मामाघर हेटौँडा पुगिन् । त्यति बेलासम्म उनकी आमा नर्स भइसकेकी थिइन् । श्रीमान्ले अर्की श्रीमती ल्याएपछि आफै आत्मनिर्भर हुने अठोटसाथ उनले नर्सिङ पढेकी थिइन् । ‘बुवाले दोस्री श्रीमतीका रूपमा नर्स भित्र्याएपछि आमालाई नर्सिङ पढ्ने ईख पलाएको रहेछ,’ उनले भनिन् । 

दाइ र दिदी मामाघर बसे पनि उनी भने आमासँगै बस्‍न थालिन् । आमाको काम गर्ने ठाउँ अस्पतालले एउटा सानो क्‍वार्टर दिएको थियो । आमाछोरी त्यही क्‍वार्टरमा बस्थे । विजेताकी आमाले उनलाई बारम्बार भन्थिन्, ‘हामीले कहिल्यै अरूले कोरेको नक्साको भरमा हिँड्नु हुँदैन । आफूले हिँड्ने बाटोको नक्सा आफैँ कोनुपर्छ ।’

उनीहरू बस्‍ने क्‍वार्टरको झ्यालबाट लासहरूको ‘पोस्टमार्टम’ गर्ने कोठा छर्लङ्गै देखिन्थ्यो । प्रत्येक दिनजसो लास ल्याउने र लैजाने क्रम चलिरहन्थ्यो । आमाको रातको ड्युटी कहिल्यै नपरोस् जस्तो लाग्थ्यो विजेतालाई । तर, आमाले हौसला दिन्थिन् । डराउनुहुँदैन भनेर ढाडस दिँदै ड्युटीतिर लाग्थिन् ।

आमा नर्स बनेर जता सरुवा हुन्थिन्, उनी पनि उतै जान्थिन् । एसएलसी दिएपछि भने उनी काठमाडौँ आइन् । ‘दाइ पढ्नका लागि काठमाडौँ आएको थियो,’ उनले भनिन्, ‘उसैलाई खाना पकाइदिने मान्छे भएन भनेर मलाई पठाइदिनुभयो ।’ 

विडम्बना, दाइमा उनले बुवाकै अनुहार देख्‍न थालिन् । उनी थामिनै नसक्ने गरी रक्सी खाएर आउन थाले । प्रत्येक दिन रक्सी खाएर आउने दाजु रातभरि बान्ता गर्थे । विजेताको हरेक रात बान्ता सोहोर्दैमा बित्थ्यो । 

२०५८ सालतिर उनी पत्रकारितातिर लागिन् । पत्रकारिताको तालिम लियो भने जागिर पाइन्छ भन्‍ने उनले सुनेकी थिइन् । साढे तीन महिने तालिम लिएर एउटा एफएममा काम गर्न थालिन् । एक वर्षसम्म काम गरेबापत एक रुपैयाँ पनि उनको हातमा परेन । ‘कहाँ जान्छेस्, के गर्छेस् ?’ दाइले प्रत्येक दिन प्रश्‍न गर्थ्यो,’ उनले भनिन्, ‘एक वर्षपछि बल्ल महिनाको दुई हजार हातमा पर्न थाल्यो ।’

जिन्दगी नयाँ, पीडा पुरानै
२२ वर्षमा विजेताले विवाह गरिन् । जोसँग विवाह गरिन् उनले विजेतालाई एकदमै मन पराउँथे । बिहेका लागि उनैले मरिहत्ते गरेका थिए । ‘मायाको अभावमा हुर्केको म माया गर्ने मान्छे पाउँदा फुरुङ्ग थिएँ,’ उनले भनिन् ।  

बिहे गरेको दुई वर्षमा बच्चा जन्मियो । तीन जनाको खुसी परिवार थियो । तर, एक्कासि उनीमाथि सोच्दै नसोचेको घटना आइपर्‍यो । श्रीमान्को विवाहेत्तर सम्बन्ध उनले आफ्नै आँखाले देखिन् । तर, केही बोल्न सकिनन् । ‘काखमा सानो छोरा थियो,’ उनले भनिन्, ‘काखको बालखा बच्चाले मलाई निरीह बनायो । त्यो बेला सहनेबाहेक मसँग अर्को विकल्प भएन ।’त्यतिबेला पनि उनी पत्रकारिताका माध्यमबाट महिलाका मुद्दा उठाउँथिन् । तर, आफूलाई पर्दा आफ्नो आवाज निकाल्नु त परको कुरा आफ्नो समस्याबारे कसैसँग कानेखुसीसमेत गर्न उनले सकिनन् । 

