समाज

स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि सामूहिक उजुरी दर्ता गरिने तयारी

इकागज |
भदौ २८, २०८० बिहीबार १४:४१ बजे

मकवानपुर । भदाै २७ गते बुधबार मकवानपुरको हेटाैडा उपमहानगरपालिकामा रहेको सञ्चो अस्पतालका डाक्टरहरू विकास थापा र प्रशान्त बिडारीमाथि आक्रमण गरेको घटनामा स्वास्थ्यकर्मीको सामूहिक उजुरी दर्ता गराउने भएका छन् । विभिन्न स्वास्थ्य संस्थाले घटनाको बिरोध जनाउदै बिज्ञप्ति निकालेका छन् ।

प्रहरी र प्रशासनले दोषीलाई कारवाही गर्न व्यक्तिगत उजुरी दर्ता गर्न चासो नदेखाएको भन्दै मकवानपुरका स्वास्थ्यकर्मीले सामूहिक रुपमा प्रहरी कार्यालयमा उजुरी दर्ता गराउने भएका हुन् ।

प्रशासन र प्रहरीले दोषीलाई कार्वाहीको चासो नदेखाउनु ,उजुरी दर्ता गर्नुको सट्टा दोषीलाई उन्मुक्ति दिने प्रयास भइरहेको आरोप लगाउँदै सुरक्षाको प्रत्याभूति नभएका कारण मकवानपुरका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले सामूहिक रुपमा प्रहरीमा उजुरी दर्ता गराउने तयारी रहेको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मकवानपुरका अध्यक्ष भोला चौलागाईले बताए ।

घटनापछि छलफलका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरका बोलाइएको र एसपीकै कार्यकक्षमा उजुरी दर्ता नगराउन वार्ता गरिएको र उल्टै दोषीले डाक्टरलाई काट्छु भन्दा समेत मकवानपुरका प्रहरी प्रमुख (एसपी) सीताराम रिजाल निरिह बनेको स्वास्थ्यकर्मीले आरोप लगाएका छन् ।

यता बुधबार अबेरसम्म वार्ताको नाममा पीडित डाक्टरहरुलाई नै हतोत्साहित गर्ने काम भएपछि बिहिबार बिहान हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था सञ्चालकहरुले छलफल गरी सामूहिक रुपमा मुद्दा दर्ता गराउन निवेदनको तयारी भइरहेको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मकवानपुरका अध्यक्ष भोला चौलागाईले बताए । बुधबार डाक्टरमाथि आक्रमण गर्ने समूहले बिरामीका कुरुवालाई समेत कुटपिट गरेका थिए ।

यता घटनालाई लिएर दोषीलाई उन्मुक्ति दिन लागि परेको भन्दै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको चर्को आलोजना भएको छ । घटनामा दुवै डाक्टर घाईते भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ । यस बिषयलाई लिएर नेपाल चिकित्सक संघ नेपाल औषधी व्यवसायी संघ मकवानपुर , राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मकवानपुरले दोषीलाई कार्वाहीको माग राख्दै विज्ञप्ती प्रकाशित गरेको छ ।

एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गु परीक्षण गर्दा पुष्टि भएका हेटौंडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारको क्रममा चितवनमा मृत्यु भएको थियो । प्रधानको उपचारमा लापरवाही भएको भन्दै पदमपोखरीका ४ जना महिला र ८/१० जना पुरुषको समूहले सञ्चो हस्पिटलको एचडीयु वार्डमा बिरामीलाई उपचारत डाक्टर थापा र बिडारीमाथि आक्रमण गरेका थिए ।

डाक्टरलाई अस्पतालभित्र कुटपिट गरेपछि अन्य ओपिडी सेवा पनि बन्द गरेर आन्दोलन गरेका छन् । डाक्टरमाथि कुटपिट हुँदा अन्य बिरामीको कुरुवामाथि समेत हातपात भएको जनाएको छ । यसैबीच सञ्चो हस्पिटलका डाक्टरमाथी आक्रमण गरेको विरोधमा मकवानपुरका चिकित्सकहरुले बहिरंग सेवा (ओपीडी) सेवा बन्द गरेका छन् ।

मकवानपुर प्रहरीले उक्त घटनाको जाहेरी लिनुको साटो पक्षलाई वार्ता गराउने प्रयास गरेको थियो । डाक्टरमाथि आक्रमण गर्ने समूह र पीडित डाक्टरबीच मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले आफ्नै कार्यकक्षमा वार्ता गराएका थिए । वार्ता गराउने क्रममा डाक्टरमाथि आक्रमण गर्ने समूहले प्रहरीकै अगाडि डाक्टरलाई काट्छु भन्दा समेत प्रहरी प्रमुख चुपचाप बसेकाे पीडित पक्षले बताएकाे छ । प्रहरी प्रमुखकै कोठामा अस्वभाविक वार्ता र धम्की सुनेपछि हेटौंडामा कार्यरत अधिकांश डाक्टरले राजिनामा दिएर जिल्ला छाड्ने मनस्थितिमा पुगे गुनासो गरेका छन् ।

