समाज

फेसबुकमा के लेख्‍दै हुनुहुन्छ ? परिएला है प्रहरीको फन्दामा

कुण्ठा र आक्रोश पोख्‍ने जन्जाल बन्‍दै (अ)सामाजिक सञ्‍जाल

अतिन आचार्य |
फागुन १६, २०७९ मंगलबार ८:१५ बजे

काठमाडौँ-  एक महिनाअघि दाङका सरोज खड्का (नाम परिवर्तन) दुबईबाट स्वदेश फर्के । वैदेशिक रोजगारीको समयावधि पुरा गरी फर्केका उनी काठमाडौँमा दुई दिन बसे ।

सरोज घर पुग्दा परिवारमा खुसीको माहोल छायो । तर, उनी भने घर पुग्दा पनि खुसी हुन सकेनन्। खुसी भन्दा पनि चिन्तित थिए । उनी आफ्नो काम छोडेर आएका थिए । उनी केही वर्षको विदेश बसाइलाई बिट मार्दै आफ्नो आँगन टेकेका थिए ।


दुबईको एक सेक्युरीटी कम्पनीमा काम गर्ने सरोज नेपाल आएसँगै बेरोजगार बने । उनलाई आफ्नो आँगन पनि बिरानो लाग्न थालेको थियो । नेपाल आएसँगै उनको रोजगारी र आम्दानीको स्रोत दुवै गुम्यो ।

सरोजले दुबईको मासिक आम्दानी ४० हजार गुमाए । आम्दानी मात्र गुमाएनन् । आर्थिक भार बढाए । घर पुगेपछि दैनिक हुने खर्चको ग्राफ बढ्दै गयो ।

उनले दुबईमा आफूलाई भुलाउने माध्यम सामाजिक सञ्जाललाई बनाएका थिए । यहाँ पनि सरोजको साथी फेसबुक बन्यो । घरको काम सकाएर फेसबुकमा भुल्थे ।

उनी दुबईमा रहँदा सामाजिक सञ्जालबाट देशको वर्तमान राजनीतिक अवस्थाको बारेमा जानकारी लिन्थे । देशको अवस्थाप्रति चिन्तित पनि थिए । क्षण-क्षणमा समाचारको अपडेट लिइरहन्थे ।

वैदेशिक रोजगारीमा रहँदा सरोज राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक विषयमा चासो राख्थे । उनलाई नेपाली युवाहरू बेरोजगार हुनु र विकास नहुनुमा राजनीति गर्ने नेताकै कारण हो भन्ने लाग्थ्यो ।

स्वदेशमा पर्याप्त अवसर नहुँदा युवाहरू विदेश पलायन भएको उनले बुझेका थिए । यसको सब दोष उनी नेतालाई मान्छन् । अहिले भइरहेको सम्पूर्ण अवस्थाको जिम्मा राजनीति गर्ने नेताले लिनुपर्ने उनको बुझाइ छ ।

स्वदेश फर्केपछि सबैभन्दा बढी निराशा सरोजमा छायो । काम थिएन र उनको मासिक आम्दानीको स्रोत थिएन । पारिवारिक जिम्मेवारी पनि काँधमा थियो । ४३ वर्षीय सरोजले निराशा पोख्ने माध्यम सामाजिक सञ्जाललाई बनाए ।

फेसबुक राम्रा भन्दा नराम्रा कुराहरू देखिने ठाउँ रहेको उनलाई लाग्यो । राम्रा भन्दा पनि नराम्रा कुरा लेखे छिटो भाइरल भइने उनले बुझे । उनमा नेपाल बसाइ र परिवारसँगको बसाइले आशा भन्दा निराशा बढायो । मुलुकमा रोजगार नपाइने र उद्यम गर्ने वातावरण नहुँदा आक्रोश पोख्ने माध्यम फेसबुकलाई बनाए ।

घरको बसाइ पट्यार लाग्दो भएपछि उनले फेसबुकमा स्टाटस लेखे,’ आत्मदाह किन गर्छौ? आत्मघाती बनी बम पड्काएर ती नेतालाई सक ।‘