‘न्याय माग्‍न जाँदा सरल र सहज किसिमले न्याय पाउने वातावरण हुनुपर्‍यो,’ उनले भनिन्, ‘अदालत जाँदा कसैले हेरिरहेको छ कि भनेर तर्सिने र तर्किने वातावरण हुनु भएन ।’

घटना घटेको एक वर्षसम्म उनीहरूसँगै बसे । एक वर्षपछि श्रीमान् विदेश गए । उनलाई विजेताले रोकिनन् । आठ वर्षसम्म श्रीमान् विदेशमै बसे । छोरालाई हुर्काउनेदेखि आफ्नो करिअर बनाउनेसम्मको चुनौती उनमा छँदै थियो । त्यो समय उनले पाएको दुःख र हन्डरको कुनै सीमा छैन । 

तर पनि उनले पत्रकारिता गरि नै रहिन् । महिलाका मुद्दालाई उठाई नै रहिन् । ‘हरेक हिंसा र पीडामा परेका महिलामा मैले आफूलाई देख्थेँ, आफ्नी आमालाई देख्थेँ,’ उनले भनिन्, ‘रेडियो, टेलिभिजन, अनलाइन जहाँजहाँ मौका मिल्छ त्यहीँबाट आवाज उठाउन थालेँ । १० ठाउँबाट आवाज निकाल्दा एक ठाउँमा त कसो परिवर्तन नहोला भन्‍ने लाग्थ्यो ।’

एकल महिला भएकै कारणले सूचनाका स्रोतहरूबाट पनि उनले धेरै दुर्व्यवहार भोगिन् । ‘हातमा लगाएको सामान्य चाँदीको औँठी हेरेर ‘आहा ! कति राम्रो औँठी’ भन्दै ‌औंला छुन बहाना खोज्‍नेहरू भेटेँ,’ उनले भनिन्, ‘मोबाइलमा फोन गरेर ‘तपाईंको हाँसो कति मीठो’ रिङटोन बनाएर राखौँ है’ भन्‍नेहरूले पनि मलाई निकै दुःख दिएँ । यस्ता कुरा अरूलाई सुन्दा सामान्य लाग्‍न सक्ला । तर, यस्ता कुराले मेरो ऊर्जाशील मनलाई त्यो बेला निकै लगाउँथ्यो ।’
 
तर, आमाको सिध्दान्तलाई आत्मसात् गर्दै उनी अगाडि बढि नै रहिन् । विदेशी महिलालाई नेपाली पत्रकारले गरेको हिंसाविरुध्द आवाज उठाइन् । सुरक्षा निकायका व्यक्तिले एक जना महिलामाथि गरेको दुर्व्यवहारविरुध्द अन्तर्वार्ता गरिन् । त्यो बेला उनको जागिरै जाने स्थिति पनि आयो । ‘तपाईंको हरेक कार्यक्रम किन विवादित हुन्छ ?’ भनेर मलाई प्रश्‍न तेर्स्याइन्थ्यो,’ उनले भनिन्, ‘काम गर्न मन भए यस्ता विवादित विषय अबदेखि नल्याउनू’ भन्थे । तर, उनले आफ्नो लय छाडिनन् । ती महिलाहरूले न्याय नपाउँदासम्म ‘फलोअप’ गरिरहिन् ।
     
‘डिभोर्स दिएर आफैंलाई मुक्त गरेँ’
उनका श्रीमान्ले एक वर्षअघि भव्यतासाथ बिहे गरे । पार्टी प्यालेस बुकिङ भयो । धुमधामले बाजा बज्यो । थुप्रै मानिस त्यो बिहेमा सहभागी भए । समाजले उनको बिहे सहर्ष स्वीकार्‍यो । त्यसैले त, समाज पार्टी प्यालेस गयो । बधाई दियो । खुसीयाली साट्दै भोज पनि खायो । तर, कसैको मुखबाट उसप्रति लक्षित गरिएर एउटा पनि प्रश्‍न निस्किएन । विजेताले भने अहिले पनि हरेक दिन हजारौँ प्रश्‍नको सामना गरिरहनुपरेको छ । 

