कर्णाली

वीरेन्द्रनगरको पहिलो कार्यपालिका बैठक:

सार्वजनिक जग्गाको संरक्षणदेखि जेष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

लक्ष्मी भण्डारी |
जेठ २५, २०७९ बुधबार १८:२६ बजे

वीरेन्द्रनगर - वीरेन्द्रनगर नगरपालिकाले नगरका जेष्ठ नागरिक र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । 

नगरपालिकाको पहिलो कार्यपालिका बैठकले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको हो । नगर क्षेत्रका जेष्ठ नागरिक तथा सुत्केरी महिलाको स्वास्थ्यमा पहुँच बढाउन यस्तो निर्णय गरिएको हो । 


बैठकले निशुल्क स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्ने, ज्येष्ठ नागरिक, अति  विपन्न, दीर्घ रोगीको यर्थाथ विवरण लिई निश्चित मापदण्ड तयार गरि निशुल्क स्वास्थ्य बीमा कार्यक्रम संचालनमा ल्याउने निर्णय गरेको छ । 

कार्यपालिका बैठकले नगरक्षेत्रमा रहेका सार्वजनिक जग्गाको संरक्षण गर्ने जनाएको छ । ‘सार्वजनिक जग्गाको लगत लिई उचित संरक्षण र सार्वजनिक गर्नुका साथै नगरपालिका क्षेत्रमा परम्परागत कुलो, नहर, बाटो र सार्वजनिक महत्वको क्षेत्र पहिचान गरी अतिक्रमण रोक्ने’ कार्यपालिकाको निर्णयमा भनिएको छ, ‘सुर्खेत उपत्यका नगर विकास समिति लगायत अन्य सार्वजनिक सरकारी जग्गाको खोजबिन गर्ने, लगत लिने र सोको हालको अवस्थाको समेत वस्तुगत र यथार्थ विवरण तयार गरि सबैले देख्ने गरि सूचना बोर्ड राखी संरक्षण गर्ने ।’ नगरपालिकाका प्रमुख मोहनमाया ढकालले नगरक्षेत्रमा रहेका जग्गाको संरक्षणको लागि यहाँ रहेका सरकारी जग्गाको लगत संकलन गरि अध्ययन गरिने बताइन् । उनले यसबाट नगर क्षेत्रमा रहेको जग्गा र यसको अवस्थाको विषयमा जानकारी हुने बताइन् ।

यस्तै सडक अतिक्रमण गरि राखिएका निर्माण सामग्री व्यवस्थापन  गर्नको लागि स्वीकृति नलिई सडक अतिक्रमण गरि राखिएका निर्माण सामग्री तुरुन्त हटाउन सर्वसाधारणले जानकारी पाउने गरी मौखिक एवं सार्वजनिक सूचना दुवैका माध्यमबाट जानकारी गराउनुका साथै उक्त निर्णयको अवज्ञा गर्ने व्यक्तिलाई स्थानीय प्रशासनको सहयोग लिइ कानुनको दायरामा ल्याउने निर्णय गरिएको छ । 

यस्तै कार्यपालिकाको पहिलो बैठकले फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी गराउन, स्थानीय सरकार संचालन ऐन,२०७४ अनुसार वडा समितिलाई पूर्णरुपमा जिम्मेवारी दिने भएको छ । नगरपालिकाले क्लिन नेपालबीच सम्झौता भएकाले क्लिन नेपाललाई फोहोर व्यवस्थापनमा जिम्मेवार गराउने र समयमै फोहोर उठाउन अनिवार्य रुपमा समय तालिका पेश गर्न लगाई अनुगमन गरिने बताइएको छ । 

नगरपालिकाको राजमार्ग क्षेत्रमा विविध कारणले बिग्रिएका ढलहरू पूर्ववत् रुपमा संचालनमा ल्याई जनधनको क्षति न्यूनीकरण गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम र विपत व्यवस्थापन कोषबाट तुरुन्त मर्मत सम्भार गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । यस्तै जटिल प्रकृतिको डुबान भएको क्षेत्रको पहिचान गरि जनप्रतिनिधि र इन्जिनियर सहितको प्राविधिक टोली खटाउने र त्यसको प्रतिवेदनको आधारमा दीर्घकालीन समाधानका लागि बजेट तथा श्रोत व्यवस्थापन गरि समाधान गर्ने निर्णयमा उल्लेख छ । 

नगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेका सडकलाई मर्मत गर्न‘को साथै गौशाला निर्माण कार्यलाई तिव्रता दिने  निर्णय गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले जानकारी दिए । ‘वीरेन्द्रनगर नगरपालिका वडा नं ११, भेरी पुल नजिक प्रशान्ती धार्मिक सामुदायिक वनमा गौशालाको पूर्वाधारजन्य संरचना निर्माण, पशु आहारा व्यवस्थापन गरी सडकमा छाडिएका छाडा पशु चौपायाहरूको दिगो र समुचित व्यवस्थापन गरिने भएको छ’ सुवेदीले भने, ‘नगरपालिकाले सम्झौतामा उल्लेख भए बमोजिमको लागत साझेदारी समेत गरि तोकिएको समयमा सम्पन्न गर्न छिटो, छरितो र पारदर्शी ढंगले उपभोक्ता समितिबाट गौशाला निर्माणलाई तीव्र रुपमा अगाडि बढाउने निर्णय भएको छ ।’

हावाहुरीले क्षति पुर्‍याएका स्कुलका छाना शिघ्र मर्मत गर्ने निर्णय गरिएको छ । नगर शैक्षिक कोष स्थापना गरि `म बनाउँछु मेरो नगरलाई शैक्षिक हब` अभियान अन्तर्गत नगरको शैक्षिक स्तर अभिवृत्ति गर्न एक स्वेच्छिक शैक्षिक कोष स्थापना गर्नका लागि आवश्यक कानुन बनाई सोको प्रारम्भिक मस्यौदा पेश गर्न शिक्षा, यूवा तथा खेलकूद शाखालाई जिम्मेवारी दिने निर्णय भएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगको बाँकी कार्य प्रारम्भ गरिने बताइएको छ ।  


Author

थप समाचार
x