उनले केही दिनअघि बानेश्वरको संसद् भवनअघि प्रेम आचार्यले आत्मदाह गरेपछि आफ्नो निराशा पोखे । स्वदेश फर्केपछि उनले नेपालमा सानो लगानी र थोरै पुँजीमा केही गर्न नसक्ने वातावरण भएको महसुस गरे ।

उनी आफैँले लेखेको स्टाटसले प्रहरीको फन्दामा पुगे । स्टाटस लेखेकै कारणले काठमाडौँसम्म डोर्‍याएको थियो उनलाई ।

उनले आफ्नो निराशा, आक्रोश र भावना पोख्‍न फेसबुकलाई बनाए । फेसबुकमा मनोवैज्ञानिक असर पार्ने र जनतामा उत्तेजना पैदा गर्ने स्टाटस लेखिएको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी पर्‍यो ।

नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेपछि उनको खोजी सुरु भयो । प्रहरीले सरोज को हुन, के गर्छन् र कहाँबाट बसेर लेखेका हुन् ?  खोजी गर्न थाल्यो । तर, पत्ता लगाउन सकेन । 

प्रहरीले उनको फेसबुकमा भएका साथीहरूसँग सम्पर्क गर्‍यो । सरोजलाई चिनेको जवाफ साथीहरूबाट पनि पाएन । भोटाहिटीस्थित ब्यूरोका प्रहरी निरीक्षक राजकुमार खड्गीका अनुसार एकजना बैंकमा काम गर्ने साथी फेला पर्‍यो । सरोज दाङ बस्ने र उनको ठेगाना पत्ता लाग्यो ।

सरोजको स्टाटस समाजमा नकरात्मक असर पर्ने खालको भएकाले ब्यूरोले सूक्ष्म ढंगले अनुसन्धान थाल्यो । फेसबुकले पनि सोही दिन उनको ‘युजर डिटेल’  पठायो । ब्यूरोले सम्पूर्ण ठेगाना पत्ता लागेपछि दाङ प्रहरीलाई खबर गर्‍यो ।

दाङ प्रहरीले सरोजले नियन्त्रणमा लियो । उनलाई प्रहरीले काठमाडौँ ल्यायो । उको साथमा श्रीमती र छोराछोरी पनि थिए ।

प्रहरी निरीक्षक खड्गीले उनको भनाइ उद्दृत गर्दै भने,’ परिवारको साथमा आएकाले आफ्नो गल्ती महसुस गरे । जानाजान नगरेको । नेपालको राजनीतिक अवस्था र सामाजिक अवस्था देखेर स्टाटस लेखेको हुँ ।‘

उनी प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो समय सामाजिक सन्जालमा असामाजिक कुरा पोष्ट्याउनेहरूको संख्या ह्वात्तै बढेको छ । सामाजिक सन्जाल क्षणिक आक्रोश र राजनीतिक वितृष्णा पोख्ने माध्यम बनेको छ । यही माध्यमले कतिलाई प्रहरी हिरासतसम्म पुर्‍याएको छ । यसमा सामाजिक सन्जालका प्राय: सबैजसो माध्यम छन् । फेसबुकसहित ट्वीटर र पछिल्लो समय टिकटकमार्फत् चर्को स्वरमा जथाभावी बोल्ने क्रम बढेको छ । अझै युट्युबमा पनि भाइरलको रोगले ग्रस्त बनाउको छ । 

फेसबुकमा लेख्दा ध्यान दिनुपर्छ

प्रहरीले नियन्त्रणमा राख्दा मनोवैज्ञानिक त्रास देखाएकाले परिवारको साथमा आएका थिए उनी । ‘मानसिक यातना दिएकाले पनि परिवारको साथमा आएको हुन सक्छ । उसले फेसबुकमा स्टाटस लेखेका थिए,’ उनी भन्छन्,’ सम्झाइ, बुझाइ वा मनोपरामर्श गरेको भए पनि उनी डराउँदैन थिए होला । मलाई बाटोमा केही भइहाल्छ कि भनेर श्रीमती र सन्तानका साथमा आएका थिए ।‘

फेसबुकमा सामाजिक गतिविधि वा मनोवैज्ञानिक त्रास फैलाउने खालका कुनै पनि स्टाटस नलेख्ने प्रतिबद्धता जनाएपछि कागज गराएर सरोजलाई छोडिएको खड्गी बताउँछन् ।

