साहित्य

मानिस अनि उसको अस्तित्व !

शेखर दाहाल |
पुस ११, २०७९ सोमबार १८:४२ बजे

बोलाइ र गराइबीच झुण्डिएको अस्तित्व
केवल सोचाइमा मात्र सीमित छ
बस् विचारमा बाँचेको
धुवाँले बनेको आकृति जस्तो
हरेक फुकाइसँगै बदलिन्छ ।

अस्तित्व !
अतृप्त आकांक्षाले ओझेलिएको 
समाजको चरित्रमा लतपतिएको
सिद्धान्तहरूमा खुम्चिएको
सपनाहरूमा गुम्सिएको
भरियाको बोझ र 
अन्तरिक्ष चुम्ने सोच
बीचको खाडलमा भासिएको
लोभ र भोकले छटपटिरहेको
मानिस अनि उसको अस्तित्व !


बञ्जर, उजाड डाँडाको टुप्पोमा
लामो सास तान्दै
फेदको रमझम हेर्दै रमाइरहेको,
बढ्दो घामको ताप र
पश्चिमी हावाको चापको बीचमा
आफ्ना लागि अर्काको भाग खोस्दै
भगवानको आडमा
एकअर्काको ढाड सेक्दै
लखेट्दै अनि बाटो छेक्दै
रंगिन सिसाको धमिलो चित्रहरूमा
नतमस्तक 
मानिस अनि उसको अस्तित्व !

 व्यर्थको घेराभित्र
इतिहासको थुप्रो  लगाइ
भड्किएको भावनाको भेलमाथि
राष्टवादको लेप लगाइ
दम्भले भरिएको सर्तहरूको
पर्खालभित्र थुनिएको
मानिस अनि उसको अस्तित्व !

अस्ताएको सूर्यले सल्काएको रातझैँ
कालिँदै गएको अस्तित्व
केवल सानो प्रकाशमा मात्र सीमित छ
टुक्कीले धानेको उज्यालो जस्तै
मलिन। 
मानिस अनि उसको अस्तित्व !
                                       


Author

थप समाचार
x