समाज

नेपाल सुन चाँदी व्यवसायी संघ रौतहटको विकल्पमा किन दर्ता भयो अर्को संघ ?

सञ्जय मिश्रा |
माघ १८, २०८० बिहीबार १८:२६ बजे

रौतहट- रौतहटमा सुन चाँदी व्यवसायीहरूले माउ संस्था नेपाल सुन चाँदी व्यवसायी संघको विकल्पमा नेपाल सुनचाँदी रत्न आभूषण व्यवसायी संघ रौतहट गठन गरेका छन् । माउ संघले साना व्यवसायीहरूको कहिल्यै वास्ता नगरेको तथा केन्द्रबाट पाइने सुविधाबाट वञ्चित गरेको भन्दै रौतहटमा सुन चाँदीका साना व्यवसायीहरूले विकल्प खोजेका हुन् ।

यहाँका व्यवसायीहरू जिल्ला प्रशासन कार्यालय रौतहटमा नेपाल सुन चाँदी रत्न आभूषण व्यवसायी संघ विधिवत् रूपमा दर्ता गरी जिल्लाको मध्यभाग गरुडामा पहिलो साधारणसभा तथा अधिवेशन सम्पन्न गरेका छन् । बुधबार सम्पन्न पहिलो साधारणसभा तथा अधिवेशनबाट उमेशप्रसाद साहको अध्यक्षतामा १३ सदस्यीय नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ रौतहट चयन गरिएको छ ।  संघको प्रथम वरिष्ठ उपाध्यक्षमा सन्नीकुमार सर्राफ, द्वितीय उपाध्यक्षमा शिवमकुमार सोनी, महासचिवमा रामवरणकुमार सोनी, सचिव तथा प्रवक्तामा चन्दन सागर, कोषाध्यक्षमा मिना देवी, सल्लाहकारमा कृष्णकुमार साह, गान्धि साह सर्वसहमतिमा चयन भएका हुन् ।


यस्तै सदस्यहरूमा सचिन्द्र साह सोनार, शान्ति देवी, उमेश साह सोनार, शिवशंकर साह, अनिता कुमारी, दिपककुमार साह निर्वाचित भएका छन् । दुई जना सदस्य भने समितिको अर्को बैठकले मनोनीत गर्ने जनाइएको छ ।

संघका अध्यक्ष उमेशप्रसाद साहका अनुसार रौतहटमा सुनचाँदी व्यवसायीको माउ संस्था गठन भएदेखि नै गर्दै आएको बेवास्ताका कारण एक दशकपछि अर्को संघ गठन गर्न बाध्य भएको बताए । जिल्लामा २०७० सालमा पहिलोपटक संघ दर्ता हुँदा आफू सचिव रहेको उनले बताए ।

सुनचाँदी व्यवसायी संघ दर्ता भएको जिल्लामा केन्द्र अर्थात महासंघले (सहुलियत) राष्ट्र बैँकले तोकेको दरभाउमा माग तथा आयातको आधारमा मासिक १ देखि ५ किलोग्रामसम्म सुन दिने गर्दछ । बजार भाउभन्दा ३ देखि ५ हजार प्रतितोला सस्तो हुने उक्त सुन संघमा दर्ता भएका सबै व्यापारीलाई कारोबारको मूल्याङ्कन गर्दै दामासाही अनुसार वितरण गर्नुपर्ने महासंघले व्यवस्था गरेको छ । उक्त व्यवस्थाअनुसार जिल्लाको संघले कहिल्यै सुन वितरण नगरेकाे आराेप छ ।

पछिल्लो १० वर्ष देखि बहालवाला अध्यक्षकै हालिमुहालीका दुई-चार जना व्यापारीले उक्त सुविधा लिँदै आएको वैकल्पिक नव गठित संघका अध्यक्ष उमेशप्रसाद साहले बताए । त्यति मात्र नभई नेपाल सुनचाँदी व्यवसायी संघ रौतहटमा तीन-तीन जना वरिष्ठ उपाध्यक्षलाई पाखा लगाउँदै पावर पहुँचको भरमा साधारण सदस्य समेत नरहेका व्यक्तिलाई अध्यक्ष बनाएको कारण अर्को संघ गठन गर्न बाध्य भएको उनले बताए ।

सदरमुकाम गौर, गरुडा, चन्द्रपुर , कटहरिया लगायत जिल्लाभरिका झण्डै १५० मध्ये १२५ व्यवसायी आफूहरूको साथ रहेको नव गठित नेपाल सुनचाँदी रत्न आभूषण व्यवसायी संघ रौतहटका महासचिव रामवरण साह सोनारले बताएका छन् । नेपाल सुन चाँदी व्यवसायी संघका पूर्व अध्यक्ष प्रकाश गहतराजले आरोपहरूको खण्डन गर्दै प्रजातान्त्रिक अभ्यासअनुसार अर्को संघ दर्ता गर्ने व्यापारीको अधिकार भएको प्रतिक्रिया दिएका छन् ।


Author

थप समाचार
x