कतिपय मुद्दामा प्रहरीले सैद्धान्तिक भन्दा व्यवहारिक पक्षलाई ध्यान दिने गरेको उनको भनाइ छ । उनी साथमा परिवारसहित आएकाले पनि गम्भीर विषय नबनाइ सम्झाएर व्यवहारिक पक्ष केलाएर छाडिएको उनको भनाइ छ ।

‘सामाजिक सञ्जाल प्रयोगकर्ताले स्टाटस लेख्दा आफ्नो कुरामा ध्यान दिनुपर्छ । के लेख्दैछु, यो मेरो लेखाइले कुनै समूह विशेष वा कोही माथि नराम्रो असर पर्छ, पर्दैन वा गलत सन्देश जान्छ, जाँदैन भनेर ध्यान दिनुपर्छ,’ प्रहरी निरीक्षक खड्गी अगाडि थप्छन्,’ धेरै जना प्रयोगकर्ताहरू कानुनको फन्दामा परेपछि मात्र थाहा पाउँछन् । मैले यसो गर्नु हुँदैन थियो भनेर । धेरैले क्षणिक रमाइलोका लेख्छन् । कतिपयले जानेर वा नजानेर पनि लेख्ने गरेका छन् ।‘

अपरिचित व्यक्तिसँग सामाजिक सञ्जालमा कुरा गर्न नहुने उनले सुझाव दिए । नचिनेका मानिसलाई फोटो पठाउन नहुने उनले बताए ।

फेसबुकमा भ्रामक सूचना बढ्न थाल्यो

पछिल्लो समय सामाजिक सञ्जालमा भ्रामक सूचना प्रवाह गर्नेको संख्या बढेको छ । फेसबुकमा लेखिने स्टाटसले कहाँ, कति र कसलाई असर हुन्छ त्यसको यकिन गर्न नसक्दा समस्या उत्पन्न हुन थालेको छ ।

देश, धर्म, समाज, जाती, वर्ग, निश्चित व्यक्ति, महिला  बालबालिकालाई लक्षित गरी कुनै पनि प्रचारबाजी गर्न हुँदैन । सामाजिक सञ्जालमा असर गर्ने खालका भिडियो र तस्विर सार्वजनिक गर्न नपाइने खड्गी बताउँछन् ।

सरकारी लेटरप्याडको नक्कली बनाइ भ्रामक सूचना सम्प्रेषण गर्ने र संवैधानिक आयोगका बारेमा गलत सूचना प्रवाह गरी दुःख पाइम भनेर उजुरी गर्नेको संख्या बढेको उनले बताए । कतिपय व्यवसायीले फेसबुकमा चर्चित व्यक्तिको अनुमति नलिइ फोटो प्रचार गर्दा स्वयम व्यक्ति पीडित बनी कारबाही गर्नुपर्ने माग सहित  आउने गरेको उनको भनाइ छ ।

मृत्यु जस्तो संवेदनशील कुरामा फेसबुकमा रमाइलोका लागि लेख्न नहुने उनी बताउँछन् । लेख्नेलाई रमाइलो लागे पनि मृत्युमा पीडा भोगेकालाई त्यस्ता पोष्टले असह्य हुने उनको भनाइ छ । संवेदनशील कुरा सामाजिक सञ्जालमा भरसक लेख्न नहुने प्रहरी निरीक्षक खड्गी सुझाउँछन् ।

के हुन्छ कानुनी कारबाही ?

साइबर अपराध अन्तर्गत दफा ४७ मा उल्लेख भएबमोजिम कसैप्रति घृणा वा द्वेष फैलाउने, कम्प्युटरको वा इन्टरनेटको प्रयोगबाट विभिन्न सामाजिक सञ्जाल मार्फत सार्वजनिक जातजाती र सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्न नपाइने उल्लख छ ।

सार्वजनिक रुपमा नैतिकता, शिष्टाचार विरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गरेमा, महिलालाई जिस्काउने,हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै अमर्यादित कार्य गर्ने वा गर्न लगाएमा पनि साइबर अपराध गरिएको मानिएको छ । यस्ता अपराध गर्नेलाई १ लाखदेखि वा पाँचवर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

नेता जथाभाबी बोल्छन् !