बिहे गर्ने एक वर्षअघि उनका श्रीमान्ले सम्बन्धविच्छेदको कागज पठाए । उनले अंशको अधिकार मागिन् । सौहार्दपूर्ण वातावरणमा धेरैचोटि छलफल गर्ने कोसिस गरिन् । आफ्नो नभए पनि छोराको नाममा केही सम्पत्तिको माग उनले गरेकी थिइन् । ‘डिभोर्स मागेको एक वर्षसम्म मैले यही कारणले डिभोर्स दिइनँ,’ उनले भनिन्, ‘तर, दुनियाँका लागि लड्ने म आफ्ना लागि लड्न सकिनँ ।’ सम्पत्ति खान खोजेको भन्दै उनीमाथि ज्यान मार्ने धम्की आउन थाल्यो । ‘मलाई मात्र नभएर छोरालाई पनि फोन गरेर ज्यान मार्ने धम्की आउन थाल्यो,’ उनले भनिन्, ‘आफ्नै बुवाले ‘तेरी आमाले तेरा लागि मागेको होइन सम्पत्ति, तँलाई नै सिध्याइदिन्छु’ भनेपछि मैले त्यो सम्पत्तिलाई छाडेर आफूसँग भएको सम्पत्तिलाई रोजेँ ।’

श्रीमान्विरुध्द अदालतमा गएर टेबुल ठोक्नबाट उनलाई उनका छोराले रोके । त्यो बेला उनका छोराले उनलाई भने, ‘मलाई सम्पत्ति चाहिँदैन । तपाईं भए पुग्छ । डर, त्रास र धम्कीबिनाको जिन्दगी बाँच्न पाए पुग्छ ।’

तीनचारओटा मिडियामा नदौडे उनी र उनको छोराको पेट भोकै हुन्थ्यो । अदालतमा जाने, मुद्दा हाल्ने र वकालत गर्ने समयसम्म उनीसँग थिएन । ‘कानुन एकातिर भए पनि व्यावहारिक जिन्दगी र भावना अर्कोतिर हुँदो रहेछ,’ उनले भनिन्, ‘त्यो बेला ‘आमा’ भन्‍ने शब्द मेरा लागि निकै ठूलो भारी पर्‍यो । बच्चाको खुसी, लालनपालन र उसलाई पर्ने मानसिक असरले मलाई अगाडि बढ्न रोक्यो ।’

त्यो बेलामा धेरैले विजेतालाई भने ‘जसले आफ्नो अधिकारका लागि लडेन उसले अरूका लागि लड्नु बेकार हो ।’ उनलाई पनि यो कुरा खड्किरहन्छ । तर, उनी निःशब्द छिन् । यसको जवाफ उनीसँग पनि छैन । 

जसरी उनकी आमाले उनलाई आशीर्वाद दिएकी थिइन्, त्यसरी नै हरेक आमाबुवाले आफ्नी छोरीलाई ‘आत्मनिर्भर भएर बाँच्‍नू’ भन्‍ने आशीर्वाद दिनुपर्ने उनले बताइन् । ‘जस्तोसुकै हिंसामा परे पनि आफू सक्षम हुँदा त्यसले दिने आत्मविश्‍वास छुट्टै किसिमको हुने रहेछ,’ उनले भनिन्, ‘शिक्षित र आर्थिक रूपमा सबल भयो भने धेरै बल मिल्ने रहेछ ।’

आफू सक्षम हुँदा धेरै कुरामा आफू माथि परिने उनले बताइन् । ‘उसको सम्पत्तिको आशमा मैले जिन्दगी बिताउनु परेन,’ उनले भनिन्, ‘यसको अर्थ सम्पत्ति लिनु हुँदैन भन्‍ने होइन । आफ्नो अधिकार लिनुपर्छ । तर, यदि आत्मनिर्भर नभएको भए म वर्षौंसम्म अदालतको ढोका ढकढकाइरहेको हुन्थेँ । आफूलाई थप कमजोर बनाइरहेको हुन्थेँ ।’

त्योबेला उनले डिभोर्स नदिन सक्थिन् । वर्षौसम्म श्रीमान्लाई झुलाएर राख्‍न सक्थिन् । तर, उनले त्यसो गरिनन् । ‘जो मान्छे आफ्नो होइन उसलाई कागजको भरमा के अल्झाएर राख्नु भनेर डिभोर्स गरिदिएँ,’ उनले भनिन्, ‘डिभोर्स दिएर मैले उसलाई मात्र होइन आफैंलाई पनि ऊबाट मुक्त गरेँ ।’ श्रीमान्कै करबलले डिभोर्स गर्न जाँदा पनि सबैले विजेतातिरै हेरे । उनीहरूको आँखाले विजेतालाई नै दोषी ठहर्‍याए ।

‘हातमा लगाएको सामान्य चाँदीको औँठी हेरेर ‘आहा ! कति राम्रो औँठी’ भन्दै आंैला छुन बहाना खोज्‍नेहरू भेटेँ,’ उनले भनिन्, ‘मोबाइलमा फोन गरेर तपाईंको हाँसो कति मीठो रिङटोन बनाएर राखौँ है ।’

नक्कली बाबुको सक्कली नागरिकता ?