आक्रमण भएको विषयमा प्रहरी, प्रशासनको मौनताले हेटौँडामा त्रासको वातावरण बनेको छ । सञ्चो हस्पिटल सञ्चालकले पनि दोषीमाथि कारवाहीका लागि मुद्दा दर्ता गराउन भन्दा सहमति गर्न डाक्टरहरुलाई भनेको बताइएको छ ।

नेपाल चिकित्सक संघले गर्यो कारबाहीको माग

हेटौँडामा डाक्टरमाथि कुटपिट भएको भन्दै नेपाल चिकित्सक संघले कारबाहीको माग गरेको छ । संघले बुधवार विज्ञप्ति जारी गर्दै चिकित्सकमाथि हातपात गर्नेलाई कारबाहीको माग गरेको हो ।

संघका आजीवन सदस्यसमेत रहेका चिकित्सकद्वय विकास थापा र प्रशान्त बिडारीमाथि हातपातको घटनामा संलग्न दोषीलाई अविलम्ब स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाही गर्न संघले माग गरेको हो ।

‘भाद्र २७ गतेका दिन नेपाल चिकित्सक संघका आजीवन सदस्यद्वय डाक्टर विकास थापा र डाक्टर प्रशान्त विडारीमाथि सन्चो अस्पताल हेटौंडामा बिरामीहरूको उपचार गरिरहेको अवस्थामा सांघातीक आक्रमण गरी गम्भीर घाइते बनाइएको घटनाप्रति नेपाल चिकित्सक संघ घोर भत्सना र निन्दा गर्दछ’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘श्रावण २२ गते एकजना बिरामी डेंगी रोगको लक्षण लिई उपचारका लागि सन्चो अस्पताल हेटौंडामा आएको र उक्त बिरामीलाई थप उपचार आवश्यक भएको हुनाले २३ गते चितवनको सुविधा सम्पन्न अस्पतालमा प्रेषण गरिएको थियो । उक्त बिरामीको २०८० श्रावण २५ गते उपचारका क्रममा असामयिक निधन हुन गएको घटनालाई लिएर पहिला पनि क्षतिपूर्तिका लागि धम्की दिने गरेको तथा मिति २०८० भाद्र २७ गते सन्चो अस्पताल हेटौडामा कार्यरतद्वय डा.थापा र विडारीमाथि शारीरिक हमला गरी गम्भीर घाइते बनाई अन्य स्वास्थ्यकर्मीहरूलाई धम्क्याएको घटनाका सम्बन्धमा नेपाल चिकित्सक सघ स्तब्ध भएको छ ।’

नियमित रूपमा उपचार प्रक्रियालाई इमानदारीपूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा प्रेषण गरिएको बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकहरूलाई नै हातपात गर्ने जस्तो अस्वाभाविक र अमानवीय घटनाप्रति संघको गम्भीर आपत्ति रहेको जनाइएको छ । संघका महासचिव डा.सन्जिव तिवारीले दोषीलाई यथाशीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेका छन् । ७२ घण्टाभित्र उक्त घटनामा संलग्न दोषीलाई कानुनी कारबाही नगरिएको अवस्थामा नेपाल चिकित्सक संघ चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने उनले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

राजनीतिक दलहरुकाे ध्यानाकर्षण

बुधबार सञ्चो अस्पतालका डाक्टर थापा र विडारीमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति मकवानपुरका राजनीतिक दलहरुले ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले दोषीलाई कारवाही गर्नुपर्ने, प्रहरी, प्रशासन जिम्मेवार हुनुपर्नेमा दलहरुले ध्यानाकर्षण भएको जनाएका हुन् ।

नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाले डाक्टरमाथिको आक्रमण निन्दनीय भएको बताए । चिकित्सकमाथि आक्रमण हुनु दुखद् घटना भएको उल्लेख गर्दै सभापति लामाले भने दोषीलाई प्रहरी, प्रशासनले कारवाही गर्न आनाकानी गरिरहेको अवस्था भने आश्चर्यजनक छ ।

नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले अस्पतालमा उपचार गरिरहेका डाक्टरमाथि सांघातिक आक्रमण हुनु जिल्लाकै बेइज्जतीको विषय बनेकाे जनाए । दलहरु सबै एक भएर दोषीलाई कारवाहीकाे दायरामा ल्याउनु पर्ने श्रेष्ठले बताए । ‘डाक्टरको कमिकमजोरी भए कारवाहीको कानुनी प्रक्रिया छ, सांघातिक आक्रमण हुनु गलत हाे’ उनले भने ।

नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक प्रेम बहादुर पुलामीले डाक्टरमाथि भएको आक्रमणले चिकित्सकहरु हेटौँडामा बस्ने अवस्था नभएकाे बताए । घटनाबारे बुझेर दोषीलाई कारवाही गराउन पहल गर्छाै‌ उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर सभापति भरत पराजुलीले पनि घटनाबारे बुझेर मात्रै यसमा उचित कदमकाे पहल गर्ने जानकारी दिए ।



Author

थप समाचार
x