समाज

सन्दीप लेख्छन् : म न्याय माग्दा माग्दै शिथिल भइसकेँ, यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस्

इकागज |
बैशाख २५, २०८१ मंगलबार २०:५७ बजे

फाइल तस्बिर

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेले आफू न्याय माग्दा माग्दै शिथिल भइसकेको र अपराध पुष्टि भए सजाय पनि भोग्न तयार रहेको बताएका छन् ।

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका सन्दीपले मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफू कानुनले नभइ अनुमान र एकतर्फी भनाइले दोषी भएको बताएका छन् । 'धेरै समय मौनतामा बसी रहेँ, आफूलाई अन्धकारमा राखी रहेँ अनि प्रतीक्षामा पलपल बाँची रहेँ । मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसेँ,' उनले लेखेका छन्, 'कानुन व्यवसायीले भन्नुहुन्छ तिमीलाई नगरेको अपराधको दोषी बनाइएको छ, न तथ्यले न प्रमाणले न अनुसन्धानको कुनै सार भूत निचोडले पुष्टि गर्छ । तर, मैले कति सहनु ?'


उनले आफ्नो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट सम्बन्ध भएको होस्, यदि आफू दोषी देखिए फाँसी नै होस् भनेर उल्लेख गरेका छन् ।

उनले तथाकथित अभियन्ताहरूलाई खुल्ला चुनौती समेत दिँदै भनेका छन्, 'फेरि पनि मेरो यो खुल्ला चुनौती हो ति तथाकथित अभियन्ताहरूलाई, सक्नुहुन्छ भने प्रमाणित गर्नुहोस् मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट सम्बन्ध भएको होस् । यदि म दोषी देखिन्छु भने मलाई फाँसी होस् मेरो लागि ८ वर्षले पुग्दैन फाँसी नै सही हुनेछ ।'

उनको मुद्दाको पुनरावेदन उच्च अदालतलाई विचाराधीन छ ।

सन्दीपको स्टाटस:

धेरै समय मौनतामा बसी रहें, आफूलाई अन्धकार मा राखी रहे अनि प्रतीक्षामा पल पल बाँची रहे । मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसला मा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसें । कानुनी व्यवसायीले भन्नु हुन्छ तिमीलाई नगरेको अपराध को दोषी बनाइएको छ, न तथ्यले न प्रमाणले न अनुसन्धान को कुनै सारभूत निचोडले पुस्टि गर्छ । तर, मैले कति सहनु? म न्याय माग्दा माग्दा शिथिल भई सके ।

सामाजिक संस्था र सामाजिक संजाल मा अनि झूट का न्याय का लागि लड्ने एकथरी गज्जब का आमा, दिदीहरू रहेछन् अनि केही प्रभाव पार्ने पत्र पत्रिका । ति तथाकथित र भनौंदा सामाजिक अभियन्ताहरूलाई मेरो यो खुल्ला चुनौती हो वहांहरूलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट भएको, तथ्य र प्रमाणले अझै साबित गर्नुहोस, यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस् मलाई ८ वर्षले पुग्दै पुग्दैन । तपाईँंहरूको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनियाँले बुझेको छ । म कानुनले होइन अनुमान र एकतर्फी भनाइले दोषी भएको छू, त्यो अनुमान मेरो लागि मात्र होइन, भोलि तपाईँंहरूका लागि अनि सारा संसार को लागि गम्भीर दुर्घटना हुनेछ लेखी राख्नु भगवानले हेरिरहेका छन् व्यक्ति भन्दा माथि । ति तथाकथित महिला सामाजिक अभियन्ता भन्नेहरू यती स्वार्थी र अपराधी रहेछन् कि जो वास्तबिक पीडितहरू हुन् तिनका लागि न बोलेको देख्छु न लेखेको, न लडेको । धिक्कार छ ति तथाकथित अभियन्ताहरू जसले एउटा खोल ओडेर अर्को व्यवसाय गर्छन् । मैले यती लेखिरहँदा अब केहीले मलाई पीडित को नाटकीय तुरूप फाल्यो भनेर लेख्लान् । तर, झुटा आरोप जब लाग्छ नि अनि बल्ल सद्बुद्धि आउला । म सानैदेखि धर्म मा विश्वास गर्ने व्यक्ति हुन् जो जो यो बनावटी अभियोग को अभियान मा खटिरहनु भएको छ, कानुनले नहोला धर्मको अग्निपरीक्षा मा तपाईँहरूले आफ्नो कर्म को फल भोग्नु हुनेछ ।

यो किन भन्दै छु भने म यो घटना को निर्दोष पात्र हु र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ त्यसमा तपाईँंहरूको पनि सहभागिता छ । धेरै खोल्न बाँकी छ । फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो । वाास्तबिक अनुहार आफैँ निस्केला म चाहि विश्वस्त छु । अन्तमा म निर्दोष छु र मेरो निर्दोषितामा विश्वास‍ र सहानुभूति राख्नेहरूसंग म जीवन भर ऋणी रहने छु । फेरि पनि मेरो यो खुल्ला चुनौती हो ति तथाकथित अभियन्ताहरूलाई, सक्नुहुन्छ भने प्रमाणित गर्नुहोस् मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट सम्बन्ध भएको होस् । यदि म दोषी देखिन्छु भने मलाई फाँसी होस् मेरो लागि ८ वर्षले पुग्दैन फाँसी नै सही हुनेछ । म त फसेँ, बोलेकै भरमा अब अरु कोही नफसोस् । बिन्ती छ । 

 

 


Author

थप समाचार
x