नेपालमा कानुन भए पनि महिलामैत्री कानुनी प्रक्रिया नभएको विजेताले बताइन् । ‘हाम्रोमा कानुन भए पनि महिलामैत्री कानुनी प्रक्रिया छैन,’ उनले भनिन्, ‘सम्बन्धविच्छेदका मुद्दा हाल्दा एउटी महिलाले भोग्ने दुर्व्यवहारको कुनै साँधसीमा छैन । दोस्रो पक्षले सधैँ महिलालाई अन्टसन्ट प्रश्‍न गरेर गलाउनमै केन्द्रित हुन्छ । उसको ध्यान महिलाको चरित्रहत्या गर्नमै हुन्छ । जसकारण महिलाहरू हत्तपत्त अदालती प्रक्रियामा जान मान्दैनन् ।’ 

जुन दिन न्याय लिने र दिने कुरामा महिला ढुक्क हुन्छन्, त्यो दिन मात्र महिला अदालतको ढोकासम्म पुग्‍ने उनले बताइन् । ‘न्याय माग्‍न जाँदा सरल र सहज किसिमले न्याय पाउने वातावरण हुनुपर्‍यो,’ उनले भनिन्, ‘अदालत जाँदा कसैले हेरिरहेको छ कि भनेर तर्सिने र तर्किने वातावरण हुनु भएन ।’

कानुनी कागज र व्यावहारिक जीवन फरक पाटो रहेको उनले बताइन् । ‘कानुनले दिएको कागज र जीवन फरक छ,’ उनले भनिन्, ‘कानुनले दिएको कुरा व्यवहारमा पाउन फेरि लड्नुपर्छ । यसरी महिलाहरू कतिन्जेल लडिरहने ?’

सम्बन्धविच्छेद गर्दा उनका श्रीमान्ले बच्चाको सम्पूर्ण खर्च बेहोर्ने भन्दै कानुनी हस्ताक्षर गरेका थिए । तर, व्यवहारमा फुटेको कौडी मिलेको छैन । ‘अब म फेरि त्यो कागज लिएर पुलिसकहाँ धाउने ?, उसलाई कठघरामा उभ्याउने ?,’ उनी प्रश्‍न गर्छिन्, ‘त्यहाँ पुगेर पनि उसले पकेटबाट झिकेर पैसा दिँदैन । फेरि कागजै गर्छ । अनि फेरि त्यो कागज बोकेर म कहाँ जाने ?’

कानुनको अधिकारभन्दा माथि विजेतालाई मानिसको मानसिकतामा लाग्छ । ‘कानुन जति नै परिवर्तन भए पनि मानिसको मानसिकता परिवर्तन नभएसम्म केही कुरा परिवर्तन हुँदैन,’ उनले भनिन्, ‘सामाजिक संरचना पनि अर्को मुख्य कारण हो । ‘एक्लै हो’ भन्‍नेबित्तिकै मानिसले हेर्ने नजर नै बेग्लै हुन्छ । म सक्षम छु तैपनि, कार्यालयमा होस् वा अरु कुनै ठाउँमा ‘म सिंगल हुँ’ भन्‍न सक्दिनँ ।’

उनका छोरा अहिले १६ वर्षका भए । अहिलेका लागि विजेताको एउटै प्रार्थना छ, ‘न्याय नपाए पनि मैले मेरो छोराको नागरिकता सजिलै पाऊँ ।’ उनको छोरालाई नाबालक परिचयपत्र दिने बेला छाडेर गएका बुवाको नागरिकता मागियो । आफूले हुर्काएको छोराको नाबालक परिचयपत्र बनाउन बुवाको नागरिकता मागिएको कुरा उनलाई अलिकति पनि चित्त बुझेन । ‘बिहे दर्ता, जन्मदर्ता सबै हुँदा पनि उसैको नागरिकता चाहियो,’ उनले भनिन्, ‘जसले जन्मेपछि छोडेर हिँड्यो उनै नक्कली बाउको सक्कली नागरिकता किन चाहियो ? यसको जवाफ कसैले मलाई दिनुस् ।’ 

(नोट १ : हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभरि नै लैंगिक हिंसाविरुध्दको १६ दिने अभियान मनाइन्छ । आज यो अभियानको अन्तिम दिन हो । ‘लैंगिक हिंसा अन्त्यको प्रतिबध्दता : व्यक्ति, समाज र सबैको ऐक्यबध्दता’ भन्‍ने नारासहित यो वर्ष लैंगिक हिंसाविरुध्दको अभियान मनाइएको छ । गोपनीयतालाई ध्यानमा राखेर पात्रको नाम परिवर्तन गरिएको छ ।) 
 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x