समाज

तीन पटक आत्महत्या प्रयास गरेका सन्दीप भन्छन्-

'लाइफ इज ब्युटिफुल'

सृजना खड्का |
कात्तिक १, २०७७ शनिबार ५:५५ बजे

ललितपुर, ताल्छीखेलका सन्दीप शाही ठकुरी । जसलाई २०६६ असार १५ र २०६९ बैशाख ८ गतेको दिन झुक्किएर पनि सम्झिन मन लाग्दैन । तर, जति बिर्सन खोजेपनि ती दिन र घटना उनको आँखामा झल्झली आइरहन्छन् । नआओस् पनि कसरी ! ती दिनकै कारणले हो सन्दीपले तीन-तीन पटकसम्म आफ्नो प्राण त्याग्न खोजेको । आत्महत्याको बाटो रोजेको ।

परिवारका एक्लो सन्तान हुन्, सन्दीप । २०६६ सालको घटना घट्दा उनी मात्र २० वर्षका थिए । त्यही उमेरमा उनले जीवनमा सोच्दै नसोचेको परिस्थितीको सामना गर्नुपर्‍यो । उनकी आमाले आत्महत्याको बाटो रोजिन् । जसको प्रत्यक्षदर्शी सन्दीप स्वयम् थिए । ‘आमालाई झुण्डिएको अवस्थामा सबैभन्दा पहिले मैले नै देखेको थिएँ,’ उनले भने, ‘उहाँले घरको सिलिङमा झुण्डिएर आत्महत्या गर्नुभएको थियो ।’


उनकी आमालाई मानसिक समस्या थियो । मनोचिकित्सकको सल्लाहमा उनले औषधि खाइरहेकी थिइन् । ‘डाक्टरले आमाको दिमागको बायाँपट्टि प्वालजस्तो देखिएको छ भनेका थिए,’ सन्दीपले सम्झिए । उपचारको लागि लैजादै गर्दा उनकी आमा भन्ने गर्थिन्, ‘कान नजिकै आएर कोही बोलिरहेको जस्तो लाग्छ ।’

डाक्टरले उनकी आमालाई नियमित औषधि खान सल्लाह दिएका थिए । ‘तर, आमाले नियमित औषधि खानुभएको रहेनछ,’ उनले भने, ‘म बाँच्नुभन्दा मरे भने तिमीहरु बाउछोराले सुख पाउँछौँ’ सधैँ यस्तै-यस्तै कुरा गर्नुहुन्थ्यो ।’आमाको कुराले सन्दीपलाई भने कता-कता डर लागिरहन्थ्यो । आमाले केही नराम्रो कदम चालिहाल्ने हो कि भन्ने शंका उनमा उत्पन्न भएको थियो । एकदिन, त्यही उनको शंका सत्यतामा परिणत भयो ।

कृषि बालीमा हाल्ने विषादीको सेवन गरेर उनकी आमाले पहिलो पटक आत्महत्या गर्न खोजेकी थिइन् । हत्तपत्त पाटन अस्पताल लगेर आफ्नी आमाको ज्यान सन्दीपले बचाएका थिए । त्यसको केही समयपछि फेरि उनकी आमाले झुण्डिएर आत्महत्या गर्ने कोसिस गरेकी थिइन् । दोस्रो पटक पनि सन्दीपले नै आमालाई आत्महत्या गर्नबाट रोकेका थिए । तेस्रो पटक भने उनले आमालाई रोक्न सकेनन् । घरमा कोही नभएको बेलामा सिलिङमा झुण्डिएर उनकी आमाले आत्महत्या गरिन् । मृत अवस्थाकी आमालाई सबैभन्दा पहिला सन्दीपले नै देखे ।