फेसबुकमा स्वयम व्यक्तिले किन र कसका लागि लेख्ने त्यो कुरा थाहा पाउनुपर्ने समाजशास्त्री डा. मिना उप्रेती बताउँछिन् । व्यक्तिगत कुरा र सामाजिक संरचना तथा समाजले कस्तो संकेत गरिरहेको बारेमा थाहा पाउनुपर्ने उनले बताइन् ।

‘सामाजिक सञ्जाल भनेको के हो ? हामीले कसरी बुझ्यौँ, यसमा कस्ता-कस्ता कुराहरू राख्नुपर्छ त्यसबारेमा जान्नुपर्छ । यसलाई स्वतन्त्रले रुपमा चलायौँ । यसको महत्त्व बुझेनौँ,’ उनले भनिन्,’ हामीले के लेख्नुहुन्छ, के बोल्न हुँदैन त्यस बारेमा हेक्का राख्दैनौँ । मनमा लागेको जे कुरा पनि बोल्न पाइन्छ भनेर अभिव्यक्त गरिन्छ । गाली र कुण्ठा पोख्ने ठाउँ भएको छ । कालान्तरमा यसले असर गर्छ भनेर ख्याल गर्न छौड्यौँ ।‘

सामाजिक सञ्जाललाई निगरानी गर्ने निकाय प्रभावकारी हुनुपर्ने समाजशास्त्री उप्रेतीले बताइन् । ‘ कडा कानुन भए फेसबुकमा के लेख्‍ने र के बोल्ने विषयमा सचेत हुन्थे । कारबाहीमा परिने डरले आफूलाई नियन्त्रण गर्दै जाने थिए । आज सामाजिक सञ्जालको लेखाइ र बोलाइ सुन्दा समाजले लिएको बाटोको सोझै अनुमान गर्न सकिन्छ,’ उनी भन्छिन्,’ राजनीतिक दलका नेता र अन्तवार्ता दिनेहरू नै जथाभावी बोलिरहेका हुन्छन् । उनीहरू अभिभावक हुन् । अभिभावकले राम्रो कुरा मात्र गर्नुपर्छ । फेसबुक कुण्ठा र चरित्रहत्या गर्ने ठाउँ बनेको छ ।‘

समाजलाई अगाडि बढाउन सहयोग गर्नुपर्ने सामाजिक सञ्जाल डरलाग्दा चरित्र स्थापित गर्न लालायित भएको उप्रेतीको तर्क छ । युट्युब जस्ता माध्यमबाट परिवार र व्यक्तिविरुद्ध लाञ्छना लाग्नेगरी आवाज बाहिर आउने गरेको उनले बताइन् ।

सामाजिक सञ्जाललाई कुनै पनि व्यक्तिलाई अप्ठयारो पर्दा सहयोग गर्ने स्थान बनाउनुपर्ने धारणा राखिन् । ‘राम्रा कुरा सम्प्रेषण र समाजमा सकरात्मक सन्देश दिने खालका घट्ना सार्वजनिक हुनुपर्छ, ‘ उनले सुनाइन्,’ अहिलेका गतिविधिहरू हेर्दा सामाजिक सञ्जाल अराजक बनिसकेको छ । यसबाट सबैजना चिन्तित हुनुपर्ने अवस्था पनि आएको छ ।‘

विदेशबाट केही गर्छु भनेर आएकाहरू यहाँको सहज वातावरण नदेख्दा निराश बन्ने गरेको उनको अनुभव छ । छोरा मानिसहरू विदेशमा अप्ठयारो पर्दा राज्यले सहयोग नगर्दा पनि राज्यप्रति उदासीन बनी गाली गर्ने गरेको उनले बताइन् ।

वैदेशिक रोजगारबाट फर्केकालाई राज्यले सहुलियत ऋण दिएर भए पनि स्वदेशमा केही गर्न सक्ने वातावरण बनाइदिनुपर्ने डा. उप्रेतीको भनाइ छ । ‘सामाजिक सञ्जालले विदेशमा नेपालीलाई र स्वदेश फर्केका महिलालाई सबैभन्दा बढी गाली गर्ने गरेको पाइन्छ,’ थप प्रस्ट पार्दै उनले भनिन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x