कर्णाली

जसले आफ्नो तलब भत्ताले असहाय बालबालिका पढाउँछन्

लक्ष्मी भण्डारी |
पुस २५, २०७८ आइतबार १२:४७ बजे

सुर्खेत- राजनीतिलाई धेरै जसोले पद र पेशाका रुपमा लिन्छन् ।  अझै राजनीतिलाई भ¥याङ बनाएर नेतृत्व गर्नेहरुले आफ्नो दुनो सोझ्याउने प्रयत्नमा लागिरहन्छन् । तर वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष भुपेन्द्र खत्रीले भने राजनीतिलाई समाजसेवाको रुपमा लिएका छन् । ‘हामी समाजसेवा गर्नकै लागि राजनीति गर्ने हो’उनी भन्छन्, ‘राजनीतिलाई पेशाको रुपमा होइन सेवाको रुपमा लिनुपर्छ ।’

वडा अध्यक्ष खत्रीले आफुले पाउने सेवा–सुविधावापतको रकम सामाजिक सेवामा खर्चिने गरेका छन् ।  उनले आफू वडाअध्यक्षमा निर्वाचित भएयता जनप्रतिनिधिले पाउने सेवा सुविधाको रकम सामाजिक काममा लगाएका छन् ।


खत्रीले आफूले पाएको  पारिश्रमिक बालबालिकाको शिक्षामा खर्चिने गरेका छन् । खत्रीले निर्वाचित भएयता प्राप्त तलब, भत्तालगायतको आठ लाख रुपैयाँबाट ‘भूपेन्द्र खत्री छात्रवृत्ति अक्षय कोष’ स्थापना गरेका छन् । उक्त अक्षयकोषमार्फत वडाभित्र रहेका दुई वटा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार तथा आश्रित बालबालिकालाई छात्रवृत्ति र पोशाक वितरण गर्छन् ।

वडाध्यक्ष खत्रीले वडाभित्रका हरिडिलभूमि माध्यमिक विद्यालयमा पाँच लाख र जगन्नाथदेवी आधारभूत विद्यालयमा तीन लाखको कोष स्थापना गरेका छन् । कोषमा जम्मा भएको रकमबाट प्राप्त हुने ब्याजबाट गरीब, जेहनदार तथा आश्रित बालवालिकालाई छात्रवृत्ति प्रदान गर्ने गरिएको उनले बताए । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष निर्वाचित खत्रीले आफ्नो कार्यकाल रहँदासम्म पाउने सरकारी सेवा–सुविधा अक्षय कोषमा जम्मा गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।  

‘अध्यक्ष भएपछि सरकारी सेवा–सुविधा सामाजिक काममा लगाउने घोषणा गरेको थिएँ,’  खत्रीले भने, ‘सोही बमोजिम नै अक्षयकोष स्थापना गरेर सेवा गर्दै आएको छु ।’

अक्षयकोष सञ्चालनका लागि कार्यविधि बनाइएको छ । कार्यविधि अनुसार गरीब तथा जेहनदार छात्रवृत्तितर्फ छनोट भएका विद्यार्थीले एक हजार ५००, शारिरिक अपांगतातर्फ छनोट भएका विद्यार्थीले दुई हजार र आश्रित बालबालिका छात्रवृत्तितर्फ छनोट भएका विद्यार्थीले तीन हजार रुपैयाँ वार्षिक छात्रवृत्तिस्वरुप पाउने छन् । 

बाल्यकालदेखि नै सामाजिक सेवामा तत्परता देखाउने खत्री जनप्रतिनिधि भएपछि सेवाको कामलाई अझै बढाउँदै लगेका छन् । एक दशक अघिबाट राजनीतिक यात्रा सुरु गरेका उनी पार्टीको जिल्ला सचिवको रुपमा पनि कार्यकाल संचालन गरिसकेका छन् । 

वडाअध्यक्ष खत्रीले सामाजिक कार्यसँग वडा कार्यालयको व्यवस्थापनलाई चुस्त बनाएका छन् । वडाबाट प्रदान गरिने सेवा सुविधालाई प्रभावकारी रुपमा अगाडि बढाउन कर्मचारीहरुलाई निर्देश गर्ने गरेका छन् । ‘म निर्वाचत हुँदाका बखत यो वडा अव्यवस्थित थियो । अहिले आठ मिटर बाटोको लगत कट्टा कायम गराएका छौ’ उनले भने, ‘त्यसैगरी फोहोर व्यवस्थापनका कामहरु पनि हामीले अगाडि बढायौ ।’

त्यसैगरी वडाले प्रत्येक वर्ष एक सय जना महिलाहरुलाई सीप सिकाउने र उनीहरुलाई व्यवसायमा लगाउने कार्यलाई अघि बढाएको छ । त्यसैगरी वडामा चार जना प्रहरीलाई सुरक्षा गस्तीमा परिचालित गरिएको छ । वडामा चोरीका घटना रोक्नुका साथै सुरक्षा प्रदान गर्नको लागि प्रहरीलाई गस्तीमा खटाइएको वडा अध्यक्ष खत्रीले बताए । उनीहरुलाई मोटरसाइकलमा हाल्ने तेल तथा सिमकार्ड तथा रिचार्ज कार्डको व्यवस्था वडाले गरेको छ । 

यस्तै वडाले शहरी स्वास्थ्य भवनको निर्माण गरेर सेवा दिइरहेको छ । वडाबासीलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नको लागि स्वास्थ्य भवन निर्माण गरि सेवा दिइरहेको खत्रीले बताए । वडाले कृषि उत्पादन बढाउने तथा कृषक अनुदानका विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । 
 


Author

थप समाचार
x