बुबाले पनि आत्महत्या 
श्रीमतीको मृत्युकाकारण उनका बुबा तनावमा थिए । उनका बुबा जग्गाको कारोबार गर्थे । आमाको मृत्युपछि उनका बुबाको कारोबार एकाएक डामाडोल भयो । उनीहरु सडकमा आए । ‘आमा बितेको तनावसँगै कारोबारमा लागेको घाटाले बुबा तनावमा हुनुहुन्थ्यो,’ उनले भने, ‘तर, उहाँले कहिल्यै आफ्नो तनाव सेयर गर्नुभएन । बिस्तारै एक्लै बस्ने, कोहीसँग नबोल्ने गर्न थाल्नुभयो ।’ त्यो बेलामा सन्दीप कलेज पढ्ने अल्लारे ठिटो थिए । बुबालाई के भएको भनेर उनले उतिसारो खोज-खबर गरेनन् । उनको जिन्दगीमा फेरि अर्कोपटक सोच्दै नसोचेको घटना भयो । २०६९ असार १५ गते घरको कम्पाउन्ड भित्रकै इनारमा हाम्फालेर उनका बुबाले आत्महत्या गरे ।

तीन वर्षको बीचमा आमाबुबा दुबैले आत्महत्या गरेपछि सन्दीप एक्लो भए । आमा बितेको बेला छरछिमेक र आफन्तबाट उनले केही साथ र सहयोग पाएका थिए । तर, बुबा बितेपछि साथ र सहयोग त कुरै छाडौँ सान्तवनाका शब्दहरुको समेत खडेरी लाग्यो । त्यो बेलामा उनी सोसल वर्क विषय लिएर स्नातक तहमा अध्ययनरत थिए । आमाबुबा दुबैलाई गुमाएपछि उनको पढाइ रोकियो । खाने बस्ने ठाउँको टुङ्गो भएन ।

‘बिहान बेलुकाको छाक टार्नै मुस्किल भयो,’ उनले भने, ‘त्यो अवस्थामा न मैले आफ्नो पढाइ सोच्न पाएँ न करिअर नै ।’बेलैमा मानसिक स्वास्थ्यबारे थाहा पाएको भए आमाबुबा दुवैलाई बचाउन सकिन्थ्यो कि भन्ने लाग्छ उनलाई । ‘त्यो बेलामा अल्लारे बुद्धि थियो,’ उनले भने, ‘न आमाको मनमा के बितेको थियो बुझ्न खोजे न बुबाको ।’

तीनपटकसम्म आत्महत्याको प्रयास 
आमाबुबा दुबैले आत्महत्या गरेपछि उनीमाथि थुप्रै किसिमका लान्छना लागे । ‘छोराकै कारणले आमाबुबाले आत्महत्या गरेको हुनुपर्छ’ भनेर धेरैले उनलाई छिछिःदूरदूर गरे । ‘आत्महत्या ‘जेनेटिक’ हुन्छ अब यसले पनि आत्महत्या गर्छ’ भन्ने समाजका मानिसदेखि ‘यसले पनि अब चाँडै आत्महत्या गर्छ’ भनेर कुरेर बस्ने आफन्तहरु समेत उनले भेटे  । उनका आमाबुबाको बारेमा मानिसहरु निकै नकारात्मक टिकाटिप्पणी गर्थे । उनलाई पनि बेलाबेला बचनले घोच्थे र भन्थे- ‘आत्महत्या गर्ने कायर आमाबुबाको कायर छोरा ।’

त्यसपछि उनमा ‘केका लागि बाँच्ने’, ‘कसको लागि बाँच्ने’ भन्ने खालका विचार आउन थाले । यस्ता विचारहरुले उनलाई पनि आत्महत्योको बाटोतिर डोहोर्‍यायो । उनले एकपटक होइन, दुइपटक होइन तीन-तीन पटकसम्म आत्महत्याको कोसिस गरे । बुबा बितेको पाँच-छ महिनापछि उनले पहिलोपटक यो दुष्प्रयास गरेका थिए । आमा सिलिङमा झुण्डिएर आत्महत्या गरेको देखेका उनले आमाकै सिको गरे । टाइले घाँटीमा बाँधेर झुण्डिने कोसिस गरे । तर, सफ ‘मानिसहरुको लान्छना मलाई सह्य भएन,’ उनले भने, ‘त्यसैले जे पर्ला-पर्ला बरु मरिदिन्छु भन्ने सोच आयो । पहिलो पटक झुण्डिएर, दोस्रो र तेस्रो पटक औषधीका गोलीहरु खाएर आत्महत्याको कोसिस गरेको थिएँ ।’

‘लाइफ इज ब्युटीफुल’
तीन पटकसम्म आत्महत्याको प्रयास गरेपछि मर्न सजिलो रहेनछ भन्ने निष्कर्षमा उनी पुगे । मर्ने कोसिस गर्दा मनको कुनामा उत्पन्न भएको सानो डरले नै आफूलाई बचाएको उनले बताए । ‘मर्न लाग्दा मनमा कता-कता डर लाग्दो रहेछ,’ उनले भने, ‘मलाई त्यही डरले बचायो । त्यही डरले जिउन सिकायो ।’

यसपछि उनी मनोपरामर्शमा गए । आभाष समूह भन्ने एउटा संस्थामा पुगे । जहाँ उनी कुनै समय सोसलको विद्यार्थीको रुपमा कलेजको तर्फबाट भोलेन्टियर गर्न जान्थे । ‘भोलेन्टियर गरिरहेको संस्था आफै गएर बस्नुपर्ला भनेर मैले कहिल्यै पनि सोचेको थिइनँ,’ उनले भने ।

उनलाई त्यहाँ सबैले धेरै मद्धत गरे । आफ्ना कुराहरु सुन्दिने साथीहरु उनले पाए । ‘पहिला रोजीरोटीकै चिन्ता थियो,’ उनले भने, ‘त्यहाँ गएपछि त्यो समस्या समाप्त भयो । मैले भविष्यमा के गर्ने भनेर सोच्ने मौका पाएँ । त्यसपछि अनेक संस्थाहरुसँग आवद्ध भएर काम गर्न थाले । धेरै देशहरु घुमेँ । जिन्दगीको महत्वबारे बुझेँ ।’

उनी आवाष समूहमै आवद्ध छन् । उनी समस्याग्रस्त मानिसहरुलाई काउन्सिलिङ दिने काम उनी गर्छन् । नियमित रुपमा अरुलाई काउन्सिलिङ दिंदा त्यसले आफैलाई सहयोग गरेको अनुभव उनले गरेका छन् । ‘हरेक दिन अरुलाई केही कुरा भनिरहँदा त्यो कुरा आफैलाई पनि भनिरहेको जस्तो लाग्छ,’ उनले भने, ‘अरुलाई सकारात्मक हुन प्रेरित गर्दा त्यसले आफूलाई पनि सकारात्मक हुन सघाउँदो रहेछ ।’ सन्दीप आजभोलि बाँच्न अरुलाई प्रेरणा दिन्छन् । आत्महत्या नै सबै कुुराको समस्या होइन भन्छन् । आत्महत्याको विचार आएका प्रत्येक व्यक्तिलाई सन्दीपको सन्देश छ, ‘लाइफ इज ब्युटिफुल ।’

६ महिनामा ३ हजार ८ सय आत्महत्या
प्रहरी प्रधान कार्यालय, नक्सालको तथ्यांकअनुसार फागुनदेखि साउनसम्म ३ हजार ८ सय ४५ जनाले आत्महत्या गरिसकेका छन् । जसमध्ये फागुनमा ४ सय २०, चैत्रमा ४ सय ९६, बैशाखमा ५ सय ८०, जेठमा ६ सय ६८, असारमा ९ सय ७२ र साउनमा ७ सय ९ जनाले आत्महत्या गरेको तथ्यांकले देखाउँछ ।

मनोविद गोपाल ढकालले परिवारमा कसैले आत्महत्याको कोसिस गरिसकेको भए उसलाई समाजले हेयको दृष्टिकोणले नभइ उनीहरुलाई साथ र सहयोगको जरुरी भएको बताउँछन् । आत्महत्याको संख्या दिनप्रतिदिन बढ्दै गएरहेको हुनाले कसैलाई केही समस्या देखिए मनोवैज्ञानिक परामर्श लिन नहिचकिचाउन उनी सल्लाह दिन्छन् ।


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x